याल्टा-२.० को छायामा नेपाल : शक्ति सङ्घर्ष, सार्वभौमिकता र कूटनीतिक चुनौती
११ मंसिर २०८३, शुक्रबार
विश्व राजनीति नयाँ मोडमा प्रवेश गरेको छ । दोस्रो विश्वयुद्धपछि निर्माण भएको अन्तर्राष्ट्रिय शक्ति संरचना क्रमशः परिवर्तन हुँदै गएको छ । चीनको आर्थिक तथा सामरिक उदय, रुसको रणनीतिक पुनरागमन र एसिया-प्रशान्त क्षेत्रको बढ्दो प्रभावले अमेरिकी नेतृत्वमा स्थापित एकध्रुवीय विश्व व्यवस्थालाई चुनौती दिइरहेका छन् । विश्व राजनीतिमा बहुध्रुवीयताको बहस तीव्र बन्दै गएको वर्तमान अवस्थामा नेपालको आन्तरिक राजनीतिक पुनर्संरचनालाई केवल प्रशासनिक सुधार वा सत्ता सञ्चालनको प्राविधिक विषयका रूपमामात्र हेर्नु अपरिपक्व हुनेछ।
अमेरिका, बेलायत र सोभियत सङ्घका नेताहरूले दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्थाबारे सन् १९४५ को फेब्रुअरीमा क्रिमियाको याल्टामा छलफल गरेका थिए । युद्धको अन्तिम चरणमा अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन डी. रुजवेल्ट, बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल र सोभियत नेता जोसेफ स्टालिनबीच भएको उक्त सम्मेलनले युद्धपछिको युरोपको राजनीतिक तथा रणनीतिक संरचनामा महत्त्वपूर्ण प्रभाव पारेको थियो । आजको विश्व परिस्थिति सन् १९४५ को जस्तो नभए पनि महाशक्तिबीचको रणनीतिक प्रतिस्पर्धा र प्रभाव विस्तारको होडले कमजोर राष्ट्रहरूको राजनीतिक भविष्यलाई गम्भीर मोडमा पुर्याउन सक्ने बहसलाई ‘याल्टा-२.०`को अवधारणाले जन्म दिएको छ ।
बदलिँदो विश्व व्यवस्थामा अमेरिका आफ्नो विश्वव्यापी प्रभाव र नेतृत्व कायम राख्न प्रयासरत छ । चीन आर्थिक, प्राविधिक र सामरिक क्षमताको विस्तारमार्फत विश्व राजनीतिमा आफ्नो प्रभाव स्थापित गर्न खोजिरहेको छ । पश्चिमी प्रभावलाई चुनौती दिँदै रुसले आफ्नो रणनीतिक स्थान पुनः स्थापित गर्न बहुध्रुवीय विश्व व्यवस्थाको वकालत गरिरहेको छ । यस्तो प्रतिस्पर्धात्मक परिस्थितिमा साना राष्ट्रहरूको सार्वभौमिकता र स्वतन्त्र निर्णय क्षमतामाथि जोखिम चुलिएको छ ।
याल्टा-२.० को अवधारणाले जन्म लिएको वर्तमान सन्दर्भमा आणविक कार्यक्रम सम्बन्धी इरानको निर्णय र बाह्य शक्तिको दबाबले राष्ट्रिय स्वायत्तता, सुरक्षा र अन्तर्राष्ट्रिय शक्ति राजनीतिबीचको जटिल सम्बन्धलाई उजागर गरेको छ । अमेरिका, रुस र चीनका शीर्ष नेताबीच चीनको सेन्जेनमा भएको रणनीतिक भेटघाट पश्चात् अमेरिकाले विगतमा प्रयोग गर्दै आएका प्रायोजित एजेन्टहरूको बिचल्ली हुने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा विश्व राजनीति रोचक मोडमा प्रवेश गर्दै छ ।
उदीयमान शक्तिहरूबीच अवस्थित नेपालको राजनीतिक स्थिरता, आर्थिक विकास, पूर्वाधार निर्माण, ऊर्जा व्यापार र कूटनीतिक सम्बन्धमा छिमेकी तथा अन्य शक्तिशाली राष्ट्रहरूको प्रत्यक्ष र अप्रत्यक्ष चासो बढ्दो छ । नेपालको वास्तविक चुनौती बाह्य शक्तिको उपस्थिति र स्वार्थमा मात्र सीमित छैन; यसको जरो आन्तरिक कमजोरीमा समेत निहित छ । कमजोर संस्थागत संरचना, अस्थिर सरकार, दलगत स्वार्थ, नीतिगत निरन्तरताको अभाव र प्रशासनिक केन्द्रीकरणले नेपालको राष्ट्रिय निर्णय क्षमता कमजोर थप कमजोर बन्दै छ ।
प्रशासनिक पुनर्संरचना कि राजनीतिक शक्ति पुनर्वितरण ?
विध्वंसात्मक घटनापश्चात् उदाएको शक्तिले नागरिकको चुलोसम्म परिवर्तनको अनुभूति पुर्याउन नसकेको वर्तमान अवस्थामा नेपालको विद्यमान सङ्घीय शासन प्रणालीको प्रभावकारिताबारे प्रश्न उठ्नु अस्वाभाविक होइन । प्रदेश सरकारहरूको अस्थिरता, अधिकार बाँडफाँटमा अस्पष्टता, प्रशासनिक खर्चको बढ्दो भार, सङ्घीय सरकारमाथिको अत्यधिक निर्भरता र जनअपेक्षाअनुसार सेवा प्रवाह हुन नसक्दा सङ्घीय संरचनामा गम्भीर समस्या रहेको निष्कर्ष निकाल्नुपर्ने अवस्था सिर्जना भएको छ ।
प्रदेशको सङ्ख्या घटाउने,प्रशासनिक सीमा परिवर्तन गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था लागू गर्ने वा वर्तमान शासन प्रणालीको स्वरूप परिवर्तन गर्ने प्रस्तावमा प्रवेश गर्न नसकेको अवस्थामा ध्वंसात्मक परिवर्तनको औचित्यमाथि प्रश्न उठ्न थालेको छ । राजनीतिक बहसका मूल विषयमा प्रवेश गर्नुको सट्टा सतही प्रचार र देखावटी गतिविधिमा बहुमूल्य समय खर्चिएको सरकारले संसदीय अङ्क गणितको खिल्ली उडाउँदै छ ।
राजनीतिक प्रस्ताव र बहसको औचित्य भावनात्मक नाराले होइन, तथ्य, अध्ययन र राष्ट्रिय आवश्यकताले पुष्टि गर्नुपर्छ भन्ने यथार्थ बिर्सिएको सरकारले अनुपयुक्त विषयमा समय खर्च गरिरहेको छ । संविधान संशोधन वा राज्यको संरचनामा परिवर्तन गर्ने प्रश्नलाई सामान्य राजनीतिक विषय मान्दैछ । प्रदेशको सीमा परिवर्तन वा प्रदेशको अधिकारसँग सम्बन्धित विषयमा संविधानको धारा २७४ ले सम्बन्धित प्रदेशसभाको सहमतिको संवैधानिक व्यवस्था गरेको छ । यस्तो अवस्थामा जनमत सङ्ग्रह लोकतान्त्रिक सहभागिताको एउटा माध्यम हुनसक्छ, तर जनमत सङ्ग्रहलाई संवैधानिक प्रक्रियाको विकल्पका रूपमा प्रस्तुत गरिए मुलुक नयाँ द्वन्द्वमा फस्न सक्नेछ ।
आन्तरिक अस्थिरता र बाह्य शक्तिको रणनीतिक स्वार्थ
विश्व राजनीतिमा साना राष्ट्रहरूको महत्त्व भौगोलिक आकार वा आर्थिक क्षमताले मात्र निर्धारण हुँदैन । उनीहरूको रणनीतिक अवस्थिति, प्राकृतिक स्रोत, बजार पहुँच र क्षेत्रीय सम्पर्क सञ्जालले गर्दै आएको छ । नेपालका लागि जलविद्युत्, हिमाली पारवहन, पर्यटन, प्राकृतिक स्रोत र दक्षिण एसिया तथा चीनबीचको सम्पर्क विस्तारका सम्भावना रणनीतिक महत्त्वका विषय हुन् । निरन्तर आन्तरिक अस्थिरताबाट गुज्रिरहेको मुलुकले बदलिँदो विश्व व्यवस्थामा आफ्नो राष्ट्रिय अडान स्पष्ट र प्रभावकारी रूपमा राख्न सक्दैन भन्ने पुष्टि हुँदै आएको छ ।
चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ, भारतको छिमेक पहिलो नीति, अमेरिकाको इन्डो-प्यासिफिक रणनीति तथा विभिन्न अन्तर्राष्ट्रिय विकास साझेदारीलाई नेपालले राष्ट्रिय हितको दृष्टिकोणबाट स्वीकार गर्न नपाएको अवस्था कायम छ । बाह्य हस्तक्षेपको जोखिमलाई केवल छिमेकी वा शक्तिशाली राष्ट्रहरूको गतिविधिमा सीमित गरेर हेर्नु पर्याप्त नभएको जगजाहेर छ । जब राजनीतिक दलहरू राष्ट्रिय नीतिमा सहमति बनाउन असफल हुन्छन्, तब सरकार परिवर्तनसँगै अन्तर्राष्ट्रिय प्रतिबद्धता र प्राथमिकतासमेत परिवर्तन हुने जोखिम बढ्छ भन्ने मुलुकसँग ठ्याक्कै मेल खाएको अवस्था छ ।
नयाँ विश्व व्यवस्थामा नेपालको स्थान
आजको विश्व व्यवस्थामा आर्थिक शक्ति, प्रविधि, ऊर्जा सुरक्षा, आपूर्ति शृङ्खला र सामरिक क्षमताबीचको सम्बन्ध जटिल बन्दै गएको छ । चीनको उत्पादन क्षमता र हरित प्रविधिको विस्तार, अमेरिकाको प्रविधिगत तथा वित्तीय प्रभाव र रुसको ऊर्जा तथा सामरिक भूमिकाले विश्व अर्थतन्त्रलाई नयाँ प्रतिस्पर्धातर्फ धकेलिरहेको छ ।
नेपालको भूराजनीतिक महत्त्वलाई आर्थिक समृद्धिको अवसरमा रूपान्तरण गर्न बलियो राज्य संयन्त्र आवश्यक छ । त्यसका लागि संविधानको प्रभावकारी कार्यान्वयन, स्वतन्त्र न्यायपालिका, जवाफदेही संसद्, व्यावसायिक प्रशासन र सक्षम स्थानीय सरकार अपरिहार्य छन् । लोकतान्त्रिक संस्थाहरू कमजोर भएको अवस्थामा कुनै पनि प्रशासनिक पुनर्संरचनाले राष्ट्रिय स्वायत्तता सुनिश्चित गर्न सक्दैन ।
सन् १९४५ को याल्टा सम्मेलनले विश्व राजनीतिमा महाशक्तिहरूका निर्णयले अन्तर्राष्ट्रिय शक्ति संरचनालाई कसरी प्रभावित गर्न सक्छन् भन्ने देखाएको थियो । आजको विश्वमा अमेरिका, चीन र रुसलगायत शक्तिहरूबीच प्रतिस्पर्धा र रणनीतिक समायोजन जारी छ । तथापि वर्तमान विश्व व्यवस्था केवल तीन वा चार शक्तिको सहमतिबाट निर्धारण हुने अवस्था छैन।भारत, युरोपेली सङ्घ, जापान तथा अन्य उदीयमान शक्तिहरूको भूमिका बढिरहेको छ । विकासशील राष्ट्रहरूको सामूहिक आवाज र क्षेत्रीय सहकार्यले विश्व व्यवस्थाको स्वरूपलाई प्रभावित गरिरहेको छ ।
‘याल्टा-२.०’ को सबैभन्दा ठुलो चेतावनी भनेको महाशक्तिहरूबीचको प्रतिस्पर्धा र प्रभाव क्षेत्र विस्तारको द्वन्द्वमा साना राष्ट्रहरू अनजानमै रणनीतिक प्रतिस्पर्धाका प्रतिनिधि पात्र अर्थात् ‘प्रोक्सी’ बन्न सक्ने जोखिम हो । बाध्यात्मक रूपमा ‘प्रोक्सी’ बनाइए नेपालको सन्तुलित तथा सक्रिय परराष्ट्र नीति, व्यापार, पारवहन, ऊर्जा, जलस्रोत, पर्यटन, श्रम, विप्रेषण र डिजिटल अर्थतन्त्रसमेत नयाँ चुनौतीको चपेटामा पर्न सक्ने छ । नेपालका लागि मुख्य प्रश्न नयाँ याल्टा सम्मेलन कहाँ र कसरी हुन्छ भन्ने होइन, बदलिँदो शक्ति सन्तुलनमा नेपालको राष्ट्रिय स्वार्थ र स्वतन्त्र अस्तित्व कसरी सुरक्षित हुन्छ भन्नेमा रहने छ ।
नेपालको राजनीतिक पुनर्संरचना कुनै बाह्य शक्तिको रणनीतिक आवश्यकता अनुसार होइन, नेपाली जनताको लोकतान्त्रिक आकाङ्क्षा र राष्ट्रिय आवश्यकताअनुसार हुनुपर्छ । सिंहदरबारले राज्यको संरचना परिवर्तन गर्नुअघि राज्य सञ्चालनको चरित्र परिवर्तन गर्न जरुरी छ । राजनीतिक दलहरूमा जवाफदेहिता, प्रशासनमा व्यावसायिकता, संस्थाहरूमा स्वतन्त्रता र शासन व्यवस्थामा पारदर्शिता कायम नभएसम्म कुनैपनि निर्णयले अपेक्षित परिणाम दिन सक्दैन । देशलाई चाहिएको कुरा केवल नयाँ सरकार होइन,नयाँ राजनीतिक संस्कार र बलियो संस्थागत आधार हो भन्ने बुझ्न जरुरी छ ।
मुलुकको भविष्य महाशक्तिहरूबीच हुने रणनीतिक सम्झौतामा होइन, आफ्नै लोकतान्त्रिक क्षमता, राष्ट्रिय एकता र विवेकपूर्ण कूटनीतिमा निर्भर हुनेछ । बदलिँदो विश्व व्यवस्थामा नेपालको वास्तविक शक्ति भौगोलिक अवस्थिति मात्र होइन, स्वतन्त्र निर्णय गर्न सक्ने राजनीतिक नेतृत्व, संस्थागत क्षमता र राष्ट्रिय प्रतिबद्धता प्रमाणित गर्न सक्नु पर्नेछ । भूगोल नेपालको बाध्यता हुन सक्छ, तर भौगोलिक अवस्थिति र कूटनीतिक विवेकलाई शक्तिमा रूपान्तरण गर्न सकेमा त्यही भूगोल मुलुकको सबैभन्दा ठूलो सामर्थ्य बन्न सक्छ ।
नेपालको राष्ट्रिय स्वार्थ, चुनौती र कूटनीतिक सन्तुलनका सन्दर्भमा प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणको वास्तविक सफलता कति आर्थिक सहयोग प्राप्त भयो भन्नेमा निर्भर हुँदैन । प्राप्त सहयोग र समझदारीलाई मुलुकको आर्थिक आत्मनिर्भरता, राष्ट्रिय सार्वभौमिकता र उत्पादन क्षमतामा कति रूपान्तरण गर्न सक्नेछ भन्ने कुराले भ्रमणको वास्तविक उपलब्धि निर्धारण गर्नेछ । भारतसँग सम्बन्ध सुदृढ बनाउने नाममा बदलिँदो विश्व व्यवस्थाको गतिशीलता र शक्ति सन्तुलनलाई सिंहदरबारले नजरअन्दाज गरेमा मुलुकले ठुलो मूल्य चुकाउनु पर्नेछ ।
अन्तमा, याल्टा-२.० को सम्भावनाले विश्वका साना तथा विकासशील राष्ट्रहरूलाई आफ्नो राष्ट्रिय स्वार्थ सुरक्षित राख्न थप सचेत हुनुपर्ने सन्देश दिएको छ । महाशक्तिहरूको भूराजनीतिक सक्रियताबीच प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणले नेपालको परराष्ट्र नीतिमा सम्भावनाको ढोका खोलेको छ । यद्यपि नोभेम्बर भ्रमणपश्चात् `डेब्ट ट्र्याप डिप्लोमेसी`लाई अवसर मान्नुपर्ने अवस्थामा मुलुक पुगेको छ।