ट्रम्पवादको सङ्कट र बहुध्रुवीय विश्व व्यवस्थाको अनिश्चित भविष्य

२७ कार्तिक २०८३, शुक्रबार

`डिपस्टेट`लाई घृणा गर्ने `ट्रम्पवाद` भर्खरै सम्पन्न मध्यावधि निर्वाचनमा रक्षात्मक भएको छ । ट्रम्पको राजनीतिक लोकप्रियता, अमेरिकी राजनीतिक संस्थाप्रतिको जनविश्वास, आर्थिक असमानता र परम्परागत दलहरूको क्षमतामाथि प्रश्न उठेको छ । अमेरिकी मतदाताहरू मतपेटिकामा जाँदै गर्दा, विभाजन, युद्ध र रुसविरोधी राजनीतिक एजेन्डामा चल्ने अमेरिकी प्रणालीप्रति खासै रमाएको देखिएन ।

शक्ति परिवर्तनले अन्तर्राष्ट्रिय परिदृश्यलाई पुनः आकार दिइरहेको छ । संसार बहुध्रुवीयतातर्फ जाँदैछ । ठुला र क्षेत्रीय शक्तिले अन्तर्राष्ट्रिय कानुन र मान्यतालाई बेवास्ता गर्नुलाई अधिकार ठानेको छ । शक्तिशाली देश र क्षेत्रीय शक्तिले कमजोर राज्यलाई आफ्नो इच्छामा झुकाउन अलोकप्रिय उपकरणहरू प्रयोग गरिरहेका छन् । पुरानो एकध्रुवीय व्यवस्थाको सङ्कटले स्वतः बहुध्रुवीय स्थिरता ल्याउँदैन । बहुध्रुवीयता केवल `शक्ति सन्तुलन` होइन; यसले नियम-आधारित व्यवस्थाको कमजोरी, क्षेत्रीय गठबन्धनको अस्थिरता र संस्थागत जबाफदेहिताको सङ्कट पनि ल्याउन सक्छ भन्ने बुझ्न जरुरी छ ।

स्विडेनको प्रसिद्ध उप्साला विश्वविद्यालयअन्तर्गत रहेको उप्साला द्वन्द्व तथ्याङ्क कार्यक्रम र नर्वेको ओस्लोस्थित शान्ति अनुसन्धान संस्थाको पछिल्लो प्रतिवेदनले वर्तमान विश्वको सुरक्षा अवस्थाबारे चिन्ताजनक तस्बिर प्रस्तुत गरेको छ।दोस्रो विश्वयुद्ध पछि सन २०२५ मा राज्यहरूबीच सबैभन्दा धेरै द्वन्द्वको गणना गरेको छ।गत वर्षको तथ्याङ्क अनुसार  विश्वका ३५ देशमा ६५ वटा सक्रिय द्वन्द्वहरू छन् । विश्वव्यापी `मिसन खरानी`को जोखिम बढ्दै गइरहेको राजनीतिले विश्वलाई अनुपयुक्त युद्धमा धकेल्दै गरेको सङ्केत गरिरहेको छ।

`तपाईंलाई युद्धमा चासो नहोला, तर युद्धलाई तपाईंमा चासो छ` भन्ने रुसी क्रान्तिकारी लियोन ट्रोट्स्कीको प्रसिद्ध भनाइबाट प्रेरित नयाँ पुस्तकले विश्वलाई चिमोट्दै छ । `वार इज इन्ट्रेस्टेड इन यु: द ब्रेकडाउन अफ इन्टरनेशनल अर्डर एन्ड द थ्रेट अफ वर्ल्ड वार थ्री` (War Is Interested in You: The Breakdown of International Order and the Threat of World War Three) प्रतिष्ठित ब्रिटिस पत्रकार तथा फाइनान्सियल टाइम्सका प्रमुख विदेश मामिला स्तम्भकार Gideon Rachman द्वारा लिखित एक भूराजनीतिक पुस्तक हो । अक्टोबर २०२६ मा प्रकाशित यस पुस्तकले वर्तमान विश्व व्यवस्थाको पतन र अनुपयुक्त युद्धको बढ्दो जोखिमको विश्लेषण गर्दछ ।

रचम्यानले द्वन्द्वमा वृद्धि र अन्तर्राष्ट्रिय व्यवस्थाको विघटनको तीन आधारभूत कारणहरू पहिचान गरेका छन् । अमेरिकी प्रभुत्वलाई चुनौती दिइरहेको परिवर्तनशील विश्वव्यापी शक्ति सन्तुलनलाई पहिलो कारण मानेका छन् । दोस्रो कारण भनेको विश्वले ‘बलियो नेताहरू’ भनेर बोलाएका व्यक्तिको उदय हो जसले युद्धलाई आफ्नो उद्देश्य प्राप्त गर्न आवश्यक र वैध उपकरणको रूपमा लिन्छ । तेस्रो कारण भनेको पहिलो दुईको परिणाम हो; किनकि यी प्रवृत्तिले अन्तर्राष्ट्रिय नियम र कानुनलाई मुट्ठीमा लिनुलाई आफ्नो अधिकार ठान्छन् ।

पश्चिमी गठबन्धनको सापेक्षिक पतन र अमेरिकाको विश्वव्यापी भूमिकाबाट अलग्गिएर वर्तमान विश्व व्यवस्थासँग असन्तुष्ट शक्तिलाई जोखिम लिनको लागि नयाँ उत्साह मिल्दैछ । युक्रेनमा रुसको आक्रमण र ताइवानमा चीनको आक्रामक अडानलाई हेर्दा विश्वव्यापी व्यवस्थाको पतनमा योगदान पुर्‍याएको मान्न सकिन्छ । नयाँ पुस्ताको उदयले नियम आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको विचारलाई उपहास गर्छन् । बढ्दो विश्वव्यापी असुरक्षाले रक्षा खर्च बढाइरहेको छ, जसले गर्दा थप युद्धको जोखिम बढिरहेको छ ।

राजनीतिक दलको संस्थागत संरचना, अपारदर्शी निर्णय प्रक्रिया, अभिजात वर्गको स्वार्थ र नीतिगत अस्थिरताभित्र अमेरिकी पुँजीवादले महत्त्वपूर्ण भूमिका निभाउँदै आएको छ । वैचारिक रेखाहरू भुत्ते बनाइएको राजनीतिले विश्वलाई सताएको लामोसमय भइसकेको छ । विश्व पुँजीवादले प्रणालीको संरक्षण गर्न परम्परागत नेतृत्वलाई बलिको बोका बनाउँदै आएको छ । राजनीतिक अभिजात वर्गले चुनावी आधारलाई बलियो बनाउन, पार्टीको लागि थप समर्थन सुनिश्चित गर्न खोज्छ । विश्व राजनीतिलाई रणनीतिक द्वन्द्वमा फसाउन सफल भएको, नागरिकलाई चुनावमा उपस्थित हुन र मतदान गर्न बाध्य पार्दै आएको अमेरिकी पुँजीवादले राष्ट्रपति ट्रम्पसमेत सिकार बनेका छन् ।

इरान युद्ध र यसका ‘साइड इफेक्ट’हरू रिपब्लिकनहरूको पराजयको मुख्य कारण हुनसक्छ, तर धेरै कारकहरूले यसमा हातहालेका थिए । चुनावी अभियानमा, ट्रम्पले युद्धहरूको विरोध गरेका थिए, तैपनि इजरायलसँगको रणनीतिक निकटताले उनी इरानसँग युद्धमा प्रवेश गरे । ट्रम्पले इरानसँग युद्ध पुनः सुरु गर्ने वा इरान विरुद्ध बम प्रयोग गर्ने धम्कीलाई पछ्याउने सम्भावना छैन । कारण स्पष्ट छ- अमेरिकीमाझ अलोकप्रिय युद्धमा रिपब्लिकन पार्टी फर्कन चाहँदैन । युद्धमा फर्किए राष्ट्रपति ट्रम्पको कुर्सी र पार्टीको भविष्य खतरामा पर्न सक्छ । फलस्वरूप ट्रम्प प्रशासन युद्धबाट सम्मानजनक निकास चाहन्छ । यद्यपि बाँकी कार्यकाल डिपस्टेटको दबदबा सहेर बस्न ट्रम्पवादले स्वीकार गर्छ भन्नु हतार हुनेछ ।

ऊर्जा आपूर्ति, व्यापार मार्ग, प्रविधि, हतियार उद्योग, प्रतिबन्ध र अन्तर्राष्ट्रिय बजारमाथिको नियन्त्रण आधुनिक भूराजनीतिक प्रतिस्पर्धाका महत्त्वपूर्ण हतियार बनेका छन् । राजनीतिक दलहरू परिवर्तन भएपनि वित्तीय पुँजी, ठूला कर्पोरेट हाउस र प्रविधि कम्पनीको प्रभाव कायम रहने विश्व व्यवस्थामा निर्वाचनबाट हुने परिवर्तनको सीमालाई उजागर गरेको छ । ताजा जनादेशबाट आएको ट्रम्पविरोधी बहुमत कङ्ग्रेसले ट्रान्सएट्लान्टिक गठबन्धन र क्यानडासँगको सम्बन्ध, भेनेजुएलाको विषय, जलवायु परिवर्तनको विरोध, ट्यारिफ युद्ध, इस्लामोफोबिया, इजरायली हित र एआई प्रविधि नियमन नगर्ने ट्रम्प राजनीतिको गम्भीर समीक्षा गर्न सक्ने छ।त्यस्तो अवस्थामा ट्रम्प गतिविधि थप अनिश्चित बन्नेछ ।

रणनीतिक स्वायत्तता भनेको सबै शक्तिसँग समान दूरी कायम गर्नु होइन । राष्ट्रिय हितअनुसार सहकार्य गर्ने, असहमति राख्ने र आवश्यक पर्दा स्वतन्त्र निर्णय लिन सक्ने क्षमता हो । राजनीतिक इतिहास र लगानी बिना उदाएको नेतृत्वले बहुध्रुवीय विश्व व्यवस्था र बहुपक्षीय अन्तर्राष्ट्रिय सहकार्यलाई एउटै अर्थमा बुझ्नु भूराजनीतिक भूल हुनेछ । विश्वमा शक्ति केन्द्रको सङ्ख्या बढ्दै जानु र अन्तर्राष्ट्रिय सम्बन्ध नियममा आधारित हुनु फरक विषय हुन् । बहुध्रुवीयताले शक्तिको वितरण बदल्छ, तर बहुपक्षीयताले शक्तिको प्रयोगलाई संस्थागत नियम र जवाफदेहिताभित्र राख्न खोज्नेछ । त्यस्तो अवस्थामा नयाँ विश्व व्यवस्थाको सफलता अमेरिका वा चीनको प्रभुत्व कसले विस्थापित गर्छ भन्नेमा होइन, शक्तिशाली राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय कानुनको सीमाभित्र राख्न सकिन्छ कि सकिँदैन भन्नेमा निर्भर हुनेछ ।

अमेरिकी आन्तरिक विभाजनले विदेश नीति, गठबन्धन, व्यापार र सुरक्षा प्रतिबद्धतामा कस्तो असर पार्छ भन्ने विश्वले हेर्दैछ । कृत्रिम बुद्धिमत्ता, डेटा, सामाजिक सञ्जाल र सूचना प्रवाहमाथिको नियन्त्रणले आर्थिक मात्र होइन, राजनीतिक शक्ति पनि निर्धारण गर्न थालेको छ । अनिश्चित भविष्य वितरण गरेर विश्वलाई दुःख दिएको ट्रम्प राजनीति रक्षात्मक भएको अवस्थामा नेपाली राजनीतिमा डिपस्टेट (वास्तविक संस्थागत शक्ति, प्रशासनिक संरचना, सुरक्षा संयन्त्र र अपारदर्शी राजनीतिक सञ्जाल) हाबी हुने खतरा चुलिएको छ । यस्तो अवस्थामा भारत र चीनले आफ्नो प्रभाव विस्तार गर्ने अवसर खोज्नेछ । जसले गर्दा तीनवटा शक्ति केन्द्रसँग सम्बन्ध व्यवस्थापन गर्नुपर्ने चुनौती थप्नेछ । चीनको बीआरआई, अमेरिकी एमसीसी, भारतसँगको ऊर्जा व्यापार, पारवहन र सुरक्षा सम्बन्धलाई राष्ट्रिय हितको आधारमा व्यवस्थापन गर्न थप कठिन हुनेछ ।

ट्रम्पवादको सङ्कटले `सिंहदरबार` स्वतः स्वतन्त्र हुँदैन । त्यसैगरी चीनको उदयले मुलुक समृद्ध बन्न सक्दैन । भारतसँगको भौगोलिक निकटताले नेपालको राष्ट्रियहित स्वतः सुनिश्चित गर्दैन । बदलिँदो विश्व व्यवस्थामा रणनीतिक स्वायत्तता, आर्थिक आत्मनिर्भरता र संस्थागत लोकतन्त्रलाई एकीकृत गर्ने नयाँ विदेशनीति आवश्यक छ । मुलुकको भविष्य वासिङ्टन, बेइजिङ र नयाँदिल्लीमा हुने राजनीतिक परिवर्तनले मात्र निर्धारण गर्ने छैन । ट्रम्पवादको सङ्कट मुलुकको परराष्ट्र नीतिको पुनर्संरचनाका लागि अवसर हो, तर कमजोर राज्यसंरचना र अदूरदर्शी नेतृत्वका कारण वर्तमान अवसर भूराजनीतिक जोखिममा परिणत हुन सक्नेछ । यस तथ्यलाई बुझ्दै जलाइएको सिंहदरबारले बहुध्रुवीय विश्वमा शक्ति केन्द्र बदल्ने होइन, आफ्नो राष्ट्रिय हितअनुसार शक्ति सम्बन्ध व्यवस्थापन गर्नसक्ने क्षमता निर्माण/विकास गर्नु हो ।

अन्तमा, विश्व व्यवस्था परिवर्तन हुनु र विश्व न्यायपूर्ण हुनु एउटै कुरा होइन । अमेरिकी प्रभुत्वको क्षयले नयाँ शक्ति केन्द्रहरूको उदयलाई बाटो खोल्न सक्छ, तर त्यसले स्वतः कमजोर राष्ट्रको सार्वभौमिकता सुनिश्चित गर्दैन । बहुध्रुवीय विश्वको वास्तविक सफलता शक्ति केन्द्रको संख्या बढ्नुमा होइन, शक्ति प्रयोगमाथि अन्तर्राष्ट्रिय जवाफदेहिता स्थापित हुनुमा निर्भर हुनेछ । ट्रम्पको असफलता अमेरिकी राजनीतिको एउटा घटना मात्र होइन; बदलिँदो शक्ति सन्तुलन र पुरानो अन्तर्राष्ट्रिय व्यवस्थाको संरचनागत सङ्कट पनि हो । यद्यपि  संस्थागत कमजोरी, शक्ति प्रतिस्पर्धा, साझा नियमप्रतिको अविश्वास र कमजोर राज्यमाथि थोपरिएको दबाबले `बहुध्रुवीय विश्व व्यवस्था`को भविष्य अनिश्चित बन्दैछ ।