नेतृत्वको अहङ्कार र राजनीतिक शून्यताको सङ्कट
२० कार्तिक २०८३, शुक्रबार
प्रसिद्ध अमेरिकी भूगोलविद्, इतिहासकार एवम् लेखक जारेड डायमन्ड (Jared Diamond) द्वारा लिखित पुस्तक `Upheaval: Turning Points for Nations in Crisis` (२०१९) ले व्यक्तिगत सङ्कट व्यवस्थापनका सिद्धान्तलाई राष्ट्रिय सङ्कटसँग जोडेर हेर्ने एक अनौठो दृष्टिकोण प्रदान गर्दछ । उनको चर्चित पुस्तक गन्स, जर्म्स एन्ड स्टिल (१९९७)ले युरेसियाली सभ्यताहरू किन बढी शक्तिशाली र प्रविधिमा अगाडि भए भन्ने कुरालाई वातावरणीय र भौगोलिक कारकका आधारमा ब्याख्या गरेका छन् । डायमन्डको निष्कर्ष छ, ‘भूगोलले इतिहासको सम्भावना र सीमा तय गर्छ; तर मुलुकको भाग्य `संस्था, नेतृत्व र जनता`को पहलले लेखिन्छ ।’
डायमन्डले मार्च १९३० को घटनालाई रोचक ढङ्गले उठाएका छन् । जब एडोल्फ हिटलरको कारलाई विशाल ट्रकले ठक्कर दियो, उनी बाल-बाल बाँचे । तीन वर्षपछि,हिट्लर जर्मनीको चान्सलर बने । त्यसको केही वर्ष पछि दोस्रो विश्वयुद्ध सुरु गरे,जसमा लाखौँ मानिस मारिए । उनी सोध्छन्, हिट्लर कार दुर्घटनामा मरेको भए भयानक घटनाहरू हुने थिए कि थिएनन् ? केही मानिस तर्क गर्छन्, परिस्थिति फरक हुने थियो । यद्यपि धेरै मानिसले प्रथम विश्व युद्धको समाप्ति पश्चात् फ्रान्सको भर्साइलमा गरिएको अपमानजनक सन्धिले जर्मनीमा ल्याएको अपमान, अति मुद्रास्फीति र देशमा यहुदी-विरोधी भावना गहिरो रूपमा गाडिएको तथ्यलाई औँल्याउँछन् ।
राम्रो वा नराम्रोको लागि नेताले परिणाम निर्धारण गर्छन् कि गर्दैन भन्ने प्रश्नमा डायमन्डले सेक्सपियरलाई लिएका छन् । उनको विचारमा सेक्सपियरले नलेखेको भए अन्य कुनै एलिजाबेथले ह्यामलेट लेख्न सक्दैनथे । उनले स्वतन्त्र बोत्सवानाको पहिलो राष्ट्रपति सर सेरेत्से खामालाई राजनीतिक व्यक्तित्वको रूपमा उदाहरण दिएका छन् जसले ह्यामलेट परीक्षण पास गर्छन् । राजनीतिक दर्शनमा ‘ह्यामलेट परीक्षण’को अर्थ यस्तो व्यक्तिसँग हुन्छ, जोसँग सत्ता र अधिकारको वैधानिक उत्तराधिकार वा वंशाणुगत अधिकार हुँदाहुँदै त्यसलाई त्याग्न तयार हुन्छ । मुलुक र प्रजातान्त्रिक पद्धतिको वास्तविक हितका लागि सामान्य नागरिक बनेर सङ्घर्ष गर्छ ।
यतिबेला मुलुकले डायमन्डको किताब नपढेको सजाय भोग्दैछ । `ठुलो र दीर्घकालीन युद्ध जित्न अल्पकालीन विद्रोह र आन्दोलनमा हार्नु फाइदाजनक हुनेछ`भन्ने नबुझेका अल्लारेहरू व्यक्तिगत व्यवस्थापनको निम्ति राष्ट्रिय सङ्कटलाई स्वागत गर्दैछन् । महत्त्वपूर्ण विषयमा प्रवेश गर्न नसकेको झोँकमा सरकार नामको बबुरो सोसल मिडिया मार्फत `लुँडो` खेल्दैछ। ‘सही समय आएपछि सबैको गलत समय आउँछ, एक/दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’ भन्दै स्ट्याटस हान्ने प्रधानमन्त्री र प्रमुख सल्लाहकार नामक पात्रले ‘सही समय भनेको कहिले हो शनिबार आइतबार हो ?` भन्दै जिस्किएको अवस्थाले जोकर दरबार पस्दैमा राजा हुँदैन, बरु दरबार नै सर्कस बन्नेछ भन्ने आरोप सत्य साबित हुँदैछ ।
`ठेलावाला हटाएको र सुकुम्वासी धपाएको` विषयलाई युद्ध जितेको मान्ने/ठान्ने शासक समाचारको स्रोत निमिट्यान्न पार्न कस्सिएको छ । सुशासनको वातावरण निर्माणमा सक्रिय हुनुको सट्टा `कथित न्युज कारखाना` सञ्चालन गर्दैछ । बोलेको/लेखेको भरमा प्रहरी हिरासतमा पुग्नुपर्ने ‘लोकतन्त्र’ सुरु गरिएको छ । अनिर्वाचित निकाय र व्यक्तिको लहडमा प्रहरी प्रशासनको दुरुपयोग गर्ने कार्यशैलीले अन्ततः मुलुक असफल बन्दैछ । ५५/३० लगाएर कर्मचारी प्रशासन कब्जा गर्ने अध्यादेश, (तयारी अवस्थामा) बिचौलियाको मोबाइलभित्र कैद भएका आवश्यक कटिङ, पेड युट्युबर, उरन्ठ्याउला मन्त्री, अल्लारे सांसद र पश्चिमा आशीर्वाद लिएर मुलुकको समस्या समाधान गर्न निस्किएको छ । यस्तो विडम्बनापूर्ण अवस्थामा हिट्लर कार दुर्घटनामा मरेको भए भयानक घटनाहरू हुने थिए कि थिएनन् भन्ने डायमन्डको उत्तेजित प्रश्न `बा`ले लेन नछोडेको भए बालेनको उदाए हुन्थ्यो कि हुँदैनथ्यो ? वा अमेरिकाले नेपाली युवाहरूलाई आर्थिक र राजनीतिक लगानी नगरेको भए गरिब मुलुक खरानी हुनबाट जोगिन्थ्यो कि?! भन्न जरुरी भइसकेको छ ।
आन्तरिक कलह समाधान गर्न नसक्ने शासकले राष्ट्रिय एकता कायम गर्न सक्दैन । लचिलोपनलाई कमजोरी मान्ने शासकले जबरजस्तीलाई तागत बनाउँदै छ । `विदेश नीति र भूराजनीति` सार्वजनिक बहसका संवेदनशील क्षेत्रहरू हुन् । `शान्ति` केवल कूटनीतिक र राजनीतिक कुरा मात्र होइन, मुलुकको आर्थिक सम्पत्ति पनि हो । असुरक्षाले आर्थिक विकासलाई नष्ट गर्छ, जबकि विकासले सुरक्षाको जग बलियो बनाउँछ । जीवन र सम्पत्तिको सुरक्षा, राजनीतिक स्थिरता, कानुनको शासन, न्यायिक स्वतन्त्रता, जवाफदेहिता र क्षेत्रीय शान्तिले प्रत्यक्ष रूपमा आर्थिक परिणामहरूलाई असर गर्छ भन्ने बुझेको शक्तिले अल्लारेहरूलाई पुरस्कृत गरेर लगानी, उत्पादन, वृद्धि र विकासको बन्ध्याकरण गर्न सफल भएको छ।
असुरक्षाले लेनदेन लागत बढाउँछ, लगानीलाई निरुत्साहित गर्छ,पूर्वाधार नष्ट गर्छ,व्यापारमा बाधा पुर्याउँछ, विदेशी कर्मचारीहरूलाई निरुत्साहित गर्छ र रोजगारीलाई सीमित गर्छ भन्ने बुझेको शक्तिले मुलुकको राजनीति कब्जामा लिएको छ । व्यक्ति र संस्थालाई रणनीतिक प्रोपोगाण्डामार्फत विवादित बनाउने, सरुवा, खारेज, बर्खास्त, गिरफ्तारको धम्की दिँदै आतङ्क सिर्जना गर्ने नियतले मुलुक नबन्ने निश्चित छ । लगानी र अर्थतन्त्रमा नभेटिएको सरकार फेसबुकमार्फत शासन गर्दैछ । राहतमार्फत नागरिकको चुलोमा पुग्न नसकेको विषयलाई लुकाउन मच्चाइएको अराजनीतिक ताण्डवले जङ्गी अड्डालाई चिन्तित बनाएको छ ।
यतिबेला अल्लारेहरू डायमन्डको निष्कर्षलाई झुटो साबित गर्न सम्पूर्ण तागत लगाउँदै छन् । सौभाग्यवश नागरिकको तेस्रो नेत्र खुल्दैछ । शून्य लगानीमा प्राप्त कुर्सीको निम्ति मुलुकको अस्तित्वसँग खेलबाड गर्न मरिहत्ते गर्दैछन् । अमेरिकी डलरको तागतमा जन्माइएका पात्रमार्फत मच्चाइएको रणनीतिक घृणाले वर्तमान पुस्तालाई मानसिक रूपमै ध्वस्त बनाएको छ । स्वतन्त्र समाचार कक्ष गायब भएको शासनमा सुशासन मरुभूमिमा हरियाली खोजेजस्तो भएको छ । मतपत्र, नागरिक र लोकतन्त्रप्रति प्रतिबद्ध नेताले सत्ता खोज्दैन । दुर्भाग्यवश परम्परागत शासकको कमजोरीमा उदाएको शासक लोकतान्त्रिक विधि, पद्धति, मूल्य, मान्यता र संस्थालाई धम्क्याएर सत्ता कब्जाको तयारी गर्दैछ ।
पुरानो नेतृत्व असफल भयो भन्दैमा नयाँ नेतृत्व स्वतः सफल हुन्छ भन्ने मान्यताले युवापुस्तालाई डुबाउँदै छ । पुरानो नेता, प्रणाली र कार्यशैलीप्रतिको जनआक्रोशलाई उपयोग गरेर सत्तामा पुगेको नेतृत्वले उस्तै गल्ती दोहोर्यायो भने त्यसको विकल्प के हुन्छ ? भन्ने अवस्थामा मुलुक पुग्दैछ । विवेक बिसाएको शासकले ३५वर्षे शासनलाई दोष दिएर आफ्नो योग्यता प्रदर्शन गर्दैछ । अख्तियार प्रमुख, विभागका महानिर्देशक, आयोजना प्रमुखलाई नियन्त्रणमा लिएर आदेश लादने भ्रष्टशैलीले परम्परागत शासनलाई उछिन्दै छ । सामाजिक सञ्जालले सरकार ढाल्ने तागत राख्दैन । कम्युनिस्टहरू अझै बौरिएका छैनन् । काँग्रेस भर्खरै जन्मिएको बाछो जस्तो छ, हिँड्न आँट्यो कि लडिहाल्छ । कैँचीधामको भाकलले सिंहदरबारको कुर्सी रविको हातमा नपुग्ने वातावरण `ज्वागल`ले गरिरहेको छ ।
प्रायोजित न्युज कारखानाले ३० वर्षे बिचौलिया फेलापारेको छ । अरूलाई खुइल्याएर बालेनलाई हिरो देखाउने `ब्रेन`ले ३० वर्षे बिचौलियाको मोबाइल कब्जामा लिएर म्यासेज डिलिट गरेको घटनाले वर्तमान शासनको वास्तविक अवस्था उजागर गरेको छ । लोकतन्त्रको वास्तविक शक्ति कुनै एक व्यक्तिको लोकप्रियता, सामाजिक सञ्जालमा प्राप्त समर्थन वा संसदीय अङ्कगणितमा होइन, संस्थाको विश्वसनीयता र संस्थागत निरन्तरतामा निहित हुन्छ । असल नेतृत्वले संस्थालाई बलियो बनाउँछ, जबकि अहङ्कारी नेतृत्वले राज्यको नीति, विधि र संस्थागत संरचनालाई ध्वस्त बनाउँछ । नेता जतिसुकै प्रतिभाशाली भएपनि, निश्चित परिस्थितिमा मात्र प्रभावकारी हुनसक्छ भन्ने डायमन्डको निष्कर्ष ठ्याक्कै मेल खाएको छ ।
लोकप्रियता र वैधानिकता एउटै कुरा होइनन् । सामाजिक सञ्जालमा लाखौँ समर्थक हुनु र संवैधानिक रूपमा शासन सञ्चालन गर्ने अधिकार प्राप्त हुनु फरक विषय हुन् । तथाकथित नियुक्ति, वैदेशिक हस्तक्षेपलाई मलिलो जमिन दिलाएर सिंहदरबारले कसको सेवा गर्दैछ ? एउटा आलोकाँचो बिचौलियाको मोबाइल फोन दुई दिनसम्म `ज्वागल`मा पुगेको मुलुकमा नेपाल प्रहरीको अवस्था र सुशासन कस्तो छ ? मूल मुद्दामा नागरिकको ध्यान नजाओस् भन्ने रणनीति अन्तरगत अनिर्वाचित निकायद्वारा मच्चाइएको स्याल हुइयाँले गम्भीर सङ्केत गरिरहेको छ ।
अन्तमा, सङ्कटको समयमा संवाद गर्नु आत्मसमर्पण होइन, बरु राजनीतिक परिपक्वताको प्रमाण हो । विरोधी विचारलाई शत्रुतापूर्ण व्यवहार गर्ने, आलोचनालाई षड्यन्त्र ठान्ने र असहमतिलाई अपराधीकरण गर्ने संस्कारले सरकार असफल हुँदैछ । मुलुकमा एकमात्र इमानदार व्यक्ति बालेन हुन्, अरू सबै भ्रष्ट भन्ने `अनिर्वाचित गिरोह`को अभियानभित्र गम्भीर षडयन्त्र लुकेको छ । सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशदेखि नेपाल प्रहरीको प्रमुखसमेत कथित सुशासनको सिकार बनेको मुलुकमा गहिरो राजनीतिक शून्यता देखापरेको छ । विगतका शासकलाई गाली गरेर वर्तमानको जिम्मेवारीबाट उम्किने प्रवृत्तिले सङ्कट समाधान गर्दैन । संस्थामा सुधार, नागरिकमा विश्वास र राजनीतिक शक्तिबीच न्यूनतम राष्ट्रिय सहमति कायम गर्न नसकेसम्म मुलुक प्रयोगशाला र नागरिक राजनीतिक प्रयोगको वस्तु बनिरहने छ ।