क्रान्ति, विध्वंस र मोरल भ्यालु


२३ आश्विन २०८३, शुक्रबार

२१औँ शताब्दीमा अन्तरसम्बन्धित द्वन्द्व र अमेरिकी रणनीतिले क्रान्तिलाई प्रतिस्थापन गरेको विश्लेषकले महसूस गरेका छन् ।

साइमन हलद्वारा लिखित पुस्तक – थ्री रिभोलुसन् : रसिया, चाइना एन्ड क्युबा (२०२५)ले सामाजिक उथलपुथलको जाँच गरेको छ । रोचक कुरा के छ भने, सन् १९१७ मा सम्पन्न रुसी क्रान्तिको प्रज्वलन देखेका जोन रीड, माओले सुरु गरेको सन् १९३४-३५ को भयानक लङ मार्चबाट बचेकाहरूलाई भेटेका एडगर स्नो र सन् १९५७ मा क्युबामा घुसेका हर्बर्ट म्याथ्यूजले फिडेल क्यास्ट्रोको क्रान्तिलाई नजिकबाट महसूस गर्ने दृढ प्रयास गरे । विशेष गरी ‘लेनिन, माओ र फिडेल क्यास्ट्रो’को क्रान्तिलाई पश्चिमाहरूले गलत बुझेको प्रामाणिक र सुधारात्मक अन्तर्दृष्टि प्रदान गरेका लेखकहरूले वर्तमान पुस्तालाई गज्जबको खुराक पस्केका छन् ।

सन् १९१७ को राजनीतिक आँधीबेहरीमा सेन्ट पिटर्सबर्ग स्थित जारको दरबार लुट्न आएका लुटेराहरूलाई ‘स्व-नियुक्त पहरेदारहरू’ले रोक्दै चिच्याउँछन्- ‘साथीहरू, केही पनि नलिनुहोस् । यो जनताको सम्पत्ति हो !’ शीतकालीन दरबारको रक्षा गर्ने अर्को देशभक्त पहरेदारले अस्थायी सरकारका मन्त्री र शहरको मेयरलाई दरबारमा प्रवेश गर्न रोक्छन् । यस घटनालाई नजिकबाट नियालेका निहत्था नागरिकले देशभक्त पहरेदारलाई सोध्छन्- हामी दरबार छिरेमा के गर्छौ ? भारदारले जवाफ दिन्छन्- ‘हामी तिमीलाई पिट्नेछौँ र आवश्यक परेमा गोली हान्नेछौँ !’

सन् १९१७ को अक्टोबर महिनामा लेनिनले बच्चाको नोटबुकबाट च्यातिएको पानामा पेन्सिलको कुच्चिएको छेउले सशस्त्र विद्रोहको लागि आह्वान गरेको विषयलाई तीव्र चासोका साथ रीड’ले उल्लेख गरेका छन् । उनको नजरमा लेनिनले स्विट्जरल्याण्ड/जर्मनी/फिनल्यान्ड हुँदै रुससम्म तय गरेको रेलयात्रा, माओको लङमार्च भन्दा आरामदायी थियो । पार्टीका दिग्गजहरू लिएर माओले जियाङ्सीबाट सुरु गरेको अभियानले हजारौँ ज्यानको मूल्य चुकाउँदै यानानसम्मको हजारौँ किलोमिटरको यात्राले चिनियाँ कम्युनिस्ट आन्दोलनको राजनीतिक र सैन्य भविष्य बदलिदियो । एडगर स्नोले पहिलो पटक सन् १९३६ मा माओलाई भेटेका थिए । लाखौँ सहकर्मी नागरिकको मागलाई मूर्तरूप दिने माओको अलौकिक क्षमता र किसानहरूको प्रशंसा गर्न स्नोले कन्जुस्याइँ गरेनन् ।

सन् १९५६-५९को क्युबाली क्रान्तिलाई साइमन हलले समावेश गर्नु आश्चर्यजनक लाग्न सक्छ तर क्यास्ट्रोले क्रान्ति कसरी सम्पन्न गरे भन्ने कसैले पढ्दैन । जनरल बटिस्टाका सिपाहीहरूद्वारा गिरफ्तार गरिएको, क्यास्ट्रोलाई एक दयालु लेफ्टिनेन्टले आफ्ना सेनालाई भन्छ- ‘गोली हान्नु हुँदैन, तपाईं विचारलाई मार्न सक्नुहुन्न ।’ पक्राउ परेका क्यास्ट्रोलाई १५ वर्षको जेल सजाय सुनाइयो । क्यास्ट्रोले अदालतमा गज्जबको भाषण दिए- ‘म जेलबाट डराउँदिनँ । जेल बसाइले मलाई फरक पार्दैन । इतिहासले मलाई मुक्त गर्नेछ ।’

बटिस्टाले क्यास्ट्रोलाई आममाफी दिएर गम्भीर गल्ती गरेको इतिहासले पुष्टि गरिसकेको छ । मेक्सिकोको निर्वासनबाट क्युबा फर्केर क्यास्ट्रोले बटिस्टाद्वारा दिइएको उपकारको बदला लिए । सन् १९५६ मा, उनी ग्रान्मामा अवतरण गरे । क्यास्ट्रो सिएरा मेस्ट्रा पहाडमा लुके । केवल दुई जना मानिस, दुई राइफल र १२० राउन्ड गोला बारुद’को कमान्डर क्यास्ट्रोलाई भाइ राहुलले अतुलनीय सहयोग गरे ।

राहुलले खोजेका पाँच बन्दुक र क्यास्ट्रोको साहसले अन्ततः क्युवामा क्रान्ति सुरु गरियो । हर्बर्ट म्याथ्यूजले क्यास्ट्रोको अन्तर्वार्तापछि लेखे- ‘उनले क्युबाका युवाको कल्पनालाई समाते । उनी एक शिक्षित, समर्पित कट्टरपन्थी, आदर्श, साहस र नेतृत्वका गुणहरूले भरिएका थिए ।’ तीन वर्षभित्र, क्यास्ट्रोले अमेरिका समर्थित जनरल बटिस्टालाई विस्थापित गर्न सफल भए ।

भदौरे विध्वंस मच्चाउने कुनैपनि पात्रले माथि उल्लेख गरिएको क्रान्ति सायद पढेनन् । क्रान्ति र विध्वंसमा के फरक हुन्छ ? एउटा ‘क्रान्तिकारी र विध्वंसकारी’को नजरमा मुलुक र नागरिकको महत्त्व कति हुन्छ भन्ने इतिहासका विद्यार्थीले अवश्य पढ्ने छन् । रुसका पहरेदारले जारको दरबारसमेत लुट्न रोकेको इतिहास नपढेका कथित नेतृत्वको फेसबुक स्ट्याटसमा मुलुकको प्रतिष्ठा र पहिचान जलेको, व्यक्तिका निजी सम्पत्ति लुटेपश्चात् भवन खरानी बनाइएको घटनालाई क्रान्ति, आन्दोलन या विद्रोह भनेर लेख्ने ‘कलम र साहस’ कम्तिमा देशभक्त नेपालीको हुन सक्दैन ।

‘अन्यायपूर्ण संरचनाबाट प्राप्त प्रतिष्ठाको नैतिक वैधता आफैंमा प्रश्न हो’ भन्ने देखाउन पपुलिस्टहरू असफल भएका छन् । अन्यायपूर्ण प्रणालीमा सफलताको अर्थ के हो ? आयातित उपलब्धि र प्रायोजित परिवर्तनमा सामाजिक र आर्थिक अन्याय, राजनीतिक संरक्षण र छनौट जवाफदेहिताले सार्वजनिक जीवनलाई आकार दिएको छ । धन, सम्मान, कुर्सी र अवसरको निम्ति जस्तोसुकै कर्म/कुकर्म गर्न हौसिएको पात्र आयातित प्रणालीभित्र नैतिक रूपमा तटस्थ हुन नपाएको जेनजी पुस्ताले देखिसकेको छ ।

नैतिक आधारबिनाको सफलता खोक्रो मात्र हुँदैन; अपमानजनक हुन्छ भन्ने बुझपचाएको कथित विकल्प बिचित्रको अभियानमा निस्किएको छ । यस्तो प्रणालीमा मुलुकले सदैव हार्नेछ । उपलब्धि केवल व्यक्तिगत पुरस्कार मात्र हुनेछ । जसले मोरल भ्यालु, राजनीतिक सम्बन्ध र प्रणालीलाई सहजै किनारमा पुऱ्याउँछ । मुलुकमा योग्यताको कथा सामाजिक असमानतासँग मिल्दोजुल्दो छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र रोजगारीका अवसरहरूमा पहुँच असमान छ । सामाजिक आर्थिक स्थिति, भूगोल र भूराजनीतिक सम्बन्धलाई नबुझेको शासक अँध्यारो सुरुङलाई निकास ठान्दैछ ।

पद, प्रतिष्ठा, धन, कुर्सीलाई सर्वस्व मानेको शक्तिले मुलुक र मोरल भ्यालुलाई अनावश्यक मानेको अवस्थामा शान्ति र समृद्धि सोसल मिडियाको कच्चा पदार्थमा सीमित भएको छ । राजनीतिक मौनताबीच जन्मिएको ‘नयाँ वर्ग’ले असमानतालाई कायम राख्ने प्रणाली जोगाउन मरिहत्ते गर्दैछ । सांसदहरूलाई वर्गीकरण गरेर राजनीतिक विद्रोहको बाटो खोलेको सरकार, नैतिक असफलताको दलदलमा फसिसकेको छ । अन्यायपूर्ण प्रणालीको कपटी प्रभावलाई जोगाउन मरिहत्ते गरेको शक्तिले शरीरमा लगाएको तिलस्मी वस्त्र मिल्काएको छ । सुरक्षाथ्रेट भएको व्यक्तिको आधारातमा मोबाइल फोन जफत गरेर सुरक्षित ठान्ने शासनले राजनीतिक दुर्घटनाको वातावरण निर्माण गरेको आरोप खेप्दैछ ।

अन्यायपूर्ण समाजले प्रायः कथाको नियन्त्रण मार्फत आफूलाई टिकाउन कोसिस गर्दै आएको छ । असमानता, भ्रष्टाचार र शक्तिको दुरुपयोगलाई चुनौती दिने आवाजहरू बारम्बार कानुनी, सामाजिक र संस्थागत दबाबको सिकार हुँदै आएको छ । सत्य र न्यायको पक्षमा आवाज उठाउने पत्रकार, कार्यकर्ता र शिक्षाविद्ले सेन्सरशिप, धम्की र सीमान्तकरणको सामना गर्न बाध्य पारिएको छ । जसले गर्दा आलोचनात्मक संवाद र जवाफदेहिताको ठाउँ साँघुरो बनाएको छ । यद्यपि ‘शासकको अन्यायपूर्ण गतिविधि र कार्यशैलीको विरुद्ध निरन्तर आवाज बुलन्द गर्नुपर्छ ।’

सिंहदरबारमा आगो लगाइदिन्छु भन्ने शासकले बुद्धले देखाएको बाटोमा हिँड्न अनुरोध गरेर मोरल भ्यालुको खिल्ली उडाएको छ । ‘झुट र भ्रम’लाई आँखा चिम्लेको पुस्ताले नोक्सानीमा भविष्य देख्दैछ । सङ्घीय गणतन्त्र र पश्चिमा उपलब्धिले मुलुक समृद्ध बन्नुको सट्टा खरानी बनेको आरोप मात्र हो कि कटु वास्तविकता ? १०वर्षे माओवादी ध्वंस र हजारौँ नागरिकको बलिदानबाट जन्मिएको संविधानले समेत राजनीतिक स्थिरता र सुशासन दिन सकेन, किन ? सरकार परिवर्तनको बाटो सुनिश्चित गरिएको अनदेखा गर्दै विध्वंसबाट प्रधानमन्त्री बदलेर स्थापित गरिएको नजिरले कसको स्वार्थ पुरा हुँदैछ ? जबसम्म भदौरे विध्वंसको औचित्य पुष्टि हुँदैन, तबसम्म मुलुकले राजनीतिक स्थिरताको स्वाद चाख्न नपाउने निश्चित छ ।

सडकमा हुँदा केही नभएको ठान्ने र सरकारमा पुग्नासाथ अधिकतम् भएको/दिएको मान्ने राजनीतिले अराजकतालाई स्वागत गर्दैछ । ‘विध्वंस लिटरेचर’ मनपराउने पपुलिस्टहरूले नैतिक मूल्यलाई औचित्यहीन देख्नु स्वाभाविक छ । ज्ञान, शिक्षा, सीप, कौशल भन्दा विध्वंस र षडयन्त्रको बलमा प्राप्त शासनले मुलुक कहिल्यै समृद्ध बन्न सक्दैन भन्ने जेनजी पुस्ताले नबुझेको पुरस्कार पपुलिस्टहरूले पाएका छन् । राजनीति, क्रान्ति र मोरल भ्यालु त्यागेका पपुलिस्टहरू ‘सोकल्ड एक्स्ट्रा अडिनरी’ बन्दै जेनजीलाई लोप्पा खुवाउन मैदान ओर्लिएका छन् ।

कुर्सीसमेत आर्यघाट जान चाहनेहरू, USAID / NED को सहयोग प्राप्त गर्नेहरू, CEPPS, IFES, NDI, IRI र अमेरिकन यूथ काउन्सिलबाट दीक्षित पात्रहरूको ‘राजनीतिक चारधाम’ एकै हुँदाहुँदै मुलुक खरानी बनाउनुको लक्ष्य के थियो – जेनजी पुस्ताले बुझ्न ढिला भइसकेको छ । देशभक्त मुलुकवासीलाई क्रान्तिसम्म पुग्न नदिने, मोरल भ्यालु समाप्त गर्दै आफ्नो साम्राज्य कायम राख्ने बाह्य शक्तिले नयाँ पुस्ताको असन्तोषलाई रणनीतिक स्वार्थअनुकूल प्रयोग गरिरहेको छ । दुर्भाग्यवश जेनजी पुस्ता र पपुलिस्टहरू चक्रव्यूहमा फसेको बुझ्न अल्छी गर्दैछ ।

अन्तमा, मुलुकको इतिहासमा धेरै शासकहरू शक्तिको मातमा रहे । निष्पक्षताको आदर्श मिल्काएर सत्य, कानुन र न्यायको ‘प्रोक्सी मानक’ स्थापित गर्न मरिहत्ते गर्दा पछारिए । शक्ति नियन्त्रणबाहिर जाँदा के हुन्छ भन्ने इतिहासले देखाएको छ । यदि राष्ट्र एकताबद्ध छ भने दृश्य र अदृश्य शत्रुसँग लड्न सकिन्छ । एकताको माध्यमबाट अस्तित्वलाई कायम राख्न सकिन्छ । मोरल भ्यालुलाई त्याग्ने प्रतिस्पर्धा चलेको मुलुक क्रान्तिले मात्र जोगाउन सकिन्छ । दुर्भाग्य ! ‘क्रान्ति’लाई बन्ध्याकरण गर्ने शक्तिलाई युवाले आदर्श मान्दै आएको छ ।