देशभक्त र जङ्गी अड्डाको अग्निपरीक्षा !
९ आश्विन २०८३, शुक्रबार
राजनीतिक लगानी र इतिहास भन्दा पश्चिमा आशीर्वाद ठुलो मान्ने कथित विकल्पले अभियन्ता, आइएनजिओ र पश्चिमा शक्तिको रणनीतिक लक्ष्य बुझ्ने ल्याकत राख्दैन । राजनीतिक घडीको विपरीत काम गरिरहेका वर्गलाई पश्चिमा शक्तिले `युवा विकल्प` बनाएर पस्किएको अवस्थामा मुलुकको सङ्कट थप गहिरो बन्दैछ ।
पश्चिमा प्रभावको बाबजुद अफगानिस्तान, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, नेपाल ‘सम्पन्न र समृद्ध’ भएन, किन ? ३५ वर्ष मुलुकमा केही भएन भन्ने डिजिटल पुस्ता, अमेरिकाको एसेट भएर मुलुक बन्छ भन्ने अवस्थामा कसरी पुर्याइयो ? विश्व-राजनीतिमा अमेरिकी सत्ताको नीति, दबाब, प्रभाव छिरेको कुनैपनि मुलुक सार्वभौम भएको इतिहास छैन, यद्यपि जापानी र कोरियन जनताले सार्वभौम सत्ता र स्वतन्त्रतासँग समृद्धि साटन सफल भएका छन् । दुर्भाग्यवश युवाहरूले मुलुक पोलेर समृद्धि खोजेकोमा इण्डो-पश्चिमा शक्ति प्रफुल्ल देखिन्छ ।
सन् २०१५ मा संविधान जारी गराए पश्चात् अमेरिका United States Agency for International Development (USAID) र दोस्रो ‘सिआइए’ भनिने गैरसरकारी संस्था National Endowment for Democracy (NED)ले नेपालको आन्तरिक राजनीतिमा दबाब र प्रभाव सिर्जना गर्न सहकार्य गरेको ग्रेजोनको रिपोर्टमा उल्लेख गरिएको छ । परिवर्तनको नाममा प्रशासनिक र प्राविधिक कमजोरी सिर्जना गराउने, भारत र चीनलाई डिफेन्सिव बनाउन संविधान जारी गराउने, संविधान कार्यान्वयन गराउने भन्दै ‘नीति संवाद’ जस्तो आकर्षक र रणनीतिक कार्यक्रम लिएर ढोकाबाट नेपाल प्रवेश गर्न सफल भयो । दुर्भाग्यवश कुर्सीका भोका प्राणीहरूले मुलुक, देशभक्ति, सार्वभौम सत्ता र अमेरिकी स्वार्थलाई आँखा चिम्लिन राजी भए ।
USAID र NED को आर्थिक सहयोग लिएर Consortium for Elections and Political Process Strengthening (CEPPS) नामक संस्था कुटिल स्वार्थ लिएर मुलुक प्रवेश गरेको बुझ्नसम्म चाहेन । संसद् र सांसदलाई सघाउने भन्दै परम्परागत दलभित्र आफ्ना एजेन्टहरू उत्पादन गर्न सफल भयो । CEPPSले अमेरिकी सरकारको डलर लिएर International Foundation for Electoral Systems (IFES), National Democratic Institute (NDI) र International Republican Institute (IRI)लाई नेपाल लगायत देशमा सक्रिय बनायो ।
‘युएसएआइडी’को आर्थिक लगानी पश्चात् NDI ले राजनीतिक दलभित्र महिला, मधेसी, दलित, युवालाई सहभागी गराउन अहम् भूमिका निभायो । IRI ले युवालाई नेता बनाउन, विद्रोह गर्न, भ्रम र घृणा फैलाउन, सञ्जाल चलाउन तालिम दियो । संसद्लाई बलियो बनाउने, निर्वाचन आयोगलाई सहयोग गर्ने र राजनीतिक दलहरूलाई प्रभावकारी बनाउने भन्दै राजनीतिक अस्थिरताको वातावरण निर्माण गरिरह्यो । गोप्य रूपमा नयाँ पार्टी जन्माउने, युवा नेता उत्पादन गर्ने र रिजिम चेन्ज गर्ने योजनाअन्तर्गत भदौरे विध्वंससम्म पुर्याइयो ।
सहकारी ठगीमा जेलपरेको पात्रलाई जेल फुटाएर बाहिर ल्याउँदै रक्षात्मक बनाउने, जेनजी युवालाई अस्वीकार गर्न लगाउने, सुशीला कार्कीलाई ‘डिस्कोर्ड’मार्फत प्रधानमन्त्री बनाउने, जेल फर्काइएको पात्रलाई रहस्यमय ढङ्गले बाहिर ल्याउने, रणनीतिक ढङ्गले लोकप्रिय बनाइएको पात्रसँग कार्यगत एकता गराउँदै निर्वाचनमा पठाउने अदृश्य शक्तिले मुलुकमा राजनीतिक घोटाला गरिरहेको ‘ग्रे-जोन’ले खुलासा गरिसकेको छ ।
माओवादी ध्वंस र भदौरे विध्वंसपश्चात् नेपालको राजनीतिक स्थिरतामा अमेरिकाले कस्तो भूमिका निभायो ? – इतिहास र राजनीतिक शास्त्रका विद्यार्थीले गम्भीर अध्ययन गर्ने समय आएको छ । नेपोबेबीको विरुद्ध आक्रामक नारा दिएका र प्रायोजित पात्रले ‘नेपोबेबी’लाई धमाधम राजनीतिक नियुक्ति दिने बाध्यताभित्र कसले भूमिका निभाउँदै छ ? फेसबुक फलोअरलाई सत्यताको मानक मान्ने मन्त्रीले ग्रे-जोनको रिपोर्टलाई झुटो प्रमाणित गर्न गरिएको तर्कलाई उछिन्न विश्लेषकहरू मैदान ओर्लिएका छन् । ‘अमेरिकाले पैसा दिएको सत्य हो, तालिम दिएको पनि सत्य हो, तर पपुलिस्टहरुको उत्पादनमा कुनै हात छैन’ भन्ने अभिव्यक्तिपश्चात् उनीहरूको शरीरमा कुनै वस्त्र बाँकी रहेन ।
स्रोत र साधनमाथि सीमित नागरिकको पहुँच र पकड भएको मुलुकमा राजनीतिक अस्थिरता सिर्जना गर्न ‘आइएनजिओ’ले रणनीतिक भूमिका निभाउँदै आएको छ । नव उदारवाद, खुलाबजार अर्थतन्त्र, आइएमएफ, विश्व बैङ्क, एसियाली विकास बैङ्कको बाध्यकारी नियमले थलापरेको मुलुकमा छिराइएको आयातित उपलब्धिले मुलुक र सभ्यता समाप्त भएको छ । बीपी र पुष्पलालको काँध चढेर नेपाल प्रवेश गरेको ‘पश्चिमा विचार र दर्शन’ले नेपाली परम्परा, ज्ञान, सीप, कौशल, संस्कृति, धर्म र समाज ध्वस्त बनाइएको छ । जातीय/क्षेत्रीय द्वन्द्व सिर्जना गर्ने, इसाईकरणको तथाकथित अभियान चलाउने डिपस्टेटको गतिविधिलाई अन्देखा गर्दा समेत दलीय नेतृत्व, परम्परागत दलहरू र नेपाल प्रहरीको साख समाप्त पारिएको छ ।
परम्परागत नेतृत्वको अयोग्यता, माओवादी ध्वंस, असङ्ख्य विद्रोह र आन्दोलनले थिलथिलो बनाइएको मुलुक अल्लारेहरूलाई प्रयोग गर्दै ‘मिसन खरानी’सम्म पुर्याइएको घटनाबाट देशभक्तले गम्भीर शिक्षा लिने उपयुक्त समय आएको छ । सुशासन, भ्रष्टाचार मुक्त शासन र समृद्धिको नाममा राजनीतिक अस्थिरता सिर्जना गराउने, राजनीतिक परिवर्तन गराउन लगानी गर्ने, रणनीतिक अस्थिरताको ग्यारेन्टी गर्ने संविधान जारी गर्न/गराउन अहम् भूमिका निभाउने, समस्या समाधान गर्न नदिने पश्चिमा रणनीतिले मुलुक खोक्रो भइसकेको छ ।
‘ग्रे-जोन’ले चलाखीपूर्वक अमेरिकाको अपराधलाई लुकाएको छ । राजनीति नबुझेका अल्लारेलाई मोहरा बनाएर अमेरिकाले एमसिसी, एसपिपी, युएस प्यासिफिक कमान्ड, प्याक्स सिलिका जस्ता रणनीतिक कार्यक्रममार्फत चीनलाई घेर्ने तयारी तीव्र बनाएको विषय उजागर गर्न अल्छी गरेको छ । सन् २०१७ मा ‘रेकी’ गरिएका पात्रलाई जलाइएको सिंहदरबार पुर्याउने खेलभित्र गम्भीर षडयन्त्र लुकेको मुलुकले बुझ्न जरुरी छ । यद्यपि ‘कांग्रेस/ कम्युनिस्ट’ले गर्न नसकेका/नमानेका राष्ट्रघात गर्न उत्पादन गरिएका पात्रमध्ये केवल पाँचलाई डामेर ‘ग्रे-जोन’ले जोगाएका सयौँ अनुहार मुलुकमा सक्रिय छन् ।
चराहरूले आसन्न विपत्ति महसुस गर्न सक्छन् तर मुलुकको विद्धान वर्गले परिचालित र प्रायोजित पात्रको विरुद्ध एक शब्द बोलेन । २३ गतेको नतिजाबारे पहिल्यै थाहा पाएका पात्रले सुशीला कार्कीको खुट्टा ढोगेर कसलाई सन्देश दिएका थिए, डिजिटल पुस्ताले अनदेखा गर्दै एल्गोरिदमको पछाडि दौडियो । अमेरिकी नागरिकता त्यागेको निस्सा Certificate of Loss of Nationality (CLN) सम्मानित अदालत र जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा नबुझाएको व्यक्ति ‘ग्रे-जोन’लाई अपमान गर्न हौसियो । भदौरे विध्वंसको नतिजा पहिल्यै निश्चित गरेर एम्बुलेन्स, पानी, औषधि, डाक्टरसमेत लिएर आन्दोलनमा ओर्लिएका एजेन्टलाई मुलुक सुम्पेर डिजिटल पुस्ताले गम्भीर गल्ती गरेको छ ।
ओलीद्वारा जारी गराइएको चुच्चे नक्सालाई खल्लो बनाउन ग्रेटर नेपालको नक्सा महानगरपालिकाको भित्तामा राख्न लगाउने शक्तिले काठमाण्डौको तत्कालीन मेयरलाई मात्र लोकप्रिय बनाउन निरन्तर अभियान चलाएको डिजिटल पुस्ताले बुझ्न चाहेन । नेपालको राजनीतिक इतिहासमा कुनै लगानी र योगदान नभएको पात्रलाई विश्वको प्रभावशाली व्यक्तिको सूचिमा देखाउने अभियान चलाइयो । ‘आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरबारमा आगो लगाइ दिन्छु – याद राख चोर सरकार…’ भन्ने पात्रलाई दुर्भाग्यवश वैदेशिक शक्तिले तालिम दिएको खुलासाले मुलुक गम्भीर षडयन्त्रको सिकार भएको मान्न करै लाग्छ ।
नेपाललाई दीर्घकालीन गरिबीमा फसाउने, परम्परागत दलहरूविरुद्ध अभियान चलाउने, सोकल्ड शीर्ष नेतृत्वलाई खुइल्याउने, भ्रष्टाचार र सुशासनको नाममा सर्वसाधारण नागरिकलाई दिग्भ्रमित गर्ने, सोसल मिडियामार्फत सरकारविरुद्ध घृणा फैलाउने, नागरिकको ब्रेनवास गर्ने, छिटो-छिटो सरकार परिवर्तन गराउने, आत्मनिर्भर आर्थिक नीति, पर्यटन, हाइड्रो र कृषि नीति बन्न नदिने, वैदेशिक स्वार्थ अनुरूप कार्यक्रम लागु गर्न दबाब सिर्जना गर्ने, आन्तरिक र वैदेशिक लगानीको वातावरण बन्न नदिने, चीन र भारतबीच शङ्का उत्पन्न गराउन भूमिका खेल्ने, उत्पादनमूलक क्षेत्रमा लगानी रोक्ने, आकर्षक लगानी र तालिममार्फत युवालाई एन्टी भारतीय, एन्टी चाइनिज बनाउने, प्रो नेपाली बन्न नदिने, जनपद प्रहरी, सशस्त्र प्रहरी र सेनामाथि दबाब र प्रभाव सिर्जना गर्ने, न्यायालय र कर्मचारीलाई नागरिकको पक्षमा काम गर्न नदिने अभियान सञ्चालन गर्न विदेशी शक्तिले महत्त्वपूर्ण भूमिका निभाउँदै भदौरे विध्वंसको वातावरण निर्माण गरिएको मान्न ग्रेजोनको रिपोर्ट गतिलो प्रमाण हुन सक्छ ।
अन्तमा, भदौरे विध्वंसको जगमा चर्चित बनाइएका पात्रले बदलिएको एजेन्डा र भूराजनीतिक स्वार्थलाई सम्बोधन गर्न नसक्ने निचोडपश्चात् ‘ग्रे-जोन’को रणनीतिक प्रयोग गरिएको छ । कांग्रेस, कम्युनिस्ट र भारतीय सत्तालाई प्रयोग गरेर राजसंस्था समाप्त गरिएको, USAID र NED को लगानीमा उत्पादन गरिएका भूमिगत पात्रहरूको प्रयोग गरेर दलहरु समाप्त पारिएको, ग्रिन आर्मीको नाम फेरेर संस्था जोगाउन सफल भएको घटनालाई देशभक्त र जङ्गी अड्डाले सूक्ष्म ढङ्गले केलाउन जरुरी छ । १२ बुँदेबाट निस्केर ब्रिक्समा सहभागी हुने भारतीय सत्ताको रणनीतिक प्रयासपश्चात् ‘युएस प्यासिफिक कमान्ड’ले १२ बुँदे २.० को तयारी गर्दै छ । परम्परागत दलहरू खुइलिएको, कथित विकल्प असफल भएको अवस्थामा १२ बुँदे २.०लाई असफल बनाउन देशभक्त र जङ्गी अड्डाको सहकार्य बाध्यात्मक र अनिवार्य भइसकेको छ ।