अनफिनिस्ड क्राइसिस !
३ आश्विन २०८३, शनिबार
खुसीको महत्त्व बुझ्न जनावरबाट होइन, मानिसबाट सुरु गर्न आवश्यक छ । वैश्य युगको दलदलमा फसेको पुस्ता सनातन मूल्य र मान्यता त्यागेको सजाय भोग्दैछ । समय परिवर्तन हुँदैछ, डिजिटल पुस्ता पश्चिमी चक्रब्यूहबाट निस्कने कोसिस गर्दैछ । ‘खण्डित र अस्थिर संसार’ले आफ्नो भविष्यमाथि खेलबाड गरिरहेको डिजिटल पुस्ताको बुझाइ छ ।
मानव समाज गम्भीर विरोधाभासमा बाँचेको छ । सत्ताले लोकतन्त्रसँग एउटा गहिरो प्रश्न गरिरहेको छ- मानिससँग अधिकार किन हुन्छ ? वैश्य युगको सत्ताले प्रत्येक मानिससँग जीवन हुन्छ भन्ने मुस्किलले स्वीकार गरेपनि मूल्यवान् मान्दैन । विध्वंस, हिंसा, षडयन्त्र र मिसन खरानीलाई सत्तामा पुग्ने साधन बनाएको सनकतन्त्रले गम्भीर धोकालाई लोकतन्त्र बनाएको अमेरिकी ‘द ग्रेजोन’को रिपोर्टले उजागर गरेको छ ।
समाजको जटिल समस्याहरू पढ्न, बुझ्न र समाधान गर्न राजनीतिक, आर्थिक कार्यक्रम र देशभक्ति चाहिन्छ । नार्सिसिस्टहरूको शब्दकोशमा ‘त्याग’ भन्ने शब्द हुँदैन । डिजिटल पुस्ताले नार्सिसिस्टलाई किन समर्थन गऱ्यो भन्ने कुराले फरक पार्दैन तर भावनामा बगेको पुस्ताले पटक-पटक गल्ती गर्दै आएको मूल्य मुलुकले चुकाउन विवश भएको छ । लोकतन्त्रले ‘नार्सिसिस्ट’हरूको बोझ उठाउन सक्दैन । आत्मपरीक्षण नार्सिसिस्टहरूको विशेषता होइन । भदौरे विध्वंस र प्रायोजित निर्वाचनपश्चात् संसद् चलिरहेको समयमा ‘ओ ब्रो झ्याउ लाग्यो, चिया पिउन जाउँ’ भन्ने सांसद जन्माएर सुशासन र परिवर्तनको सपना पालेको छ । संसद्को नेताले मुलुकको छविमा गम्भीर क्षति पुऱ्याएको छ । नरसंहार र विध्वंसले आममाफी पाएको छ ।
अमेरिकी सत्ता र सिआइएको तीन अर्ब लगानीमा जन्माइएको सरकार ‘मनपरीतन्त्र र प्रतिशोधको राजनीति’ लिएर मुलुक प्रवेश गरेको छ।भत्काइएको लोकतन्त्रमा दण्डहीनता र अराजकता मौलाएको छ । द ग्रे जोनको रिपोर्टपश्चात् पपुलिस्टहरूले टेकेको जमिन भासिएको छ । ‘सिआइएको रोड म्याप’मा हिँड्नुलाई शक्ति ठानेको वर्तमान सरकार अराजकतामा शक्ति आर्जन गर्दैछ । प्रसिद्ध इतिहासकार र अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक ब्रेन्डन सिम्सद्वारा लिखित The Return of the Great Powers र प्रख्यात बेलायती रक्षा तथा सुरक्षा विश्लेषक Dr. Jack Watling द्वारा लिखित चर्चित पुस्तक स्टेटक्राफ्ट : ‘The New Rules of Power in a Divided World’ बाट आधुनिक नार्सिसिस्टहरू प्रभावित भएको बुझ्न सकिन्छ । आवश्यकतालाई विधि बुझ्ने अलपत्र शासनमा पपुलिस्टहरू जागिर खाँदैछन् ।
आयातित प्रणालीको विश्लेषण र यसका कमजोरीलाई सम्बोधन गर्ने सुविधा वर्तमान सरकारलाई छैन । उदारवादी विश्व व्यवस्था ध्वस्त छ । अन्तर्राष्ट्रिय प्रणालीको मेरुदण्ड भाँचिएको छ । दीर्घकालिन प्रभावको तयारीमा रहेको भारत रुससँग दोस्ती, चीनसँग तालमेल र इरानसँग कूटनीतिको प्रयोग गर्न तयार भएको छ । अब के हुन्छ भन्ने कुरा ग्लोबल वेस्ट (अमेरिका र पश्चिमी सहयोगीहरू), ग्लोबल इस्ट (रुस, चीन) र ग्लोबल साउथ (विश्वव्यापी बहुमत)को त्रिकोण बीचको लडाइलाई बुझ्ने ल्याकत पपुलिस्टहरूसँग रहेको देखिँदैन ।
अन्तर्राष्ट्रिय कानुन र आर्थिक सहयोग प्रबल भएको शीतयुद्धकालीन समयलाई क्याम्ब्रिजका इतिहासकार ब्रेन्डन सिम्सले आफ्नो पुस्तकमा आकर्षक ढङ्गले उल्लेख गरेका छन् । परम्परागत भूराजनीति र नयाँ महाशक्ति संसारको पुनरागमनको बारेमा दमदार मूल्याङ्कन गरेका छन् । महाशक्ति द्वन्द्व र प्रतिद्वन्द्विता समाप्त भएको पछिल्लो अवस्थामा अन्तरनिर्भरतालाई हतियार बनाउने प्रतिस्पर्धा चलेको छ । सिम्सको बुझाइमा, ‘निर्णयहरू आर्थिक तर्कले होइन भूराजनीतिक तर्कले सञ्चालित हुन्छन् । जलवायु परिवर्तनअघि भूराजनीतिले हामीलाई मार्न सक्छ ।’
आइएमएफ, वर्ल्ड बैंक जस्ता वित्तीय संस्थाको पावर, लिडरसिप र नीति निर्माणमा पर्याप्त भागीदारीको विरुद्धमा भारत, ब्राजिल, दक्षिण अफ्रिका, रुस र चीन जस्ता देशको अधिकार स्थापित गर्ने अभियान ‘ब्रिक्स’को सम्मेलनपश्चात् सुरु भएको छ । ब्रिक्स मुलुकको ४० प्रतिशत जिडिपी र विश्वका ५० प्रतिशत जनसङ्ख्याको बाबजुद युरोपियन देश र अमेरिकाको प्रभुत्व चल्दै आएको छ । भारत, ब्राजिल, दक्षिण अफ्रिका, चीन र रुस जस्ता देशको तागत ब्रिक्स सम्मेलनपश्चात् अकस्मात् चुलिएको छ । जसको प्रत्यक्ष प्रभाव मुलुकको राजनीतिमा पर्ने देखिएको छ ।
भूराजनीतिलाई पुनःआकार दिने अभियान तीव्र बन्दैछ । बहस जारी छ, विश्वव्यापी व्यवस्था र नियमरहित अमेरिकी लोकतन्त्रले अन्तर्राष्ट्रिय वातावरण खल्बलिएको छ । ट्रम्प लोकतन्त्रको गम्भीर असफलतापश्चात् क्षेत्रीय शक्तिहरू जुर्मुराउने साइत कुरेर बसेका छन् । एकतर्फी उद्देश्य प्राप्त गर्न बल प्रयोग गर्ने ट्रम्प-नीति सम्भवतः अन्तिम नोक्सानी लिएर आउनेछ । आधुनिक युद्धमा ड्रोनले कमाल देखाउँदैछ । अमेरिकाको क्षेप्यास्त्र रणनीति, सैन्य श्रेष्ठताले प्रभुत्व र विजयको ग्यारेन्टी गर्दैन/गरेन । विश्व-राजनीति प्रश्न गर्दैछ तर अमेरिका जवाफ दिन इच्छुक छैन ।
मुख्यतया अराजकताको समयमा मुलुकले कसरी रणनीतिक परिणाम प्राप्त गर्न सक्छ ? राज्यले रणनीति बनाउने हो तर परिणाम भोग्ने नागरिक हुन् । प्रतिस्पर्धाको क्षेत्र विस्तार भएको छ । विभाजित संसारमा देशको आकार र आर्थिक स्रोतहरू महत्त्वपूर्ण छैनन् । मुलुक र सभ्यता बचाउन देशभक्तहरू तयार भएमा पश्चिमा दबाब र प्रभाव ओरालो ताग्न बाध्य हुनेछ । यद्यपि ठुला शक्तिहरूले आफूले चाहेको गर्न र सफल हुन अधिकतम कोसिस गरिरहने छन् । महाशक्तिहरूले विश्वमा प्रभुत्व जमाउने र नयाँ व्यवस्थालाई आकार दिने अभियानलाई निरन्तरता दिनेछन् ।
बढ्दो जटिल संसारमा एकल शक्तिमा अत्यधिक भरपर्नु घातक हुनेछ । युरोपेली र क्यानेडियनहरू अमेरिकामाथिको निर्भरता घटाउन आतुर भएको विश्वले महसूस गरिसकेको छ । ट्रम्प प्रशासनको गम्भीर असफलतापश्चात् चीनलाई हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन आएको छ । ब्रिक्सको नयाँ दिल्ली घोषणापश्चात् अन्तर्राष्ट्रिय व्यवस्थामा व्यापक बदलाव आएको सङ्केत प्राप्त भएको छ । ब्रिक्सले ग्लोबल साउथलाई ठुलो आवाज दिएको छ । गत सेप्टेम्बर १५ मा दक्षिण अफ्रिकाले ब्रिक्स विकास बैंकसँग १ अर्ब डलरको ऋण सम्झौतामा हस्ताक्षर गरेको घटनाले ट्रम्प प्रशासन झस्किएको छ ।
विश्व अर्थतन्त्रमा आएको डरलाग्दो मन्दी, कृत्रिम बुद्धिमत्ता (एआई), विद्युतीय सवारी साधन, नवीकरणीय ऊर्जा र उन्नत उत्पादन, अन्तर्राष्ट्रिय राजनीति र आर्थिक परिदृश्यमा आएको व्यापक परिवर्तनपश्चात् अमेरिकाको विश्वव्यापी प्रभाव धर्मराउँदै छ । विकसित भइरहेको परिवर्तनलाई युरोप र क्यानडाले अमेरिकामाथिको निर्भरता घटाउन जरुरी देखेको छ । ब्रिक्स पश्चिमको शत्रु होइन, विश्व व्यवस्थालाई थप समावेशी, सन्तुलित र बहुपक्षीय प्रणालीमा आकार दिइरहेको मान्न अमेरिका तयार नभएको अवस्थामा उथलपुथल अनिवार्य हुनेछ ।
आर्थिक अन्तरनिर्भरताको परिणाम विश्व-राजनीतिमा उथलपुथल आएको छ । विश्वव्यापी विकास र आर्थिक स्थिरतामा चीनको योगदानले लोकतन्त्रलाई ठुलो गुन लगाएको छ । सन् २००८ को अन्तर्राष्ट्रिय वित्तीय सङ्कट र कोभिड-१९ महामारीको कारण उत्पन्न आर्थिक अवरोधलाई चिर्दै विश्वव्यापी वृद्धि र व्यापारको प्रमुख इन्जिन बनेर चीन उदाएको छ । बढ्दो प्राविधिक नवप्रवर्तनमार्फत चीनले आफ्नो छवि बलियो बनाएको छ । व्यापार संरक्षणवाद र एकपक्षीयताको उदयको बीचमा चीनको संकल्प स्थिर र अटल छ । खुलापन विस्तार गर्ने, संयुक्त विकासलाई बढावा दिने र सबै अन्तर्राष्ट्रिय साझेदारहरूसँग वृद्धि लाभांश बाँड्ने ब्रिक्सको धारणाले अमेरिका रन्थनिएको छ । विश्वव्यापी आर्थिक स्थिरता र गतिशीलता सुरु भएमा अमेरिकी प्रभुत्व समाप्त हुनेछ ।
युवा पुस्ता विकासलाई कुर्न तयार छैन । परम्परागत मिडिया र शीतयुद्धकालीन कथामा डिजिटल पुस्ता झुम्न तयार छैन । बढ्दो खुलापन र भूराजनीतिक अनिश्चितताको सामना गरिरहेको डिजिटल पुस्ता स्थिरता, समृद्धि र रणनीतिक लचिलोपनको अर्थ बुझ्दैन । विविध साझेदारीमा बढी रुचि राख्ने यो पुस्ताले मुलुकको हैसियत र ल्याकत भन्दा भावना र प्रविधिलाई महत्त्व दिन हौसिन्छ । विकसित मुलुकसँग दाँज्न हौसिने युवा पुस्ताले आफ्नै कमजोरी देख्न सक्दैन ।
लोकतन्त्र र पश्चिमा दलीय प्रणाली पूर्णरूपमा असफल भएको छ । नव उदारवादमा भ्रष्टाचार मोटाउँदै छ । पश्चिमी रणनीति गल्तीमा भविष्य कुर्दैछ । भूराजनीतिक पुनर्संरचनालाई रोक्न अमेरिकाले अन्तिम शक्ति लगाइरहेको छ । विश्वव्यापी प्रभावको साथ अमेरिका आज पनि सैन्य, प्राविधिक र आर्थिक शक्ति हो । अन्तर्राष्ट्रिय प्रणाली, आर्थिक साम्राज्य र एकध्रुवीय विश्व कायम राख्न पश्चिमा शक्तिले सम्पूर्ण तागत लगाएको छ । यद्यपि पश्चिमी नागरिकहरू नयाँ वास्तविकतामा आफूलाई फिट गर्न तयार रहेको सङ्केत दिएको छ ।
अन्तमा, मुलुकको तागत भनेको पुर्खाको सभ्यता मात्र हो । पश्चिमी सिस्टम र अमेरिकी प्रभुत्व भत्केको अवस्थामा नेपालले निर्णायक रणनीतिक अस्थिरता भोग्न विवश हुनेछ । चीन, उत्तर कोरिया, रुस, इरानले आफूलाई बचाउन सक्ने एकमात्र कारण उनीहरूको सभ्यता हो । भारत, ब्राजिल, युरोपियन युनियनले आफूलाई जोगाउन चाहेको खण्डमा आफ्नो पहिचान जोगाउन सक्नु पर्नेछ । ब्रिटेन वुड अर्गनाइजेसनमार्फत अमेरिकाले विश्वमा प्रभुत्व कायम राख्न अधिकतम कोसिस गर्नेछ । त्यस्तो अवस्थामा अमेरिकाले ‘नेपाल र भारत’माथि थप दबाब सिर्जना गर्नेछ र मुलुकको राजनीति थप डरलाग्दो बन्नेछ ।