राजनीतिक सङ्कट र पपुलिज्मको नियति
२६ भाद्र २०८३, शुक्रबार
देश शोकमा डुबेको छ । ‘ढुक्क हुनुस्, देश बन्छ’ भन्ने पपुलिस्टहरुले रणनीतिक रूपमा निर्माण गरेका समर्थक र फेक एकाउन्टमार्फत समर्थनमा जन्माइएका हुँडारहरू सोसल मिडिया फोहोर गर्न व्यस्त छन् । सत्तामा पुग्न तयार गरिएका हुँडारहरूको अराजकताले सम्पूर्ण सीमा नाघेको छ । पपुलिज्मको नसामा डुबेको शासक हुँडारहरूलाई कारबाही गरिनेछ भन्ने वक्तव्य निकालेर चित्त बुझाउँदै छ ।
शासकहरूको मनोविज्ञान नबुझेको डिजिटल पुस्ता आफ्नो चिहान खन्दैछ । फाँसीवादमा पुग्ने पक्की सडक निर्माण गर्न `एल्गोरिदम र सञ्जाल`को प्रयोग तीव्र बनाइएको छ । बन्दै गरेको पुल एआईमार्फत सम्पन्न गर्दै गाडी चलाइएको छ । सुरक्षा निकायद्वारा उद्धार गरेर ल्याइएका घाइतेलाई देश बनाउने टिमको सदस्यले बोकेको भिडियो बनाउँदै सर्वसाधारणको ब्रेनवास गर्ने अभियान चलाइएको छ ।
एमसिसी, एसपिपी सम्झौतालाई कहिल्यै समर्थन नगरेका, हाइब्रिड पञ्चहरूको कथित कार्यशैली, कुशासन र भ्रष्टाचारको पक्षमा वकालत नगरेका, सार्वजनिक र निजी सम्पत्ति आगजनी गर्दै मुलुकलाई बारबरा/समता फाउन्डेसन, टिओबी र अमेरिकन यूथ काउन्सिलको एसेटहरुलाई अनुमोदन गर्न नमानेका नागरिकलाई विवेक गुमाएका हुँडारहरू प्रश्न गर्दैछन्, ३५ वर्षमा के गरिस् ? सिंहदरबार जलाउन नगएको, विदेशीले बनाइदिएको संसद् भवन पोल्न सहभागी नभएको, सम्मानित सर्वोच्च अदालतमा आगो झोस्न नमानेको, सहकारी ठगीमा आरोपितलाई छुटाउने बहानामा हजारौँ कैदीलाई भगाउन जेल नगएको देशभक्तहरूको जवाफले तिल्मिलाएका अराजकहरू लोकतन्त्रको हत्या गर्न निस्किएका छन् ।
३५ वर्षमा केही भएन, जे-जति भयो सबै नराम्रो मात्र भयो भन्ने ‘खराने ग्याङ’ले मुलुकलाई सङ्कटतर्फ धकेल्दै छ । पीडित नागरिकले सरकार खोज्दा सत्ताद्वारा पालितपोसित हुँडारहरू सामाजिक फाँसीवाद पस्किनछन् । संसद्मा अङ्ग्रेजी बोल्दै क्षतिपूर्ति माग्ने कच्चा खेलाडीको आवाज लिएर ‘ड्रिल बेबी ड्रिल’को नारा दिने, पेरिस सम्झौताबाट भाग्ने राष्ट्रपतिलाई सुनाउन ‘युएन’ जाने प्रधानमन्त्रीको खल्लो प्रयासलाई भक्तहरूले राजा महेन्द्रसँग दाँज्दै छन् । बालेन्द्र असफल भए मुलुक सकिन्छ भन्ने प्रोपोगाण्डाभित्र डरलाग्दो षडयन्त्र लुकेको छ । पपुलिज्मको जगमा राजा महेन्द्र जन्माउने कथित रणनीति सफल भएमा आगामी पुस्ताले लोकतन्त्रको निम्ति रगत बगाउने अवस्था आउने छ ।
नेपो बेबी र भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएको जेनजी पुस्ताको आन्दोलनलाई हाइज्याक गर्दै भदौरे विध्वंस मच्चाएको शक्तिको ‘राजनीति’ र ‘सुशासन’ मुलुकले भोगिरहेको छ । अथाह तेलको बाबजुद भेनेजुएला समृद्ध बन्न नसकेको, असीमित प्राकृतिक स्रोतको बाबजुद कङ्गो गरिब बनेको नबुझ्ने पपुलिस्टहरुले सोसल मिडिया फोहोर गरेर, ३५ वर्षलाई सरापेर मुलुक बन्ने ठानेको छ । पञ्चायती व्यवस्थाविरुद्ध सङ्घर्ष गर्दै जन्मिएका विद्यार्थी सङ्गठन लोकतान्त्रिक गणतन्त्रमा बन्द गरिएको शासनमा ग्रिन आर्मी नेपाल जस्तो संस्था खारेज हुँदैन । ओलीको कार्यकालमा दर्ता भएको, देउवाको कार्यकालमा ड्रेस स्वीकृत भएको भन्दै पपुलिस्टहरुको शासनमा ‘ग्रिन आर्मी नेपाल’लाई जोगाउने षडयन्त्रपश्चात् जङ्गी अड्डाले आफ्नो गौरवपूर्ण इतिहास र मुलुक जोगाउने समय आएको छ ।
मुलुकमा पतन द्रुतगतिमा फैलिरहेको छ । डिजिटल पुस्ताले विचारलाई अनुपयुक्त विषय मानेको छ । मानवतालाई जीवित राख्न लाजको उपस्थिति अनिवार्य छ, तर लाजमान्ने मानिस तीव्रगतिमा लोप हुँदै छ । डिजिटल पुस्ता ‘राजनीतिक हिंसा र अत्याचार’लाई सुशासन र लोकतन्त्र मान्दैछ । सत्ताको ‘अहङ्कार’ले हाइब्रिड प्रणाली र पपुलिस्टको दोषहरू उजागर भएको छ । संस्था भत्काएर नायक खोजेको समाज आफ्नै गल्तीले पीडित बन्दैछ । जबरजस्तीमा भरपरेको नायक`ले परिस्थितिलाई झनै बिगारेको छ । पपुलिज्मको जगमा उदाएको शासक अधिनायकवादमा पुग्न हतार गर्दैछ ।
आन्तरिक द्वन्द्वबाट जोगिएको मुलुकले सामान्यतया छिटो प्रगति गर्छ भन्ने बुझेको शक्तिले मुलुकमा द्वन्द्वको खेती गरिरहेको छ । रोचक कुरा… राजनीतिक नेतृत्व प्रतिक्रियाविहीन भएको छ । प्रणालीलाई सुधार गर्न धेरै समय लाग्नेछ । कांग्रेस-एमालेले सुरु गरेको सामाजिक विघटन, माओवादीमार्फत सुरु गरिएको जातीय र धार्मिक विघटन, ०६२/०६३ पछि मधेस आन्दोलनको बहानामा मच्चाइएको क्षेत्रीय घृणा, २०७२ सालको संविधानमार्फत टुक्रा-टुक्रामा गरिएको विभाजनपश्चात् मच्चाइएको सोसल मिडिया घृणाले नेपालीहरूको मानसिक स्थिति खल्बलिएको छ ।
कार्टेल लोकतन्त्रको स्थानमा ल्याइएको ‘क्रिमिनल लोकतन्त्र’ले डिजिटल पुस्तालाई डुबाउँदै छ । राजनीतिक नेतृत्वको भिजन, मुलुकको भूबनोट, भूअवस्थिति, स्रोत, साधन, प्रविधि, बजेटको आकार, कर्मचारीतन्त्रको कार्यशैली, भूराजनीति, सरकारको नियत र ल्याकत, आइएमएफ, विश्व बैङ्क, एसियाली विकास बैङ्कको नीति, दबाब र प्रभाव, निरन्तर लादिएको नियन्त्रित राजनीतिक अस्थिरताको बाबजुद ३५ वर्षमा भएको भौतिक विकासलाई कम भएको मान्न तथ्यहरूले दिँदैन । यद्यपि विकसित मुलुकको विकाससँग तुलना गर्ने डिजिटल पुस्ताको सोच र धारणाले मुलुकमा केही नभएको देख्नु स्वाभाविक छ ।
नैतिकता, मानवीयता, संवेदनशीलता, अनुशासन, विवेक हराएका कथित पात्रको बलमा शासन गर्न हौसिएका पपुलिस्टहरु सनातन सभ्यताको उत्पादन होइनन् भन्ने पुष्टि भइसकेको छ । परम्परागत दल, वृद्धतन्त्र र भ्रष्टाचारको विरुद्ध मुलुक खरानी बनाएका कथित प्राणीहरूले ३५ वर्षमा लास राख्ने ठाउँ नबनाएको भन्दै प्रश्न गर्दा आफैले आफ्नो अन्तिम संस्कारको तयारी गरे/नगरेको प्रश्नको सामना गर्न विवश भएको छ । तीन जिल्लामा आएको बाढीमा २२ वटा पक्की पुल, ५ वटा बेलिब्रीज, ४० किलोमिटर सडक बगाएको, झन्डै ४ खर्बको भौतिकक्षति भएको प्रारम्भिक रिपोर्टले ३५ वर्षमा केही भएन भन्ने आरोप स्वतः खण्डित भएको छ ।
‘युक्रेन र इरान’लाई नियन्त्रणमा लिने रुस-अमेरिकाको रणनीतिक बाध्यता वास्तवमा ‘टेक्टोनिक घटना’ हुन् भन्ने जलाइएको सिंहदरबारले बुझ्न नपाउने निश्चित छ । अमेरिकाको सहयोगमा नेपालमा मच्चाइएको मिसन खरानीको अपार सफलतापश्चात् भारतमा कक्रोच आन्दोलनको जन्म गराइएको मोदी प्रशासनको बुझाइ छ । पाकिस्तानले साउदी अरेबिया र टर्कीसँग मक्का सम्झौतामा हस्ताक्षर गरेपश्चात् भारतले सुरक्षा जोखिम बढेको महसुस गरिरहेको छ । मक्का सम्झौता (इस्लामिक नेटो)मा समावेश हुन इच्छुक बङ्गलादेशको सक्रियतापश्चात् दक्षिण एसियामा भूराजनीतिक तनाव थपिएको छ ।
गाजा नरसंहारलाई थाँती राख्दै इजरायललाई समर्थन गरेको नयाँ दिल्लीको नैतिक सङ्कट सिया धार्मिक नेता खामेनीको हत्या पश्चात् गहिरो भयो । ऐतिहासिक ब्रिक्स शिखर सम्मेलन आयोजना गर्ने जिम्मेवारी पाएको भारतले एक अर्काको विरुद्धमा हाबी भएका मुलुकलाई एउटै मञ्चमा राखेर असमझदारी घटाउने सुवर्ण अवसरको सदुपयोग गर्दै छ । रुस, चीन र खाडी द्वन्द्वमा संलग्न प्रभावशाली राष्ट्रहरूलाई एकसाथ नयाँ दिल्लीमा स्वागत गर्न पाउँदा दिल्लीको प्रभाव चुलिएको छ ।
`पेट्रो डलर, स्विफ्ट र आइएमएफ`को लाठी चलाएर एकल प्रभुत्व कायम गरेको अमेरिका एससिओ र ब्रिक्सको उदयपश्चात् रन्थनिएको छ । आफ्नो प्रभुत्व कायम राख्न कमजोर मुलुकविरुद्ध ट्यारिफ युद्ध, आर्थिक नाकाबन्दी, रणनीतिक अस्थिरता, आर्थिक आतङ्कवाद र सत्तापलटको खेल खेल्दै आएको छ । रिपब्लिकनले मध्यावधि चुनाव जितेमा प्रत्येक वयस्क अमेरिकीले पाँच हजार डलर पाउनेछन् भन्ने राष्ट्रपति ट्रम्पको खल्लो प्रस्तुतिले अमेरिकाको वर्तमान अवस्था उजागर भएको छ ।
भदौरे विध्वंसपश्चात् मुलुकले राजनीतिक पतनको महत्त्वपूर्ण बिन्दु पार गरेको छ । समस्या कुशासन होइन, आयातित उपलब्धि र विवादास्पद जनादेशमा निहित छ । निरङ्कुश पात्रलाई आधारभूत लोकतन्त्रको संरक्षक बनाएर नागरिकविरुद्ध षडयन्त्र गरिएको छ । पपुलिस्टहरुको सुशासनमा गरिब नागरिकले सडकमै बच्चा जन्माउने अवस्था आएको छ । राजनीतिक लगानी, इतिहास, सीप, अनुभव, भूगोल र प्रशासनिक ज्ञान नभएका पात्रबाट नागरिकको समस्या समाधान नहुने पुष्टि भएको छ ।
भाद्र २३/२४ को हत्या र विध्वंसमा संलग्न पात्रहरूको नाङ्गो नाचले अनिष्टलाई स्वागत गरिसकेको छ । सत्ताको दुरुपयोग गर्दै राज्यकोष लुट्ने र मुलुकलाई खरानी पार्ने अभियानमा लागेबापत करोडपति बनेका पात्रलाई एउटै शक्तिले संरक्षण गरेको सङ्केत प्राप्त भएको छ । निषेधको राजनीति समाप्त गर्ने, मुलुक निर्माणको अभियान चलाउने, सहकारी पीडितलाई न्याय दिने, मिटरब्याजपीडितको समस्या समाधान गर्ने, किसानलाई रासायनिक मल र नागरिकलाई ग्यास उपलब्ध गराउने, युवालाई मुलुकभित्र बस्ने वातावरण मिलाउने काम प्राथमिकतामा नपरेको शासन डिपस्टेट र ट्रम्प प्रशासनको रणनीतिक स्वार्थ पुरा गर्नमा व्यस्त छ । जेनजीको रगत र भावनाको खिल्ली उडाउँदै डिपस्टेटको सहकार्यमा सत्ता कब्जाको प्रयास तीव्रगतिमा चलाइएको छ । जसले गर्दा भूराजनीतिक टकराब निर्णायक अवस्थामा पुगेको छ ।
अन्तमा, रणनीतिक भदौरे विध्वंसपश्चात् सत्तामा पुर्याइएका पात्रहरू पश्चिमा शक्तिको उत्पादन थिए र हुन् भन्ने घटनाहरूले पुष्टि गरिसकेको छ । बारबरा-समता फाउन्डेसन, टिओबी, अमेरिकन यूथ काउन्सिलमार्फत दीक्षित पात्रलाई मुक्तिदाता ठान्ने र मान्ने भोटर, समर्थक, सेवक र भक्तहरूले अनजानमा नेपाल र नेपालीको भविष्यमाथि गम्भीर खेलबाड गर्दैछन् । ‘मेक अमेरिका ग्रेट अगेन’को नारा दिँदै नेता ट्रम्पलाई दोस्रोपटक राष्ट्रपति बनाएकै शैलीमा डिपस्टेटले बोकेका पात्रहरूले मुलुकको विरुद्ध काम गरिरहेको बुझ्न ढिला भइसकेको छ । ३५ वर्ष केही भएन भन्दै मच्चाइएको स्यालहुइयाँको गर्भमा लुकेको डरलाग्दो षडयन्त्रलाई चिर्न नसके जङ्गी अड्डाको दुःख अकस्मात् चुलिने छ ।