‘विश्वको संविधान’ बन्ने दौडमा एआई !

५ भाद्र २०८३, शुक्रबार

भनिन्छ, `एआईसँग नैतिकता, विवेक, सत्य र असत्यको चेतना हुँदैन ।` उसले नियतवश झुटो बोल्दैन । एआई प्रणालीले तथ्यलाई गलत बुझेर, अपूर्ण जानकारीको आधारमा, झूटा जवाफ दिन सक्छन् । एआईले दिएको जानकारीलाई प्रयोगकर्ताले विश्वसनीय स्रोतबाट क्रसचेक गर्न जरुरी छ । अन्यथा ठुलो गडबडी हुनसक्ने छ । विश्व राजनीतिको आधुनिक हतियार एआईले गीत गाउन सक्छ तर फिल ल्याउन सक्दैन । चेतना, आत्मबोध, भावना र इच्छाशक्ति नभएको `एआई` विश्वको संविधान बन्ने दौडमा निस्किएको छ ।

सबैभन्दा चर्चित आविष्कार बनेर उदाएको `कृत्रिम बुद्धिमत्ता`ले विश्वको ध्यान खिचेको छ । मोबाइल फोन, चिकित्सा क्षेत्र, अनलाइन सपिङदेखि अटोमेटिक गाडीसम्म एआईले महत्त्वपूर्ण उपस्थिति देखाएको छ । दार्शनिक, अर्थशास्त्री, विज्ञ र सर्वसाधारण नागरिकलाई समान ढङ्गले चिमोट्न सफल एआई प्रविधिले भनिसकेको छ, मेरो सहायता बिना नागरिक जीवन ठप्प हुनेछ । आउने दिनमा हरेक नागरिकलाई एआईले स्मार्ट बन्न बाध्य पार्ने छ । हरेक नागरिकले प्राप्त गरेका डेटाले उसलाई सक्षम, आत्मविश्वासी, लायक र क्रीयटिभ बनाउने छ ।

एउटा कृत्रिम बुद्धिमत्ता (AI) सञ्चालित कानुनी फर्म (Garfield AI)ले बेलायतमा आफ्नो ग्राहकको पक्षमा ऐतिहासिक फैसला गराएको घटना विश्वले उत्सुकतापूर्वक हेरिरहेको छ । सन् २०२६ मा लन्डनको Wandsworth County Court मा ‘गारफिल्ड एआई’ले Tamires Camal Taquidir, लाई उनको ७,००० पाउन्डको बक्यौता असुली गर्न सफलता दिलायो । ‘गारफिल्ड एआई’ले मुद्दाको पूर्वतयारी आफैँ गर्‍यो । कानुनी पत्र, साक्षी विवरण र अदालतमा पेसगर्ने कागजात तयार गरेको घटनाले वकिलहरूलाई एआईको महत्त्व बुझ्न विवश बनाएको छ । यद्यपि एआईले ‘दया’ वा ‘क्षमा’ को अवधारणा नबुझ्ने हुँदा अदालतको अन्तिम निर्णय मानवकै हातमा रहन दिनु बुद्धिमानी हुनेछ । 

विश्व राजनीतिमा प्रभुत्व कायम राख्न अमेरिकाले `प्रविधि र एआई`लाई एकल पकडमा राख्न चाहन्छ । अमेरिकाको एकल प्रभुत्वलाई तोड्न मरिहत्ते गरिरहेको चीनले एआईमा आफ्नो शक्ति देखाउँदै छ । विश्वव्यापी नेतृत्वबाट टाढा रहेको अवस्थामा आर्थिक र राजनीतिक फाइदा उठाउन बेइजिङले एआईको कलम समात्न खोजिरहेको छ । अमेरिकी `चिप निषेधाज्ञा`को जवाफ दिन बेइजिङले `डिजिटल सिल्क रोड` इनिसिएटिभको तयारी गरिरहेको छ । द्रुतगतिमा विकसित हुँदै गइरहेको एआईको विकास र नियमनमा अमेरिकी प्रभावलाई चुनौती दिन चीनले सम्पूर्ण तागत लगाएको छ ।

एआईले जटिल कामलाई सरल तरिकाले समाधान गर्नेछ । अनुसन्धान, डाटा विश्लेषण, सफ्टवेयर विकास मानव हस्तक्षेपबिना गर्न सक्छ । आवाज, तस्बिर र भिडियो सिर्जना गर्न एआईको निम्ति सामान्य भइसकेको छ । मातृभाषामा एआईसँग अन्तरक्रिया गर्न सकिन्छ । एआईको आगमनपश्चात् परम्परागत शिक्षा प्रणालीले आफूलाई बुझ्न पाएको छ । एआईलाई असाधारण अवसरको रूपमा लिन सकेमा शिक्षामा आमूल परिवर्तन हुनेछ । आधुनिक ज्ञानमा सजिलै पहुँच हुनेछ । साहस, निष्ठा, दृष्टिकोण, र नेतृत्वको नयाँ रूप विकसित हुनेछ । आधुनिक शिक्षा एउटा ड्राइभिङ स्कुलजस्तै हो भन्ने मुलुकले बुझ्ने समय आएको छ । एआईले विद्यार्थीलाई नयाँ ढङ्गले सक्रिय बन्न विवश बनाउने छ । परम्परागत अनुभव, पद्धति र अमूर्त ज्ञानको सट्टा वास्तविक सीप विकासलाई गम्भीरतापूर्वक लिन बाध्य बनाउने छ ।

शिक्षकहरूलाई सर्वेक्षणको आवश्यकता पर्दैन, किनकि उनीहरू हरेक दिन समस्यासँग खेल्दै छन् । हरेक विद्यार्थीको सिकाइ, बोलाई र प्रश्न गराइबाट शिक्षकले शिक्षामा एआईको आवश्यकता छ भन्न सकिन्छ तर प्रविधिको अनियन्त्रित एकीकरणको बारेमा गम्भीरतापूर्वक सोचेनौँ भने, भविष्य अन्धकार देखिन्छ । शिक्षाले संसारको विश्लेषण गर्नुको सट्टा जीवनलाई कसरी अगाडि बढाउने भन्ने सिकाउन सक्नुपर्नेछ । जीवनको सबै आयाममा उत्कृष्टता हासिल गर्न नसक्ने शिक्षा `समय र पैसाको बरबादी` मात्र हुनेछ । आधुनिक शिक्षाले महत्त्वपूर्ण प्रश्न र समस्याको इन्जिनियरिङ गर्न आवश्यक छ । प्रत्येक विद्यार्थी अद्वितीय छ । शिक्षा केवल जानकारी प्रसारण गर्ने माध्यम मात्र होइन, प्रत्येक विद्यार्थीभित्रको विशिष्ट क्षमतालाई उजागर गर्ने अस्त्र हो भन्ने प्रमाणित गर्न एआई उपयोगी हुनेछ ।

शिक्षक र विज्ञले पहिचान गरेका जोखिम वास्तविक छन् । कक्षाकोठाबाट एआईलाई प्रतिबन्ध लगाउन बहाना गर्नु केटाकेटीपन हुनेछ । प्रविधिलाई स्कुलबाट पूर्णरूपमा बाहिर राख्ने प्रयास गर्नेहरू हार्नेछन् । उन्नत एआईले महसुस गर्न सक्दैन तर भावनाहरूको नक्कल गर्न सक्छ । आंशिक रूपमा शिक्षकहरू दोषी हुन सक्छन् तर अभिभावकहरू प्रविधिमा मात्र भरपर्न सक्ने छैनन् । विद्यार्थीहरू आज्ञाकारी छन् । च्याटबोटमा खेल्ने बच्चाहरूलाई गाली गरेर समस्या समाधान गर्न सकिँदैन । यदि हामीले शिक्षकको अधिकार पुनर्स्थापित गरेनौँ र बच्चालाई एआईको सीमाहरू बुझाउन सकेनौ भने मेसिनले विचारको ठाउँ लिनेछ ।

`मिथ्या सूचना, डेटा उल्लङ्घन र नक्कली समाचार`लाई सम्बोधन गर्न राजनीतिक दबाबबाट मुक्त `एआई निर्देशनालय` गठन गर्न जरुरी छ । डिजिटल राइट्स फाउन्डेसन गठन गर्दै `पारदर्शिता र नैतिक सुरक्षा`को बारेमा नीति बनाउन जरुरी छ । एआईमा स्वचालित प्रणालीले निम्त्याउने भेदभावको जोखिमलाई विचार गर्न आवश्यक छ । विद्यालयको पाठ्यक्रममा एआई समावेश गर्ने उचित समय आएको छ । अर्थपूर्ण सम्बन्ध निर्माण गर्न, द्वन्द्व समाधान गर्न, साझा लक्ष्यमा काम गर्न र मानवलाई आवश्यक पर्ने बुद्धि प्रदान गर्न एआई सफल हुनसक्ने छ ।

एआईले चिकित्सा विज्ञानलाई अभूतपूर्व सहयोग गरेको छ । मानव आँखाले नदेखिने ढाँचाहरू एल्गोरिदमले पहिचान गर्छन्।यो प्रगतिले अनगिन्ती जीवन बचाएको छ । जटिल रोगहरूको सुरुवाती अवस्थामै पहिचान गर्न मद्दत गर्छ । रोगीको पीडा र निको हुने समय दुवै घटाउँछ । औषधि विकास गर्ने प्रक्रिया एआईले छिटो र सस्तो बनाएको छ । जनसङ्ख्या वृद्धिसँगै बढ्दो खाद्य आवश्यकता पूरा गर्न एआईले महत्त्वपूर्ण भूमिका खेलेको छ । माटोको अवस्था, मौसमको पूर्वानुमान र बालीमा लाग्ने रोगको पहिचान गर्न एआई वरदान बनेर आएको छ । शिक्षामा नयाँपन दिन, भूकम्प, बाढी, आँधी जस्ता प्राकृतिक प्रकोपको पूर्वानुमान र प्रभाव मूल्याङ्कन गर्न एआईले विशेष भूमिका निभाउन सक्ने छ । जलवायु परिवर्तन, वन्यजन्तु संरक्षण र प्रदूषण नियन्त्रणमा एआईले अतुलनीय योगदान निभाउन सक्ने छ ।

यतिबेला एआईले प्रत्येक व्यक्तिबाट धेरै कुरा सिकिरहेको छ । एआई ‘डिटेक्टर’हरूले एल्गोरिदम र पूर्वाग्रहहरूमा आधारित उत्तर प्रदान गरेको प्रश्न सोध्नेहरूले बुझ्न सकिरहेका छैनन् । एआई लेखन र मानव लेखन छुट्याउन मानवीय विवेक चाहिन्छ । उत्कृष्ट वा भयानक लेख्ने या लेखक बन्ने बहानामा धेरैले गल्ती छन्, जसलाई एआईले सजिलोसँग थाहा पाउनेछ । डिजिटल पुस्ता बरबाद हुँदै गएको बताउनसमेत एआई आएको छ । दुर्भाग्यवश ‘रिल र मनोरञ्जन’को नसामा मनोरञ्जन गरिरहेको छ । कानुनको नैतिक बन्धनबाट बाहिर जान नसक्ने शिक्षित वर्ग एआईको ग्राहकमा सीमित गरिएको छ ।

वैश्य युगमा एआईले राजनीतिलाई मौलिक रूपमा पुनः आकार दिइरहेको छ । एआई उपकरणले मतदाताको दिमाग चाट्न सफल भएको छ । डिपफेक र गलत जानकारी मार्फत सफल उपस्थिति देखाउन सक्षम छ । पछिल्लो समयमा एआईले धेरै मानिसको रोजगारी खोसेको स्वर चर्को बनेर आएको छ । डाटा एनालिसिस, ट्रान्सलेसन, पत्रकारिता, लेखन, कानुनी सहायक जस्ता पेसामा एआईको ठुलो प्रभाव परिसकेको छ । एआईले प्राप्त डाटाको आधारमा काम गर्ने हुँदा पूर्वाग्रहपूर्ण निर्णय दिएको उदाहरण छन् । साथै अनलाइन गतिविधि र व्यक्तिको गोपनीयता भताभुङ्ग बनाउने कारण बनेर एआई देखा पर्दैछ । साइबर अपराध, नक्कली भिडियो, जालसाजीमा एआईको प्रयोग भइरहेको छ । एआई-सञ्चालित हतियारको दुरुपयोग बढ्दै जाँदा ‘युद्ध’को कारक बन्न सक्नेछ ।

एआईको प्रयोगलाई नियमन गर्न नसक्ने मुलुकमा स्थापित मूल्य, मान्यता, कानुन थप कमजोर बन्नेछ । विभिन्न अन्तर्राष्ट्रिय निकायद्वारा निर्माण गरिएका रणनीतिक अभियान र सामग्रीलाई रोक्न नसके एआई-उत्पन्न राजनीतिले आकार लिनेछ । गलत जानकारी र डिपफेक हाबी भएको चुनावमार्फत आयातित परिवर्तन ढलान गर्ने कोसिस गरिएको छ । वास्तविक समयमा राजनीतिक प्राथमिकतालाई उल्लेखनीय रूपमा परिवर्तन गर्न सक्छ । एआई-उत्पन्न विज्ञापन र डिपफेकले राजनीतिक परिदृश्यलाई कब्जा गरेको उदाहरण मुलुकको इतिहास भइसकेको छ ।

राजनीतिज्ञ र एआईको अन्तरसम्बन्ध बढ्दैछ । प्रविधिलाई नियमन गर्न दौडिरहेको सरकार एआईको चक्रव्यूहमा परिसकेको छ । एआई-सञ्चालित ‘अभियान र प्रचार’ले राजनीतिलाई आफ्नो नियन्त्रणमा लिने तारतम्य मिलाएको छ । एआई आफैँमा न वरदान हो न त अभिसाप । वैश्य युगमा विज्ञानले जन्माएको एउटा शक्तिशाली उपकरण मात्र हो । एआईको सकारात्मक प्रयोगले आमूल परिवर्तन ल्याउने छ । स्पष्ट नीति, नियमन, नैतिक दिशानिर्देश र पारदर्शी बनाउन सकेमा यसले नागरिक र मुलुकको विकासमा अर्थपरक प्रभाव पार्ने छ । एआईले सांस्कृतिक परिवर्तनको नक्कल गर्न सिकिसकेको छ । एआईसँग अन्तर्दृष्टि र सहानुभूति छैन । यद्यपि एआई भक्षक होइन, डिजिटल पुस्ताको रक्षक हो भन्ने बुझ्न जरुरी छ ।