बदलिएको संसार र शक्ति सङ्घर्ष
८ जेष्ठ २०८३, शुक्रबार
वर्ग, वंश, पेसा, पृष्ठभूमि, स्रोत र पदको परवाह नगर्दा प्रत्येक नागरिक समान छन् । यद्यपि व्यवहारिक रूपमा ठुलो भिन्नता छ । समाजमा यस्ता वर्गहरू छन्, जसले चुपचाप आकार लिएका छन् । महान् राष्ट्रका नागरिकहरूले यसलाई स्वीकार गर्न सिकेका छन् । इरान-युद्धले शक्तिशाली मुलुकको प्वाँखहरू झरेको छ । विश्व राजनीतिको शक्ति सन्तुलनमा भइरहेको परिवर्तनलाई नबुझ्ने मुलुक नराम्रोसँग पछारिने छ । आलोचनात्मक टिप्पणी, परिवर्तन र बहसहरू नबुझे परिस्थिति तनावपूर्ण हुनेछ । विश्वमा के भइरहेको छ भन्ने बुझ्नको लागि, मे महिनाको द्वन्द्व वा ह्वाइट हाउसमा आएको परिवर्तन र रुस/चीनको पछिल्लो कूटनीतिलाई हेर्न जरुरी छ ।
बाघको ढाडबाट झारिएका नेताहरूलाई पार्टी-राजनीतिमा जोगाएर काङ्ग्रेस-कम्युनिस्टको ‘बिउ’समेत सक्ने खेल रफ्तारमा चलाइएको छ । मुलुकमा अमेरिकी सत्ताको दबाब र प्रभाव चुलिएको छ । चीनको सहयोगलाई ऋणको पासो मान्ने इण्डो-पश्चिमा सोचभित्र गम्भीर षडयन्त्र लुकेको छ । अनुपयुक्त र औचित्यहीन पश्चिमा ऋण नलिने आफ्नै प्रतिज्ञाबाट पछि हट्न बाध्य पपुलिस्टहरू ‘स्वतन्त्र’ बन्न नपाउने निश्चित छ । मध्यपूर्वमा मच्चाइएको अस्थिरताको असर मुलुक प्रवेश गर्नासाथ पपुलिष्टहरुको ओठतालु सुक्नेछ । तत्पश्चात् डिजिटल पुस्ताले बिस्तारै बुझ्नेछन्- उत्सव र प्रशंसा सधैंभरि रहनेछैन । सेनाको वक्तव्य प्रभावशाली सुनिन्छ तर देशको लागि यसको के अर्थ छ भन्ने बारेमा स्पष्टता थोरै छ ।
वैश्ययुगमा लोकतन्त्र दुब्लाएको छ । ट्रम्प प्रशासन लोकतन्त्रको नवीन परिभाषा निर्माण गर्न मरिहत्ते गर्दैछ । अमेरिकी संविधानको प्रावधानलाई खिल्ली उडाउँदै राष्ट्रपति ट्रम्पले तेस्रो कार्यकालको सपना देखेका छन् । के उनी सन् २०२८ भित्रमा अमेरिकाको नयाँ संविधान निर्माण गर्दैछन् ? के निजी सपना पूरा गर्न राष्ट्रपति ट्रम्पले अमेरिका फुटाउन सक्छन् ? अन्यथा उनको सपना कसरी सम्भव छ ? समर्थकहरूले ट्रम्पको इच्छा पूरा गर्न विश्वयुद्ध, सङ्कटकाल या अमेरिकाको विभाजन स्वीकार गर्नेछन् ? के जेडी भान्स वा मार्को रुबियोले ट्रम्पको सपना पुरा गर्न अमेरिकी लोकतन्त्रलाई तिलाञ्जली दिन तयार भएका हुन् ? दुर्भाग्यवश ट्रम्पको सपना विश्वलाई रुवाउने कारण बन्न सक्नेछ ।
‘ककरोच जनता पार्टी’ले लखेट्न नसकेसम्म प्रधानमन्त्री मोदी राजनीतिक रूपमा सुरक्षित छन् । पछिल्लो विधानसभाको नतिजापश्चात् परिस्थिति उनको नियन्त्रणमा देखिन्छ । भाग्यले साथ दियो भने उनी २०२९ को निर्वाचनमा समेत सफल हुनेछन् । चुनाव आयोगलाई प्रयोग गर्दै अनेकौँ नामहरू आगामी निर्वाचनमा काटिनेछ । पश्चिम बङ्गालमा जस्तै सहज जीत हासिल हुनेछ । विपक्षी रणनीतिकारहरूलाई निर्वाचनअगाडि पक्राउ गरिनेछ । चुनावपछि रिहा गर्दै भारतीय लोकतन्त्रको असली अनुहार देखाइनेछ ।
पछिल्लो तीन वर्षमा इजरायलद्वारा गाजामा मच्चाएको नरसंहारलाई वाशिङटनले समर्थन र संरक्षण गरेको छ । भेनेजुएलाको राष्ट्रपति अपहरणपश्चात् इरानविरुद्ध अवैध युद्ध सुरु गरेको छ । उक्त घटनाले अमेरिकाको घरेलु अर्थतन्त्र र राजनीति डिपस्टेटको कब्जामा परेको पुष्टि भएको छ । राजनीतिक प्रणाली तल्लो वर्गको समस्या समाधान गर्न असमर्थ छ । आर्थिक र राजनीतिक असमानताले आन्तरिक समस्या बढ्दो छ । ट्रम्पले पद छोडेपछि वर्षौंसम्म अमेरिकी राजनीतिलाई प्रभाव पार्ने र रिपब्लिकन पार्टीका नीतिहरूलाई आकार दिनेछन्, जसले गर्दा डेमोक्र्याटहरूलाई अझ दक्षिणपन्थतिर धकेल्नेछ । ट्रम्पवाद अमेरिकी राजनीतिमा अझ कुरूप बनेर स्थापित हुन सक्छ ।
रोचक कुरा के छ भने, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले राष्ट्रपति ट्रम्पलाई गम्भीर ढङ्गले दुरुपयोग गर्ने खतरा थप चुलिएको छ । दुई नेताको टेलिफोन वार्तापछि इरानको शान्ति प्रस्तावलाई सार्वजनिक रूपमा अस्वीकार गरेको छ । नेतान्याहूको चेतावनीअनुसार युद्ध सकिएको छैन । इजरायल इरानसँग कुनैपनि शान्ति वार्ताको पक्षमा छैन । उसले अमेरिकी राष्ट्रपतिलाई युद्धविराम अन्त्य गर्न दबाब दिइरहेको छ भन्ने शङ्कालाई बलियो बनाएको छ ।
यसैबीच यमन, सुडान, लिबियामा क्षेत्रीय गृहयुद्ध चुलिएको छ । युएई-साउदी सम्बन्ध तनावपूर्ण बनेको छ । अमेरिका-इरान द्वन्द्वको बीचमा ओपेकबाट बाहिरिने युएईको निर्णयले दशकौँदेखि कच्चा तेलको मूल्य नियन्त्रण गर्ने खाडी राष्ट्रहरूको कमजोर एकतामाथि प्रश्न उठाएको छ । यसबाहेक गाजाको पुनर्स्थापनालाई किनारमा राखिएको छ । इजरायलले गाजाको ठुलो भूभागमा नियन्त्रण गरेको छ । युद्धको आवरणमा, ग्रेटर इजरायलको सपना पूरा गर्ने नेतान्याहूको रणनीतिले मध्यपूर्वको शान्ति खोसेको छ ।
साउदी अरेबियाले पाकिस्तानको मध्यस्थतामा द्वन्द्व अन्त्य गर्ने प्रयासलाई सक्रिय समर्थन गरिरहेको छ । इजिप्ट र टर्की सम्मिलित गठबन्धनको हिस्सा पाकिस्तानले वार्ता प्रक्रियालाई सहजीकरण गरिरहेको छ । अमेरिकाको परिवर्तनशील अडानले अन्य खाडी देशहरू लामो समयसम्म द्वन्द्वमा फस्ने आशङ्का बढाएको छ । गम्भीर असमझदारीको बाबजुद ट्रम्प/पुटिनको टेलिफोन वार्ता जारी छ । इरानसँगको युद्धलाई समावेश नगर्ने, केवल व्यापारिक स्वार्थमा केन्द्रित हुने मान्यतासहित नौ वर्षपछि अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमण भएको छ । यी तमाम घटनाले अमेरिकी छटपटी र स्वार्थको व्यवस्थापन जटिल बन्दै गएको बुझ्न सकिन्छ ।
इजरायलले लेबनानमाथि बमबारी जारी राखेको छ । लेबनानको भूभाग घट्दै गर्दा निरन्तर द्वन्द्वले क्षेत्रीय भूराजनीतिमा दूरगामी प्रभाव पार्नेछ । जसले गर्दा खाडी देशबीचको विभाजनलाई तीखो बनाउनेछ । राष्ट्रपति ट्रम्पको नेतृत्वमा विश्व अर्थतन्त्र ध्वस्त बनाइएको छ । औचित्यहीन इरान युद्धपश्चात् सुरु भएको ‘रिसेसन र डिप्रेसन’ले विश्वलाई वर्षौंसम्म पिरोल्नेछ । होर्मुज जलडमरुको दोहोरो अवरोधले सिर्जना गरेको ऊर्जा र रासायनिक मलको अभावले छिट्टै खाद्यान्न सङ्कट सुरु हुनेछ, जसले गर्दा दक्षिण एसियामा गम्भीर भोकमरीको अवस्था आउनेछ । भारतीय अर्थतन्त्र चौथो स्थानबाट खस्केर छैटौँ स्थानमा पुगेको अवस्थामा राजनीति थप अस्थिर बन्नेछ ।
अमेरिका-इरान युद्धको दौरान भारतीय प्रधानमन्त्री मोदीले इजरायली प्रधानमन्त्री नेतान्याहुमार्फत यहुदी/इसाइसँग सम्बन्ध बढाउन चाहेको विषयलाई चिनिया राष्ट्रपति ‘सी’ले गम्भीरतापूर्वक लिँदै आएका थिए । एससिओ (Shanghai Cooperation Organisation) सपिटमा भएको भेटघाट, ब्रिक्समा मोदीको रणनीतिक सुस्तता र रुससँग अतिरिक्त लगावपश्चात् भारतसँग ढुक्क हुन नसकेका राष्ट्रपति ‘सी’ले अन्ततः ट्रम्पसँग साझेदारी गर्न हात बढाए । लाख कोसिसका बाबजुद भारतीय सत्तालाई चाहेजसरी झुकाउन नसकेको, ट्यारिफ नीति असफल र बदनाम भएको, इरान-युद्धमा भएको राजनीतिक र आर्थिक नोक्सानीलाई लुकाउन राष्ट्रपति ट्रम्प अन्ततः चीनसँग सहकार्य गर्न बाध्य भए ।
गम्भीर ऊर्जा सङ्कट, अनियन्त्रित मूल्यवृद्धि र भीषण आर्थिक मन्दीपश्चात् अमेरिका र युरोपियन युनियनले युक्रेन-युद्ध चालु राख्न असम्भव छ । जसले गर्दा ‘अमेरिका र इयु’बीच गम्भीर मतभेद सुरु हुनेछ । अन्ततः नेटो विघटनसम्म पुऱ्याउन सक्नेछ । यसमा कुनै शङ्का छैन कि चीनको आर्थिक शक्तिबाट अमेरिका चिन्तित छ । यस तथ्यलाई गहिरोसँग बुझेको चीनले राष्ट्रपति ट्रम्पलाई खुसी बनाएर घर फर्काउन सक्नेछ । यद्यपि अर्थपूर्ण सहयोगको बारेमा अपेक्षाहरू पातला छन् । चिनिया विश्लेषकको बुझाइमा स्थिरता आपसी डरको परिणाम मात्र हो । एउटा रूपक जुन निरन्तर प्रयोग गरिँदै आएको छ । चिनियाहरु हाँसोको साथ स्वीकार गर्छन्- चीन र अमेरिका एउटै बोतलमा रहेका दुई बिच्छी जस्तै हुन् । प्रत्येक पक्षलाई अर्कोले पुऱ्याउन सक्ने क्षतिले सजग बनाएको छ ।
आवश्यकताअनुसार विश्वव्यापी उथलपुथल निम्त्याउन सफल अमेरिका आज पनि सङ्कटमा भविष्य कोर्न चाहन्छ । अमेरिका अझै माथि छ भन्ने बुझेको रुस/चीनले उसको वित्तीय र सैन्य शक्तिलाई कमजोर बनाउने खेल जारी छ । औद्योगिक, वैज्ञानिक, सैन्य र आर्थिक शक्तिलाई नियन्त्रण गर्न चीनले घुमाउरो बाटो रोजेको छ । ट्रम्पको इच्छाविपरीत यसैवर्ष हुने प्रधानमन्त्री मोदीको मस्को भ्रमण, मे १९–२०मा सम्पन्न राष्ट्रपति पुटिनको बेजिङ भ्रमणले विश्व राजनीतिमा गम्भीर शक्ति सङ्घर्ष चलिरहेको प्रस्ट छ । अमेरिकी विकास, सुरक्षा, सभ्यता र शासनको विकल्पमा चीनले आफूलाई स्थापित गर्ने अधिकतम कोसिस गरिरहेको छ । क्वान्टम कम्प्युटिङ र हाइटेकले सुसज्जित अमेरिकालाई साइजमा राख्न रुससँग रणनीतिक सहकार्य गर्न सफल हुँदैछ, जसले ट्रम्प प्रशासनको निद्रा खोसेको छ ।
रुसी राष्ट्रपति पुटिनको अप्रत्यक्ष सहयोगमा तत्कालीन प्रधानमन्त्री ओलीले चिनिया ‘जिएसआई’मा (Global Security Initiative)सही गरेर ‘लिपुलेक पास’को समस्या समाधान गर्ने कुटनीतिक खेल सेप्टेम्बर विद्रोहपश्चात् अलपत्र परेको छ । रुस/चीनको साथ र सहयोगमा भारतसँग सुमधुर सम्बन्ध कायम गर्ने कूटनीतिक पहल पपुलिस्टहरूले अझै सुरु नगर्नुले उनीहरूको हातखुट्टा बाँधिएको प्रस्ट भएको छ । ‘डरलाग्दो प्रतिस्पर्धा र असमझदारी’बीच राष्ट्रपति ट्रम्पले अमेरिकी जनताको निम्ति राष्ट्रपति ‘सी’सँग हात मिलाएको घटनाबाट पाठ सिक्ने छुट पपुलिस्टहरूसँग नभएको बुझ्न सकिन्छ ।
अन्तमा, कमजोर राजनीतिक संस्कारपश्चात् भू-राजनीतिले पपुलिस्टहरूको हैसियत र ल्याकत थाहा पाइसकेको छ । भारतीय अर्थतन्त्र ओरालो लागेको अवस्थामा पपुलिस्टहरूले भारतीय सत्तालाई चिढ्याउने सङ्केत प्राप्त भएको छ । रणनीतिक आगजनीका बाबजुद जोगाइएको पश्चिमी गणतन्त्रमा राष्ट्रपति पदको हुर्मत लिने कच्चा खेलले भू-राजनीतिलाई मलिलो जमिन प्राप्त भएको छ । ‘बदलिएको संसार र शक्ति सङ्घर्ष’लाई बुझ्दै राष्ट्रिय सहमति कायम गर्न ढिला भइसकेको छ । संवाद गर्नुको अर्थ आत्मसमर्पण गर्नु हो भन्ने बुझाइबाट मुक्त हुन नसके दुर्घटना निश्चित छ ।