आलोचनात्मक सोच दुब्लाएको मुलुकमा पपुलिस्टहरूको ताण्डव !

१ जेष्ठ २०८३, शुक्रबार

वैश्य युगमा समाजको आलोचनात्मक सोच दुब्लाएको छ । वर्तमान समयमा एआईले ३० सेकेन्डभित्रमा रणनीतिक भ्रम उत्पन्न गर्न सक्छ । डिजिटल पुस्ता हेडलाइनको पछि दौडिएको छ । ननस्टप समाचार, एल्गोरिदम सञ्चालित सामग्री र च्याटबटको विश्वासमा बाँचेको पुस्ताले आलोचनात्मक सोचलाई बिसाएर पपुलिस्टहरूको ताण्डवलाई स्वीकार गरेको छ ।

डिजिटल मिडिया, सोसल मिडिया, एआई र एल्गोरिदमको अधिकतम् प्रयोग गरेको शक्तिले राजनीतिक दल, राजनीतिक चेतना भएका व्यक्ति र आलोचनात्मक समाजलाई ध्वस्त बनाउने तारतम्य मिलाएको छ । आलोचनात्मक सोच भनेको शिक्षा र ज्ञानमार्फत विश्लेषण गर्ने, प्रश्न गर्ने, मूल्याङ्कन गर्ने र तर्क गर्ने क्षमता हो । प्रतिक्रिया दिनु, निष्कर्षमा पुग्नु बीचको भिन्नता बुझ्नु हो । बढ्दो कोलाहल र जटिल संसार बुझ्नु हो ।

आलोचनात्मक सोच र रूपान्तरणकारी लेन्सले समाजलाई प्रगतिशील बनाउँछ । समस्याहरूको सही निदान गर्दै सकारात्मक समाधानतर्फ जान नदिने एजेन्सीहरूको सफल कदमले मुलुकमा प्रभाव बढाउँदै छ । सामाजिक सञ्जाल जेन जेडको दोस्रो भाषा हो । उनीहरू जनावर, चरा चराचुरुङ्गी बाँच्न पाउने विषयमा चिन्तित छन् तर गरिब नागरिक राज्यबाट मारिँदा चुपचाप बस्न रुचाउँछन् । जलवायु परिवर्तनदेखि फेसनसम्म कुरा गर्छन् । अविश्वसनीय रूपमा जिज्ञासु र सामाजिक रूपमा सचेत छन् । राजनीतिलाई अनुचित ठान्ने डिजिटल पुस्ता स्मार्ट प्रश्न गर्न रुचाउँछन् तर विश्लेषणात्मक तर्क गर्न सङ्घर्ष गर्दैछन् ।

आलोचनात्मक सोचले आफू र समाजको अन्तरसम्बन्ध, न्याय, समानता, स्वतन्त्रता र अन्य मानवीय मूल्यहरूको बारेमा प्रश्न गर्न सिकाउँछ । आलोचनात्मक सोच कमजोर बन्दै जाँदा असमानता, मौनता र शोषण मौलाउँछ । सांस्कृतिक र आर्थिक साम्राज्यवाद, लैङ्गिक असमानता, युद्ध र निरन्तर नवऔपनिवेशिक सम्बन्धहरूको बारेमा बुझ्न आलोचनात्मक सोच चाहिन्छ । आलोचनात्मक सोचले प्रश्न सोध्न सिकाउँछ, संसार कसरी निर्माण गरिएको छ ? घटनाहरू कसरी लेबल गरिन्छ ? विद्रोह वा स्वतन्त्रता सङ्घर्ष वा सम्झौता किन र कसरी भन्ने प्रश्नहरूको जवाफ दिन दृष्टिकोण र नैतिकता चाहिन्छ ।

विचार बोकेको झोले र विचारबिनाको भेडाको बारेमा बुझ्न आलोचनात्मक सोचले मात्र सक्नेछ । शिक्षाको एउटा आधारभूत उद्देश्य भनेको आलोचनात्मक सोच र लक्ष्य निर्धारण गर्नु हो । पपुलिस्टहरूको फन्दामा परेको जेनजेड पुस्ता पुरानो पुस्तालाई असान्दर्भिक देख्दैछ । टिभी, भिडियो गेमलाई सम्पूर्ण सत्य मान्ने जेन जेड पुस्ता फरक तरिकाले खारिएका छन् । अधिक दृश्यात्मक, स्क्यानिङ र फिल्टरिङमा माहिर पुस्ताले जटिल र वास्तविक विश्वलाई बुझेको देखिएन । समस्याको सही विश्लेषण गर्न नसक्दा नराम्रोसँग फस्दै छ । जेनजेड पुस्ता हरेक चिज छिटो सम्पन्न गर्न चाहन्छ । चुनौती भनेको आधुनिक उपकरणहरूले सोचलाई प्रतिस्थापन गर्नुको सट्टा पूरक बनाउनु हो । जब एआई विचारपूर्वक प्रयोग गरिन्छ – यसले वैकल्पिक दृष्टिकोणहरू अन्वेषण गर्न र आलोचनात्मक सोचलाई तिखार्न सक्छ । पपुलिस्ट, प्रविधि र ‘एआई’लाई सहयोगीको रूपमा लिन सकिन्छ तर विकल्प मान्न सकिँदैन भन्ने डिजिटल पुस्ताले बुझ्न ढिला भइसकेको छ ।

डिजिटल पुस्तासँग आलोचनात्मक चेत नभएको राम्रोसँग बुझेको शक्तिले पपुलिस्टहरूको प्रयोग गर्दै मुलुकको भविष्यमाथि गम्भीर ढङ्गले खेलबाड गरिसकेको छ । दुर्भाग्यवश मतदाताले आँखा चिम्लेर कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र निजी सम्पत्तिमाथि आक्रमण गर्ने, आगजनी गर्ने व्यक्ति र शक्तिलाई नै जलाइएको सिंहदरबार सुम्पिए । भावनामा बग्ने, आँखा चिम्लेर मतदान गर्ने, भोट हालेर गाली गर्दै घर फर्किने मतदाता वास्तवमा के चाहन्छन् भन्ने विदेशीले मात्र बुझेको देखिन्छ । पपुलिस्टहरूलाई सत्ता दिलाएर पश्चिमा शक्तिले नेपाललाई घडेरीको रूपमा प्राप्त गरिसकेको छ । नागरिकले आफ्नो गल्ती सच्याउन अप्रिय कदम चाल्न जरुरी छ । त्यस्तो अवस्थामा ल्याइने पात्रसमेत नेपालीले चाहेजस्तो नहुने निश्चित छ ।

प्रायोजित परिवर्तन नै राष्ट्र डुबाउने कारण बन्दासमेत रमाउने पुस्ता विचित्रको सम्मोहनमा परेको छ । मुलुकको शक्ति बनेर रहेको सम्पदा र सभ्यता तहसनहस गर्न मनाएको शक्तिले पपुलिस्टहरूलाई नायक बनाएर रणनीतिक खेल खेल्दैछ । नेपाल नबनेको चिन्ता गर्ने पुस्ता ‘खरानी’मा समृद्धि खोज्दैछ । वैचारिक सोच, सैद्धान्तिक चेत, राजनीतिक ज्ञानलाई औचित्यहीन मान्ने र ठान्ने पुस्ताले प्रविधि, एल्गोरिदम, सोसल मिडियालाई ‘मुक्ति’ ठानेको छ । खोलानाला सफा राख्न शहरलाई ‘गरिबमुक्त’ बनाउने पपुलिस्टहरूको कार्यक्रमलाई डिजिटल पुस्ताले आँखा चिम्लेर समर्थन गरेको छ । दागीहरूलाई मतदान गरेर नागरिकले सुशासन खोजेको छ । भ्रष्टहरूको विकल्पमा मुलुकले खोजेका पात्रहरू संसदीय लोकतन्त्रको दुर्भाग्य बन्ने सङ्केत प्राप्त भएको छ । अदालतमा मुद्दा चलेको, मौका छोपेर जेलबाट भागेको, झोला बोकेर आफै जेल फर्केको व्यक्तिको कमजोरीलाई प्रयोग गर्दै ल्याइएको ‘पपुलिस्ट नेतृत्व’ले आलोचनात्मक चेत मरेको डिजिटल पुस्ता र मुलुकको धज्जी उडाउने निश्चित छ ।

नेपालको बौद्धिक वर्ग र युवा वर्ग आलोचनात्मक चेत राख्दैन । जब-जब मुलुकमा सांस्कृतिक राष्ट्रवाद जाग्न सुरु गर्छ, पश्चिमा शक्तिको कठपुतली बन्न त्यही वर्ग अगाडि सर्छ । देशी-विदेशी शक्तिले डिजिटल पुस्तालाई मोहरा बनाएको पत्तै पाउँदैन । सत्ता, शक्ति र विदेशी हस्तक्षेपको विरुद्ध सडक विद्रोहमा निस्कनुको सट्टा शासकको समर्थनमा वकालत गर्न तम्सिन्छ । मुलुकको स्रोत–साधन विदेशीलाई सुम्पेर, असमान सन्धि सम्झौता गरेर कुर्सीको आयु बढाउँदा चुपचाप बस्ने शिक्षित वर्ग जग कुहिएको शासकले समेत मुलुकको दीर्घकालीन हितमा निर्णय गर्दा सडक विद्रोहमा निस्कन्छ ।

कोसी, गण्डक, महाकाली सन्धि गर्दा होस् कि नेपालको महत्त्वपूर्ण नदी भारतलाई बुझाउँदा – चुपचाप बस्ने वर्ग सोसल मिडियालाई दर्ता प्रक्रियामा आउनको निम्ति दिएको दबाबविरुद्ध सडक विद्रोहमा उत्रिन्छ । इण्डो-पश्चिमा शक्तिको गोटी बन्दै भारतमा बसेर नेपालमा ध्वंस मच्चाएको माओवादीलाई नागरिकले पुरस्कृत गरेको तितो इतिहासको फाइदा तिनै शक्तिले उठाएको डिजिटल पुस्ताले आजसम्म बुझ्न चाहेको देखिँदैन । अझ रोचक कुरा जब–जब मुलुकमा सभ्यता, सनातन धर्म, संस्कृति र परम्परा मजबुत हुने कोसिस गर्छ, त्यसै समयमा डिजिटल पुस्ता पश्चिमा षडयन्त्र सफल बनाउन सडक ओर्लिन्छ । दुर्भाग्यवश पश्चिमा शक्तिले उत्पादन गरेको कथित पपुलिस्टलाई मुक्तिदाता मान्दै आफ्नो चिहान खन्न हौसिन्छ ।

आलोचनात्मक चेत नभएको पुस्तालाई अप्रिय लाग्न सक्छ, वास्तवमा नेपाल भारतवेष्टित मुलुक हो । भारतसँग स्थिर विनिमय दर कायम राखेर बाँचेको अवस्थामा भारतीय प्रधानमन्त्री मोदीले भर्खरै व्यक्त गरेको धारणालाई पपुलिस्टहरूले गम्भीरतापूर्वक लिने कल्पना गर्न सकिँदैन । विश्वको चौथो अर्थतन्त्र चर्मराएको अवस्थामा मुलुकमा कस्तो असर पर्नेछ भन्ने पपुलिस्टहरूको नीति तथा कार्यक्रमले सम्बोधन गर्न चाहेन । मध्यपूर्वको भूराजनीतिले भारतीय अर्थतन्त्र खुम्चिँदै छ । प्रधानमन्त्री मोदीले भारतीय जनतासँग गम्भीर अपिल गरेका छन् । एक वर्षसम्म सुन नकिन्न, अत्यावश्यक अवस्थामा बाहेक विदेश भ्रमण नगर्न, सार्वजनिक सवारी साधन प्रयोग गर्न, घरबाटै काम गर्न, रासायनिक मल र खाने तेलको प्रयोग कम गर्न गरिएको अपिलले निकट भविष्यमा आउने सङ्कटलाई उजागर गरेको छ । भारतीय सत्लाई चेन भत्किने अवस्थामा पपुलिस्टहरूले आफूलाई चिन्ने अवस्था आउने छ ।

होर्मुज जलडमरुमा भएको अवरोधपछि भारतीय अर्थतन्त्रको गणित बिग्रिएको छ । हरेक वस्तुको लागत बढ्दैछ । वैदेशिक मुद्राको सञ्चिति रफ्तारमा घट्दैछ । भारतमा आएको आर्थिक मन्दीको असर छिट्टै नेपालीमा भान्सामा आइपुग्ने छ । नेपालको अर्थतन्त्रमाथि गम्भीर सङ्कट आउँदैछ । दुर्भाग्यवश पपुलिस्टहरूलाई यस्ता कुराले छोएको सङ्केत समेत देखिँदैन । पपुलिस्टहरूको शासनमा संविधान र लोकतन्त्रको खिल्ली उडाउने प्रवृत्ति सामान्य बनेको छ । पपुलिस्टहरूको नजरमा संसद्, मतदाता, संसदीय परम्परा, मूल्य र मान्यताको कुनै औचित्य छैन । पपुलिजमको बलमा कूटनीति र राजनीतिलाई खल्लो बनाउने अभियान छेडिएको छ । आपसी सम्मान, पदीय सम्मान, सहमति, संवाद केही होइन, टोले गुण्डाको शैलीमा मच्चाइएको कथित एक्सनबाट शक्ति प्राप्त हुन्छ भन्ने पपुलिस्टहरूको ध्वंसात्मक मान्यताले सङ्घीय लोकतान्त्रिक व्यवस्थाको चिरहरण भएको छ । पपुलिस्टहरू कसैप्रति जवाफदेही नहुने मुलुकमा अराजकता मौलाउने निश्चित छ । जसले गर्दा मुलुक छिट्टै दुर्घटनामा जानेछ ।

अन्तमा, रणनीतिक आगलागीमा परेर बाँचेको व्यवस्थालाई कलङ्कित गर्न पपुलिस्टहरू कम्मर कसेर लागेका छन् । पश्चिमाहरूको आर्थिक र राजनीतिक लगानीमा निर्मित संविधान, एल्गोरिदमको तागतमा जन्माइएको वर्तमान संसद् र पश्चिमा लोकतन्त्रको मूल्य, मान्यता र इज्जत राख्ने कसम खाएका राष्ट्रपतिको गरिमा र मर्यादाको धज्जी उडाउन सफल भएकोमा पपुलिस्टहरू उत्सव मनाउँदै छन् । पपुलिस्टहरूले संसदीय लोकतन्त्रको खिल्ली उडाएको विश्वले देख्न पाएको छ । आलोचनात्मक चेत नभएको डिजिटल पुस्ताले वाहवाही गरेपनि लोकतान्त्रिक जगतले गम्भीर मूल्याङ्कन गर्ने निश्चित छ । पपुलिस्ट प्रधानमन्त्रीले आफ्नै नीति तथा कार्यक्रमको अपमान गर्दै संसद् छाडेपछि मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र र पपुलिस्ट मध्य एउटामात्र रहनेछ भन्ने बहस २०८३ साल २८ वैशाखबाट औपचारिक रूपमा सुरु भएको छ ।