औचित्यहीन युद्ध, पर्यावरण र जलवायु परिवर्तन

४ बैशाख २०८३, शुक्रबार

यतिबेला विश्व चिन्तित छ । `ट्रम्प/नेतन्याहू`द्वारा लादिएको युद्धले नयाँ मोड लिएको छ । ४० दिने युद्धको दौरान इरान, इजरायल र खाडी मुलुकमा अकल्पनीय क्षति भएको छ । हजारौँ भौतिक संरचना माटोमा मिलेका छन् । जसको कारण गम्भीर वातावरणीय सङ्कट निम्तिएको छ । विश्लेषकहरूको दाबी अनुसार विश्वव्यापी तापक्रम उल्लेखनीय रूपमा वृद्धि हुँदैछ । प्रारम्भिक विश्लेषणले देखाएको छ,`द्वन्द्वको पहिलो दुई हप्तामै ५० लाख टन भन्दा बढी कार्बन उत्पादन भएको छ । जुन आँकडा आइसल्यान्डबाट उत्सर्जन हुने एक वर्ष बराबर हो ।

`अपरेसन एपिक फ्युरी` पछि अमेरिकाले ८,००० भन्दा बढी उडान सुरु गरिसकेको छ । युद्धमा बमवर्षक, लडाकु जेट, ड्रोन, कार्गो विमान र इन्धन भर्ने विमान र सैन्य हेलिकप्टर समावेश छन् । युद्धले ल्याउने वातावरणीय क्षति डरलाग्दो छ । ऊर्जा सुविधा, इन्धन डिपो र तेल ट्याङ्करमा गरिएको बम विस्फोटले हावा, माटो र जलमार्ग विषाक्त रसायनले भरिएको छ । जसले गर्दा दीर्घकालीन खतराहरू चुलिएको छ । औद्योगिक स्थलको विनाशले दीर्घकालीन प्रदूषणलाई स्वागत गरिसकेको छ । वातावरणीय प्रभाव इरान या खाडी मुलुकमा मात्र सीमित हुने छैन ।

युद्धरत मुलुकमा उत्पादन भएको कार्बन उत्सर्जन मानवजातीको टाउको दुखाई बन्ने निश्चित छ । युद्धमा प्रयोग भएका विमान र यातायातका साधनले अत्यधिक ऊर्जा खपत गरिरहेका छन् । लडाकु जेटले डेढ देखि दुई घण्टा उडान गर्दा लगभग ५,६०० देखि ६,५०० लिटर इन्धन खपत गर्छ । परम्परागत यात्रुवाहक कारले सम्पूर्ण जीवनकालमा निकाल्ने कार्बन युद्धमा प्रयोग हुने एउटा विमानले एक दिनमा फाल्दैछ । डच विद्वान लेनार्ड डे क्लार्कको टोलीले गरेको अनुसन्धान अनुसार रुस/युक्रेन युद्धमा अहिलेसम्म ३११ मिलियन मेट्रिक टन हरितगृह ग्यास बराबर उत्सर्जन गरिसकेको छ, जबकि गाजामा भएको युद्धले दुई वर्षमा ३२ टन उत्सर्जन गरिसकेको छ । मध्यपूर्वको युद्ध समाप्त हुने बेलासम्म कति टन कार्बन उत्सर्जन हुन्छ भन्ने अनुमान गर्न हतार हुनेछ ।

यतिबेला विश्वव्यापी ऊर्जा बजार अस्तव्यस्त भएको छ । युद्धको चोक पोइन्ट बनेको होर्मुज जलडमरु बन्द हुँदा आपूर्ति अवरोध तीव्रगतिमा उकालो चढेको छ । होर्मुज जलडमरूबाट २० प्रतिशत विश्वव्यापी तेल र ग्यास सप्लाई हुँदै आएको अवस्थामा अकस्मात् अवरोध आएको छ, जसले गर्दा विश्वले जीवाश्म इन्धन प्रतिको निर्भरता पुनर्विचार गर्न बाध्य हुँदैछ । अकस्मात् आएको ऊर्जा सङ्कटलाई टार्न कोइलाको प्रयोग गर्न बाध्य बनाएको छ, जसले थप कार्बन उत्सर्जनमा बल पुर्‍याउने छ । द्वन्द्वले विश्वव्यापी ऊर्जा प्रणालीमा संरचनात्मक परिवर्तन र वातावरणीय विनाशको अवस्था सिर्जना गरिरहेको छ ।

युद्धले विकास योजनाको सिद्धान्तलाई चुनौती दिन्छ । विकास र संरचना द्वन्द्वको अनुमानित लक्ष्य हुन् । युद्धको समयमा मुलुकको सर्वोच्च निकायमा काम गर्ने व्यक्तिहरू आक्रमणको लक्ष्य बनाइन्छ।युद्धको निसाना सैन्य कमान्ड संरचना, सञ्चार माध्यमहरू, वित्तीय केन्द्र र अन्य महत्त्वपूर्ण आर्थिक र रणनीतिक सम्पत्तिहरूले सहरलाई जोखिममा पार्छन् । द्वन्द्वले नागरिकस्थल र बालबालिका समेतलाई छोड्दैन । युद्धको दौरान सैन्य कमान्डरहरूले मानवढाल प्रयोग गरेको अनेकौँ घटना पढ्न पाइन्छ । युद्धरत पक्षहरूले एक अर्कालाई आक्रमण गर्दा निर्दोष मानिसहरू निशाना बन्छन् र क्रस फायरमा फस्छन् ।

हरेक वर्ष मार्च महिनाको अन्तिम शनिबार विश्वले ‘अर्थ आवर’ (Earth hour) मनाउँदै आएको छ । गत मार्च महिनाको २८ तारिखको दिन विश्वले अर्थ आवर मनायो । उक्त समयमा विश्वका धेरै देशले बत्ती निभाएर ऊर्जा बचाउँदै पर्यावरणप्रति जिम्मेवार भएको सन्देश दिए । दुर्भाग्यवश यसै समयमा `अमेरिका-इजरायल`ले इरानमाथि भीषण आक्रमण गर्दै पर्यावरणविरुद्ध निन्दनीय भूमिका निभायो । प्रतिशोधात्मक भूमिकामा रहेको इरानले इजरायल र खाडी मुलुकमा ड्रोन र मिसाइल आक्रमण गरिरह्यो, जसले पर्यावरणलाई थप कमजोर पुर्‍यायो ।

युद्धको असर केवल राजनीतिक नक्साको अधीनमा बस्दैन । राजनीति र युद्धले पर्यावरणमाथि गम्भीर धक्का दिँदै आएको छ । जब युद्ध सुरु हुन्छ या गरिन्छ; बम, मिसाइल र रासायनिक हतियारको प्रयोगले हावा, पानी र माटोलाई विषालु बनाउँछ । सिसा, मर्करी, क्याडियम, युरेनियम जस्ता धातु युद्धको दौरान माटोमा मिल्ने गर्छ । जसले जमिनको प्राकृतिक तागत समाप्त गर्छ । तत्पश्चात् माटो खेतीयोग्य रहँदैन । प्रदूषित पानी पिउन अनुपयुक्त हुनेछ । युद्धमा प्रयोग गरिने रसायनले नयाँ नयाँ रोगलाई जन्म दिनेछ । अपाङ्ग, विकृत र रोगी बालबालिका जन्मिने छन् । जलवायु परिवर्तनले जीवनका स्रोतहरूमा तनाव निम्त्याउँछ । जलवायु शरणार्थी जन्माउने छ । जसले गर्दा स्थानीय सरकारलाई अस्थिर बनाउने छ । कालान्तरमा `अराजकता र आतङ्कवाद`को कारण बन्न सक्ने छ ।

युद्धले पर्यावरणको हत्या गर्दै आएको छ । यसको भयावह अवस्था बुझ्न भियतनाम युद्ध काफी हुनेछ । जहाँ अमेरिकाद्वारा प्रयोग गरिएको विषालु रसायनको असर आजसम्म परिरहेको छ । प्रदूषित तत्त्वले खाद्य शृङ्खलादेखि जनावरसम्म गम्भीर प्रभाव पार्ने छ । यसको अतिरिक्त, युद्धले मानव सभ्यता, जङ्गलको विनाश र प्राकृतिक विनाशलाई बढाउने छ, जसले पर्यावरणको सन्तुलन थप ध्वस्त बनाउने छ । बमबारी र सैन्य गतिविधिले दुर्लभ वन्यजन्तुको लोप हुने अवस्था आउने छ ।

युद्धले जलवायु जोखिम बढ्ने छ । पृथ्वीको तापक्रममा वृद्धि हुनेछ । सन् १९९१ मा अमेरिकाले इराकमाथि गरेको बमबारीले पुष्टि गरिसकेको छ । युद्ध फर्मुला अनुसार चल्दैन । उक्त युद्धमा रणनीतिक ढङ्गले तेलको कुवामाथि बमबारी गरियो । तेलको कुवामा लागेको आगोले असीमित कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सल्फर डाइअक्साइड फैलिँदा इराकको आकाश र समुन्द्री जीवनमा अकल्पनीय क्षति भयो । दुर्भाग्यवश अमेरिका कहिल्यै सुध्रिएन । उसले युद्धलाई व्यापार र मानवजातीलाई ग्राहक बाहेक केही ठानेन । सर्वसाधारण नागरिकलाई सम्पन्न बनाउन मरिहत्ते गर्नुको सट्टा मानव जीवनविरुद्ध आँखा चिम्लेर युद्ध थोपर्दै छ । भविष्यमा आउने पुस्तालाई शुद्ध हावा, पानी र खेतीयोग्य जमिनबाट वञ्चित गर्ने तयारी गरिरहेको छ । 

मानवजातीले असङ्ख्य युद्ध लडेको छ । दुई वटा विश्व युद्धको नमिठो स्वाद चाखेको छ । शायद युद्धको दौरान ठुलो नोक्सानी बेहोर्न बाध्य भएर होला, उसले केही नियमहरू बनाएको छ । जेनेभा कन्भेन्सनमार्फत युद्धको दौरान मानवीय व्यवहारलाई नियन्त्रित गर्न महत्त्वपूर्ण नियम बनाइएका छन् । शत्रुलाई सफाया गर्ने नाममा युद्धको दौरान जङ्गलको विनाश गर्न, आगो लगाउन, पानीमा विषको प्रयोग गर्न, जमिनको मरुभूमीकरण गर्न प्रतिबन्ध लगाइएको छ । पर्यावरणलाई हतियार बनाउन रोकिएको छ । कुनै पनि देशको मौसम, जलवायु या प्राकृतिक प्रक्रियामाथि छेडखानी गर्न प्रतिबन्ध लगाइएको छ । कृत्रिम वर्षा गराउँदै भीषण बाढीको चपेटमा पार्न, जमिनलाई सुख्खा बनाउने गतिविधिलाई कानुनी रूपमा अपराध या दण्डनीय बनाइएको छ ।

शक्तिशालीहरू नैतिकवान् रहेनन् । मेसिनलाई दण्डहीनताको तालिम दिएर युद्ध जित्न निस्किएको अमेरिका/इजरायल विनाशमा भविष्य देख्दैछ, जसले मानवता खतरामा परेको सङ्केत गरिरहेको छ । यसको अर्थ एआईको सैन्यकरण गर्दै अगाडि बढेको अमेरिकी राजनीति आफ्नो औचित्य गुमाउँदै छ । डिजिटल युद्धलाई संसारले मौनतापूर्वक हेरिरह्यो भने अमेरिकी पुँजीवाद र अर्थतन्त्रमा आएको सङ्कटले विश्वमा छिट्टै जलवायु आपतकालतर्फ धकेल्न सक्छ । पर्यावरण र वातावरणीय सङ्कट आर्थिक मुद्दा बनेर उदाउँदै छ । ऊर्जा सुरक्षा, समष्टिगत आर्थिक स्थिरता, मुद्रास्फीति र जलवायु लचिलोपन फरक अनुहार भएका एउटै समस्या हुन् । यसले संरचनात्मक परिवर्तनलाई सङ्केत गरिरहेको छ । जसले गर्दा मुलुकले छिट्टै विद्युतीय ऊर्जातर्फ हामफाल्न अनिवार्य भइसकेको छ । पछिल्लो युद्ध र सङ्कटले गरिबीलाई अझ बलियो बनाउने जोखिम छ ।

अमेरिका/इजरायलले लादेको इरान युद्धले विश्वव्यापी तेल बजारको इतिहासमा सबैभन्दा ठुलो आपूर्ति अवरोध निम्त्याएको छ । युद्धले ऊर्जा सार्वभौमिकताको बहसलाई जन्म दिएको छ । मध्यपूर्वले जलवायु सुरक्षाको नयाँ परिभाषा खोजेको छ । पछिल्लो सैन्य अपरेसन ठुलो मात्रामा कार्बन उत्सर्जन गर्ने कारण बन्दै छ । निकट भविष्यमा गरिने पुनर्निर्माणले उत्सर्जनको लेखाजोखा गर्नुपर्छ । ध्वस्त शहरी केन्द्रहरू, क्षतिग्रस्त बन्दरगाह र रिफाइनरीको पुनर्निर्माण गर्न लाखौँ टन स्टिल र सिमेन्ट चाहिन्छ । जसलाई उत्पादन गर्दा कार्बन उत्सर्जन थप बढ्नेछ । फलस्वरूप जलवायु परिवर्तन, तापक्रम वृद्धि, एसिड वर्षा र रासायनिक प्रदूषणले माटोको क्षय र जनस्वास्थ्य जोखिम बढाउने छ । विषाक्त प्रभावले दशकौँसम्म बाधा पुर्‍याउने छ ।

अन्तमा, मुलुकको तेल-सङ्कटलाई चुनौतीको रूपमा मात्र हेर्नु हुँदैन, सङ्क्रमणको अवसर पनि हो । मध्यपूर्व सङ्कट पश्चात् लगभग निश्चित भएको छ, मुलुक यथास्थितिमा चल्न सक्दैन । वास्तविक मुद्दा यो हो कि मुलुक कसरी सङ्क्रमणबाट निस्कन कोसिस गर्नेछ ? अनिश्चित बन्दै गएको भूराजनीति र अमेरिकी सङ्कटले अनेकौँ युद्धको बिउ रोपिसकेको छ । मध्यपूर्वमा मच्चाइएको युद्धको असर जलवायु परिवर्तन बनेर छिट्टै मुलुक प्रवेश गर्नेछ, जसले हाम्रा हिमाल खाली हुनेछन् । तापक्रम वृद्धिमा अस्वाभाविक परिवर्तन आउनेछ । ततपश्चात् नसोचेको सङ्कट आउने करिब निश्चित छ ।