‘क्रासस’देखि ‘ट्रम्प’सम्म !
२० चैत्र २०८२, शुक्रबार
युद्धको दायरा र परिभाषा बदलिएको छ । युद्धले आर्थिक गतिविधि र असीमित पीडाको उजागर गरेको छ । अमेरिकाले भियतनाम, अफगानिस्तान र इराक युद्धबाट पाठ सिकेको देखिएन । उसको नजरमा युद्ध भनेको व्यापार हो । अमेरिकाले सार्वभौम मुलुकहरूको राष्ट्रवादी भावनालाई बेवास्ता गर्दै आएको छ । उसले रणनीतिक युद्धमार्फत आफ्नो साम्राज्य बिस्तार गर्दै आएको छ । दुर्भाग्यवश विश्व राजनीतिमा आएको बदलावलाई अस्वीकार गर्दै रणनीतिक गल्तीहरू गर्न हौसिएको छ । जसले गर्दा विभिन्न देशमा सैन्य दुस्साहस गर्न बाध्य बनाएको छ ।
योजना,रणनीति र सम्भावित परिणामको मूल्याङ्कनबिना लडिएको युद्धले जोखिम बाहेक केही प्राप्त हुँदैन भन्ने ट्रम्प प्रशासनले भर्खरै महसूस गरेको छ । तेहरानले केही दिनभित्रै आत्मसमर्पण गर्नेछ भन्ने अनुमानको भरमा युद्धमा होमिएको ट्रम्प प्रशासन् २४ दिनपछि बिउँझिएको छ । विश्वव्यापी ऊर्जा बजारलाई अशान्तिमा फ्याँक्यो र विश्वव्यापी मन्दीको खतरा बढ्यो । ट्रम्प प्रशासनले आर्थिक परिणामको पूर्वानुमान नगरेको यतिबेला खुलेको छ । अमेरिकाले आक्रमण गरेका देशहरूमा राष्ट्रवादीको शक्तिलाई कम आँकलन गरेको सजाय पाएको छ ।
इरानको क्षमता देखेर ट्रम्प प्रशासन आश्चर्यमा परेको छ । ‘क्रासस’ (Marcus Licinius Crassus) को दिमाग लिएर विश्व भ्रमणमा निस्किएको ‘ट्रम्प डक्ट्रीन’ले एकपटक रोमको कथा सम्झिन बाध्य बनाएको छ । एक उद्यमी, जसले रोममा पहिलो अग्निनियन्त्रक स्थापना गरे । रोममा दैनिक जस्तो हुने आगलागीबाट बचाउने उनको लक्ष्य थियो । यद्यपि क्राससलाई आफ्नो सम्पत्ति बेच्न सहमत नभएसम्म उनले आगो निभाएनन् । क्राससले जलिरहेको भवन हेरिरहे । छेउछाउको भवनसँगै रहेका खाली जग्गा किनिरहे । यही जुक्तिको सहयोगमा ‘रोमको सबैभन्दा ठुलो भाग’ आफ्नो स्वामित्वमा लिए । प्लुटार्कले लेखेझैँ, ‘आगो र युद्धद्वारा आफ्नो भाग्य बनाए । सार्वजनिक विपत्तिलाई आम्दानीको स्रोत बनाए ।’
ल्याटिन भाषामा ‘क्रासस’को अर्थ ‘बाक्लो’ वा ‘घना’ भनिएको छ । आधुनिक शब्द ‘क्रस’को अर्थ घोर मूर्ख वा असभ्य हुन्छ । संसारभरका क्राससहरूका लागि आम्दानीको स्रोत पर्याप्त भएको इतिहास हामीसँग छैन । अझ रोचक कुरा राजनीतिक शक्ति बढाउने प्रयासमा, क्राससले सिजर र पोम्पेसँग घनिष्ठ सम्बन्ध बनाए । निःसन्देह पोम्पे एक निपुर्ण सेनापति थिए । रोमको सबैभन्दा ठुलो प्रतिद्वन्द्वी, पार्थियन साम्राज्यमा आक्रमण गर्ने निर्णय गरे, जुन अहिलेको मक्रान तटीय पर्वत श्रृङ्खलादेखि युफ्रेटिस र आधुनिक टर्कीको केही भागसम्म फैलिएको छ । पार्थियनलाई पराजित गर्दा क्राससले सोचे सम्पूर्ण स्रोत मेरै हुनेछ ।
‘पार्थियनहरू घातक धनुर्धारी थिए !’ क्राससका सेनापतिले उनीहरूको युद्धकलालाई बकवास ठाने । क्राससले जवाफ दिए- ‘पार्थियनसँग तीरहरूको सीमित आपूर्ति छ र चाँडै नै समाप्त हुनेछ । हामी पार्थियालाई फेरि रोम बनाउनेछौँ !’ पार्थियन आक्रमणको लागि कम जोखिममा रहेको पहाडी मार्ग प्रयोग गर्न आग्रह गरे । पार्थियनहरूले रोमन सेनामाथि तीर बर्साउन थाले । रोमन कवचलाई सजिलै च्यात्न सक्षम भए । एक समय पार्थियनहरू कमजोर भएका थिए, तर उनीहरू भागेनन् । पार्थियनहरू रोमन रणनीतिसँग परिचित भएकाले अन्तसम्म लडे । अन्ततः क्रासस आफैं मारिए । किंवदन्ती छ- विजयी पार्थियनहरूले क्राससको टाउको काटेर उनको मुखमा पग्लिएको ‘सुन’ खन्याए ।
भेनेजुएलाको इन्धन, युक्रेन र ग्रिनल्यान्डको रियल अर्थ मेटेरियल्, पनामा र सोएज नहर, खर्ग टापुको ग्यास, खाडी मुलुक र इरानको इन्धन, होर्मुज जलडमरुमाथि नियन्त्रण, विश्व बजार र सम्पूर्ण प्राकृतिक स्रोतको दीर्घकालीन नियन्त्रण गर्न अमेरिकी व्यापारीले ट्रम्पको रणनीतिक प्रयोग गरिरहेका छन् । सङ्कटपूर्ण अमेरिकी पुँजीवादले चालेको पछिल्लो युद्ध सफल भएमा अमेरिकाको प्रभुत्व र साम्राज्यले थप उचाइ लिनेछ, असफल भए ट्रम्पको राजनीतिक बली दिइनेछ ।
यतिबेला विश्व अमेरिकी व्यापारको सिकार भएको छ । जब-जब उनीहरूको आम्दानी घट्नेछ, चलाखीपूर्वक आफैले पालेका या जन्माएका कथितहरूको प्रयोग गर्दै आम्दानीको बाटो खोज्छन्, जसलाई विश्वले औचित्यहीन भनिरहन्छ तर रणनीतिक युद्ध जबर्जस्ती लादिन्छ । जसको पछिल्लो उदाहरण ट्रम्प/नेतान्याहूलाई प्रयोग गर्दै सुरु गरिएको इरान युद्धलाई लिन सकिन्छ । इरान युद्धको प्रभावलाई बुझ्न अमेरिकी अर्थतन्त्रको मूल्याङ्कन अद्यावधिक गर्ने आईएमएफको भनाइलाई लिन सकिन्छ । अन्तर्राष्ट्रिय मुद्राकोषले इरानमा अमेरिका/इजरायलद्वारा लादिएको युद्धको प्रभावलाई समीक्षा गर्ने बताएको छ ।
पर्दाभित्र रहेका व्यापारीले अनुमान गरेझैँ मूल्यवृद्धि उकालो चढेको छ । होर्मुज जलडमरु बन्द हुनासाथ तेल यतिबेला ‘पेट्रोल बम’ बनेको छ । ‘पेट्रोल बम’को प्रभाव असीमित र अनियन्त्रित बनेकोमा रणनीतिक खेलाडीहरू प्रफुल्ल छन् । उनीहरू सर्वसाधारणदेखि मुलुकको राजस्वसमेत खोस्न सफल भएका छन् । युद्धलाई थप चर्काउँदै हतियार र ऊर्जाको व्यापार गर्दैछन् । विश्व-बजारमा पेट्रोलको मूल्यवृद्धि घट्न असम्भव छ । मितव्ययिताले अल्पकालीन आक्रोश शान्त पार्न सकिन्छ । लोकतान्त्रिक सरकारले जनताको भावनालाई सम्बोधन गर्नुपर्छ, चाहे उनीहरूलाई सत्तामा ल्याउने चुनावी प्रक्रिया जतिसुकै त्रुटिपूर्ण किन नहोस् । तथापि ऊर्जा सङ्कटबाट बचाउन ट्रम्पको प्रयास खल्लो सावित हुँदैछ ।
वर्तमान विश्व व्यवस्था र आधिकारिक शासन् शैलीले अर्थतन्त्रको अनिश्चितता बढाएको छ । खुला बजार र आर्थिक उदारीकरणले कमजोर अर्थतन्त्रलाई थप बरबाद गर्दैछ । व्यापारीको चक्करमा फसेको ट्रम्प प्रशासन र अमेरिकी हेजेमोनी रक्षात्मक बन्दैछ । बढ्दो ऋणले अमेरिकी सत्ता तिलमिलाएको छ । इरान युद्धपश्चात् तीतो वास्तविकता स्वीकार गर्न ढिला भइसकेको छ । ऊर्जा र मूल्यको कारणले उसलाई अझ कमजोर बनाउने छ । क्राइसिस बढ्दै जाँदा अमेरिका मात्र होइन, दुनियाँ डुब्नेछ ।
‘युद्ध, विश्व राजनीति र इतिहास’ले व्यापार बोकेर आएको छ । जसलाई बुझ्न एक पटक इतिहासतर्फ फर्किनु जायज छ । सन् १७९८-१८०१ मा नेपोलियनले भारत जाने व्यापार मार्ग इजिप्टबाट देखे । नेपोलियनको सपना पूरा गर्न सन् १८६९ मा इन्जिनियर फर्डिनान्ड डे लेसेप्सले ‘सुएज नहर’ निर्माण गरे । नेपोलियनले आफू जीवित हुँदा भनेका थिए, ‘यदि अङ्ग्रेज नभएको भए, म पूर्वको सम्राट् हुने थिएँ ।’ विडम्बना एक शताब्दीसम्म बेलायती र फ्रान्सेलीहरू सुएज नहरका सह-मालिक बने । सन् १९५६ मा, इजिप्टका राष्ट्रपति गमाल नासेरले सुएज नहरलाई राष्ट्रियकरण गरे । इजरायल, बेलायत र फ्रान्सले संयुक्त सैन्य आक्रमण सुरु गरे ।
इजरायलले सिनाई प्रायद्वीप कब्जा गऱ्यो । बेलायत र फ्रान्सले इजिप्टको नहर क्षेत्र । अमेरिका र सोभियत सङ्घले आक्रमणको निन्दा गऱ्यो । बेलायत र फ्रान्सले अपमानित भएर पछि हट्नु पऱ्यो । बेलायती प्रधानमन्त्री एन्थोनी इडेनले इज्जत धान्न ‘संयुक्त राष्ट्र सङ्घलाई बलियो बनाउन’ पछि हटेको तर्क गरे । जसले गर्दा सुएज नहरको महत्त्व अकस्मात् चुलियो । सन् १९६७ मा इजरायल-अरब युद्धपछि, सुएज नहर आठ वर्षसम्म अवरुद्ध रह्यो । यतिबेला विश्व व्यापारको धमनी बनेर छ । पनामा नहर र होर्मुजको जलडमरू जत्तिकै महत्त्वपूर्ण छ ।
पनामा नहर सन् १९१४ देखि १९९९ सम्म अमेरिकी नियन्त्रणमा रह्यो, तत्पश्चात् पनामा पुग्यो । गत जनवरी २०२५ मा, राष्ट्रपति ट्रम्पले अमेरिकी ‘आर्थिक सुरक्षा’ सुनिश्चित गर्न ‘पनामाविरुद्ध आर्थिक र सैन्य कारबाही’ गर्ने धम्की दिए । पनामा नहर पुनः नियन्त्रण गर्ने अमेरिकाको मनसाय घोषणा गरे । विश्व व्यापारको लागि असाधारण रूपमा महत्त्वपूर्ण बनेको होर्मुज जलडमरु बाट दशौँ हजार जहाज र ट्याङ्कर पास हुँदै आएको छ । जसले विश्वव्यापी तेल व्यापारको ३० प्रतिशत र विश्वव्यापी एलएनजीको २० प्रतिशत बोकेको छ ।
ट्रम्प प्रशासन् इरानको सभ्यता मेटाउन मरिहत्ते गरिरहेको छ अयातोल्लाह अली खामेनीको हत्या गरेर ट्रम्पले इरानलाई एकजुट बन्न बाध्य बनाएका छन् । ‘ट्रम्प र नेतान्याहू’लाई इरानको सिया धर्मले २१औँ शताब्दीको ’यजिद’को रूपमा सम्झिएको छ । जसले गर्दा इरानलाई विखण्डित गर्न असम्भव बनाएको छ । इरानको इस्लामिक क्रान्तिपश्चात् अमेरिकाले यसलाई आर्थिक रूपले कमजोर बनाउन हरदम तिकडम गरिरह्यो । खाडी देशहरूको विश्वास र सुरक्षा किनेर अमेरिकाले अत्यधिक प्रिमियम उठाउँदै आएको छ । ट्रम्पको अमेरिकाले खाडी मुलुकको रक्षा गर्नेछ भन्ने झुटो साबित भएको छ । अमेरिका विश्वको प्रहरी होइन, उ केवल व्यापारी मात्र हो भन्ने पछिल्लो युद्धले पुष्टि गरेको छ ।
वास्तवमा युद्ध कहिल्यै सन्तोषजनक हुँदैन । यसले निर्णय लिने प्रक्रियामा नकारात्मक प्रभाव पार्नेछ । इरानमाथि आक्रमण गरेर ट्रम्पले आधुनिक पाण्डोरा बक्स खोलेका छन् । युद्ध र दुःख सिर्जना गरेर भगवानको साथ खोजेका छन् । इरानमा लक्षित युद्ध सुरु गरेर विश्वभर ऊर्जा सङ्कट सिर्जना गरेका छन् । विकासशील देशहरूलाई आर्थिक र राजनीतिक क्षति पुऱ्याएर नाफा कमाउँदै छन् । अमेरिकी पुँजीवाद अनियन्त्रित ढङ्गले भोकाएको छ । जसको फाइदा उठाउँदै ट्रम्प विश्व भ्रमणमा निस्किएका छन् । उनभित्र एकसाथ क्रासस र नेपोलियनको हंस प्रवेश गरेको छ । जसले विश्वमा नयाँ बर्बादी लिएर आउँदैछ ।
अन्तमा, ‘ट्रम्प’ नामका आधुनिक क्राससले आगो निभाउँदैनन् । उनीहरूको दमकलमा पानी हुँदैन । ज्वलनशील पदार्थ हुन्छ । भेनेजुएलाको इन्धन, युक्रेन र ग्रिनल्यान्डको रियल अर्थ मेटेरियल्, पनामा र सोएज नहर, खर्ग टापुको ग्यास, खाडी मुलुक र इरानको इन्धन, होर्मुज जलडमरुमाथि नियन्त्रण, विश्व बजार र सम्पूर्ण प्राकृतिक स्रोतको दीर्घकालीन नियन्त्रण गर्न अमेरिकी व्यापारीले ट्रम्पको रणनीतिक प्रयोग गरिरहेका छन् । सङ्कटपूर्ण अमेरिकी पुँजीवादले चालेको पछिल्लो युद्ध सफल भएमा अमेरिकाको प्रभुत्व र साम्राज्यले थप उचाइ लिनेछ, असफल भए ट्रम्पको राजनीतिक बली दिइनेछ ।