गोर्बाचेभको बाटो पछ्याउँदै नेता ओली !
१३ चैत्र २०८२, शुक्रबार
सन् १९९१ अगस्ट १८ को दिन सोभियत सङ्घका राष्ट्रपति मिखाइल गोर्बाचेभ श्रीमती र छोरीसँग क्रिमियामा छुट्टी मनाइरहेका थिए । मस्कोको सडकमा सेनाको ट्याङ्क निस्कियो । मस्को रेडियोले राष्ट्रपति गोर्बाचेभ बिरामी परेको, उपराष्ट्रपति गेन्नाडी ऐनाएभ र बोरिस् पुगो लगायतले अस्थायी रूपमा सत्ता सञ्चालन गर्ने बतायो । ऐनाएभले पठाएको टिमले गोर्बाचेभलाई राष्ट्रपति पदबाट राजीनामा दिन दबाब दियो । उनले अस्वीकार गर्दै आफ्ना अङ्गरक्षकको सञ्चार सेटबाट अमेरिकी राष्ट्रपति जर्ज एच डब्लू बुससँग सम्पर्क गरे ।
अमेरिकाले तत्काल सन् १९८७ मा कम्युनिस्ट पार्टीको पोलिटब्युरो सदस्य त्यागेका बोरिस् येल्तसिनसँग सम्पर्क गर्यो । येल्तसिन नागरिक सहित मस्कोको सडकमा ओर्लिए । ७२ घण्टाको रोचक नाटकपछि २१ अगस्टमा राष्ट्रपति गोर्भाचेब मस्को फर्किए । क्रिमियाबाट मस्को फर्किनासाथ सोभियत कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाए । पार्टीको सम्पत्ति राष्ट्रियकरण गरे । २४ अगस्टमा कम्युनिस्ट पार्टीको महासचिव पदबाट राजीनामा दिए । १७ डिसेम्बरमा सोभियत सङ्घ विघटन गरे । ‘राष्ट्रपति, जसको कुनै राष्ट्र छैन’ भन्ने अवस्थामा पुग्दै २५ डिसेम्बर १९९१ मा विघटित सोभियत सङ्घको राष्ट्रपति पदबाट राजीनामा दिए।७३ वर्षको सोभियत सत्ता बिदा गरेको कलङ्कको टिका लगाएर सन २०२२मा यस संसारबाट बिदा लिए ।
यतिबेला नेता ओली गुण्डुमा बसेर गोर्बाचेभ र तत्कालीन नेकपा मालेको अतीत सम्झिँदै छन् । पूर्वी युरोपको समाजवादी सत्ता ढल्दै गर्दा २०४६ को जनआन्दोलनपश्चात् अर्ध भूमिगत नेकपा मालेको बागबजारमा रहेको पार्टी अफिसको चहलपहल सम्झिएका छन् । सोभियत सेनाले गोर्बाचेभलाई ‘कु’ गरेर कम्युनिस्ट आन्दोलन जोगाएको भ्रमलाई तत्कालीन मालेले समर्थन गरेर गम्भीर भूल गरेको शैलीमा प्रायोजित निर्वाचनमा भाग लिएकोमा पछुतो मान्दै छन् ।
गोर्बाचेभद्वारा ल्याइएको `खुलापन र पुनर्निर्माण`को कार्यक्रमलाई नेकपा मालेले संशोधनवादको आरोप लगाउँदै आएको थियो । उनीहरूले ऐनाएभ र बोरिस् पुगोको कदमलाई समर्थन गर्दै हतार हतारमा वक्तव्य निकाले । दुर्भाग्यवश ७२ घण्टापश्चात् गोर्बाचेभ मस्को फर्किएको घटनाले नेकपा मालेको निर्णय क्षमतामाथि गम्भीर प्रश्न चिन्ह लाग्यो । तत्कालीन पार्टी महासचिव मदन भण्डारीले विश्व राजनीतिको हावा सुँघ्दै नेकपा मालेलाई `जबज`को सञ्जीवनी बुटी मार्फत तन्दुरुस्त बनाए । अन्ततः नेकपा मार्क्सवादीसँग पार्टी एकता गर्दै एमाले बनाए ।
मदनको असामयिक निधन पश्चात् पुँजीपति वर्ग र जनताको संयुक्त राज्यसत्ता निर्माण गर्ने मदनको विचारलाई लत्त्याइयो । नेतृत्वको प्रायोजित प्रतिस्पर्धालाई `जबज` बनाइयो । क्रान्तिको कार्यक्रमलाई `सिद्धान्त` बनाएर कार्यकर्ता र जनताको आँखामा छारो हालियो । एमाले नेतृत्वले पुँजीवादी क्रान्तिमार्फत समाजवाद तर्फ लम्किनुको सट्टा मदनको `जबज` कब्जा गर्दै सामन्तवाद तर्फ फर्कियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवको आधारमा पार्टी र आफूलाई परिवर्तन गर्दै जानुपर्छ भन्ने जबजको मान्यता नेता ओलीले चटक्क बिर्सिए ।
राजनीतिक क्रान्ति सम्पन्न भएको समयमा सरकार मार्फत आर्थिक क्रान्ति गर्न चुकेको नेता ओलीले कहिल्यै स्वीकार गरेनन् । शोषण, उत्पीडन र प्रभुत्ववादका सबैखाले स्वामित्वहरू अन्त्य गर्न, क्रान्तिकारी भूमिसुधार लागू गर्न र जबजका आर्थिक पक्षहरू लागू गर्दै मदनको सपना साकार पार्न लाग्नुको सट्टा आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको विपक्षमा रुमल्लिएको ओली राजनीति पार्टी सत्ता र कुर्सीको वरिपरि जाँतो जसरी घुमिरह्यो ।
वास्तवमा जनताको बहुदलीय जनवाद मार्गदर्शक सिद्धान्त थिएन/होइन । जनताको बहुदलीय जनवाद स्वयंलाई सिद्धान्त घोषणा गरिदिएर दीर्घकालीन रूपमा आफ्नो राजनीतिक रोटी सेक्ने जत्थाले अन्ततः जबजलाई कोमामा पुर्याए । कथित स्वार्थको निम्ति सिद्धान्त घोषणा गर्ने र ठुलो भ्रम सिर्जना गर्दै कार्यकर्तालाई दास र लास बनाउने खेलको नतिजा प्राप्त भइसकेको छ । जबजको प्राधिकार बनेका कथितहरूले क्रान्ति र पार्टीलाई विसर्जन गरेको आँखा चिम्लँदै अध्यक्ष ओली कथितहरूको संरक्षक भएर बसिरहे । जसलाई नजिकबाट नियालेका नागरिकले निर्वाचनमा नमिठो स्वाद चखाइदिए ।
समाजवादको विकल्पमा आएको पुँजीवादले आफूलाई जीवित राख्न अपनाएको आर्थिक नीतिहरू सङ्कटतर्फ लम्किएको बुझ्ने ल्याकत कुर्सी-नसामा नेता ओलीले गुमाए । चीनको अनियन्त्रित आर्थिक उन्नति र प्रगतिबाट तर्सिएको अमेरिकाले चीन घेर्ने घोषित रणनीतिलाई सफल बनाउन दक्षिण एसियाको ककपिट प्राप्त गर्न चाहेको ओलीले बुझपचाए । पार्टी कब्जालाई राजनीति कब्जा ठान्ने, मित्रशक्तिलाई साथ लिएर अगाडि बढ्न नचाहने, आफूलाई सर्वज्ञानी ठान्ने, आफ्नै सहकर्मी र सहयोद्धालाई दुस्मनको जस्तो व्यवहार गर्ने कार्यशैलीले उनी पछारिए ।
पुँजीवाद र पुँजीवादी लोकतन्त्रलाई जोगाउन अमेरिकी सत्ताले सिलिकन भ्याली जन्मायो । निगरानी पुँजीवाद, इको चेम्बर, एल्गोरिदम, सोसल मिडिया प्लेटफर्म, एआईमा आधारित राजनीतिमार्फत विश्वलाई `डिजिटल कोलोनी`को ग्राहक बनाउने सफलता पायो । जसबाट वाम आन्दोलन जोगाउन सिन्कोसम्म नभाँचेको ओली राजनीति जबजलाई `ब्रह्मास्त्र` मानेर मस्तसँग निदायो । जबजको नाममा पार्टी कब्जा गर्ने, पार्टीभित्र प्रतिपक्षीलाई निषेध गर्ने, असहमत पक्षलाई किनाराकृत गर्दै दलाल, बिचौलिया र व्यापारीलाई मित्र शक्ति ठान्न र मान्न तयार हुँदा उनको साम्राज्य सोभियत सत्ता जस्तो खोक्रो भएको पत्तै पाएनन् ।
वास्तवमा एमालेको `जग` २०३५ देखि २०४७ सम्म बनेको कुराले ओलीलाई सधैँ बिझाइरह्यो । नेकपा मालेको भूमिगत कालिन इतिहास मेट्न नेता ओलीले कुनै कसर राखेनन् । २०३५ पुस ११ गते मोरङको इटहरा (डिफु गाउँ)मा जन्मिएको पार्टीको संस्थापक नेताहरू सिपी मैनाली, माधव नेपाल, अमृत बोहोरा, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, ईश्वर पोखरेल, बामदेव गौतमलाई अपमानित गर्नुलाई पुरुषार्थ ठाने । भूमिगतकालिन सङ्गठन, अनेरास्ववियू, शिक्षकहरूको स्वार्थरहित सक्रियता, मजदुर, किसानको साथ र सहयोगले पार्टी निर्माण भएको इतिहासलाई सुन्न पनि चाहेनन् । जबज र मदनको कुशल प्रस्तुतिको आधारमा एमाले सजिलोसँग सर्वसाधारणको मनभित्र बस्न सफल भएको कुरालाई सम्मान गर्न रुचाएनन् । दुर्भाग्यवश मदन/आश्रितको असामयिक निधनले जबजको सही प्रयोग हुन पाएन । ओली नेतृत्वमा एमाले मोटाउँदै, जबज दुब्लाउँदै गएको कहिल्यै महसुस गरेनन् ।
`जबज`को जगमा पार्टी कब्जा गर्दै लम्किएका ओलीले त्यतिबेला राजनीतिको सम्पूर्ण `लक्ष्मण रेखा` पार गरे, जतिबेला मदनलाई बहुपत्नी राखेको आरोप लगाउन पछि परेनन् । उनी रोकिएनन्, मदनपत्नी विद्यालाई सार्वजनिक स्थलमा अपमानित गर्दै पार्टीको ढोका बन्द गरिदिए । उल्लेखित घटना गोर्भाचेवले सोभियत कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाए भन्दा किमार्थ फरक थिएन । यस्तो कथित कार्यलाई झन्डै छ लाख पचास हजार पार्टी सदस्यले टुलुटुलु हेरेर बसे । अझ एक कदम अगाडि बढ्दै औचित्यहीन विशेष महाधिवेशनमा १६६३ प्रतिनिधिले ओली भनेकै `एमाले` भन्न हौसिए । आम मतदाताले एमाले महाधिवेशन प्रतिनिधिको निर्णयलाई प्रायोजित निर्वाचन मार्फत अस्वीकार गरिदिए ।
नेकपाको विघटनपश्चात् कम्युनिस्ट राजनीति प्रति युवाहरूको आकर्षण तीव्रगतिमा ओरालो लागेको बुझ्न सकेनन् । जब ओलीले दही चिउरा खाएर देउवासँग सहकार्य गर्न हौसिए, त्यसले कम्युनिस्ट राजनीतिलाई घोर अवसरवादतर्फ धकेल्यो । सम्पूर्ण पार्टी कार्यकर्ता, मतदाता र शुभेच्छुकको धारणालाई लत्त्याउँदै फगत कुर्सीको निम्ति भाद्र २३ को नरसंहारलाई जायज ठान्न पुग्यो, अधिकांश मानिस एमालेलाई देखाइदिने अवस्थामा पुगेको नेता ओली र उसको भजन मण्डलीले सुँघ्नसम्म सकेनन् । रुष्ट मतदातालाई मतपत्रसम्म पुर्याउन बारबरा र समता सरकारले कुशल भूमिका निभायो । यस तथ्यलाई सूक्ष्म अध्ययन र विश्लेषण गरेको `सिलिकन भ्याली`ले एल्गोरिदम मार्फत आफ्नो काम फत्ते गर्यो ।
गोर्बाचेभसँग अध्यक्ष ओलीको एउटा विचित्रको संयोग मिल्दै छ । खुलापन र पुनर्निर्माणको नारा दिँदै उदाएका गोर्बाचेभ एक समय रुसमा देशभक्त, क्रान्तिकारी र लोकप्रिय थिए । उनले सोभियत समाजवादलाई बचाउने सन्देश विश्वभरका कम्युनिष्टहरुलाई दिएका थिए । दुर्भाग्यवश उनको नेतृत्वमा सोभियत समाजवाद पतन भयो । गोर्बाचेभकै शैलीमा नेता ओली एमालेको लोकतान्त्रीकरण, पदाधिकारीमा दुई कार्यकाल र ७० वर्षे प्रावधानसहित उदाए । कुर्सी-नसामा पार्टीको विधान, आफ्नै मूल्य र मान्यताविरुद्ध लाग्दा सत्ताच्युत हुँदै हेलिकप्टरबाट भाग्न विवश भए । गोर्बाचेभ `कु`बाट फर्किए । कम्युनिस्ट पार्टी समाप्त गरे । नेता ओली ब्यारेकबाट फर्किए । अध्यक्ष बन्दै प्रायोजित निर्वाचनमा होमिए । अन्ततः आफू र पार्टीलाई ‘भस्म’ बनाए ।
सन् ९० को दशकमा आएको परिवर्तनले पञ्चायत निल्यो । ०६२/६३ को आन्दोलनले राजसंस्था निल्यो । गत भाद्र २३ मा गराइएको डिजिटल विद्रोहले एमालेलाई निल्दैछ भन्ने ओलीले अझै बुझेको देखिएन । प्रायोजित निर्वाचनमा पछारिएको एमाले जोगाउन जबज र पार्टीलाई ‘ओलीको कैद’बाट मुक्त गर्न जरुरी छ । अध्यक्ष ओलीको कार्यशैली र नेतृत्व यथावत् राखेर `एमाले` बाँच्ने अवस्था छैन । पार्टीभित्रको असन्तुष्टि भूसको आगो जस्तो फैलिएको बुझ्दै पार्टीलाई सामूहिक नेतृत्व र नागरिकमुखी बनाउन ढिलो भइसकेको छ । गोर्बाचेभको बाटो नहिँड्ने हो भने पूर्व उपाध्यक्ष सुरेन्द्र पाण्डेले दिएका तीन सूत्रीय सुझावमाथि गम्भीर बहस चलाउन जरुरी छ । विज्ञतामा आधारित राजनीति, डिजिटल मेरिटोक्रेसी र संरचित पुस्तान्तरणको जगमा वाम आन्दोलनको पुनर्गठन गर्ने उपयुक्त समय आएको छ ।