विश्व सङ्कटको पावरहाउस !

६ चैत्र २०८२, शुक्रबार

अमेरिकी मतदाताले MAGA को निम्ति मतदान गरेका थिए, न कि युद्धको निम्ति।भेनेजुएलाको राष्ट्रपति मदुरोको अपहरण र इरानमाथिको आक्रमणको निम्ति मतदान नगरिएको मान्ने बहुमत ट्रम्प समर्थक यतिबेला निराश छन् । अमेरिकाले लादेको युद्ध रहेसम्म होर्मुजको जलडमरू बन्द रहने छ । तेहरानले जलडमरूबाट समुद्री यातायातमा बाधा पुर्‍याएमा इरानमाथि ‘मृत्यु, आगो र क्रोध’ बर्साउने `ट्रम्प धम्की` खल्लो साबित भएको छ ।

मुलुकले अमेरिका, इजरायल र इरानमध्ये एक रोज्न बाध्य भएमा नेपालको अडान के हुन सक्छ ? विकसित सङ्कटले मुलुकको नाजुक कूटनीतिक सन्तुलनको परीक्षण गरिरहेको छ । तेहरानले अरब छिमेकीमाथि प्रतिशोधात्मक आक्रमण गर्दै गर्दा क्षेत्रीय विवाद र विश्वव्यापी सङ्कट विकसित भएको छ । प्रतिशोधात्मक युद्धले पश्चिम एसियाको भविष्य अनिश्चित बन्दै छ । युद्ध खतरनाक साबित हुँदै छ । अमेरिका र इजरायलले इरानमाथि द्वन्द्व थोपरेको भएपनि, IRGC ले द्वन्द्वलाई नयाँपन दिएको छ ।

इरानका जनता राष्ट्रवादी छन् । आत्मसमर्पण गर्नु भन्दा मर्नु महान् सम्झिनछन् । उनीहरू एकथोपा रगत रहेसम्म लड्न सक्ने सम्भावना छ । सिया इस्लामले शहीदलाई सम्मान गर्न कुनै कन्जुस्याइँ गर्दैन् । पश्चिमी संसारले यस्तो कार्यलाई मूर्खता मान्छ । यतिबेला इरानी नागरिकलाई अयातोल्लाह अलि खामेनीको हत्याले एकताबद्ध गरेको छ । अमेरिकाले विमान मार्फत हजारौँको सङ्ख्यामा मिसाइल र बमहरू इरानमा प्रहार गरिरहेको छ । इरानले प्रतिशोधात्मक जवाफ दिन कुनै कसर राखेको छैन । इरानी सत्तासँग युद्धलाई तान्न पर्याप्त मिसाइल र ड्रोनहरू भएको सङ्केत प्राप्त भएको छ । रिपोर्ट गरिएको छ, चिनियाँ र रुसीहरूले इरानलाई गोप्य रूपमा मद्दत गरिरहेका छन् ।

विश्लेषकहरूको दाबी छ, अमेरिकाले युद्ध हार्नेछैन तर जित्न पनि सक्दैन । अमेरिका इजरायलको निम्ति युद्धमा होमिएको छ । जुन कुरा उसलाई धेरै महँगो पर्दै छ । अमेरिकाको चाहना अनुसार इरानको इस्लामिक सत्ता फ्याँक्दै नयाँ सरकार निर्माण गर्ने, इरानको आणविक कार्यक्रम समाप्त गर्ने, तेल र ग्यास कब्जा गर्ने र देशलाई टुक्रा टुक्रा पार्ने लक्ष्य बदनाम भएको छ । अमेरिकालाई राजनीतिक रूपमा लामो युद्ध धान्न गाह्रो छ । तेल आपूर्तिमा अवरोध र सहयोगी राष्ट्रको जोखिमले अमेरिकाको निराशालाई बढाएको छ ।

इरानले युद्ध मार्फत `ग्रेटर इजरायल`को सपना चकनाचुर पार्दै छ।खाडी राज्यलाई द्वन्द्वमा फसाएर इरानले रणनीतिक जुवा खेलेको छ । उसले तर्क गर्दै आएको छ, इरान खाडी देशहरू विरुद्ध आक्रमण गर्न चाहँदैन तर अमेरिकी अड्डामाथि आक्रमण गर्न विवश छ । खाडी राज्यहरू इरानसँग रिसाएका छन्, उनीहरू इरानद्वारा तेल प्रतिष्ठान, पानीको स्रोतमाथि बम विस्फोट हुनसक्ने सम्भावनाबाट डराएका छन् । युद्धको लागत बढाउने इरानी रणनीतिबाट तर्सिएका छन् । युद्ध कहाँ जाँदैछ भन्ने चिन्ताले अरब राष्ट्रलाई सताउँदैछ । इरान लामो युद्धको तयारीमा छ, जसले गर्दा खाडी मुलुक गम्भीर रूपमा चिन्तित छन् ।

धेरै विज्ञले औँल्याएझैँ, इरानले सन् २००३ को खाडी युद्धलाई ठुलो चासोका साथ अवलोकन गर्‍यो । अमेरिकी हवाई श्रेष्ठताले केही हप्ता भित्रै इराकको सैन्य पूर्वाधार शून्यमा पुर्‍याएको इरानले रणनीतिक रूपमा बुझ्यो । यसैगरी इराकले इरानमाथि आक्रमण गरेपछि सुरु भएको लगभग दशक लामो पश्चिमा-समर्थित युद्धले स्थलयुद्धमा आफूलाई बचाउने र हवाई आक्रमणको सामना कसरी गर्ने भन्ने सिकायो । सन् १९७९ को इस्लामिक क्रान्तिलाई रक्षा गर्न बनाइएको IRGC ले यतिबेला आफ्नो असली लक्ष्यको निम्ति आफूलाई तयार गरेको छ ।

वास्तवमा इरानको भूगोल इराक, अफगानिस्तान, भियतनाम जस्तो छैन । इराकमा गरिएको हवाई आक्रमण, अफगानिस्तानको बसाई र भियतनामको स्थल युद्धबाट अमेरिका सजग भएको देखिएन । इरानको कडा चट्टान मुनि निर्माण गरिएका रणनीतिक स्थान समाप्त गर्न बङ्कर बस्टर बम प्रयोग गर्‍यो । सुरुङ भित्र रहेका हतियार नष्ट गर्न प्रयोग गरिएका मिसाइल प्रक्षेपण बालुवामा पानी खन्याए जस्तो भएको छ । भूमिगत एकाइहरूमा उत्पादन गरिएको मिसाइल र ड्रोनहरू नष्ट गर्न असफल हुँदा युद्धमा इरानको आक्रामक उपस्थिति लम्बिएको छ । इरानले बहुआयामिक युद्ध चलाएको छ । अमेरिकी अड्डाहरू र सम्पत्ति, हाईटेक राडार र इन्टरसेप्टर मिसाइल राडारहरूमा ठुलो क्षति पुगेको छ ।

खर्ग टापुमा रहेको इरानी तेल टर्मिनलमा अमेरिकी हवाई आक्रमणले खाडीको ऊर्जा पूर्वाधार विरुद्ध तेहरानको प्रतिशोधात्मक हमलाको डर बढाएको छ । जसले गर्दा तेल आपूर्ति माथि थप खतरा चुलिएको छ । आश्चर्यजनक रूपमा अमेरिका जमिन अपरेसनमा उत्रन सक्छ । सुरक्षा विश्लेषक भन्दैछन्, ‘इरानसँग पानी मुनिको सुरुङबाट मानव र मानवरहित पनडुब्बी सवारी साधनहरू प्रहार गर्ने क्षमता छ ।’ जसले जलडमरूमा विनाश निम्त्याउन सक्छ।इरानका केही उत्कृष्ट र घातक मिसाइल प्रयोग गर्न अझै बाँकी छ । लेबनानमा हिजबुल्लाह र यमनमा रहेका हुथीहरूले लालसागर हल्लाउन सक्नेछन् ।

निस्सन्देह, इरानले ठुलो क्षति बेहोरेको छ । अर्थतन्त्रमा आएको गडबडीले विश्वलाई अराजकतामा डुबाउने खतरा छ। । यसले अमेरिकी अर्थतन्त्र पनि अछुतो रहन सक्दैन । आगामी नोभेम्बरमा हुने अमेरिकी काँग्रेसको मध्यावधि चुनावको नतिजा राष्ट्रपति ट्रम्पले सोचेजस्तो हुने देखिँदैन । यस तथ्यलाई बुझ्दै राष्ट्रपति ट्रम्पले रुसी नेता भ्लादिमिर पुटिनसँग एक घण्टा लामो फोनवार्ता गरेका छन् । दुई हप्तापछि तय भएको उनको चीन भ्रमण अकस्मात् स्थगित हुँदा राष्ट्रपति ट्रम्प नयाँ झमेलामा फसेको विषय थप अर्थपूर्ण हुन सक्छ ।

राष्ट्रपति ट्रम्पद्वारा थोपरिएको युद्ध विश्वको टाउको दुखाई बनिसकेको छ । इजरायलको रणनीतिक चालबाजीमा फसेको ट्रम्प प्रशासन युद्धबाट फुत्किने कोसिस गरिरहेको छ । इरान र आइआरजिसीले उसलाई युद्धबाट फुत्किन नदिने अधिकतम कोसिस गरिरहेको छ । यसै समयमा संयुक्त राष्ट्र सङ्घ, चीन र रुसले रणनीतिक मौनता कायम राखेका छन् । संयुक्त राष्ट्र सङ्घको तथ्याङ्क अनुसार, मार्च ७ पछि जलडमरुबाट दैनिक केवल आठ वटा जहाज मात्र पार गर्न पाएको छ । जबकि फेब्रुअरी महिनामा औसत १३९ थियो । यसले युरोपियन मुलुकमाथि गम्भीर तनाव बढाएको छ । ऊर्जा सङ्कटले युरोप रन्थनिएको छ । इयुको घाटा रुसको फाइदामा परिणत भएको छ । पछिल्लो युद्धले रुसलाई आर्थिक रूपमा थप बलियो बनाउने छ ।

प्राकृतिक ग्यास, तेल र अमोनिया उत्पादनमा खाडी मुलुकले महत्त्वपूर्ण स्थान ओगट्दै आएको छ । विश्वव्यापी मल उत्पादनमा चीन, अमेरिका, भारत र रुसको प्रभुत्व छ । इरान, साउदी अरेबिया र कतार नवौँ, दसौँ र एघारौँ ठुला उत्पादक हुन् । विश्वले खपत गर्ने नाइट्रोजन मलको लगभग एक तिहाइ होर्मुज जलडमरूबाट आइरहेको छ । इरानमाथि अमेरिका र इजरायलले जबरजस्ती लादेको युद्धले लाखौँ मानिस भोकमरीमा पर्ने खतरा चुलिएको छ । निकट भविष्यमा हुने मलको अभाव र उच्च मूल्यवृद्धिले विश्वमा गम्भीर प्रभाव पार्नेछ । चर्किएको युद्धले खाडीभरि मल कारखाना बन्द भएका छन् । ढुवानीमार्ग अवरुद्ध हुँदा विश्वव्यापी खाद्य सङ्कट बढ्ने छ । खेतीपातीको समयमा युद्ध चर्किएको छ । मलको माग उच्च छ । बढ्दो इन्धन लागतले मलको मूल्य बढ्दै छ र आपूर्ति चेन भत्किएको छ ।

युद्ध जति लम्बिनेछ, विश्वको अर्थ व्यवस्था चर्मराउने निश्चित छ । दुर्भाग्यवश विकासउन्मुख देशहरूको मेरुदण्ड भाँचिने छ । होर्मुज जल डमरुलाई सुचारु गर्न राष्ट्रपति ट्रम्पले नेटो देशसँग गुहार लगाएका छन् । उक्त घटनापश्चात् अमेरिकाको दाँतमा ढुङ्गा लागेको विश्वले देख्न पाएको छ । युद्ध लम्बिँदै जाँदा स्पष्ट हुँदै गइरहेको छ कि कोही पनि जित्ने छैन । यस युद्धमा द्वन्द्वको प्रत्येक पक्षले केही न केही गुमाउँदै छ । जब युद्ध समाप्त हुन्छ, अमेरिकी विश्वसनीयतामा गम्भीर क्षति पुग्नेछ । ततपश्चात् विश्वले सोच्ने छ- अमेरिकी अड्डा, अस्त्र र शस्त्रले कसैको सुरक्षा गर्न सक्दैन ।

नेपाल द्वन्द्वको पक्ष होइन, तैपनि यसले उच्च इन्धन लागत र रेमिट्यान्सको पीडा भोगिरहेको छ । युद्धरत क्षेत्रमा कार्यरत नेपाली कामदारको भविष्य अनिश्चित बन्दैछ । कूटनीतिक रूपमा मुलुकले आफ्नो उपस्थिति देखाउन छोडेको लामो समय भइसकेको छ । इरानविरुद्ध अमेरिकी आक्रमण र खाडी राज्यहरूविरुद्ध इरानी आक्रमणको निन्दा गर्ने ल्याकत र हैसियत मुलुकले गुमाएको छ । जब युद्धको कुहिरो हट्छ, मध्यपूर्व एकदमै फरक ठाउँ हुनेछ । मध्यपूर्वको सङ्कट मुलुकको रोजगारीसँग जोडिएर आउने छ ।

अन्तमा, शीतयुद्धको समाप्तिपश्चात् अमेरिकाले प्रयोगमा ल्याएको आर्थिक र राजनीतिक प्रणालीले काम नगर्ने अवस्था आएको छ । अमेरिकी सत्ताद्वारा लादिएको औचित्यहीन ‘इरान युद्ध’ले खुद अमेरिकी सत्ताको निद्रा खोसेको छ । ट्रम्प प्रशासनको कथित सनक पुरा गर्न पेन्टागनले २०० अर्ब डलर माग गरेको छ । विश्वलाई दुःख दिएर आफ्नो साम्राज्य सुरक्षित गर्ने अमेरिकी सत्ता विश्व-सङ्कटको ‘पावर हाउस’ हो भन्ने फेरि एक पटक पुष्टि भएको छ ।