अमेरिकी लोकतन्त्रको मृत्यु !
२२ फाल्गुन २०८२, शुक्रबार
इजरायलले रणनीतिक रूपमा अमेरिकालाई फसाउन सफल भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानविरुद्ध राष्ट्रपति ट्रम्पलाई सैन्य कारबाही गर्न उक्साउँदै गरिएको हमलामा इरानको सर्वोच्च नेता आयातुल्ला अलि खामेनेईको हत्या गर्न सफल भएका छन् । उक्त घटनापश्चात् मध्यपूर्वको लोभलाग्दो अर्थव्यवस्थामा अनिश्चितता चुलिएको छ । अमेरिकी आक्रमणविरुद्ध गरिएको इरानी सेनाको प्रतिशोधात्मक कारबाहीले मध्यपूर्वको राजनीतिक भविष्य र सुरक्षा अनिश्चित बन्दैछ ।
अमेरिकी सत्ताले इजरायलको लागि निर्दोष इरानी नागरिक मारिरहेका छन्, किन ? इरानसँग युद्ध गरेर अमेरिकालाई कुनै पनि हिसाबले फाइदा हुँदैन भन्ने जानकारीका बाबजुद राष्ट्रपति ट्रम्प किन आगोमा हामफाल्दै छन् ? विश्वले गम्भीरतापूर्वक लिनुपर्ने समय आएको छ । मानवअधिकार, लोकतन्त्र, सार्वभौम सत्ता, सम्प्रभु सत्ता जस्ता शब्द जन्माउँदै रङ्गभेद, जातीय सफाया, गैरकानुनी यातना, अपहरण, यौनहिंसा र नरसंहार सहित विश्वभर फैलिएको अमेरिकी पुँजीवाद विश्वशान्तिको निम्ति खतरा बनेर देखापरेको छ । मानवीय संवेदना र अन्तर्राष्ट्रिय कानुनको धज्जी उडाउने ट्रम्प-लोकतन्त्र विश्वको दुर्भाग्य बन्दैछ।विश्वलाई दुःख दिएर आफ्नो सङ्कट टार्दैछ ।
यतिबेला ‘इजरायल र अमेरिका’ मिलेर दुष्ट देशको पुरस्कार जित्ने प्रतिस्पर्धा चलिरहेको विश्लेषकहरूको दाबी छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको अपहरणपश्चात् मैमत्त भएको ट्रम्प प्रशासन इरानी सर्वोच्च नेता आयातुल्ला अली खामेनेइको हत्यापश्चात् इरानी जनताको नजरमा जल्लाद बनेका छन् । जसले पश्चिमी टिप्पणीकारहरूलाई मुख देखाउन नसक्ने बनाएको छ । पत्रकार टकर कार्लसनसँग इजरायलका लागि अमेरिकी राजदूत माइक हुकाबीले अन्तरवार्ताको दौरान भने, ‘बाइबलीय आधारमा मध्यपूर्वको विशाल भूभाग कब्जा गर्ने अधिकार इजरायलसँग छ ।’ जसले ट्रम्प प्रशासनको नियत उजागर गरेको छ । मुस्लिम संसारलाई भयभीत बनाएको छ ।
अमेरिकी विदेश सचिव मार्को रुबियोले अमेरिकी अधिकारीलाई खाडी मुलुकलाई भड्काउने विचार प्रवाह नगर्न आदेश दिँदै गर्दा बिरालोले म्याउँ गर्न छोडेको छैन । जर्जटाउन विश्वविद्यालयमा कार्यरत कानुन र अर्थशास्त्रका प्राध्यापक डेभिड सुपरको बुझाइमा, राष्ट्रपति ट्रम्पले अमेरिकी जनताको भावना, लोकतन्त्रको मूल्य, मान्यता र संविधानको खिल्ली उडाएका छन् । कुनै पनि देश विरुद्ध सैन्य कारबाही गर्नुअघि कङ्ग्रेसको स्वीकृति लिनुपर्छ भन्ने अमेरिकी कानुनको गम्भीर उलङ्घन गरेका छन् । लोकतन्त्रको न्यूनतम मान्यता अनुसार ‘अमेरिकी सरकारलाई अन्य राष्ट्रहरूमा कसरी शासन गर्ने भनेर निर्देशन दिने अधिकार छैन’ भन्ने शाश्वत सत्यलाई ट्रम्पले धुजाधुजा बनाएका छन् ।
यतिबेला ‘अमेरिका फर्स्ट’को नारा बदनाम भएको छ । ‘शान्ति उम्मेदवार’ बन्दै दोस्रो पटक राष्ट्रपति बन्न सफल डोनाल्ड ट्रम्प ‘युद्ध मेसिन’ बनेर उदाएका छन् ।भियतनाम, इराक, लिबिया, अफगानिस्तानको रोडम्याप पछ्याउँदै इरानमा गरिएको पछिल्लो हवाई आक्रमणमार्फत भौतिक संरचना ध्वस्त गर्ने, सर्वसाधारण नागरिकको कत्लेआम गर्ने, विश्वभर छरिएका फरक विचार राख्ने व्यक्ति र शक्तिको हत्या गर्ने पश्चिमी सिद्धान्तलाई निरन्तरता दिन राष्ट्रपति ट्रम्प मरिहत्ते गरिरहेका छन्, जसले गर्दा अमेरिकी लोकतन्त्रको अनुहारमा कालो पोतिएको छ ।
इरानमाथि आक्रमण नगर्न अमेरिकालाई अनुरोध गर्ने खाडी मुलुकले आफ्नो सुरक्षा व्यवस्था समीक्षा गर्न बाध्य भएका छन् । पाकिस्तानले साउदी अरेबियासँग गरेको रक्षा सम्झौता धरापमा पर्दै छ । मध्यपूर्वको तनाव तन्किए अमेरिकी सैन्य औद्योगिक परिसर थप असुरक्षित हुनेछ । इजरायलको स्वार्थमा फसेको ट्रम्प प्रशासनले अमेरिकी सम्पत्ति र सैनिकहरूको जीवन जोखिममा परेको आँखा चिम्लिन बाध्य भएको छ । इरानले होर्मुज जलडमरु बन्द गर्दा विश्वभर उर्जा सङ्कट चुलिएको छ । जसले गर्दा गरिब नागरिकको चुलो थप महँगो बन्दै छ । साम्प्रदायिक र प्रोक्सी द्वन्द्व गहिरो बन्दै छ । ऊर्जा बजारहरू अस्थिर बन्दै छ। अन्तर्राष्ट्रिय संस्थाहरूको प्रभाव घट्दै छ ।
युद्धको प्रारम्भिक दिनमा ठुलोक्षति भइसकेको छ । युद्धको अन्तिम परिणाम अकल्पनीय हुन सक्नेछ । ‘अमेरिका, इजरायल र उनीहरूका खाडी सहयोगी’लाई इरानले जति गहिरो घाउ दिनेछ, त्यसले मध्यपूर्वको भविष्य निर्धारण गर्ने छ । अमेरिकाको विशाल सैन्य शक्तिको सामना गर्न इरानीहरूसँग अभूतपूर्व इच्छाशक्ति छ।प्रतिरोधी हप्ताहरू महिनामा परिणत भएको खण्डमा ‘ग्रेटर इजरायल’को सपना दुःस्वप्नमा परिणत हुने छ । अमेरिकी सम्पत्तिमा प्रहार बढ्दै जाँदा, कर्मचारीहरू हताहत भए भने इजरायली प्रतिनिधिको रूपमा अमेरिकी प्रशासनको भूमिकामा MAGA विभाजित हुनेछ । जसले राष्ट्रपति ट्रम्पलाई रक्षात्मक बनाउने छ । परिस्थिति तीव्रगतिमा विकसित हुँदैजाँदा ‘चीन र रुस’ युद्धमा होमिने अवस्था आउन सक्छ ।
कोही कसैले भ्रममा पर्न जरुरी छैन, अमेरिकाले इरानमाथि गरेको आक्रमण ‘इरानको आणविक कार्यक्रम’सँग कुनै साइनो राख्दैन । राष्ट्रपति ट्रम्पले पहिलो कार्यकालमा तेहरानको युरेनियम संवर्धनलाई सीमित गर्ने सम्झौतालाई आफैले च्यातेर दिएको सन्देश आज पोखिएको छ । अमेरिकाले प्रमाणित युरेनियम संवर्धनलाई सीमित गर्ने सम्झौतामा पुग्न गरिएको वार्ताको बीचमा तेहरानमाथि दुई पटक आक्रमण गरेर, राष्ट्रपति ट्रम्पले आफ्नो वास्तविक एजेन्डा के हो भनेर सङ्केत गरिसकेका थिए । इरानको ‘शासन परिवर्तन’ गर्न नसकेर खामेनीको हत्या गर्न हौसिएको ट्रम्प प्रशासन यतिबेला नेतान्याहूको शब्दहरू बोलिरहेको छ । जसले युद्धप्रेमी ट्रम्पलाई अनियन्त्रित बन्न शक्ति प्राप्त भएको छ ।
इरानले गत वर्ष इजरायलले लादेको युद्धलाई १२ दिनसम्म डटेर सामना गरेको थियो । तत्कालीन समयमा इजरायललाई क्षेप्यास्त्रको तागत देखाएका थिए । यद्यपि अहिलेको समय फरक छ । यतिबेला अमेरिका र इजरायली सेना विशाल सैन्य शक्तिसमेत इरानमाथि हवाई हमलामा उत्रिएको छ।सेनाको निम्ति वार्षिक एक ट्रिलियन डलरभन्दा बढी खर्च गर्ने अमेरिका एउटा सामान्य मुलुक विरुद्ध जबरजस्ती युद्धमा होमिएको छ । ट्रम्प शासनमा प्रचार पहिले नै पर्याप्त छ । लोकतन्त्रमा शासन परिवर्तन कसरी हुन्छ भन्ने नबुझ्ने ट्रम्प प्रशासन विश्वलाई लोकतन्त्र सिकाउँदै छ । सहयोगीलाई ठुलो क्षति पुर्याएर युद्धको जोखिम लिने ट्रम्प राजनीतिले औचित्य गुमाउँदै छ ।
वैचारिक रुपमा खामेनेईसँग असहमत हुन सकिन्छ । सैनिक आक्रमण र हत्या मार्फत विचारको हत्या गर्न सकिँदैन । मृत खामेनेई जीवनमा भन्दा मृत्युमा शक्तिशाली हुने अवस्था सिर्जना गरेर राष्ट्रपति ट्रम्पले गम्भीर भूल गरेका छन । इरानमाथि अमेरिका/इजरायल द्वारा गरिएको आक्रमणले मध्यपूर्वलाई अराजकतामा डुबाउँदै छ । रुससँग प्रोक्सी युद्ध र चीनसँग शीतयुद्ध असफल हुने निश्चित हुँदैगर्दा नेतान्याहुको निम्ति युद्धमा होमिएका राष्ट्रपति ट्रम्प विचित्रको जुवा खेल्दै छन् । अमेरिकामा इजरायलको प्रभाव वास्तविक छ, यद्यपि इरान मामिलामा अनावश्यक हस्तक्षेप गरेर `यथार्थवादको सिद्धान्त` विपरीत वाशिङ्गटनले देशलाई हानि पुर्याइरहेको छ ।
अमेरिकाले वास्तविक राष्ट्रिय हित बिर्सेर इजरायलको हितमा किन काम गरिरहेको छ ? इजिप्टदेखि इराकसम्म जियोनिस्ट बसोबास गर्ने ‘ग्रेटर इजरायल’को अवधारणा सफल बनाउन आफ्ना नागरिकलाई किन बलि चढाउँदै छ ? कतै ट्रम्प प्रशासन एपस्टीन फाइलको सिकार त भइरहेको छैन ? यतिबेला अमेरिकी नागरिकले गम्भीर शङ्काले हेरिरहेका छन् । जेफ्री एपस्टीन कुख्यात, विकृत, बालयौन दुराचारी मात्र थिएनन् । उनी इजरायलका एजेन्ट समेत थिए । उनले अमेरिकी सत्ता र शक्तिशाली व्यक्तिसँग कथित सम्बन्ध बनाएका थिए । जसले राष्ट्रपति ट्रम्पलाई आफ्नो ग्राहक बनाउने सफलता पाएको थियो । यतिबेला एपस्टीन फाइल केरमेट गरेर बाहिर ल्याइएको छ । राष्ट्रपति ट्रम्प इजरायलको ‘ब्ल्याकमेल’मा पर्दै इरानमा आक्रमण गर्न बाध्य भएको हुनसक्ने अमेरिकी विश्लेषकहरूको दाबी छ ।
‘ट्रम्प-नेतान्याहू’को लहडमा लादिएको युद्धले चीनको निम्ति के अर्थ राख्छ ? ‘तेल’मार्फत चीन घेर्ने ट्रम्प रणनीति भेनेजुएलापछि इरान पुगेको छ । युद्धपूर्व चीनले इरानसँग दैनिक १३.८ लाख ब्यारल तेल किन्दै आएको छ । इरानको समुन्द्री बाटोबाट आउने तेलको लगभग १३ देखी १४ प्रतिशत हिस्सा ओगटेको छ । यद्यपि चीनको प्रमुख तेल सप्लायर रुस र साउदी अरब रहँदै आएको छ । अमेरिका-इरान युद्धपश्चात् चीनलाई रुसी तेलमा निर्भर हुन बाध्य बनाएको छ । इरानको युद्ध लम्बिएमा पश्चिम एसियामा चीनलाई गम्भीर असर पर्नेछ । ऊर्जा र भूराजनीतिक रणनीति थप पेचिलो बन्नेछ । ‘इरान-चीन’बीच सम्पन्न २५ वर्षे सहयोग सम्झौता धरापमा पर्ने छ । जस अन्तरगत ऊर्जा, बेल्ट एन्ड रोड इनिसियटिभसँग सम्बन्धित प्रोजेक्टमाथि गम्भीर प्रभाव पर्नेछ । ‘अमेरिका/इजरायल’को कथित गठजोडले चीनको मुस्किल बढाउने छ ।
अन्तमा, राष्ट्रपति ट्रम्पको एकवर्षे कार्यकाल पूर्ण रूपमा असफल भएको, जेफ्री एपस्टीनसँग रहेको कथित सम्बन्ध खुलेको, एपस्टीन फाइलसँग सम्बन्धित विषयले ट्र्यापमा पर्दै भेनेजुएलाको राष्ट्रपति निकोलस मदुरोको अपहरण गर्न बाध्य भएको, ट्यारिफ युद्धमा अदालतको थप्पड, ट्रेजरी बन्ड र डलर क्राइसिस, अकल्पनीय राष्ट्रिय ऋण, नकारात्मक आर्थिक गतिविधि, आगामी नोभेम्बरमा हुने सिनेटको निर्वाचनमा पराजय टार्न इरानयुद्ध लादिएको चर्चाले अमेरिकी नागरिकलाई नरामोसँग झस्काएको छ । हमास र तालिबान युद्धबाट शिक्षा नलिएका ‘युद्धप्रेमी’ ट्रम्पले सुरु गरेको औचित्यहीन ‘इरानयुद्ध’ले अमेरिकी लोकतन्त्रको मृत्यु भएको छ ।