`अमेरिकी सङ्कट`ले निम्त्याएको युद्ध !
वि.सं.२०८२ फागुन १७ आइतवार
भनिन्छ,`अमेरिकाको चित्र बदलियो तर चरित्र बदलिएन।` विश्लेषकहरूको दाबीलाई सत्य साबित गर्न ट्रम्प प्रशासनको पछिल्लो गतिविधि र एपस्टीन फाइल काफी छ। जेफ्री एपस्टीन जीवित छैनन् तर अमेरिकी पुँजीवाद बाँच्ने कोसिस गरिरहेको छ। कुख्यात बालयौन दुराचारी एपस्टीनलाई अमेरिकी पुँजीवादले प्रभावशाली व्यक्तिको रूपमा स्थान दियो। दुर्भाग्यवश उनको गतिविधिलाई अस्वीकार गर्न बाध्य भएको अमेरिकी पुँजीवाद अन्ततः आफ्नो अनुहारमा लागेको दाग मेटाउन राजी भएको छ।
ट्रम्प प्रशासनद्वारा विशेष नामहरू केरमेट गरेर जारी गरिएको एपस्टीन फाइलमा उल्लेख गरिएका `नाम र विवरण`ले अमेरिकी पुँजीवादको जग हल्लिएको छ। नैतिकता, सभ्यता, संस्कारको प्रवचन दिने शीर्ष राजनीतिज्ञहरू र शाही परिवारका सदस्यहरू एपस्टीनको `ग्राहक` बन्ने पुँजीवादको वास्तविक अनुहार कति विभत्स रहेछ भन्ने सर्वसाधारण नागरिकले महसुस गर्न पाएका छन्। एपस्टीनले पुँजीवादको कमजोरीमा खेल्दै उच्च-प्रोफाइल र राजनीतिक रूपमा प्रभावशाली सम्पर्कहरू कतिसम्म फैलाएका रहेछन् भन्ने विश्वले पढ्न पाएको छ ।
यतिबेला अमेरिकी राजनीतिक प्रणाली र पश्चिमका प्रभावशाली अभिजात वर्गबीच स्थापित नैतिक र वित्तीय भ्रष्टाचारको जालो च्यातिएको छ। पुँजीवादी संसारले महान् भनेका व्यक्तिले टेकेको जमिन भासिएको छ। एपस्टीन जीवित छैनन् तर उनले लगाएको दागले धेरैको सार्वजनिक छविको मृत्यु हुने निश्चित छ।उनको ग्राहकहरू युएई, साउदी अरेबिया, भारतदेखि विभिन्न युरोपेली देशहरूसम्म फैलिएको देख्नासाथ ट्रम्प प्रशासन गदगद भएको छ। यतिबेला नर्वेको युवराजकुमारी छानबिनमा छिन्, पूर्व फ्रान्सेली मन्त्री ज्याक लाङलाई अपमानित गरिएको छ। त्यसैगरी भारतीय व्यवसायी अनिल अम्बानी र इमिरेट्स डीपी वर्ल्डका अध्यक्ष एवम सिइओ सुलतान अहमद बिन सुलायमले एपस्टीनसँग सम्बन्ध बनाएको आरोप खेप्दै छन्।
नोम चोम्स्की जस्ता आलोचक अमेरिकामा नभएको भए डोनाल्ड ट्रम्प जस्ता पात्र र प्रवृत्तिले जेफ्रीलाई रोल मोडेल बनाउन तयार हुन्थे। अमेरिकी लोकतन्त्र र शासनमा जेफ्री एपस्टीन जस्ता बाल यौन दुराचारी हुर्किएको घटनाले अमेरिकी पुँजीवादको जग हल्लिएको छ। विवादास्पद व्यक्तिहरूको प्रतिष्ठा, पहुँच र संग्लग्नताले पुँजीवाद भित्र जरा गाडेर बसेको वास्तविक नियत र कमजोरी विश्वले देख्न र महसुस गर्न पाएको छ।बेलायती पूर्व राजकुमार एन्ड्रयू जस्ता पात्रको घिनलाग्दो गतिविधिले पुँजीवादी लोकतन्त्रको अस्तित्व पातलो बन्दै जाने छ ।
एपस्टीनको उदयले अमेरिकी दण्डहीनता र बाल यौन शोषणको डरलाग्दो अवस्था उजागर गरेको छ। पुँजीवादी सिकारीहरूले कलिला बाल बालिका, युवती र महिलालाई केवल वस्तुको रूपमा लिएको प्रमाणले विश्वलाई लज्जित बनाएको छ। लोकतन्त्रमा धन, शक्ति र यौन अराजकता कति विभत्स ढङ्गले स्थापित भएको छ भन्ने एपस्टीनले देखाइ दिएका छन्। जङ्गलको बीचमा थापिएको यौन पसलमा जान हेर्न उत्सुक राष्ट्रपति, राजा र नोबेल पुरस्कार विजेतासम्मले एपस्टीनसँग सम्बन्ध बनाएको दृश्यले पुँजीवादको कमजोर पक्ष उजागर भएको छ।
एपस्टीनको घनिष्ठ मित्रता, उठबस र सामाजिक सम्पर्क डरलाग्दो देखिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व राष्ट्रपति बिल क्लिन्टनसँग घनिष्ठ सम्बन्ध राखेका उनले सन २०१९ मा जेलभित्र आत्महत्या नगरेका भए आज कथाले अर्कै मोड लिन बाध्य हुने विश्लेषकहरूको दाबी छ। कथित रूपमा नाबालिग केटीहरूको यौन शोषण गरेको आरोप लागेका एपस्टीनसँग आफ्नो घनिष्ठ सम्बन्ध रहेको ट्रम्पले घमन्ड गरेका थिए, जो उनका जङ्गली पार्टीहरूमा बारम्बार जाने गर्थे। ट्रम्पले धेरै पहिले एपस्टीनसँग सम्बन्ध तोडेको दाबी गरे पनि, उनको नाम पछिल्ला फाइलहरूमा सयौँ पटक देखा परेको बताइएको छ।
हालै सार्वजनिक गरिएका फाइलहरूमा उल्लेख गरिएका नामहरूले अमेरिकी पुँजीवादको वास्तविक चरित्र उजागर गरेको छ। बिल क्लिन्टनसँग एपस्टीनको घनिष्ठ सम्बन्ध सन १९९० को आसपास सुरु भएको देखिन्छ। क्लिन्टनको कार्यकालमा, एपस्टीनले ह्वाइट हाउसमा धेरै पटक भ्रमण गरे र राष्ट्रपतिका सहयोगीसँग सम्बन्ध कायम गरे।पद छोडेपछि, क्लिन्टनले धेरै पटक एपस्टीनको निजी जेटमा यात्रा गरेको बताइएको छ। कलेजबाट निकालिएका एपस्टीनले छोटो समयमा यौन व्यवसाय मार्फत आर्थिक प्रगति गरे। उनले सेलिब्रेटी,राजनीतिज्ञ, व्यापारिक घरानाका मालिक र राजपरिवारहरूलाई मनोरञ्जन प्रदान गर्थे।
सबैभन्दा घिनलाग्दो खुलासा पूर्व क्याबिनेट मन्त्री पिटर मन्डेलसनसँग सम्बन्धित छ, जसले वाशिङगटनमा बेलायतको राजदूतको रूपमा पनि काम गरेका थिए। एपस्टीनसँगको मित्रताको कारण उनलाई केही महिना अघि बर्खास्त गरिएको थियो, जसले बेलायती सरकारको वित्तीय निर्णय जानकारीको बदलामा उनलाई ठुलो रकम तिरेको बताइएको छ। सम्पूर्ण एपस्टीन प्रकरणले पश्चिममा व्यक्तिहरूको कपटलाई उजागर गर्दछ जसले उच्च नैतिक आधारलाई समर्थन गर्छन् तर एक भ्रष्ट यौन अपराधीसँग सम्बन्ध कायम राख्छन्।
अमेरिकी पुँजीवादको सङ्कट समाधान गर्ने उद्घोषका साथ उदाएका राष्ट्रपति ट्रम्पको पछिल्लो कार्यशैलीले अमेरिकी सहयोगीबीच अविश्वास बढाएको छ। प्रचलित विश्व व्यवस्थाप्रति वाशिङगटनको रणनीतिक प्रतिबद्धताको बारेमा गहिरो अनिश्चितता ल्याएको छ। ट्रम्पको अराजक करनीति पश्चात् सामूहिक सुरक्षा सुनिश्चित गर्न समान विचारधारा भएका देशहरूले सक्रिय गठबन्धन खोजिरहेका छन् वा निर्माण गरिरहेका छन्। मध्य पूर्वदेखि अफ्रिका र युरोपदेखि एसियासम्म, मुलुकहरू अमेरिकी सङ्कटको बोझ बोक्न विवश बन्दै छन्। सुरक्षा प्रतिबद्धताको बहानामा सहयोगीमाथि अतिरिक्त दबाब र प्रभाव पार्दै छन्। ट्रम्पको बढ्दो मागले धेरै मध्य पूर्वी, उत्तर अफ्रिकी र भूमध्यसागरीय मुलुकहरूलाई सामूहिक सुरक्षाको लागि रक्षा सम्झौताहरू पछ्याउन बाध्य पारेको छ।
पछिल्लो १२ महिनामा, मध्य पूर्वमा रहेका अमेरिकी सहयोगीहरूले धेरै रक्षा सम्झौताहरू गरेका छन्। उदाहरणका लागि, ग्रिस, साइप्रस र इजरायलले डिसेम्बर २०२५ मा पूर्वी भूमध्य सागरमा संयुक्त कार्य योजनामा हस्ताक्षर गरे।इरान-इजरायल द्वन्द्व पछि खाडी सहयोग परिषद्ले सेप्टेम्बर २०२५ मा संयुक्त रक्षा सम्झौता सक्रिय गर्यो। साउदी अरेबिया र पाकिस्तानले एक अर्काको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सामूहिक रूपमा रक्षा गर्न रणनीतिक पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरे।
युएई र भारतले द्विपक्षीय रणनीतिक रक्षा साझेदारीको लागि आशय पत्रमा हस्ताक्षर गरे। जसमा सम्भावित साउदी-इजिप्ट-सोमालिया त्रिपक्षीय रक्षा सम्झौता र साउदी-पाकिस्तान-टर्की त्रिपक्षीय रक्षा रूपरेखा समावेश छ। विश्वव्यापी अनिश्चितता र कमजोर नियम-आधारित व्यवस्थाले सैन्य करणको प्रक्रियालाई तीव्र बनाएको छ। जसले गर्दा साउदी अरेबिया, टर्की, पाकिस्तान र भारतले रक्षा खर्च १० प्रतिशतभन्दा बढीले बढाएका छन्। जसले गर्दा मध्यपूर्व र दक्षिण एसिया जस्ता क्षेत्र थप अस्थिर बनेका छन् ।
अमेरिकी आर्थिक जबरजस्तीको प्रभावलाई कम गर्न विश्वले आर्थिक साझेदारीलाई विविधीकरण गर्न थालेका छन्। भरपर्दो आर्थिक साझेदारहरू खोज्ने दीर्घकालीन रणनीति अन्तरगत भारत र ईयू, `भारत र बेलायत` बीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरिएको छ। पछिल्लो समयमा `ईयू`मा रहेका देशहरूले चीनलाई वैकल्पिक र भरपर्दो आर्थिक साझेदारको रूपमा विचार गर्न थालेका छन्। जसले अमेरिकी पुँजीवाद भित्र गम्भीर त्रुटि र कमजोरी रहेको उजागर गरेको छ ।
भारतले बिस्तारै चीनसँग सामाजिक-आर्थिक सम्बन्धलाई सामान्य बनाउँदै छ। ईयू र अन्य पश्चिमी देशहरूले वासिङ्टन बाहिर आर्थिक र राजनीतिक सम्बन्धलाई विविधीकरण गर्ने उद्देश्यले चीनसँग अभूतपूर्व सम्बन्ध स्थापित गरेका छन्। फलस्वरूप फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, बेलायतका प्रधानमन्त्री केयर स्टारमर, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र स्पेनी राजा फेलिप छैटौँ सहित धेरै युरोपेली सरकार या प्रतिनिधिले बेइजिङको भ्रमण गरेका छन्।
ट्रम्प प्रशासन विश्वलाई अस्थिर बनाएर अमेरिकाको स्थिरता खोज्दै छ । सङ्कट, युद्ध र अशान्तिमा अमेरिकाको भविष्य देख्दै छ। साथै नागरिक र अमेरिकी सरकारबीच भएको अलिखित सामाजिक सम्झौता विघटन गर्न बहुमूल्य समय खर्च गर्दै छ। वास्तवमा एपस्टीन सङ्कटले सरकार विरोधी सार्वजनिक भावना व्यवस्थापन गर्न अमेरिकाको असमर्थतालाई देखाएको छ। फराकिलो दृष्टिकोणबाट हेर्दा, अमेरिकी सङ्कटले विश्वलाई रुवाउँदै छ।
अमेरिकी पुँजीवाद भित्र मौलाएको सङ्कटलाई टार्न ट्रम्प प्रशासन असफल भएको छ। ट्यारिफ युद्ध, युक्रेन-रुस युद्ध रोक्ने कदमको असफलता, ग्रीनल्यान्ड खाने धम्की पछि नेटोसँग धमिलिएको सम्बन्ध र मदुरो अपहरणको बाबजुद ओरालो लागेको लोकप्रियताले ट्रम्प प्रशासनलाई अप्रिय निर्णय लिन बाध्य बनाएको थियो। एपस्टीन फाइललाई राजनीतिक हतियार बनाउँदै गरिएको रणनीतिक बार्गेनिङ करिब असफल भएको छ। तमाम कमजोरी र गम्भीर सङ्कटबाट घेरिएको अमेरिकी पुँजीवाद `इरान`सँग निहुँ खोज्न तम्सिएको छ ।
अन्तमा, अमेरिकाको आम्दानी भन्दा खर्च बढेको, सैनिक परिचालन र सुरक्षा खर्च धान्नै नसक्ने गरी उकालो चढेको, राष्ट्रिय उत्पादन घटेको, हिंसा र नागरिकको असन्तुष्टि चुलिएको, डलरको माग घट्दै गएको, सामानको लागत बढ्दै गर्दा बजार खुम्चिएको, छरिएको डलर रफ्तारमा अमेरिका फर्किन सुरु भएको,‘आइएमएफ’को विकल्पमा नयाँ संस्थाको जन्म भएको, अमेरिकी `डर` घट्दै गएको, रुस-चीनको प्रभाव बढ्दै गएको अवस्थामा अमेरिकी सङ्कट टार्न युद्ध अनिवार्य भएको बुझ्न जरुरी छ ।