पपुलिस्टहरुले नपढेको राजनीतिक इतिहास !
१५ फाल्गुन २०८२, शुक्रबार
मान, प्रतिष्ठा, पहिचान र नागरिकको बलि चढाएर लादिएको प्रायोजित निर्वाचनमा मुलुक होमिएको छ । सही समयमा न्याय दिन हिचकिचाएको सर्वोच्च अदालत संविधान कोमामा पुगेको टुलुटुलु हेरेर बसिरहेको छ । सत्य तथ्यसँग सरोकार राख्न छोडेको डिजिटल पुस्ता पपुलिज्मको पछाडि दौडिएको छ । मुलुक तीव्र गतिमा सङ्कटतर्फ दौडिएको नबुझ्ने पपुलिस्टहरु गाली, घृणा, आक्रोशबाट देश बनाउन निस्किएका छन् ।
समीकरणहरू नैतिक वा वैचारिक आधारमा होइन, पारस्परिक हित र लेनदेनको आधारमा विकसित हुन्छन् । निष्पक्षता र असंलग्न मनोवृत्ति कूटनीतिक हुन्छन्, जसको वास्तविक राजनीतिमा मूल्य हुन्छ । अहिले परिस्थिति बिलकुलै फरक छ । अमेरिकी प्राथमिकताहरू परिवर्तन भइरहेका छन् । ‘चीन र भारत’विरुद्ध अमेरिका खुलेर आएको छ । दक्षिण एसियामा मुलुकको ठुलो भूरणनीतिक स्थान छ। पटके परिवर्तनपश्चात् मुलुक प्रायः अलमलमा पर्दै आएको छ । राजनीतिक इतिहास नपढेका पपुलिस्टहरु प्रयोग गर्दै मच्चाइएको ‘मिसन खरानी’मार्फत लादिएको मध्यावधि निर्वाचनले थुप्रै ‘बहुगुणा’हरू जन्माउँदै छ ।
सन् १९५२ मा पहिलो पटक विधानसभा सदस्य निर्वाचित हेमवती नन्दन बहुगुणा भारतीय राजनीतिमा चर्चित अनुहार थिए । अखिल भारतीय काँग्रेसको महासचिव, पटक पटक मन्त्री, उत्तर प्रदेशको मुख्यमन्त्री एवम् सन् १९७९ मा केन्द्रीय वित्तमन्त्री भएका उनी सन् १९८४ को लोकसभा निर्वाचनमा अकल्पनीय ढङ्गले पराजित हुन पुगे । इलाहाबादको संसदीय क्षेत्रमा चुनावी प्रतिस्पर्धा गरेका अभिनेता अमिताभ बच्चनले दिग्गज नेता बहुगुणालाई पराजित गरेको घटना संसदीय राजनीतिमा आजसम्म उत्तिकै चर्चित र उत्सुकताको विषय रहँदै आएको छ ।
सन् १९८४ मा इन्दिरा गान्धीको हत्यापश्चात् राजीव गान्धीको अनुरोधमा इलाहाबाद (प्रयागराज)बाट लोकसभा चुनाव लड्न राजी भए । फिल्मी दुनियाँबाट राजनीतिमा प्रवेश गरेका बच्चन नेता बहुगुणाको अगाडि राजनीतिमा पुड्को देखिन्थे । सन् १९८४ को चुनावलाई नजिकबाट हेरेकी वरिष्ठ पत्रकार कुमकुम चड्ढ़ाले बिबिसीलाई बताएअनुसार चुनाव प्रचारको दौरान अमिताभ केवल ५-६ वाक्य मात्र बोल्ने गर्दथे, त्यो पनि अरू कसैद्वारा लेखिएको । तथापि, बच्चनको लोकप्रियताले ल्याएको बाढीले अन्ततः बहुगुणालाई बगाएरै छाड्यो । बिना एजेन्डा निर्वाचन जितेका अमिताभलाई बोफोर्स काण्डमा नाम मुछिएपश्चात् राजनीति र प्रणालीप्रति मोहभङ्ग भयो । उनले छिट्टै बुझे- लोकप्रियता र राजनीति अलग विषय हुन् । फलस्वरूप राजनीतिलाई ‘धेरै गाह्रो काम’को रूपमा वर्णन गर्दै सन् १९८७ मा लोकसभा सिटबाट राजीनामा दिँदै राजनीतिबाट संन्यास लिए ।
‘भावनात्मक’ रूपले राजनीतिमा सामेल हुन सकिन्छ तर नागरिक आवश्यकताको सम्बोधन गर्न सकिँदैन । हरेक मुलुकको आफ्नो हैसियत र ल्याकत हुन्छ । आफ्ना कमजोरीको दोष विदेशी र प्रतिद्वन्द्वीको थाप्लोमा हालेर पपुलिस्ट बन्न सकिन्छ तर समस्या समाधान गर्न सकिँदैन । पपुलिस्टहरु यथार्थ कुरा गर्न रुचाउँदैनन् । उनीहरू भावनात्मक कुरा गर्दै नागरिकको मानसिक शोषण गर्छन् । जसले लोकतन्त्रलाई खोक्रो बनाउने छ । अत्यधिक लोकप्रियताले प्रणालीलाई रोगी बनाउने छ । पटके परिवर्तनले थिलथिलो भएका संस्थाहरू थप कमजोर हुनेछन् ।
पपुलिस्टहरुले कमजोरी छोप्न मिडियालाई गाली गरेर या विदेशीको आरोप लगाएर फुत्किने कोसिस गर्दै आएका छन् । न्यायपालिका र स्वतन्त्र निकायलाई ‘कुलीन वर्ग’को सेवक भन्दै आफ्नो अपराध ढाकछोप गर्दै छन् । समाजलाई विभाजन गर्दै निजी महत्त्वाकाङ्क्षा पुरा गर्ने कथित पपुलिस्टहरुले अल्पसङ्ख्यक समूहको अधिकार र उनीहरूको आवाजलाई दबाउँछन् । आलोचना र जवाफदेहिताबाट पन्छिन्छन् । ‘स्वतन्त्रता र समानता’को खिल्ली उडाउँछन् ।
डिजिटल पुस्ताले बच्चनको राजीनामा र जेनजी विद्रोहपश्चात् पपुलिस्टको फोन अफ भएको घटनाबाट पाठ सिकेको देखिएन ।भाद्र २३ को नरसंहारको जगमा २४ गते ध्वंस मच्चाइयो । सौभाग्यवश ‘जेनजी’ले नख्खु जेलमा रहेका रविलाई नेता मान्न तयार भएन । फलस्वरूप ‘प्लान बी’ अन्तरगत प्रायोजित निर्वाचनमा मुलुकलाई होमियो । रणनीतिक कारखानाबाट उत्पादित पपुलिस्टलाई प्रधानमन्त्री बनाउँदा भारत र चीनले अस्वीकार गर्ने, षडयन्त्रमूलक ढङ्गले सत्ताच्युत गरिएका दलहरू निर्वाचनमा नजाने सम्भावना देख्नासाथ ‘सिआइए र डिपस्टेट’ले ओलीलाई एमाले अध्यक्ष बन्न अप्रत्यक्ष ढङ्गले सहयोग गर्यो । देउवाको स्वार्थ र कमजोरी बुझेको शक्तिले ओली/देउवा मिल्ने वातावरणलाई औचित्यहीन बनाउन विशेष महाधिवेशन मार्फत गगन/विश्वलाई कांग्रेस दिलाइयो ।
उम्मेदवारको योग्यता र क्षमता केही होइन, ‘निर्वाचन चिन्ह’मात्र जलाइएको सिंहदरबार पुग्ने साधन मान्ने पपुलिस्टहरु डरलाग्दो षडयन्त्रको सिकार भएको बुझ्दैनन् । विगतमा कांग्रेस/वाममोर्चा मार्फत शान्ति र स्थिरता ढालियो । काँग्रेस/एमाले/माओवादी केन्द्र प्रयोग गर्दै राजसंस्था ढालियो । डिजिटल पुस्तालाई झुक्क्याएर मुलुकको पहिचान, प्रतिष्ठा र धरोहर ढालियो । प्रायोजित निर्वाचनमा पपुलिस्टहरुको प्रयोग गर्दै मुलुक ढाल्ने खेल चलिरहेको छ । पपुलिज्मको गर्भबाट प्रो अमेरिकन सरकार जन्माउने प्रायोजित निर्वाचनलाई भूराजनीतिक शक्तिले सुरक्षा र प्रतिष्ठाको विषय बनाएको पपुलिस्टहरुले नबुझे पनि राजनीतिको ‘कख’ बुझेका शक्तिले महसुस गरिसकेका छन् ।
खम्पा विद्रोहको असफलता पश्चात् दरबारसँग बिग्रिएको पश्चिमी सम्बन्ध अन्ततः मिसन खरानी मार्फत पोखिएको चीनको बुझाइ छ । पञ्चायतलाई रणनीतिक सहयोग गरेको चीनले राजसंस्था बचाउन ध्यान नदिएको सजाय पाइला पाइलामा भोग्दै छ । ‘सिआइए’को लगानीमा बढिरहेको गुम्बा गतिविधि, सेप्टेम्बरको जेनजी विद्रोहमा देखिएको ‘टिओबी’को आक्रामक उपस्थिति, सुशीला सरकारको गम्भीर असहयोगपश्चात् स्थिति नाटकीय रूपमा बिग्रँदै गइरहेको सङ्केत प्राप्त भएको छ । ड्रागन मिडियामार्फत चुहाइएको चिनियाँ धम्कीलाई सम्बोधन नगर्ने असंवैधानिक सरकार र प्रायोजित निर्वाचनमार्फत बन्ने सरकारलाई चीनले गम्भीर रूपमा लिने सङ्केतले अनिष्टलाई देखाएको छ ।
आम्दानी भन्दा खर्च बढी भएको प्रणालीलाई सुधार गर्न नसक्ने/नपाउने संसद्मा पुग्न गेरु वस्त्र,चन्दन र रुद्राक्षको माला लगाउँदै मन्दिर मन्दिर धाउने पपुलिस्टहरुको सांस्कृतिक भ्रष्टाचारले अनिष्टलाई स्वागत गरिसकेको छ । पपुलिस्टहरुको रणनीतिक प्रयोग गर्दै देशभक्त र वामपन्थीलाई रक्षात्मक बनाउने अभियान तीव्र गतिमा चलाइएको छ । प्रायोजित निर्वाचनको नतिजापश्चात् मुलुक अराजकतामा फस्ने महसुस सत्ताच्युत राजा र भूराजनीतिक शक्तिले गरिसकेका छन् ।
जनता-जनार्दनको अमूल्य मत प्राप्त गर्दा समेत संसद् छिर्न नपाउने व्यक्तिले सुशासन र नैतिकताको डिङ हाँक्दै छ । मतदाताको विवेकमाथि हमला गर्दै कथित पात्रलाई परिवर्तनको नायक बनाउने एल्गोरिदमको नियत मुलुकको पक्षमा नरहेको बुझ्न ढिला भइसकेको छ । ७६ जनाको बली दिएर पपुलिस्टहरुलाई राजनीतिक मैदानमा ओराल्नुको उद्देश्य प्रदेश खारेज गर्न या मुलुकलाई सनातन धर्ममा फर्काउन होइन भन्ने पुष्टि भइसकेको छ । मन्त्री र सांसदको सङ्ख्या घटाउन या संविधानलाई मुलुकमैत्री बनाउन होइन भन्ने खुलिसकेको छ । तमाम समस्यालाई यथावत् राखेर पपुलिस्टहरूको पक्षमा गरिएको मार्केटिङ मुलुकको दुर्भाग्य बन्दैछ।
राजसंस्थाले देशभक्त भएको सजाय पाइसकेको छ । फगत कुर्सीको निम्ति काँग्रेस/कम्युनिस्टले गरेको बलण्डर मुलुकले धान्न नसक्ने अवस्थामा पुगेको छ । आम नागरिक फास्ट ट्र्याकबाट परिवर्तन खोज्दै छन् । रमिते समाज परिवर्तन चाहन्छ तर भ्रम र एल्गोरिदमलाई परिवर्तन मानेर अर्को गल्ती गर्दैछ । पोलिसी, भिजन र सामूहिक नेतृत्व सुरु भएको खण्डमा नेपालको राजनीतिले सही दिसा समात्ने बुझेका शक्तिले कोलाहललाई राजनीति बनाउँदै छ । कथित नयाँको बहानामा जन्माइएका पपुलिस्टलाई मुक्तिदाता बनाउन हौसिएको शक्तिले मुलुकलाई फाँसीवाद तर्फ धकेल्दै छ ।
पाँच दिनभित्रमा भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ भन्ने प्रधानमन्त्रीको पाँचमहिने शासनकालमा एक जना भ्रष्टाचारी जेल नगएको, जनताले खाइ-नखाइ जोगाएर बचत गरेको रकम बाँदरले जस्तो खोसेर क्वाप्प खाएको, व्यक्तिको मुद्दा आफ्नै महान्यायाधिवक्ता मार्फत फिर्ता लिन बाध्य भएको, ओली सरकार सडकबाट विस्थापित गर्न मुलुकको ५० खर्ब खरानी बनाइएको घटनामा संग्लग्नहरुलाई कानुनी दायरामा ल्याउन नपाएको घटनालाई हेर्नासाथ भन्न सकिन्छ- पपुलिस्टहरुको आगामी प्रयोग कति वीभत्स हुनेछ ।
वास्तवमा मुलुकको समस्या राजनीतिक दल होइनन् भन्ने पपुलिस्टहरुले बुझ्न सकेनन् । भ्रष्टाचार, अन्याय, असमान आर्थिक वितरण, ढिलासुस्ती, टाट पल्टिएको कर्मचारी प्रशासनले थला परेको मुलुकको समस्या `संविधान र पश्चिमा स्वार्थमा लादिएका कथित नीति`हरू हुन्, जसले मुलुकलाई राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपमा दिन प्रतिदिन निकम्मा बनाउँदै छ । दुर्भाग्यवश मुलुकको ल्याकत, हैसियत, सम्भावना, अवरोध र समाधान नबुझेका पपुलिस्टहरु ‘नयाँ खेताला’ बनेर मैदान ओर्लिएका छन् । यस्तो विडम्बनापूर्ण अवस्थामा ‘बा-आमा’को मतले छोराछोरी विदेश जान बाध्य भए भन्दै पपुलिस्ट जिताउने पश्चिमा षडयन्त्रमा फस्न पुगे छोराछोरीको मत बा-आमालाई ‘देशविहीन’ बनाउने कारण बन्न सक्नेछ भन्ने आम नागरिकले बुझ्ने समय आएको छ ।
अन्तमा, ‘सिआइए र डिपस्टेट’को रणनीतिक चाहनामा जन्माइएका पपुलिस्टहरु दृष्टिकोण, विचार, एजेन्डा, कार्यक्रम केही होइन।एल्गोरिदम, प्रविधि र भ्रमपूर्ण कन्टेन्ट नै मुलुक निर्माणको एक मात्र साधन हो भन्दै मुलुकको चीरहरण गर्न निस्किएका छन् । यस्तो विकराल अवस्थामा नयाँ नामको खोल ओढाएर ल्याइएका खेताला, भाइरल, अयोग्य, कुडा-कर्कटलाई संसद् पुर्याउने खेल नेपालको हितमा नरहेको आम मतदाताले बुझ्न जरुरी छ । पपुलिस्टहरु समाधान होइनन्, खुद समस्या हुन् भन्ने डिजिटल पुस्ताले बुझ्न नसके सङ्कट असिना जसरी बर्सिने छ । त्यस्तो अवस्थामा पपुलिस्टहरुको राजनीतिक अवसान अनिवार्य बन्नेछ ।