प्रायोजित निर्वाचन, एल्गोरिदम र आगामी संसद्

वि.सं.२०८२ फागुन १० आइतवार

आयातित संविधान कोमामा पुर्‍याएर, जनादेश र मतादेशलाई लत्त्याएर, मुलुकको प्रतिष्ठा, पहिचान खरानी बनाएर, न्यायालय र कर्मचारी प्रशासनलाई त्रासमा राखेर, लोकतान्त्रिक मूल्य र मान्यताको धज्जी उडाएर लादिएको प्रायोजित निर्वाचनमा प्रो अमेरिकन शक्तिलाई स्थापित गर्ने खेल रणनीतिक ढङ्गले चलाइएको विषय छताछुल्ल भइसकेको छ ।

जिम्मेवारी बहन नगर्ने, भिडभाडमा रमाउने, छिट्टै बिर्सने, दागी, दोषी र कुँडा कर्कटलाई मुक्तिदाता बनाउन लादिएको प्रायोजित निर्वाचन मार्फत अनेक आकार प्रकारका नानीमैँया जन्माउने कोसिस चलिरहेको छ। पश्चिमी एजेन्डा र कार्यक्रमलाई उन्नति ठान्ने, घृणायुक्त सोसल मिडिया स्ट्याटस लेख्ने, धमिलो कथा र पपुलिस्टहरूको नाटकलाई परिवर्तन ठान्ने, कार्यक्रम र एजेन्डा पस्केर आफू राम्रो बन्नुभन्दा अरूलाई नराम्रो बनाउन मरिहत्ते गरेका `भाइरल`हरु प्रायोजित निर्वाचनमा `रोलमोडेल` बनाएर प्रस्तुत गरिएको छ।

प्रायोजित निर्वाचनमा डिजिटल प्रयोग व्यापक रूपमा गरिएको छ। डिजिटल प्रणालीले चुनावको माहौल बदलिएको छ।प्राविधिक छलाङले मतदानलाई प्रभावित गरिरहेको छ । सनसनीपूर्ण शीर्षकहरू र राजनीतिक प्रतिध्वनि कक्षद्वारा बढाइएको घुसपैठ जनताको विश्वास हल्लाउन पर्याप्त छ। डिजिटल प्रणाली मार्फत जटिल, अस्पष्ट, गलत सूचना र षड्यन्त्रहरू नागरिकको स्मार्टफोनमा झुल्किने गरेका छन् ।

चुनाव हुनु मात्र पर्याप्त छैन। मतदाताले आफ्नो विचार सुरक्षित भएको मान्न नसकेको डिजिटल समाजमा, विश्वास र अविश्वासको धारणा तरल र सङ्क्रामक बन्दै गएको छ। डर,जोखिम र अनिश्चितता देखाएर आफ्नो रणनीतिक स्वार्थ पुरा गरिरहेको एल्गोरिदम डरलाग्दो बनेर निर्वाचनमा होमिएको छ। प्रविधि जतिसुकै उन्नत भए पनि, आफैँमा वैधता स्थापित गर्न सक्दैन। सार्वजनिक विश्वास कमाएको भ्रममा आफ्ना एजेन्डा र पात्रलाई स्थापित गर्न हौसिएको पश्चिमी शक्ति एल्गोरिदम मार्फत मतदाताको ब्रेनवास गर्न सफल हुँदैछ।

मुलुकको भन्दा भाइरलहरूको माया लाग्ने अवधारणालाई एल्गोरिदमले रणनीतिक पुँजी बनाएको छ। मनलागेको कुरा मात्र गर, आफ्नो इच्छा अनुसारको व्यक्ति र पार्टी मात्र हेर भन्दै आउने एल्गोरिदमको चक्रव्यूहमा मतदाता झुम्मिएका छन् । महत्त्वपूर्ण कुरा, हामी विश्वस्त छौँ कि साइबर खतराहरूको प्रकृतिमाथि पुनर्विचार गर्ने समय आएको छ।

मानिसहरूले साइबर खतरा भनेको पूर्वाधार नष्ट गर्नु र गोप्य कुराहरू चोर्नु मात्र होइन सामाजिक एकतालाई तोड्नु र नागरिकको विश्वास समाप्त गर्नु पनि हो। पछिल्लो समयमा विश्व पुँजीवादले उत्पादन गरेको अस्त्रले सत्यलाई दिग्भ्रमित गर्ने अभियानमा सफलता प्राप्त गरेको छ। नयाँ अनुसन्धानले पत्ता लगाएको छ, सामाजिक सञ्जाल एल्गोरिदमले पक्षपातपूर्ण राजनीतिक भावनालाई नागरिकसम्म पुर्‍याउन बहुमूल्य समय खर्च गरिरहेको छ।

जब कुनै व्यक्ति र संस्थासँग दीर्घकालीन नीति, विचार,कार्यक्रम हुँदैन। उनीहरू प्रविधिको दुरुपयोग गर्दै आफूलाई स्थापित गर्ने कोसिस गर्छन्। यस तथ्यलाई बुझेको सिलिकन भ्यालीले गरिब मुलुकको राजनीति आफ्नो कब्जामा लिन अधिकतम कोसिस गरिरहेको छ। कमजोर र अशिक्षित मुलुकमा आफ्ना स्वार्थलाई सुरक्षित राख्न नयाँ र कथित सेलेब्रेटी प्रयोग गर्दैछ। दुर्भाग्यवश परिवर्तनको भोकमा तड्पिरहेका निराश र आक्रोशित नागरिकलाई गल्ती गर्न विवश बनाउँदै छ ।

सामाजिक सञ्जाल साइटहरूले युजरहरूको डेटा सङ्कलन गर्दै आएको छ। तिनै डेटाहरूलाई आवश्यकता र लक्ष्य अनुसार व्यक्ति र समूहसम्म पुर्‍याउँदै छ। सोसल मिडिया कम्पनीले युजरको इच्छा, चाहना र अनुभवलाई पढ्दै एल्गोरिदम मार्फत आफ्नो स्वार्थ पुरा गर्दैछ। कथित भविष्यवाणीको बहानामा एल्गोरिदम मार्फत सर्वसाधारणको भावनासँग खेल्दै छ ।

इको चेम्बरहरू सिर्जना गर्दै एल्गोरिदमले फरक राजनीतिक विचार भएका मानिसलाई दिग्भ्रमित गर्छन्। सोसल मिडिया युजरमाथि धावा बोल्छन्। राजनीतिक विभाजन ल्याउन फिल्टर बबलहरू सिर्जना गर्छन्। युजरलाई रणनीतिक रूपमा कट्टरपन्थी बनाउँछन्। इच्छा अनुसार व्यक्तिलाई भगवान् र दानव बनाउँदै नतिजा आफ्नो पक्षमा पार्न अधिकतम कोसिस गर्छन्। भविष्यवाणी एल्गोरिदमको डिजाइन हो भन्ने मतदाताबाट लुकाउँछन्। एल्गोरिदमले मतदाता बीचको खाडल फराकिलो बनाउनेछ। निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न सामाजिक र राजनीतिक विभाजन बढाउन सक्ने छ। साथै चाहे अनुसार मतादातालाई फसाउन सक्ने छ। डेटा सञ्चालित एल्गोरिदमले केवल धनी व्यक्ति, मुलुक र परिचालितहरूलाई मात्र फाइदा पुर्‍याउने छ ।

लगभग सबै एल्गोरिदमहरू अपारदर्शी छन्। गोपनीयता र विशेषाधिकारको फाइदा लुट्दै छन्। एल्गोरिदम डिजाइन गर्ने मानिसले नागरिकको सर्वोत्तम हितमा विरलै काम गर्नेछ। डेटा वैज्ञानिकद्वारा सिर्जना गरिएको एल्गोरिदमले उपभोक्ताको मानसिकतासँग खेल्दै आएको छ। प्राविधिक ज्ञान कमजोर रहेको मुलुकमा एल्गोरिदम अभिसाप बनेर आएको छ। समाजको भावना र कमजोरीसँग खेल्दै आएको एल्गोरिदमले नकारात्मकता, डिजिटल विभाजन र सम्पत्ति असमानता बढाउन अहम् भूमिका निभाएको छ।

आयातित व्यवस्थाले आफ्ना कमजोरी लुकाउन टेक्नो पपुलिज्म प्रयोग गरिरहेको छ। नागरिकलाई सत्य तथ्यसम्म पुग्न नदिन डाटा पुँजीवाद र निगरानी पुँजीवादको प्रयोग गरिरहेको छ। मतादेश र पटके परिवर्तनलाई सडकबाट निरर्थक बनाउन खेतालाहरूको प्रयोग गर्दैछ।अभिव्यक्ति स्वतन्त्रता र अन्य अधिकारमाथि प्रहार गर्दै प्रायोजित निर्वाचनलाई लोकतन्त्रको सौन्दर्य बनाइएको छ। नागरिक प्रभाव ओरालो लागेको समयमा प्रायोजित निर्वाचन मार्फत आउने संसद्लाई निकम्मा बनाउने तयारी पुरा गरिएको छ ।

मुलुकमा केही भएन भन्ने न्यारेटिभ सिर्जना गर्दै भएका भौतिक संरचना पोल्ने शक्तिलाई मुलुक जिम्मा लगाउने संसदीय राजनीतिको रिमोट मुलुकमा नरहेको प्रमाणित भएको छ। वर्तमान व्यवस्थाले आर्थिक रूपमा उच्च मुद्रास्फीति, बेरोजगारी र गरिबीको नेतृत्व गरेको छ। निस्सन्देह उल्लेखित तथ्याङ्कले विगतका शासकहरूको मूर्खतालाई प्रतिबिम्बित गरेको छ।

चीन र अमेरिकाबीचको प्रतिस्पर्धा नेपालको दुःख बनेर उदाएको छ। छिमेकी मुलुक भारत आइपिएस (Indo-Pacific Strategy) को अङ्ग र क्वाड (Quadrilateral Security Dialogue)को सदस्य बन्ने साथसाथै Shanghai Cooperation Organisation (SCO)र ब्रिक्स (BRICS)मा पनि समावेश हुने नीतिले अमेरिकालाई नाङ्गो बनेर काठमाडौँ ओर्लिन बाध्य बनायो। फलस्वरूप मिसन खरानीको जगमा लादिएको निर्वाचनले लक्ष्य प्राप्त गरेमा चीनसँगको सम्बन्ध कटुतापूर्ण बन्ने निश्चित छ। अमेरिका पछि नहट्ने चीनले फाइदा उठाउन नदिने जटिलताले मुलुकको त्रासदीलाई सङ्केत गरिरहेको छ।

राष्ट्रिय समस्या समाधान गरेर मात्र निर्वाचनमा जानुपर्ने सत्ताच्युत राजाको पछिल्लो धारणाले याे सङ्केत गरिरहेको छ।एल्गोरिदमबाट जन्माइने आगामी संसद्ले आफ्नो भूमिका निर्वाह गर्न वर्तमान परिस्थितिको गम्भीरता बुझेको हुनु पर्ने छ। दुर्भाग्यवश द्वन्द्व, अशान्ति र खिचातानी समाधान गर्न नसक्ने आगामी संसद्ले संसदीय व्यवस्था र सांसदको भूमिका कति प्रभावकारी हुनेछ भन्ने बुझ्न भारत, जर्मनी र अमेरिकाले भोगेका केही घटना लेखले मागेको महसुस गर्न सकिन्छ ।

वास्तवमा इतिहास सान्दर्भिक पाठहरूले भरिएको छ। एडोल्फ हिट्लरलाई स्थापित गर्न जर्मन नागरिक र राइखस्टाग सभामुखको महत्त्वपूर्ण भूमिका थियो। हिट्लरसँग डराएका जर्मन राष्ट्रपति पल भोन हिन्डेनबर्गले संसद् अपहरण गर्ने हिट्लरको कुटिल योजना रोक्न सकेनन्। उनले राइखस्टाग विघटन गर्न दूत पठाए। हर्मन गोरिङले प्रतिद्वन्द्वी दक्षिणपन्थी फ्रान्ज भोन पापेनलाई ध्यानपूर्वक बेवास्ता गरे। सभामुखको रूपमा उनले हिट्लरलाई अनियन्त्रित शक्ति प्रदान गरे। नाजी षड्यन्त्र अनुसार, गोरिङले घोषणा गरे। हिन्डेनबर्गले चाहेर पनि केही गर्न सकेनन्।

रिचर्ड निक्सनलाई संसद्ले महाभियोग लगायो र राजीनामा दिन बाध्य पारेको थियो। बिल क्लिन्टन र डोनाल्ड ट्रम्पलाई महाभियोग लगाइएको थियो। काँग्रेसले फिरोज गान्धी जस्ता क्षमतावान व्यक्तिलाई संसदमा पुर्‍याउन सक्यो। उनले ठुला वित्तीय घोटालाहरू पत्ता लगाए। ससुरा जवाहरलाल नेहरुलाई संसदमा उभ्याए। रणनीतिक ढङ्गले आगो लगाइएको मौका छोप्दै देशीविदेशी ठगले हिट्लरको शैलीमा सत्ताच्युत राजा र नागरिकलाई धम्की दिँदै मतपत्र मार्फत संसद् प्रवेश गर्न सफल भएमा संसदीय व्यवस्थाको चीरहरण निश्चित छ ।

सामान्य संसदीय इतिहास र रचनात्मक विषयलाई बुझ्न नसक्ने, विधेयक, ऐन, कानुन, र अध्यादेश समेत नबुझ्ने हावाहुरी, भाइरल, कुँडा कर्कट, नमुनाहरूलाई सांसदको रुपमा चुन्न हौसिएको डिजिटल पुस्ता गम्भीर षडयन्त्रको सिकार बनेको बुझ्न सक्दैन। राज्यलाई कमजोर बनाएर, प्रणालीको हुर्मत लिएर, सुरक्षा निकायलाई कर्तव्य निर्वाह गर्न नदिएर लादिएको निर्वाचन मार्फत ल्याउन चाहेको कथित परिवर्तनले मुलुकलाई रसातलमा पुर्‍याउँदै छ। नयाँ भनेको उमेर, योग्यता भनेको सबैभन्दा अयोग्य हुनु,परिवर्तन भनेको भाइरल छान्नु, एजेन्डा र कार्यक्रम भनेको गालीमा पोख्त हुनु हो भन्ने पात्रलाई संसद् पुर्‍याइए सर्वनाश रोक्न कुनै विदेशी सेना नेपाल आउन नपर्ने डिपस्टेटले बुझिसकेको छ।

अशिष्ट, असभ्य, अयोग्य र अराजनीतिक मानिस संसद् पुर्‍याउन सोसल मिडिया र एल्गोरिदम मरिहत्ते गरिरहेको छ ।एजेन्डा, कार्यक्रम, अनुभव, भूगोल, भूराजनीतिक ज्ञान, गाली र आलोचनाबीचको भिन्नता नबुझ्नेहरूको सफल मार्केटिङ चलाइएको छ। एजेन्डा भन्दा उद्दण्डता प्रस्तुत गर्ने, सडकबाट आऊ भन्दै नागरिकलाई धम्की दिने अराजकहरूलाई पर्दा पछाडिबाट शक्ति प्रदान गरिएको छ। संसदीय पद्धतिको सम्मान बढाउन सक्ने पात्रलाई रोक्दै शून्यज्ञान भएका `भाइरल र भाइरस`लाई संसद् पुर्‍याउन अहोरात्र खटिरहेको `सिआइए र डिपस्टेट`को मिसनमा दौडिए प्रायोजित निर्वाचन पश्चात् मुलुक रणमैदान बन्ने छ।