मुलुकको यथार्थ र मतदाताको जिम्मेवारी
८ फाल्गुन २०८२, शुक्रबार
निरन्तर विद्रोहको सम्भावना जीवित राखेर लादिएको प्रायोजित निर्वाचनले मुलुकलाई दीर्घरोगी बनाउँदै छ । बाह्य शक्तिको कारखानामा उत्पादित पात्रहरूको अपराध लुकाउने अभियानमा असंवैधानिक सरकार नाङ्गो बनेर आएको छ । तिब्बती धर्मगुरुदेखि अमेरिकी सैन्य कमान्डर (इण्डो प्यासिफिक कमान्डर एडमिरल समुएल जोन पापारो)को अतिरिक्त सक्रियतापश्चात् चिनियाँ प्रतिक्रियाले राजनीतिक गडबडीको सङ्केत गरिरहेको छ ।
यतिबेला मुलुक सुगौली सन्धिपछिको सबैभन्दा खराब अवस्थामा पुगेको छ । मिसन खरानीपश्चात् निर्माण गरिएको सरकारले पश्चिमी स्वार्थलाई नि:सर्त ढलान गर्दैछ । सुशासन, राजनीतिक स्थिरता र आत्मनिर्भर अर्थतन्त्र तर्फ कुनै हालतमा प्रवेश गर्न नदिने पश्चिमी चाहनालाई सफल बनाउन असंवैधानिक सरकार सम्पूर्ण तागत लगाइरहेको छ । मुलुक गए जाओस्, पश्चिमा ‘मिसन`’खतरामा नपरोस् भन्ने एकल लक्ष्य सफल बनाउन मरिहत्ते गरिरहेको सरकार मुलुकलाई भूराजनीतिक द्वन्द्वमा होमेर बिदा लिन आतुर छ ।
निःसन्देह गरिब मुलुकमा समस्या र बेथितिका चाङ लागेका छन् । पश्चिमा उपलब्धि र आर्थिक नीतिले सिर्जना गरेका विकृति र विसङ्गतिलाई देखाएर तीनै शक्तिले नेपाली नागरिकको ब्रेनवास गरिरहेका छन् । सोसल मिडिया, एल्गोरिदम, टेक्नो पपुलिज्मको रणनीतिक प्रयोग गर्दै नेपाली समाजलाई दिग्भ्रमित गर्न सफल भएका छन् । नेपाली सभ्यता, संस्कार र संस्कृतिलाई कमजोर बनाउन प्रयोग गरिएका खेतालाको विकल्पमा तयार गरिएका पात्रलाई स्थापित गर्न पश्चिमाहरू मैदान ओर्लिएका छन् ।दुर्भाग्यवश पश्चिमी अभियानलाई असफल बनाउन देशभक्तहरू अल्छी गर्दैछन् ।
वैचारिक रूपमा टाट पल्टिएको नेतृत्वले दलीय राजनीतिमा डरलाग्दो जरा गाडेको सजाय मुलुकले भोगिरहेको छ । जसले गर्दा मुलुक र राजनीति अशान्तितर्फ धकेलिएको छ । शासकहरूको खल्लो उपस्थितिले हिंसात्मक गतिविधिलाई स्वागत गरिरहेको छ । पटके परिवर्तनको नाममा मुलुक गम्भीर बिरामी परेको छ । राम्रो डाक्टर मुलुकले अझै फेला पारेको छैन । दुर्भाग्यवश सिलिकन भ्यालीले खतरनाक रणनीतिको निम्ति तयार पारेको पपुलिस्टलाई डाक्टर मान्न डिजिटल पुस्ता हतार गर्दैछ ।
भूराजनीतिक हस्तक्षेप वास्तविक सम्भावना हो, आसन्न खतरा होइन । बढ्दो दक्षिणपन्थी राष्ट्रवाद, आर्थिक संरक्षणवाद, प्राकृतिक स्रोत साधन, विशाल मानवीय पीडा विश्वव्यापी द्वन्द्वका तत्त्व हुन् । राजनीतिक अभ्यासहरूले मुलुकको इतिहास र भविष्य बोकेका हुन्छन् । नागरिकलाई भारतविरोधी बनाएर राजनीतिक फाइदा उठाएको पश्चिमा शक्तिले रणनीतिक आगजनीपश्चात् मतदाताको मानसिक शोषण गर्दैछ । योजनावद्ध रूपमा मुलुक सक्ने पश्चिमा शक्तिको गुलियोमा रमाइरहेका कथितहरू जिलेन्स्की बन्न प्रतिस्पर्धा गर्दैछन् ।
मिसन खरानी र प्रायोजित निर्वाचनलाई ‘सिर्जनशील विनाश’ बनाउने पश्चिमी अभियानलाई बुझ्न डिजिटल पुस्ता तयार देखिएन । अर्थतन्त्रलाई नाजुक अवस्थामा पुर्याएको राजनीतिले मुलुकलाई वर्तमान नाजुक अवस्थाबाट बचाउने कार्यक्रम कसैसँग रहेको देखिँदैन । मुलुकले गम्भीर सुधार खोजेको छ तर टेक्नो पपुलिस्टहरु ‘पौडिन’ नजान्नेलाई नदीमा होम्दैछ, जसले मुलुकलाई ‘डुब्न’ बाध्य पार्नेछ । पपुलिस्टहरुले सुन्दर र रोचक प्रेस्किप्सन समेत ल्याउन नसकेको अवस्थामा कार्यान्वयन डरलाग्दो बन्दै छ । न्याय, निष्पक्ष व्यवहार र जबाफदेहिता भत्किएको मुलुकमा आगामी दिन झन् खराब हुनेछ ।
भूराजनीतिक शिविरहरू आक्रामक रूपमा विभाजित हुँदैछन् । विश्वव्यापी प्राथमिकताहरू परिवर्तन हुँदै छन् । विश्वव्यापी भिन्नता चिन्ताजनक छ । चुनौतीहरूको बाबजुद मुलुकसँग गतिशील जनसङ्ख्या छ । विद्रोहलाई निरन्तरता दिने शक्तिले उनीहरूको रणनीतिक दुरुपयोग गरिरहने आधार काफी छन् । विश्वव्यापी परिवर्तनले मुलुकको सामाजिक विकासलाई जोखिममा पार्दैछ । भूराजनीतिले मुलुकलाई क्षणभरमा कमजोर पार्ने तागत विकास गरिसकेको छ ।
आर्थिक प्रणाली भनेको राजनीतिक प्रणालीको उत्पादन हो । राजनीतिक प्रणाली अन्य उपप्रणाली भन्दा उच्च हुन्छ । पतनशील आर्थिक व्यवस्थालाई राजनीतिक अर्थतन्त्रबाट अलग्गै हेर्न सकिँदैन । त्यसैले राजनीतिलाई पहिले ठिक नगरी अर्थतन्त्रलाई ठिक गर्न सकिँदैन । दुर्भाग्यवश राजनीति बिगारेर अर्थतन्त्र बनाउने हावादारी सपना कथित नयाँले बाँड्दै छन् । राजनीतिक व्यवस्थालाई बेवास्ता गर्दै नागरिकलाई मूर्ख बनाउने पपुलिस्टहरु पदयात्रा मार्फत मुलुक बनाउन निस्किएका छन् । नागरिक मास हिस्टेरियाको सिकार बन्दैछ । राजनीतिक सुधार गर्न नदिने शक्तिले अनुदानमा भिडाएको राजनीतिक व्यवस्थामा नागरिकलाई उल्लु बनाउने खेल जारी राखिएको छ ।
नवउदारवाद जीवित रहेसम्म मुलुक आर्थिक समस्याबाट मुक्त हुन पाउने छैन । मुलुकको प्राथमिकता र आवश्यकता स्पष्ट छन् । पछिल्लो विद्रोहको लक्ष्य भूअर्थराजनीति नरहेको बुझ्नासाथ भन्न सकिन्छ,मुलुक अनिष्ठको दलदलमा परिसकेको छ । यो हिचकिचाहटको क्षण होइन । यस क्षणलाई सदुपयोग गर्ने प्रतिभा, संस्था र नैतिक अनिवार्यता मुलुकले खोजिरहेको छ । ट्रम्पको विघटनकारी नीतिले विश्वव्यापी मापदण्डहरू उल्टिने क्रममा छ । जोखिमहरू उकालो चढेको छ । स्थापित नियमहरू फिक्का हुने र भत्किने पूर्वानुमान विश्वले गरेको छ । यसले अन्तर्राष्ट्रिय सम्बन्धलाई लेनदेन र परिस्थितिजन्य बनाउनेछ ।
गरिबी र सामाजिक असमानता घटाउने दिशामा नहिँडेको राजनीतिले अर्थपूर्ण निकास दिने छैन । दक्षिणपन्थी र कथित वामपन्थीहरूको असफलताले मुलुक गम्भीर रूपमा भूराजनीतिक चपेटमा परेको छ । हामी बाँचिरहेको समय थप निराशाजनक बनेर आएको छ । नालायकहरूको सहकार्य केवल मुलुक जल्ने माध्यम बनेको छ । अन्तर्राष्ट्रिय राजनीतिको विशेषता ‘संवाद र कूटनीति’को सट्टा ‘सैन्य वा आर्थिक’ जबरजस्ती बनिसकेको छ । शक्तिशाली देश र क्षेत्रीय शक्तिले अन्तर्राष्ट्रिय कानुनको अवज्ञा गरिरहेको छ ।
लोकतान्त्रिक गणतन्त्रको नाममा ध्वस्त बनाइएको मुलुकमा पश्चिमा शक्तिले चाहेकै संविधान जारी गराउँदा समेत सन्तुष्ट हुन सकेन, किन ? राजनीतिक प्रणालीद्वारा उत्पादित असङ्ख्य नकारात्मकता पहिचान गर्ने ल्याकत नभएका व्यक्ति सोकल्ड विकल्प बन्न आतुर छन् । राजनीतिक भ्रष्टाचारमार्फत मुलुकमा जरा गाडेको पश्चिमा शक्तिले उनीहरूको रणनीतिक दुरुपयोग गरिरहेको बुझ्दैनन् । पश्चिमा नीतिको असफलतालाई कांग्रेस-एमालेको असफलता मान्ने र ठान्नेहरू वास्तवमा नेपालको समस्या नै बुझ्दैनन् । जसले उनीहरूलाई खराब विचार पस्किन बाध्य पार्नेछ । रचनात्मक विनाशको प्रक्रियामा फसेको उनीहरूले धेरै ढिलो थाहा पाउने छन् । जति बेला उनीहरूको अस्तित्व खतरामा परिसकेको हुनेछ ।
कांग्रेस, एमाले, माओवादीले बेलाबखत उठाएको हतियार र हत्याको राजनीति मतदाताले पटक-पटक अनुमोदन गरेको सजाय मुलुकले पाइसकेको छ । ओली/प्रचण्डलाई राजनीतिमा जोगाएर रवि/बालेन मिलाउने खेल नेपाल र नेपालीको निम्ति नभएको नागरिकले बुझ्ने समयमा नेपाल अन्तहीन द्वन्द्वमा फसिसकेको हुनेछ । विगतबाट पाठ सिक्नुको सट्टा भाद्र २४ गते नेपाली आफैले मुलुकको प्रतिष्ठा, इतिहास र पहिचान खरानी बनाएका छन् । अझ रोचक कुरा – आगामी निर्वाचनमा भाइरल, स्टण्ट र ‘भुक्तानी गरिएका खेताला’लाई अनुमोदन गराउने पश्चिमी तारतम्य नबुझ्ने डिजिटल पुस्ता खुसीले झुमेको छ ।
आय बढाउन नसकेको अर्थ-राजनीतिले विचलनलाई रोक्न सक्दैन । हाइब्रिड सेटअपको असफलता र त्रुटिपूर्ण आर्थिक मोडेलको विकल्प फेला नपारेको राजनीतिले स्थिरता दिन सक्दैन । वित्तीय अनुशासन हराएको मुलुकमा मुद्रास्फीति रोक्ने अपेक्षा खल्लो हुनेछ । आर्थिक वातावरण नकारात्मक भएको पछिल्लो अवस्थामा राजनीतिक सिद्धान्त, विचार, शिक्षा नीति, उत्पादन नीति, परराष्ट्र नीति, वंशज नागरिकलाई मुलुकभित्र भविष्य छ भन्ने वस्तुनिष्ठ कार्यक्रमबिनाको हावाहुरी र भाइरललाई विकल्प मान्दै सत्ता सुम्पिने डिजिटल पुस्ताको काँचो चाहनाले मुलुकलाई छिट्टै असफल राष्ट्रमा परिणत गर्नेछ ।
छिमेकीहरूको सुरक्षा चासो र चिन्ता चुलिएको छ । अमेरिकाको कथित सक्रियता मुलुकले धान्न सक्दैन । पञ्चशील र असंलग्न सिद्धान्त नबुझ्ने सर्तमा जन्माइएका सिलिकन भ्यालीका मौसमी उत्पादनहरू विगतमा ओली, देउवा र प्रचण्डले गर्न नसकेका/नमानेका काम गर्न आतुर छन् । देशभक्त, योग्य, अनुभवी, भूराजनीति बुझेको पात्रको सट्टा एल्गोरिदममार्फत तयार पारिएका कथित पपुलिस्ट लिएर प्रायोजित निर्वाचनमार्फत मैदान ओर्लिएको अमेरिकी चाहना मुलुकले थेग्न नसक्ने सङ्केत प्राप्त भएको छ ।
रुसी राष्ट्रपति पुटिनले युक्रेनका राष्ट्रपति जिलेन्स्कीलाई नेटोको सदस्य बन्ने चाहना त्याग्न र अमेरिकी उक्साहटबाट टाढा बस्न पटक-पटक सम्झाए । नेता जिलेन्स्कीले पुटिन धम्कीको वजन र भूराजनीतिक यथार्थ बुझ्न सकेनन् । जसको सजाय युक्रेनी जनताले आजसम्म भोगिरहेका छन् । पपुलिस्टहरुले बुझ्नुपर्छ- अनुदानको लालचमा स्वीकार गर्न बाध्य पारिएको एमसिसी पुरस्कारले नेपालको ऊर्जा नीति र वैदेशिक सम्बन्ध ट्र्यापमा परिसकेको छ । जिन्दगीभर दक्षिण/पश्चिमको सेवा गर्दासमेत असी वर्षीय पूर्वप्रधानमन्त्रीले पिटाइ खाएको, प्रधानमन्त्री हेलिकप्टरबाट भाग्नुपरेको घटनाबाट कथित पपुलिस्टहरुले शिक्षा लिन जरुरी छ । यद्यपि आफैलाई नपरेसम्म नचेत्ने नेपाली बानीबाट उनीहरू मुक्त नरहेको सङ्केत प्राप्त भइसकेको छ ।
अन्तमा, सिंहदरबार पोलेर ‘सिआइए र डिपस्टेट’को विश्वास जितेका पपुलिस्टहरु नेपालमार्फत ‘चीन घेर्ने’ अमेरिकी रणनीतिको ‘कच्चा पदार्थ’ बन्न आतुर छन् । ‘आवधिक निर्वाचन लोकतन्त्रको फिल्टर हो’ भन्ने मान्यताको खिल्ली उडाउँदै सेप्टेम्बर विद्रोहमार्फत जलाइएको सिंहदरबार कब्जा गरेको पश्चिमा शक्तिलाई रोक्ने चीनको सक्रियतापश्चात् नेपाल दक्षिण एसियाको ‘युक्रेन’ बन्ने खतरा चुलिएको छ । यस्तो विडम्बनापूर्ण अवस्थामा चीनको सुरक्षा चासोलाई नजर अन्दाज गरेबापत जलाइएको सिंहदरबार दिलाइने आश्वासनमा बहकिएका कथित पपुलिस्टहरुबाट मुलुक जोगाउने महत्त्वपूर्ण जिम्मेवारी संयमित, देशभक्त र अनुभवी मतदाताको काँधमा आएको छ ।