सङ्कट नबुझ्ने डिजिटल पुस्ता !
२३ माघ २०८२, शुक्रबार
`मिसन खरानी`पछि डिजिटल पुस्ता डिपफेक र एल्गोरिदममा रमाउँदै छ । `एआई`द्वारा उत्पन्न गरिएको छवि, भिडियो र अडियोमार्फत मतदाताको स्मार्टफोनमा झुल्किएको डिपफेक सही नियतले मुलुक प्रवेश नगरेको बुझ्न ढिला भइसकेको छ ।निर्वाचनको नतिजालाई प्रभावमा पार्न कृत्रिम बुद्धिमत्ता (एआई)द्वारा निर्माण गरिएका `डिपफेक` सामाग्रीले कुशल विशेषज्ञलाई समेत नक्कली भनेर चिन्न गाह्रो बनाएको छ । जानाजानी गलत जानकारी फैलाउन प्रयोग गरिने धेरै उपकरणहरू कथित विकल्पको पक्षमा प्रयोग गरिएको छ । चुनावको नतिजालाई प्रभावित गर्न `डिपफेक र एल्गोरिदम` रणनीतिक ढङ्गले सक्रिय भएको छ ।
आयातित लोकतन्त्र र १२बुँदेको सङ्कट टार्न `प्रविधि र पपुलिस्ट`को रणनीतिक प्रयोग गरिएको छ । सेप्टेम्बर विद्रोहमार्फत सत्ताच्युत गरिएका असफल नेतृत्वलाई निर्वाचनमार्फत रोक्न सोसल मिडिया कम्पनीहरू आश्चर्यजनक ढङ्गले लागिरहेको बुझ्न डिजिटल पुस्ता अनिच्छुक छ । प्रविधिको बारेमा ज्ञान नभएका, मिडिया साक्षरता नभएका, डिपफेकको बारेमा थाहा नपाएका नागरिकसम्म पुगेको भ्रमपूर्ण सामाग्रीले निर्वाचनको नतिजामा गम्भीर प्रभाव पार्ने सङ्केत प्राप्त भइसकेको छ ।
मिसन खरानी पश्चात् प्रयोग गरिएका पात्र र प्रविधि मुलुकको दुर्भाग्य बन्दै छ । रणनीतिक दुष्प्रचारलाई मतदातासम्म पुर्याउँदै प्रभावित गर्ने कोसिस तीव्र गतिमा चलाइएको छ । पश्चिमा शक्तिद्वारा पालित पोषित पात्रलाई डिपफेकको मद्दतमा नागरिकसम्म पुर्याउने खेल सफलतापूर्वक चलाइएको छ । `लाईक, सेयर र कमेन्ट`को भ्रमपूर्ण नतिजा पस्किँदै एआई निर्मित सामाग्रीमार्फत मतदाताको मन परिवर्तन गर्ने अभियान चलाइएको छ । दुर्भाग्यवश परिवर्तनको नसामा लट्ठिएको डिजिटल पुस्ता आफ्नै बरबादीमा उत्सव मनाउँदै छ ।
अमेरिकी लोकतन्त्रले नेपालको राजनीति र दलीय राजनीतिको चरित्र ध्वस्त बनाएको छ । १२बुँदेको पुच्छर समातेर कुर्सीसमेत आर्यघाट जाने काँग्रेस एमालेको संसदीय पुँजी मिसन खरानीपश्चात् समाप्त भएको छ । जब ओली-देउवाले संसदीय अङ्कगणितलाई लोकतन्त्र बनाए, सिआइए र डिप स्टेटले जनादेश उल्टाएर निर्वाचन गराउँदै छ । भू-रणनीतिक र भू-आर्थिक हितहरूको रक्षा गर्न सङ्घर्ष गरिरहेको मुलुक निर्वाचन मार्फत ट्र्याकमा फर्किन नदिने तारतम्य मिलाइएको छ । वास्तविक समस्या नबुझेका, शासकीय क्षमता शून्य रहेका अयोग्य पात्रलाई जलाइएको सिंहदरबार पुर्याउन मरिहत्ते गरिरहेको शक्तिले नेपालको आगामी दिन कस्तो हुनेछ भन्ने सङ्केत दिएको छ ।
सम्पूर्ण जीवन राजनीतिमा बिताएका व्यक्तिहरू किन र कसरी `फ्लप` बने/बनाइए ? नेपाललाई संयुक्त राष्ट्र सङ्घको सदस्य दिलाउने अमेरिकी स्वार्थ राजनीतिक स्थिरताको निम्ति बाधक त भएन ? राजनीति रहर र अवसरवादी खेल हो भन्ने अवस्थालाई परिवर्तनको नाम कसले दिँदैछ ? मुलुकको वास्तविक समस्या `कथित नयाँ` राजनीतिमा नआउनु हो भन्ने `स्यालहुइयाँ` कसले चलाउँदै छ ? पुरानाले सकेनन्, अब कथित नयाँले देश बनाउँछन् भन्ने वीभत्स नारा कसले चलाइरहेको छ ? हत्यारा र भ्रष्टलाई सत्ताच्युत गर्ने बहानामा मुलुकको अस्तित्व र पहिचानलाई आगोमा झोस्दै कस्तो परिवर्तन खोजिँदै छ ? ढुङ्गेधारा बनाएको `जस` लिने पपुलिस्टहरुले जलाइएको सिंहदरबार बचाउन किन आवश्यक ठानेनन् ? यी र यस्ता अनेकौँ `यक्षप्रश्न`को जवाफ खोज्न अल्छी गरेको डिजिटल पुस्ता सर्वनाशलाई सिर्जना मान्दैछ।
नाफा निजीकरण गर्ने, घाटा सामाजिकीकरण गर्ने आयातित उपलब्धिले मुलुक थलिएको डिजिटल पुस्ताले बुझ्दैन । उच्च ऋण, घट्दो सामाजिक गतिशीलता, बढ्दो बेरोजगारी, चर्को भ्रष्टाचार र कुशासनले डुङडुङती गन्हाएको व्यवस्था जोगाउन सिलिकन भ्याली आक्रामक ढङ्गले मैदान ओर्लिएको छ । परम्परागत खेतालामार्फत अमेरिकी उपलब्धि उल्टिने या मुलुक कोर्स करेक्सनमा प्रवेश गर्ने निचोड पश्चात् कथित विकल्पको रणनीतिक प्रयोग गरिएको सजाय मुलुकले भोग्दैछ ।
वित्तीय घाटा नबढाइ `आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्ने` नेपालमैत्री प्रजातन्त्र मुलुकले खोजिरहेको छ । आयातित लोकतन्त्रको त्रासदीमा फसेको मुलुकमा `सत्ताको ट्रफी` प्राप्त गर्ने लिगलिगे दौड सुरु गरिएको छ । हरेक दश वर्षमा गरिने/गराइने रणनीतिक ध्वंसमा मुलुक निरन्तर फस्दै आएको छ । नेतात्रयको नाङ्गो नाचपश्चात् बदनाम बनेको आयातित उपलब्धि जोगाउन सेप्टेम्बर विद्रोह लिएर काठमाडौँ ओर्लिएको अमेरिकी पुँजीवाद दङदास छ । अमेरिकी पुँजीवादको आधुनिक अस्त्र बनेर उदाएको सोसल मिडियाले मतदाताको मन परिवर्तन गर्ने अभियान तीव्र गतिमा चलाइरहेको छ, जसलाई डिजिटल पुस्ताले आँखा चिम्लेर स्वागत गरिरहेको छ ।
भूराजनीति, अर्थनीति, परराष्ट्र नीति, पार्टी, सिद्धान्त, कार्यक्रम, कूटनीति केही होइन, चुनाव चिन्ह सबै हो भन्ने झिल्के-राजनीति स्थापित गर्न सिआइए र डिपस्टेट सफल हुँदैछ । आयातित उपलब्धिको बहानामा पश्चिमा नीति बोक्न बाध्य पार्ने, तिनै नीतिको कारणले युवालाई मुलुक छोड्न बाध्य पार्ने, मुलुक र परिवारसँग बिछोड हुनुपरेको पीडा `असफल नेतृत्व`को थाप्लोमा हाल्न सफल अमेरिकी पुँजीवादले गरिरहेको षडयन्त्र डिजिटल पुस्ताले कहिल्यै बुझ्ने कोसिस गरेनन् ।
वैचारिक रूपमा भुत्ते बनाइएको पछिल्लो पुस्ताले मुलुकको असली समस्या संविधान, आर्थिक नीति, उत्पादन नीति, बजार नीति, निर्वाचन प्रणाली हुन भन्ने बुझ्दैन । मुलुकभित्र अवसरहरू बन्ध्याकरण गरिदिने, सत्तामा पुगेका पात्रलाई भ्रष्ट बन्न बाध्य बनाउने शक्तिले मिसन खरानी सम्पन्न गर्दासमेत सोसल मिडिया पुस्ता आँखा खोल्न तयार देखिएन । दलहरूलाई असफल बनाउने पश्चिमा नीति र आयातित उपलब्धि जोगाउन तयार पारिएका पपुलिस्ट, नालायक, अयोग्य, कुँडाकर्कटलाई संसद् पुर्याउन हौसिएको डिजिटल पुस्ता जिलेन्स्की जन्माउने कच्चा पदार्थ बनाइएकोमा दङदास छ ।
अमेरिकी सत्ताको आधुनिक टुल्स पपुलिज्म, भाइरलिज्म, सोसल मिडिया, डिपफेकलाई डिजिटल पुस्ताले परिवर्तन मान्दैछ ।मुलुकको सभ्यता र संस्कृति कमजोर मात्र भएको अवस्थामा देशभक्तहरू जुरमुराउने सङ्केत प्राप्त हुनासाथ अवसरवादी र अराजकतावादीलाई नेता बनाउन सिलिकन भ्याली नाङ्गो ढङ्गले मैदान ओर्लिएको छ । सिलिकन भ्यालीलाई थाहा छ, क्रेजले मतदानमा प्रभाव पार्न सक्छ । क्रेजले भिड जम्मा गर्न सक्छ तर राजनीतिज्ञले मात्र मुलुकलाई नयाँ दिसा दिन सक्छ । फलस्वरूप पश्चिमा शक्ति क्रेजको उत्पादन र विज्ञापनमा दिन रात एक गर्दै छ । यस्तो विडम्बनापूर्ण अवस्थामा लादिएको आम निर्वाचनले मुलुक सिलिकन भ्यालीको एकल प्रयोगशाला बनिसकेको डिजिटल पुस्ताले बुझ्न जरुरी छ ।
फगत कुर्सीको निम्ति सभ्यता, आस्था र वैदिक सनातन धर्म त्यागेको, ठुला नदी भारतलाई उपहार दिएको, एमसिसी पुरस्कार संसद्बाट अनुमोदन गरेको, कुर्सीसमेत आर्यघाट जान जस्तोसुकै सेवा गर्न तयार रहेको अवस्थामा सेप्टेम्बर विद्रोहमार्फत नेतात्रय किन सत्ताच्युत गरिए भन्ने मतदानपूर्व डिजिटल पुस्ताले बुझ्न आवश्यक छ । ओली, देउवा, प्रचण्ड मिल्काएर ल्याउन चाहेका पपुलिस्टबाट उनीहरू के चाहन्छन् ? आफ्नै लगानीमा जन्माइएको पपुलिस्ट सत्तामा पुर्याउँदै गरिने कथित सम्झौतापश्चात् भूराजनीतिक टकराब कस्तो रहला ? राजनीतिक कार्यक्रम भनेको `अमुक पपुलिस्ट`लाई जिल्ला ल्याउने भाइरलहरूको बाचा र प्रतिबद्धता सफल भएमा डिजिटल पुस्ताको भविष्य कस्तो हुनेछ भन्ने सङ्केत मिलिसकेको छ ।
भूराजनीतिक टकरावले राजनीति गहिरो ढङ्गले ध्रुवीकृत भएको छ । संविधानलाई कोमामा पुर्याएर १२ बुँदे जोगाउने शक्तिको नियत बुझेका बौद्धिकहरू प्रश्न गर्दैछन,`मिसन खरानीपश्चात् शासन र राजनीतिमा फरकपन आएन, किन ? प्लेटोदेखि बहस चलिरहेको छ- `केही विशेषज्ञतामा प्रिमियम राख्ने कि भीडको बुद्धिमा ?` मुलुकले नेपाल निर्मित शासन प्रणाली खोजिरहेको छ, जहाँ कसैलाई निषेध गरिँदैन । सम्मानजनक जीवन बिताउन `सभ्यता, आस्था र संस्कृति`को शासन हुनुपर्छ, पपुलिस्टको होइन।`
भविष्यमा के हुन सक्छ भन्दै अनुमान गर्न हतार हुनेछ तर पपुलिस्टले समस्या समाधान गरेको इतिहास विश्व राजनीतिमा कहिँकतै भेटिएको छैन । अधिक आत्मविश्वास वा भ्रमको कारण आफूलाई ‘योग्य’ मान्नेहरू केवल चुनाव चिन्ह लिएर दैलोमा आइपुगेका छन् । सिद्धान्त, विचार छोडेका हाइब्रिड पञ्चबाट सत्ता खोसेर सिद्धान्त, विचार नभएकालाई सत्तामा पुर्याउने `सिआइए र डिपस्टेट`को योजनालाई एल्गोरिदमले ‘परिवर्तन’ बनाएर पस्किएको छ । पपुलिज्म समाधान होइन, समस्याको अर्को रूप हो भन्ने लुकाउन सिलिकन भ्यालीले महत्त्वपूर्ण समय खर्च गरिरहेको छ।
पटके परिवर्तनको बाबजुद डिजिटल पुस्ताले चाहेजस्तो नेपाल बनेन, किन ? के विकसित मुलुकमा भ्रष्टाचार हुँदैन ? नेपालको `दीर्घरोग` नीति हो कि व्यक्ति ? भू-अवस्थिति हो कि भूराजनीति ? सातवटा संविधान असफल पारिएको मुलुकमा `एल्गोरिदम नेतृत्व` सफल हुने आधार के छ ? उल्लेखित प्रश्नको जवाफ खोज्नुको सट्टा आक्रोश, निराशा, बदला, फ्रस्टेसन, हाहुको सम्मोहनमा पर्दै `घाँटी काटेर आँखा जोगाउने` अभियानमा डिजिटल पुस्ता निस्किएको छ ।
अन्तमा, आसन्न विडम्बनाले मुलुकलाई थप कमजोर बनाउनेछ भन्ने सुन्न नचाहेको डिजिटल पुस्ता त्रासदीलाई स्वागत गर्न हतारिएको छ । `बाघले खाएपनि किलो रित्तै, भीरबाट लडेपनि किलो रित्तै` भन्दै सङ्कटलाई स्वागत गर्न मरिहत्ते गर्दैछ । कथित नयाँ र पुरानोको पश्चिमी भाष्यमा बलन्डर गर्न आतुर पुस्ता गल्तीमा भविष्य खोज्दैछ।