‘परिपक्व ट्रम्प’को सन्देश !


१९ मंसिर २०८२, शुक्रबार

गत नोभेम्बर २४ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच सम्पन्न फोनवार्ताले असाधारण, प्रतीकात्मक र व्यावहारिक महत्त्व बोकेको छ । जापानी प्रधानमन्त्री ताकाइचीले ताइवानको बारेमा दिएको असन्तुलित अभिव्यक्तिपछि सिर्जना भएको अस्वाभाविक द्वन्द्वपश्चात् आएको चीनको प्रस्ट र कडा अडानले राष्ट्रपति ट्रम्पलाई व्यवहारिक नेता बनाएको चर्चा चुलिएको छ ।

सन् १९४३ को कायरो घोषणापत्र र सन १९४५ को पोट्सड्याम घोषणापत्र अनुसार ताइवान र पेन्घु टापु चीनलाई फिर्ता गर्ने स्पष्ट अडानलाई राष्ट्रपति सी जिनपिङले फोनवार्तामा राष्ट्रपति ट्रम्पलाई स्मरण गराउने अवसर जापानी प्रधानमन्त्रीले दिनु अन्तर्राष्ट्रिय कानुन र कूटनीतिक सम्झौतालाई नबुझ्नु हो भन्ने विश्लेषकहरूको दाबी छ । अमेरिकासहित अधिकांश देशहरूले ‘एक चीन नीति’लाई औपचारिक रूपमा स्वीकार गर्दै चीनसँग सम्बन्ध निर्माण गरेका छन् । दुई नेताबीचको फोनवार्ताले ताकाइचीको गैरजिम्मेवारपूर्ण टिप्पणी आधारभूत तथ्यमाथिको प्रत्यक्ष आक्रमण हो भन्ने कुरा स्पष्ट भएको छ ।

चीनको लागि ताइवान कति महत्त्वपूर्ण र संवेदनशील छ भन्ने बुझेको ट्रम्प प्रशासनले जापानलाई प्रयोग गरिरहेको छ । चीन/ताइवान या चीन/जापानको प्रत्यक्ष टकराबले अमेरिकी स्वार्थमा जोखिम निम्त्याउँछ । राष्ट्रपति ट्रम्पको भनाइले ताइवान प्रश्नलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्नु अन्तर्राष्ट्रिय प्रणालीको बृहत् स्वास्थ्यको लागि अत्यन्त महत्त्वपूर्ण छ भन्ने बुझाइलाई सङ्केत गर्दछ । राष्ट्रपति ट्रम्पको बुझाइमा शान्तिपूर्ण चीन-अमेरिका सम्बन्ध `एसियाको स्थिरताको आधारशिला` पनि हो । जापानी प्रधानमन्त्रीको पछिल्लो बयान अलग राजनीतिक टिप्पणी होइन, दोस्रो विश्वयुद्धको धङधङी हो, जसलाई कहिल्यै नदोहोर्‍याउने वाचा पराजित जापानले गरेको थियो । दुर्भाग्यवश अमेरिकाको ‘साथ र सहयोग’को भ्रममा तकाइचीको ताइवान बयान ट्रम्पको नजरमा अव्यवहारिक देखिएको छ।

यतिबेला एउटा प्रश्नले जन्म लिएको छ- के विश्वव्यापी संस्थाहरूको अब कुनै अर्थ छ ? युक्रेनको पक्षमा जुलुस निकाल्नेहरूले UNSC प्रस्ताव नम्बर २८०३ मा कुनै गल्ती फेला पारेनन् । गाजाको उपनिवेशीकरणलाई अरब वा मुस्लिम राज्यले प्रश्न गरेनन्, जहाँ इजरायलले ७० हजार भन्दा बढी प्यालेस्टिनीको हत्या गर्दै आधा क्षेत्रलाई नियन्त्रण गरिरहेको छ । युद्ध विरामको उल्लङ्घन, दैनिक दर्जनौँ निर्दोष बच्चाको हत्या गरिरहेको इजरायललाई रोक्न अमेरिकाले अल्छी गरिरहेको छ ।अपराधीहरूलाई कुनै कारबाही नहुँदा नरसंहार निरन्तर जारी छ ।

सन् १९४८ मा प्यालेस्टाइनको पतन हुँदैगर्दा ‘अमेरिका र सोभियत सङ्घ’को प्रभाव विश्वले बुझ्न र देख्न पायो । भूराजनीतिलाई बुझ्न कहिलेकाहीँ विगतमा खिचिएका युद्ध रेखाहरूको ‘सम्झना र सामना’ गर्नुपर्छ । विगतमा कोरिया, कङ्गो, मलाया, इन्डोनेसिया र भियतनाममा गुमाएका लाखौँ निर्दोष नागरिकको रगतलाई बेवास्ता गर्न सकिँदैन । शीतयुद्धपछिको युगमा रुवान्डा र पूर्व युगोस्लाभियामा नरसंहार भुल्न सकिँदैन । अझ निन्दनीय कार्यहरू पश्चिमी शक्तिले अरब र अफ्रिका लुटेको बिर्सनु इतिहासप्रति अन्याय हुनेछ । ९/११ को आतङ्कवादी आक्रमणपछि सुरु गरिएको ‘रणनीतिक आतङ्कवाद विरुद्धको युद्ध’ले इराकदेखि अफगानिस्तानसम्म कोरिएका खतरनाक घाउ र शोषणले नयाँ-नयाँ समस्या जन्माउँदै आएको छ ।

हालैका घटनाहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प व्यावहारिक नेता हुन् भन्ने पुष्टि गरेको छ । दोस्रो विश्वयुद्ध पछिको अन्तर्राष्ट्रिय व्यवस्थाले सार्वभौमिकता र विवादको शान्तिपूर्ण समाधानको मापदण्डहरू स्थापित गरेको छ । इतिहास पुनर्लेखन गर्ने वा राष्ट्रहरूको सार्वभौमसत्तालाई कमजोर पार्ने खेललाई शान्तिसँग जोड्ने ट्रम्प-सिद्धान्तले विश्वलाई नयाँ ढङ्गले झस्काएको छ । घरेलु राजनीतिक खिचातानीलाई पन्छाउँदै राष्ट्रपति ट्रम्पले गाजा र युक्रेन द्वन्द्वलाई अन्ततः समाधान गर्ने प्रयास तीव्र बनाएका छन् । ट्रम्पले हालै गाजा द्वन्द्वको समाधानको मध्यस्थता गरेका छन्, जसले गर्दा अस्थायी शान्ति भएको छ । यद्यपि प्यालेस्टिनी र नेतान्याहू सरकार दुवैलाई सन्तुष्ट पार्ने सम्भावना अत्यन्त कम छ । तर अरब राष्ट्र, रुस, चीन र संयुक्त राष्ट्र सङ्घलाई स्वीकार्य छ ।

ट्रम्पले महसुस गरेका छन्,युक्रेनमा रुसको सैन्य सफलता बढ्दो छ । धेरै भूभाग रुसी नियन्त्रणमा छ । यथार्थपरक दृष्टिकोणमा, युक्रेनको परिस्थितिले रुससँग सम्झौता गर्न बाध्य पारिरहेको छ । युक्रेन द्वन्द्व अन्त्य गर्ने ट्रम्पको दृढ सङ्कल्पलाई आफ्नै पार्टीका प्रभावशाली व्यक्तिले विरोध गरेका छन् । उनको प्रशासनमा रुस विरोधी र युक्रेन समर्थकहरू छन् । युक्रेनका लागि ट्रम्पका विशेष दूत Keith Kellogg लाई राजीनामा दिन बाध्य पार्ने शक्तिले ट्रम्पलाई असफल बनाउन सम्पूर्ण तागत लगाएको बुझ्न सकिन्छ । यस घटनापश्चात् राष्ट्रपति ट्रम्प रिपब्लिकन पार्टीभित्र बढ्दो असन्तुष्टिलाई कम गर्न चाहन्छन् । युक्रेन र रुसबिचको जटिल ऐतिहासिक सम्बन्धलाई स्वीकार गर्दै छन् । ट्रम्पले शान्ति योजनासँग सम्बन्धित वार्ता विशेषदूत स्टीव विटकफ मार्फत फत्ते गर्दैछन् ।

राष्ट्रपति ट्रम्पले नाटकीय परिणाम ल्याउन अधिकतम मिहेनत गरिरहेका छन् । उनको व्यावहारिक राजनीतिले युक्रेनी राष्ट्रपति जिलेन्स्कीको जिद्दीपनलाई साइजमा ल्याउँदै छ । बेलायत, फ्रान्स, जर्मनी र ईयू प्रतिनिधिले ट्रम्प अभियानलाई सहयोग नगर्दा द्वन्द्व लम्ब्याउन चाहने शक्तिलाई थोरै उर्जा प्राप्त भएको छ । फलस्वरूप द्वन्द्व समाधान गर्ने ट्रम्पको प्रयास अप्रभावी सावित भएको छ।यद्यपि ट्रम्प युक्रेन द्वन्द्व समाधानको ढोकामा पुगेको सङ्केत प्राप्त भएको छ।विगत तीन वर्षदेखि अनावश्यक रूपमा लादिएको ‘विनाश र मृत्यु’को औपचारिक विश्राम हुनेछ ।

ट्रम्पले जिलेन्स्कीलाई बचाउने अवस्था रहेन । युक्रेनलाई ठुलो भूभाग त्याग्न, सैन्य क्षमता घटाउन र नेटोमा सामेल हुने कुनै पनि आशा त्याग्न बाध्य पारेको कारणले युरोप अशान्त छ । डिपस्टेटले बेलायत, फ्रान्स र जर्मनीलाई बोकेर कहीँ नपुग्ने बुझेको शक्तिले ट्रम्पलाई असफल बनाउन नसक्ने अवस्था सिर्जना भएको छ।वास्तवमा जिलेन्स्कीको कमजोरीलाई नजिकबाट नियालेका ट्रम्पले व्यावहारिक मूल्याङ्कनलाई सबल बनाएका छन् । एक असफल नेताको रूपमा जसले द्वन्द्व रोक्न सक्थ्यो, मूर्खतापूर्वक सम्पूर्ण अवसर गुमायो । ट्रम्पको राजनीतिक व्यावहारिकता बुझ्न असमर्थ भयो ।यही कारणले गर्दा ट्रम्पले तमाम  आक्रमणलाई यति सजिलै निःशस्त्र बनाउन सफल भएका छन् ।

युक्रेन-रुस शान्ति योजना र एपस्टाइन कागजातहरू पूर्णरूपमा जारी गर्न सहमत हुँदै ट्रम्पले राजनीतिक खतरालाई चलाखीपूर्वक पन्छाएका छन् । जसले ट्रम्पलाई आलोचना मुक्त बनाएको छ । तर ट्रम्पपछि रूढिवादी आन्दोलनको नेतृत्व कसले गर्ने भन्ने बारेमा रिपब्लिकन पार्टीभित्र गहिरो युद्ध प्रकट भएको छ । आप्रवासन वा अर्थतन्त्र मुद्दामात्र होइन । यो विदेश नीति हो र यसको मुटुमा इजरायल छ।हालैका दशकमा अमेरिकी दक्षिणपन्थीलाई पुनः आकार दिइरहेको छ ।अमेरिकाले मध्यपूर्वमा कसरी पुरानो प्रभुत्व कायम राख्ने भन्ने विषयलाई पुनः परिभाषित गर्नु पर्नेछ ।

युद्ध र भूराजनीतिक उल्झनले अमेरिकाको स्रोतहरू सुकाएको छ।नैतिक विश्वसनीयतालाई कमजोर बनाएको छ ।MAGA वफादारहरू, जसले ट्रम्पलाई आन्दोलनको अपरिहार्य नेताको रूपमा हेर्छन्, र ‘अमेरिका फर्स्ट’को लोकप्रियतावादी विरासत निर्माण गर्न चाहन्छन् । क्रिश्चियन राष्ट्रवाद र सांस्कृतिक आक्रोशबाट प्रेरित MAGA रिपब्लिकन राजनीतिमा प्रभुत्व जमाउँदै छ । माइक जोनसन र लिन्डसे ग्राहमको बयानबाजीले धर्म र भूराजनीतिलाई मिसाउँछ, इजरायलको अस्तित्वलाई क्रिश्चियन भविष्यवाणी र पश्चिमी सभ्यताको रूपमा हेर्छ । अर्कोतर्फ, अमेरिका फर्स्ट क्याम्पले यी धारणामाथि प्रश्न उठाउँछ।टकर कार्लसन, स्टीव ब्यानन र ग्रिन जस्ता व्यक्तिहरू तर्क गर्छन्, अमेरिकाले विश्व प्रहरीको भूमिका समाप्त गर्नुपर्छ ।

दशकौँदेखि चलिआएको अमेरिकी विदेश-नीतिलाई कायम राख्ने मिथकहरू टुक्रिन थालेका छन् । विश्वको लागि, यो एक ऐतिहासिक क्षण हो । हरेक दिन, हरेक घण्टा ट्यारिफको धम्की दिने राष्ट्रपति ट्रम्पले विश्वलाई गज्जबको प्रभाव र सन्देश दिन सफल भएका छन् । पूर्व राष्ट्रपति बाइडेनले सुरु गरेको रुस-युक्रेन युद्धले अमेरिकालाई दीर्घकालमा केवल नोक्सान मात्र दिनेछ भन्ने बुझ्दै जिलेन्स्कीलाई लामो दूरीको हतियार दिन तयार नहुनुले ट्रम्प-राजनीति परिपक्व, व्यवहारिक र रणनीतिक बन्दै गरेको मान्न सकिन्छ । फकाउने, धम्क्याउने, थकाउने, ट्यारिफ लगाउने, सम्झौता गर्न बाध्य पार्ने ट्रम्प-राजनीतिले अमेरिकालाई केन्द्रबिन्दुमा राख्नुले उनलाई दीर्घकालीन सोचले भरिपूर्ण नेता बनाएको छ ।

आफ्नो अस्थिर स्वभाव मार्फत विचित्रको सन्देश दिन सक्ने ट्रम्प कला `रुस र चीन`लाई डिस्टर्व गर्न सफल भएको छ ।यद्यपि राष्ट्रपति ट्रम्पको व्यवहारवादी सिद्धान्तले केवल धनी र शक्तिशाली राष्ट्रलाई फाइदा पुग्ने छ।राजनीति थाँती राख्दै व्यापार र नाफा केन्द्रित ट्रम्प राजनीतिले भू-राजनीतिमा ठुलो प्रभाव पार्दैछ । आफ्नो वैभव, प्रभुत्व, बजार, शक्ति र दीर्घकालीन स्वार्थको निम्ति दुस्मन शक्तिसँग सम्झौता गर्ने ट्रम्प-सिद्धान्त कमजोर र गरिब मुलुकको ‘काल’ बन्दैछ । युक्रेनको भूभाग रुसलाई सुम्पिने ट्रम्प राजनीतिले सफलता चुमेको खण्डमा ट्रम्पको ‘राजनीतिक उचाइ’ ह्वात्तै बढ्नेछ । राष्ट्रपति ट्रम्पको ‘युक्रेन मोडेल’ कमजोर मुलुकको दुर्भाग्य बन्नेछ ।

अन्तमा, मध्यपूर्व र युक्रेनबाट परिपक्व भएको ट्रम्प राजनीति सशक्त ढङ्गले दक्षिण एसिया बसाइँ सर्ने लगभग निश्चित जस्तै छ ।जसले निकट भविष्यमा नेपाल, बङ्गलादेश र पाकिस्तानलाई गम्भीर असर गर्नेछ । रुस-युक्रेन शान्ति सम्झौताको प्रत्यक्ष प्रभाव ‘चिकेननेक’सँग जोडिएको बङ्गलादेशको भूभागमा छिट्टै देखिनेछ । चीनसँग हात मिलाउने र दुःख दिने ट्रम्प-नीतिले पाकिस्तानको बलुचिस्तान छिट्टै अमेरिकी राडारमा पर्नेछ । त्यसैगरी नेपालको ‘हुम्ला, मुगु, डोल्पा, मुस्ताङ र मनाङ’मा रणनीतिक अभियान सुरु हुन सक्नेछ ।