तापक्रम वृद्धिमा पुँजीवादको योगदान !
६ भाद्र २०८२, शुक्रबार
आयातित लोकतन्त्र ‘प्रतिनिधित्व र पारदर्शितामा’ आधारित हुनुपर्ने भएपनि, विज्ञानमा आधारित लोकप्रिय निर्णय लिन नसक्दा सङ्कटमा पर्दै गएको छ । चुनावी राजनीतिमा आधारित स्वार्थको प्रभाव, लोकप्रिय कथाहरूको आकर्षण र संस्थागत रूढिवादले जलवायु परिवर्तनसँग लड्न आवश्यक पर्ने रूपान्तरणकारी कार्यलाई बाधा पुऱ्याएको छ । ‘विज्ञ’ले जलवायु परिवर्तनको बारेमा जतिसुकै बयानबाजी गरे पनि शासकले परिवर्तन गर्न चाहेको/सकेको छैन ।
मानवजातिले इतिहासलाई उल्टाउन सक्दैन, तर गल्ती सुधार्न सक्नेछ । हिमनदी पग्लन प्रेरित गर्ने कारणहरू औद्योगिक पुँजीवादले जीवित राखेको छ । बढ्दो तापक्रमको ब्याख्या पश्चिमी संसारले जोडतोडले गरे पनि उनीहरू ‘ड्रिल बेबी ड्रिल’को विरोध गर्ने ल्याकत राख्दैनन् । एसिया, अफ्रिका र ल्याटिन अमेरिकाको धेरैजसो भागमा लादिएको उपनिवेशवाद जलवायु परिवर्तनको कारण बनिरहेको छ । यतिबेला मुलुकले नगरेको गल्तीको सजाय भोगिरहेको छ । पश्चिमी देशहरूले जीवाश्म इन्धनको अनियन्त्रित प्रयोग गरिरहेका छन् । उनीहरूको कारणले उत्पन्न समस्याले देवभूमि नेपाल समेत अछुतो रहेन/छैन ।
पुँजीवादले तापक्रम वृद्धिमा ठुलो योगदान पुऱ्याइरहेको छ । कुर्सी, सत्ता, शक्ति र पैसाको निम्ति जेसुकै र जस्तोसुकै गर्न तयार शासकसँग देशलाई बस्न योग्य बनाउने इच्छाशक्ति देखिँदैन । राजनीति बिसाएर पुँजीवादसँग आत्मसमर्पण गरेको दलीय नेतृत्वले आयातित कार्यक्रममा भविष्य देख्दै छ । विकासको नाममा धुले सडक निर्माण, वनकटान र प्राकृतिक स्रोतको गम्भीर दुरुपयोग गर्दै पूर्वाधारको आतङ्क मच्चाउँदै छ।कार्ल माक्र्सले उल्लेखित प्रक्रियालाई आदिम सञ्चय (Primitive accumulation) भनेका छन् । उनीहरू स्थानीय मानिसलाई जीविकोपार्जनबाट वञ्चित गर्न सफल हुँदैछन् । तापक्रम वृद्धिको बहानामा राजनीति गर्न र प्राकृतिक सुरक्षालाई निर्मूल पार्न रणनीतिक ढङ्गले सफल भएका छन् ।
मुद्रास्फीति, ऊर्जा अभाव र बेरोजगार जनसङ्ख्या अत्यधिक रहेको मुलुकमा अलोकप्रिय सुधारहरू अगाडि बढाउने जोखिम सत्ताले उठाउँदैन । विशेषगरी कमजोर मुलुकमा जलवायु परिवर्तनको जटिलतालाई समाल्ने कार्यक्रम घोषणापत्र र भाषणमा सीमित हुनु स्वाभाविक छ । मुलुकले पर्यटनको राजनीतिक अर्थतन्त्रलाई गिजोलेको वर्षौं भइसकेको छ । जसलाई राज्यले व्यापक रूपमा प्रचार गरिरहेको छ, तर नागरिक र मुलुकको विपत्तिहरू घटाउन सकेको छैन । सामान्य मानिसको दृष्टिमा पहाडबाट तराइ/मधेसमा बसाइँसराइ गलत थिएन । समस्या तब सुरु भयो, पर्यटनको नाममा पर्यावरणीय विनाशलाई अनिवार्य बनाइयो । पर्यटनको नाममा पर्यटकीय स्थललाई तहसनहस पार्न व्यवसायीले वातावरणविरुद्ध गम्भीर छेडखानी गरे । केवल व्यवसायकेन्द्रित क्रियाकलापले प्राकृतिक सिस्टम भत्काउन महत्त्वपूर्ण भूमिका निभायो । पानीका मुहान र हिमाल सफा राख्ने न्यूनतम दायित्वबाट पन्छिए ।
पर्यटनको पर्दापछाडि एउटा ठुलो वर्गीय कथा लुकेको छ । उच्च पहाडी क्षेत्रमा पर्यटन बाहेक अन्य कुनै अर्थपूर्ण जीविकोपार्जनका विकल्पहरू किन छैनन् ? आदिम सञ्चयलाई प्रवद्र्धन गर्ने मानिसलाई उनीहरूको परम्परागत जीविकोपार्जनको साधनमाथि पुँजीवादले हमला गर्न किन आवश्यक ठान्यो ? चरनभूमि समाप्त गर्दै पशुपालनमा आधारित कृषक र कृषि पेसामा रहेका मानिसलाई बेदखल गर्दै गाउँबाट पलायन हुन बाध्य बनाउँदा लोकतन्त्रवादीहरू कसरी दलाल पुँजीवादको सेवामा पुगे ? प्रजातन्त्र र लोकतन्त्रको गुलियोमा परम्परागत प्रणाली विनाश गर्न मुलुक कसरी तयार भयो ? लोकतन्त्रको आवरणमा शासकहरूले ग्रामीण अर्थतन्त्र ध्वस्त पार्दै दलाल पुँजीवादको स्वागत किन गरियो भन्ने नबुझेसम्म जलवायु परिवर्तनको सङ्कट बुझ्न कठिन हुनेछ ।
आयातित लोकतन्त्रको नाममा प्रकृति र काम गर्ने जनतामाथि युद्ध जारी छ । वैदेशिक रोजगारीको नाममा घुमाउरो बाटोबाट दलाल पुँजीवादले जरा गाडेको छ । रेमिट्यान्सबाट पालिएको परिवार र आयातमा आधारित भन्सारलाई आम्दानी मानेको सरकारले दलाल पुँजीवादलाई संरक्षण गरिरहेको छ । यतिबेला मुलुकमा फोसिल फ्युलको उपभोग अकल्पनीय ढङ्गले बढेको छ । बढ्दो तापक्रमले हिमाल समेत असुरक्षित बनेको छ । आयातित उपलब्धिले चुरे विनाशलाई आँखा चिम्लेको छ । पहाड र तराईमा गर्मीको लहर चलेको छ । पहाडमा पानी पर्नासाथ तराइमा बाढीको ताण्डव सुरु हुने अवस्था आएको छ । प्रत्येक वर्ष अटोमोबाइलको सङ्ख्या थपिएको छ । शहर ग्यास च्याम्बरमा परिणत हुँदैछ । मानव निर्मित प्रदूषणले परिस्थिति जटिल बन्दैछ । श्रमिक वर्ग र किसानलाई पीडित बनाएर बाँच्न हौसिएको आधुनिक पुँजीवाद नागरिकको पीडामा भविष्य खोज्दैछ ।
जीवाश्म इन्धन (Fossil Fuel) कुहिएका बोटबिरुवा र जनावरबाट उत्पत्ति हुन्छ । फोसिल फ्युल पृथ्वीको क्रस्टमा पाइन्छ । यसमा कार्बन र हाइड्रोजन हुन्छ, जसलाई ऊर्जाको लागि जलाउन सकिन्छ । कोइला, तेल र प्राकृतिक ग्यास जीवाश्म इन्धनका उदाहरण हुन् । कोइला सामान्यतया चट्टानभित्र पाइने पदार्थ हो जहाँ बोटबिरुवा र मृत जनावरका पदार्थहरू थुप्रिएका हुन्छन् । तेल मूलरूपमा चट्टानको तहहरू बीचको ठोस पदार्थको रूपमा पाइन्छ, जसलाई उत्खनन् गरेर प्रशोधन गर्दै अनेकरुपमा बदल्न सकिन्छ । पेट्रोल त्यसैको रूप हो । प्राकृतिक ग्यास सामान्यतया तेल निक्षेप माथिको रेन्जमा पाइन्छ । यो तेल नभएको चट्टान तहहरूमा पनि पाउन सकिन्छ । प्राकृतिक ग्यास मुख्यतया मिथेनबाट बनेको हुन्छ ।
अमेरिकी राष्ट्रिय विज्ञान प्रतिष्ठानका अनुसार, अमेरिकामा प्रयोग हुने कुल ऊर्जाको ८१ प्रतिशत कोइला, तेल र प्राकृतिक ग्यासबाट आउँछ । ऊर्जा मानव जीवनको दैनिकी, उन्नति र प्रगतिसँग जोडिएको छ । निजी निवास र व्यवसायमा ऊर्जा अनिवार्य वस्तु बन्दै आएको छ।बिजुली उत्पादन गर्न र कारखानाहरू चलाउन प्रयोग गरिन्छ । दुर्भाग्यवश जीवाश्म इन्धन एक गैर–नवीकरणीय स्रोत हुन्।जीवाश्म इन्धनबाट उत्पन्न हुने कार्बन उत्सर्जनमा मानव गतिविधि जिम्मेवार छन् । वैज्ञानिकले जीवाश्म इन्धनमा निर्भरता कम गर्ने, वातावरणलाई सफा र स्वस्थ बनाउने तरिकाहरू खोजिरहेका छन् ।
वैज्ञानिकहरूले जीवाश्म इन्धनबाट उत्पन्न समस्याको समाधान खोज्ने प्रयास गरिरहेका छन् ताकि भविष्यमा मानव जीवन र गतिविधिलाई निरन्तरता दिन सकियोस् । जीवाश्म इन्धनको प्रयोग घटाउँदै स्वस्थ वातावरण निर्माण गर्न सकियोस् । अमेरिकाको ऊर्जा विभागले प्राकृतिक ग्यासबाट चल्ने सवारी साधनहरू व्यावसायिक रूपमा उपलब्ध गराउन प्रविधिहरूमा काम गरिरहेको छ।उनीहरुले कोइला जलाउने र तेल ड्रिलिङलाई सफा बनाउने प्रयास गरिरहेका छन् ।
क्यालिफोर्नियाको स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले जीवाश्म इन्धन जलाउने तरिका पत्ता लगाउन नयाँ प्रविधिको प्रयोग गरिरहेका छन् । वातावरणमा यसको प्रभाव कम गर्न अधिकतम प्रयास गरिरहेका छन् । सरल समाधान भनेको प्राकृतिक ग्यासको प्रयोग बढाउनु हो, जसले गर्दा कोइलाको तुलनामा वायुमण्डलमा ५० प्रतिशत कम कार्बन डाइअक्साइड उत्सर्जन गर्न सकिन्छ । स्ट्यानफोर्ड टोलीले वायुमण्डलबाट कार्बन डाइअक्साइड हटाउने र भूमिगत रूपमा भण्डारण गर्ने प्रयास गरिरहेको छ।स्ट्यानफोर्ड र युनाइटेड किङ्डमको बाथ विश्वविद्यालयका वैज्ञानिकहरूले नवीकरणीय प्लास्टिक बनाउन कार्बन डाइअक्साइड र चिनी प्रयोग गर्दै नयाँ प्रयास गरिरहेका छन् ।
हरितगृह ग्यास उत्सर्जनमा एक प्रतिशत भन्दा कम योगदान पुऱ्याउने नेपाल, जलवायु परिवर्तनको लागि जोखिममा रहेका देशहरू भित्रैमा पर्छ । उल्लेखित जोखिमलाई मध्यनजर गर्दै सरकारले जलवायु न्यायको लागि नैतिक तर्क प्रस्तुत गर्न सक्नुपर्नेछ । लोकतान्त्रिक ढाँचाभित्र जलवायु परिवर्तन व्यवस्थापन गर्ने सबैभन्दा गहिरा चुनौतीमध्ये एक चुनावी-चक्र हो । सरकारले जलवायु परिवर्तन र नवीकरणीय ऊर्जा प्रणालीमा लगानी गर्नुको सट्टा तत्काल सार्वजनिक स्वीकृति प्राप्त गर्न सक्ने छोटो अवधिका परियोजनाहरूमा ध्यान केन्द्रित गर्न जरुरी छ । दीर्घकालीन जलवायु रणनीतिहरू प्रायः छोटो अवधिको राजनीतिक लाभको निम्ति बलिदान गरिन्छ ।
निर्वाचित सरकारले विश्व राजनीतिक मञ्चमा राजनीतिक अवसर खोज्ने समय आएको छ । विशेषगरी कृषि र निर्माण क्षेत्रहरूमा जीवाश्म इन्धनको कारणले सिर्जित समस्यालाई उजागर गर्न मिडिया र संरक्षण सञ्जालमार्फत नेतृत्वलाई पर्याप्त दबाब दिन सकिन्छ । औपचारिक रूपमा सम्बन्धित पक्षसामु आफ्नो उपस्थिति देखाउन सक्नुपर्नेछ । वातावरणीय जोखिमहरूका बाबजुद शहरी विकास प्रायः अनियन्त्रित रूपमा अगाडि बढिरहेको विषय विरुद्ध दबाबमूलक ढङ्गले प्रस्तुत हुनुपर्नेछ ।
सिंहदरबारले अग्रगामी सोचसहितको वातावरणीय नीति अगाडि बढाउन जटिल र मुस्किल छ । आर्थिक सङ्कटको समयमा लोकप्रियतावादी बयानबाजी र गलत सूचनाको बाढी संवेदनशील हुन्छन् । यसले एक राजनीतिक वातावरण सिर्जना गर्दछ, जहाँ वातावरणीय बहस प्रायः छोटो अवधिको राष्ट्रवादी कथाहरूले डुबाउनेछ । सोकल्ड नेतृत्वको कब्जामा परेको राजनीतिसँग सार्वजनिक सहभागिता सुनिश्चित गर्न आवश्यक लचिलोपनको अभाव छ । संस्थागत नाजुकता, नीतिगत विखण्डन र अभिजात वर्गको कथित स्वार्थले दीर्घकालीन वातावरणीय रणनीतिहरू कार्यान्वयन गर्न थप मुस्किल हुँदैछ ।
अन्तमा, तत्काल आवश्यक पर्ने कुरा भनेको जलवायुको पुनर्कल्पना हो, जसले दीगो नीति र सक्षम कार्यक्रम खोजिरहेको छ । सहभागितामूलक योजना, स्वतन्त्र जलवायु निकायहरू, राजनीतिक चक्रबाट अलग गरिएका प्राविधिक योजना एकाइ र दीगो भविष्यलाई आकार दिने शिक्षा तथा नागरिक साक्षरतामा राज्यको आक्रामक लगानीको आवश्यकता छ । पर्यावरणमैत्री कृषि, ग्रामीण अर्थतन्त्र र जीवाश्म इन्धनको न्यूनतम प्रयोगतर्फ फर्किन नसके मुलुक पुँजीवादको भुङ्ग्रोमा जल्नेछ ।