बेथितिको पराकाष्ठा : विद्रोह या आत्मसमर्पण !

१६ जेष्ठ २०८२, शुक्रबार

भनिन्छ- ‘राजनीतिक सन्धिहरू सुविधाका साधन हुन्, सिद्धान्तका प्रतिबद्धता होइनन् ।’ यस म्याकियाभेलियन संसारमा राजनीति भूराजनीतिक अवसरवादद्वारा सञ्चालित छ । मुलुक कसरी यस्तो अवस्थामा पुग्यो/पुऱ्याइयो, तमाम मूर्खतालाई कसरी उपलब्धि भनियो ? साम्प्रदायिक जोस र द्वन्द्व भड्काउन गरिएको पश्चिमा लगानीलाई किन मुलुकले परिवर्तन भनिरह्यो ? आत्मसमर्पण गर्न नसकेका देशभक्तहरू कथित राजावादी र गणतन्त्रवादीको सहकार्य देखेर हैरान छन् ।

अन्तर्राष्ट्रिय शक्तिको नजरमा नेपालले लोकतन्त्रको अभ्यास गरिरहेको छ । माओवादी ध्वंशलाई बिसाउने नाममा लादिएको व्यवस्था र प्रणाली रहेसम्म नेपालको दुर्दशा घट्ने छैन भन्ने बुझेको पश्चिमा शक्तिले ओली/देउवा/प्रचण्डको रक्षा गरिरहेको छ । अन्तर्राष्ट्रिय शक्तिको बढ्दो प्रभाव र हस्तक्षेपले मुलुकको सांस्कृतिक विघटन सम्पन्न भएको छ । ‘बाघ पालेपछि मासु खुवाउनु पर्छ’ भन्ने बुझेको पश्चिमा शक्तिले कथित गणतन्त्रवादीको तमाम अपराधलाई अनदेखा गर्दै आफ्नो लगानी (वर्तमान संविधान) सुरक्षित गर्न सिंहदरबारलाई मनलाग्दी गर्ने लाइसेन्स दिएको नागरिकको आरोप छ ।

सेरा दरबार देखाएर प्रचण्ड तर्साउने, पतञ्जलिको फाइल देखाएर माधव तर्साउने, गृहमन्त्री ‘लेखक’लाई डामेर आरजु÷देउवालाई विवश बनाउने प्रधानमन्त्री ओलीको रणनीतिक खेलले राजनीतिक ‘कोतपर्व’लाई स्वागत गरिरहेको छ । अदृश्य भयले सताएको अवस्थामा नाजुक अभिव्यक्तिमार्फत प्रधानमन्त्री ओली फाँसीवादलाई स्वागत गर्दैछन् । लोकतान्त्रिक गणतन्त्रको अभ्यास गरिरहेको मुलुकमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने संवैधानिक अधिकारलाई पूर्णतया लत्त्याउँदै एमाले कार्यकर्ताद्वारा राजधानी कब्जा गर्ने कोशिस गरिएको छ । नेता प्रचण्डले विगतमा गरेको गल्तीलाई पछ्याउन मरिहत्ते गरिरहेका नेता ओली मुलुकलाई असफल राष्ट्र बनाउन सम्पूर्ण तागत लगाउँदै छन् ।

वर्तमान अवस्थामा राजनीतिक कट्टरताको घेरा कसिलो हुँदै गएको छ । बहुसङ्ख्यक नागरिक सिंहदरबारको अभद्र व्यवहारले निसास्सिएका छन् । मुलुक राजनीतिक वधशाला बनाइएको छ । कब्जामा परेको लोकतान्त्रिक व्यवस्थाले नागरिकलाई सकारात्मक र सक्रिय सदस्य बन्न निरुत्साहित गरिरहेको छ । प्रणालीप्रति केवल राजनीतिक कट्टरपन्थी र राज्य संस्थाहरूको समर्थन मात्र बाँकी छ । यो स्पष्ट छ कि दलीय कब्जामा परेका राज्यका संयन्त्रहरूले नागरिकलाई विश्वास गर्दैनन् । नागरिक आन्दोलनले उठाएको जायज मुद्दालाई अलोकतान्त्रिक करार गर्न सम्पूर्ण तागत लगाएका छन् । अब भन्न सकिन्छ, उनीहरूको एकल लक्ष्य मुलुकबाट शान्ति, न्याय, समृद्धि र नेपालीपन बिदा दिनुमा केन्द्रित छ । पटके परिवर्तनको नाममा चम्किएको हाइब्रिड शक्तिले मुलुक बरबाद गर्न/गराउन सम्पूर्ण तागत लगाएको छ ।

यतिबेला पश्चिमा सङ्कटको विस्तारित मेनुले विश्वलाई सताउँदै छ । युरोपियन युनियनको सुरक्षा पुनर्मुल्याङ्कन, ट्रम्प ट्यारिफ युद्ध, चर्किंदो रुस-युक्रेन युद्ध र इजरायल-हमास द्वन्द्वले विश्वलाई चिमोट्दै छ । कोलाहलको बीचमा, भारत-पाकिस्तान समेत थपिएको छ । चीनविरुद्ध पश्चिमी तागत आक्रामक भएर आउँदै छ । विश्वव्यापी गडबडी र पश्चिमा कमजोरीको फाइदा उठाउँदै मुलुकलाई सुरक्षित राख्न कूटनीतिक कुशलता देखाउन जरुरी छ । दुखको कुरा, अत्यन्त कमजोर अवस्थामा पुगेको ओली राजनीति मुलुकको जुवा खेल्न हौसिएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नियम-कानुनलाई खल्तीमा राख्न थालेको लामो समय भइसकेको छ । विश्वले उत्कृष्ट भनेको र मानेको व्यवस्थामा सामान्य नागरिक बाँच्न नसक्ने अवस्था छ । भूराजनीतिक परिदृश्यलाई कम आँक्दा मुलुक दुर्बल भएको छ । कानुन शक्तिको अधीनमा छ । छिमेकीहरूको दृष्टिकोण भयानक बनेर आएको छ । तनाव कम गर्ने रुचि हराउँदै छ । ऐन, कानुन र नियमको निष्पक्ष कार्यान्वयनको युग सकिएको छ । सिंहदरबार प्रभावकारी प्रतिक्रिया जनाउन नसक्ने अवस्थामा पुगेको छ । राजनीतिक-रणनीतिक ढाँचा हराएको छ । महत्त्वपूर्ण कुरा…, मुलुकले विश्वव्यापी पहुँच गुमाएको छ ।

मुलुक र गणतन्त्र मानव तस्करहरूको कब्जामा परिसकेको छ । राजनीतिक वैधताले पुनः परीक्षणको माग गरिरहेको छ । बनाउँछौं भन्नेले डुबाएको मुलुक निराशाको चक्रमा फसेको छ । मुलुकमा असफलहरूको ताण्डव चलिरहेको छ । काण्डहरू बारम्बार दोहोरिएको छ । नकारात्मकता स्थायी चक्र बनेको छ । मुख्य धाराका राजनीतिक दलप्रति नागरिकको आकर्षण रित्तिएको छ । निन्दनीय शोषण र भ्रष्टाचारले थलिएको प्रणाली र व्यवस्थालाई लोकप्रिय बनाउने तागत सकिएको छ । आत्मकेन्द्रित सोकल्ड नेतृत्वको तथाकथित गतिविधि र नौटङ्की राष्ट्रवादले नागरिक अपिल गुमाएको छ । ‘आयातित उपलब्धि’ बचाउने नाममा काल्पनिक खतरा वा प्लान्टेड डर सिर्जना गर्दै ‘चोरतन्त्र र नेतातन्त्र’ जोगाउने अन्तिम कोसिस गरिएको छ ।

अहङरबाट उत्पन्न क्रियाकलापको गलत गणनाले कथित उपलब्धि थलिएको छ । कमजोर अर्थतन्त्र र बिग्रिएको आन्तरिक एकताले मुलुकको प्रभावकारी क्षमतालाई सीमित गर्दैछ । सिंहदरबारले आफ्नै क्षमता परिचालन गर्ने क्षमता नष्ट गरेको छ । यसै समयमा प्रधानमन्त्रीले उत्तेजक गतिशीलता उजागर गरेका छन् । अराजकतामा कुर्सीको आयु लम्ब्याउँदै छन् । सत्ताको बढ्दो र गैरजिम्मेवार कार्यले राजनीतिक जमिन सकिएको छ । वैश्य युगमा विश्वसनीयता अप्रासङ्गिक भएको छ । मिडिया आउटलेटले बिक्ने कथा आविष्कार गर्छन्, विकृत गर्छन् र नाटकीय बनाउँछन् । उनीहरूलाई थाहा छ- दर्शक के चाहन्छन् ? सामग्री जति धेरै सनसनीपूर्ण हुन्छ, दर्शकलाई त्यति धेरै आनन्द मिल्नेछ !

सत्ता र मिडियाको बीभत्स सहकार्यबिना पश्चिमा परिवर्तन नटिक्ने अवस्था छ । विशेषगरी समाचार र मनोरञ्जन उद्योगले आयातित परिवर्तनलाई क्रूर बनाएको छ । राजनीतिक प्रतिस्पर्धा व्यापारिक अस्तित्वको लडाइँ बनिसकेको छ । तथाकथितहरूको लुटको साम्राज्य जोगाउन राजनीतिक ट्रोल, घृणा अभियान, गलत सूचना र सोसल मिडिया प्लेटफर्मको चरम दुरुपयोग गरिएको छ । कुरो यत्तिमा सीमित छैन, प्लेटफर्महरू पछाडि राजनीतिक ‘डेमागोग’हरू लुकेका छन् । मुलुकमा दर्शक कम र तमासाका निर्देशक बढी छन् । उनीहरू घृणा र ध्रुवीकरणको फाइदा उठाइरहेका छन् । टिभी प्रस्तोताहरू कच्चा घृणाको मार्केटिङ गरिरहेका छन् । न्युज कारखानामा निर्मित भ्रमहरूले सफल र रणनीतिक व्यापार गरिरहेको छ ।

मुलुकमा ‘सत्ता र मिडिया’बीच झुटको प्रतिस्पर्धा चलिरहेको छ । दुवैको विश्वसनीयता पातलो बन्दै जाँदा एकअर्काबीच घनिष्ठता बढ्दै छ । झट्ट हेर्दा र सुन्दा मिडियाले हाइब्रिड पञ्चहरूलाई खुइल्याएको देख्न सकिन्छ तर मिडियाले नागरिकलाई दिग्भ्रमित गर्दै उनीहरूको संरक्षण गरिरहेको छ । प्रजातन्त्र र लोकतन्त्रको निम्ति अथाह कुर्बानी गरेका आधुनिक जुकाहरूको मुटुमा पैसाबाहेक केही नभएको लोकतन्त्रले देख्न पाएको छ । मुलुकवासीको पछिल्लो बुझाइ र भोगाइमा सिंहदरबार एउटा पुँजीवादी मेसिन हो । यसलाई बचाउन नगद खुवाउनुपर्छ । विकसित मुलुकले आफ्ना नागरिक र मुलुकलाई सुरक्षित र सुन्दर भविष्यको निम्ति ‘एआई’को विकास गरेको छ । आधुनिक लोकतन्त्र एआई र दिग्गज ओपन एआईबीच रमाउँदै छ । दुर्भाग्यवश नेपाल भने नक्कली भुटानी शरणार्थी जन्माउन, भिजिट भिसामा आफ्नै नागरिक ठग्न व्यस्त छ ।

मुलुकमा नागरिक क्रोध अभूतपूर्व छ । आक्रोशले सीमा नाघेको छ । गणतान्त्रिक भ्रष्टाचारले परिवर्तनलाई स्वागत गरिरहेको छ । राजनीतिको नाममा नागरिक बेच्दै मोजमस्ती गर्ने डाँकाहरूको कथित कार्यले आक्रोशलाई इन्धन भरेको छ । शक्तिशाली छविमा आँच आएको प्रधानमन्त्री ओलीको जिब्रोले गणतन्त्रलाई रोगी बनाउँदै छ । विश्व योजनाबद्ध विकासमा दिनरात एक गर्दैछ । मरेको संसद् र मरेको पार्टी ब्युँताउने भूतपूर्व क्रान्तिकारीहरू एआई शैलीमा मुलुक लुट्दैछन् । लुट, झुट, ठगी, षडयन्त्र र भ्रष्टाचारलाई लोकतान्त्रिक गणतन्त्रको योग्यता र क्षमता बनाउँदैछन् । नैतिकता, सिद्धान्त र नागरिकको कुरा गर्ने जति राजनीतिमा अयोग्य बन्दै छन् ।

दुःखको कुरा ! दृष्टिकोण समस्याग्रस्त र अनिश्चितताले भरिएको छ । चुनौतीहरू वास्तवमा महत्त्वपूर्ण छन् । मिडियाले विश्वसनीयता गुमाएको छ । मिडियाले युद्धलाई बिक्री गर्दैछ । क्रोधको व्यापार गर्दैछ । ठुलो झूटले सत्यलाई पछाडि पार्दैछ । पछिल्लो समयमा समाचार आउटलेटहरू, छिमेकी मुलुकको सिको टिप्दैछन् । उनीहरू टिभी दर्शकसँग कुरा गरिरहेका छैनन्, मिठो झुट खुवाउँदै छन् । अपराध र अपराधीको संरक्षक बनेको जोसमा सरकार बहादुर देखिँदै हिँड्छ । कसैले सोध्दैन- किन यस्तो भयो ? कुरा चपाउनु ब्यर्थ छ, राजनीतिक दलका कार्यकर्ता ‘गुन्डा’ र नेतृत्व ‘डन’ बनेका छन् । गणतन्त्र नागरिकसँग ‘हप्ता’ उठाउँदै बाँचेको छ ।

अन्तमा, प्रधानमन्त्रीको अशिष्ट जिब्रो, तुच्छ शब्द र कब्जा नीतिले पञ्चायतलाई उछिनेको छ । डुङ्डुङ्ती गन्हाएको सत्ताले सडक, अदालत, संसद्, संवैधानिक निकाय, निजामति कर्मचारी, प्रहरी प्रशासनपछि मिडिया दुरुपयोगको अभियान चलाएको छ । वर्तमान व्यवस्था, निर्वाचन प्रणाली, न्याय प्रणाली, उत्पादन नीति र राष्ट्रिय सुरक्षा नीति यथावत् राख्न चाहने शक्तिले सडक कब्जा गर्ने खतरा चुलिएको छ । विश्व बैङ्क र आइएमएफद्वारा लादिएका नीतिलाई छुन नसक्ने विद्रोहले मुलुकवासीको भाग्य नबदलिने निश्चित छ । पश्चिमा शक्तिले बुझिसकेका छन्- विद्रोह निश्चित छ । दुर्भाग्यवश मुलुकलाई बरबाद, कङ्गाल र असफल बनाउने कारणहरू यथावत् राख्दै विद्रोह सफल गराउने कोसिस चलिरहेको छ ।