अस्थिर राजनीति र ट्रम्प उदयको बाछिटा !

काङ्ग्रेस-एमालेको राजनीति आदर्श नहुन सक्छ, तर उनीहरूको विगत गतिशील थियो भन्ने मान्न सकिन्छ । मुलुकले स्वीकार गरेको परिवर्तनले ठुलो मात्रामा श्रमिक वर्गलाई त्यागेको छ । वास्तवमा काङ्ग्रेस-एमाले बेलगाम वामपन्थी बनेको सजाय नागरिक र मुलुकले भोगिरहेको छ । विश्व पुँजीवादको एजेन्टको रूपमा काम गरिरहेका ‘काङ्ग्रेस-एमाले’ले निम्त्याएको डरलाग्दो वामपन्थीकरणले मुलुकको अस्तित्व खतरामा परिसकेको छ । लामो समय प्रतिस्पर्धीबिना चलेको झोँकमा ‘काङ्ग्रेस-एमाले’ले यदाकदा देखाउने थोत्रो अभिमानलाई साइजमा राख्न पश्चिमी शक्तिले निर्माण गरेको चक्रव्यूहमा मुलुक फसिसकेको छ ।

सन् १९९० को राजनीतिक परिवर्तनपश्चात् मुलुकको अर्थतन्त्र अमेरिकी रणनीतिको छायामा परेको छ । प्रजातन्त्रको हत्या गर्न सुरु गराइएको ‘दक्षिण-पश्चिम’को रणनीतिक ध्वंशमार्फत उत्पादनमुलक नीति र उद्योग समाप्त गरियो । मुलुकलाई दलाली उद्योगतर्फ झोसियो, जसलाई सफल बनाउन ‘सोसल इन्जिनियरिङ’माथि हमला गरियो । रणनीतिक ध्वंश र आक्रामक ‘परिवार नियोजन कार्यक्रम’मार्फत वंशज नागरिकको सङ्ख्या घटाइयो । पटके परिवर्तनमार्फत अङ्गीकृत नागरिकको सङ्ख्या बढाइयो । डोनर राष्ट्रको ‘आर्थिक सहयोग र कार्यक्रम’ लादेर मुलुकलाई अपाङ्ग बनाइयो ।

यतिबेला संसदीय अखण्डतालाई सफलतापूर्वक बाइपास गरेका दुई प्रमुख दलको सत्तामा राइँदाइँ छ । नागरिकको उकुसमुकुसलाई सम्बोधन नगरे राजनीतिक उथलपुथललाई रोक्न सकिँदैन भन्ने भुसुक्कै बिर्सेको सरकार वंशवादको राजनीतिलाई नवीकरण गर्न सफल भएकोमा गद्गद छ । साथै संविधान संशोधनको महत्त्वपूर्ण काम थाती राख्दै ‘प्रचण्ड’लाई सबक सिकाउन सम्पूर्ण ऊर्जा लगाइरहेको छ । फलस्वरूप सत्ता राजनीति र अर्थतन्त्रबीच लुकेको गम्भीर तागतलाई बुझेको शक्तिले आर्थिक सुधार रोकेर बसेको छ । उल्लेखित तथ्यलाई अनदेखा गर्दै राजवंशलाई सत्ताबाट हटाएको उन्मादमा आफ्नै वंश स्थापित गर्न ‘ओली-देउवा’ले दक्षिण-पश्चिमको आशीर्वाद खोजिरहेको छ । जसले गर्दा अस्थिर राजनीति थप मौलाउँदै छ ।

मुलुकमा नागरिकको गुनासोहरूको समेत शोषण हुने गरेको छ । राजनीतिक अस्थिरताले असन्तुष्टि पैदा गरिरहेको छ । अभिजात वर्गको व्यवस्थापन र सुरक्षाले चिन्तित बनेको शासकले गल्ती न्यूनीकरण गर्न चाहेको छैन । मूल मुद्दालाई सम्बोधन नगर्ने शर्तमा मुलुकमा अनेक नामका आन्दोलन सम्पन्न गरिएका छन् । विदेशी प्रभावबाट कलङ्कित बनेका नेतृत्वले नागरिकको धारणा, आवाज र चाहनालाई थप जटिल बनाएको छ । विशेषगरी अर्थतन्त्र चौपट्ट भएको विषयलाई विषयान्तर गर्न सरकार केन्द्रित भएको देखिन्छ । सम्भ्रान्त वर्गको सेवा गर्दा बदनाम भएको सत्ताले अर्थपूर्ण सुधार र असन्तुष्टि कम गर्न असम्भव छ । उसले गर्न सक्ने भनेको मार्गप्रशस्त मात्र हो भन्ने बुझपचाएको छ ।

मुलुक स्थायित्व र आर्थिक वृद्धिको बाटोमा छ भन्ने शासकहरूको भनाइलाई नपत्याउनेहरू थपिँदै छन् । मुलुकको वास्तविक राजनीतिसँग युवाहरूको कुनै सम्बन्ध छैन । विरोधका लागि विरोध गरिरहेका अराजक विरुद्ध राज्यले हिंसात्मक कारबाही गर्न आवश्यक ठानेको छैन । मुलुकको इतिहासले चिच्याएर भनिरहेको छ । ०४८, ०५६ र ०७४ को संसदीय अङ्कगणितले राजनीतिक स्थिरता दिन सकेन । राजनीतिक स्थिरता फगत बोल्ने विषय मात्र हो, कार्यान्वयन गर्नु भनेको आफ्नो अधिकार गुमाउनु हो भन्ने सत्ताधारीहरूको धारणा रहँदै आएको छ ।

राजनीति त्यतिबेला बलियो हुनेछ जब तथाकथित ‘प्रगतिशील र वामपन्थी’हरूको गुलियोबाट मुक्त हुनेछ । दुर्भाग्यवश मुलुकमा वाम-प्रगतिशील भिन्टेजहरूको वैचारिक राजनीतिको सम्भावना अझै बाँकी छ । मुलुकबाट वैचारिक राजनीति बिस्तारै हराउँदै छ । विगत भुल्न नसकेका नेता र पार्टीले यदाकदा वामपन्थी आदर्शमा प्रतिबद्ध रहेको दाबी गरिरहेका छन् । निर्वाचनमा आकर्षक मानिने नारा ‘गाँस, बास र कपास’को जादु चलाउने असफल कोसिस गरिएका छन् । घोषणापत्र र नेताको जिब्रोबाट आवश्यकताअनुसार ‘समाजवाद’ शब्द निस्कँदै आएको छ । अन्तरपार्टी लोकतन्त्र जस्तो भएपनि लोकतन्त्रप्रतिको अतुलनीय प्रतिबद्धता निरन्तर जारी छ ।

सम्भवतः राष्ट्रपति ट्रम्पको अधीनमा, अमेरिकाले आफूलाई व्यवस्थित गर्नेछ । केही समयपश्चात् ‘नेटो’ र विश्व व्यापार सङ्गठन’बाट बाहिरिने छ । आर्थिक नीतिमा पुरानो शैलीको संरक्षणवादलाई अँगाल्न तम्सिने छ । कतिलाई लाग्न सक्छ- ट्रम्पको आगमनले विश्व राजनीतिमा रणनीतिक बदलाव आउने छ । वास्तवमा ट्रम्पले विश्वभर फैलिएको अमेरिकी शक्ति र विशाल सैन्य उद्योगलाई भत्काउन कुनै काम गर्ने छैनन् । जबसम्म राष्ट्रपति ट्रम्प ‘जियोनिज्म’ (Zionism) प्रति दृढतापूर्वक उभिने छन् । तबसम्म अमेरिकी नीति र रणनीति समान रहने छन् । राष्ट्रपति ट्रम्प स्पष्टरूपमा चीनविरोधी छन् । उनको ‘मेक अमेरिका ग्रेट अगेन’को नाराले विश्वलाई थप असुरक्षित बनाउने छ ।

अमेरिकाको विश्वव्यापी प्रधानतालाई घटाइरहेका मुलुकबाट सिक्नुपर्नेछ । सार्वजनिक चासोका मुद्दाहरूमा सिंहदरबारलाई जिम्मेवार बनाउन जरुरी छ । राजनीतिक आकर्षण र आन्तरिक गतिशीलता बढाउँदै राजनीतिक स्थिरता कायम गर्नुपर्नेछ । चीन र भारतप्रति अमेरिकी नीतिको प्रत्यक्ष असर मुलुकमा पोखिने छ । अमेरिकाले ‘चीन’को राजनीतिक र आर्थिक प्रभावलाई सीमित गर्न चाहन्छ । इन्डो-प्यासिफिक रणनीतिमा नेपाललाई जबर्जस्ती खिच्ने अमेरिकी नीतिबाट जोगिन राष्ट्रिय एकता कायम गर्नुपर्नेछ । मुलुकमा अमेरिकी चासो प्रत्यक्ष रूपमा उकालो चढ्दै छ । मुलुकको आर्थिक कमजोरी र राजनीतिक अस्थिरताको फाइदा उठाउने शक्तिले सुरु गराउने ‘आन्तरिक गडबडी र क्षेत्रीय विद्रोह’बाट मुलुकलाई जोगाउन सरकारले जनविश्वास कमाउनुपर्नेछ ।

विश्वका मिडियाले ट्रम्पले कसरी चुनाव जिते भन्दै खोजेको कठिन सवालको जवाफ सरल छ- अमेरिकी मतदाताले वास्तविक मुद्दा बुझ्ने कोसिस गरेनन् । उनीहरू अस्पष्ट भावनामा बाँच्न हौसिएका छन् । राष्ट्रपतिको रूपमा चार वर्षको अनुभव लिएका नवनिर्वाचित राष्ट्रपति ट्रम्पले महसूस गरिसकेका छन्, बढ्दो बहुध्रुवीय संसारमा अमेरिकामात्र प्रमुख शक्ति होइन । विश्वव्यापी भूराजनीतिमा घट्दै गएको क्षमतालाई उकास्न राष्ट्रपति ट्रम्पले जायज/नाजायज हरकत जरुर गर्नेछन् । जसले गर्दा उनको विदेश नीति कस्तो हुनेछ भन्ने विश्वले उत्सुकतापूर्वक पर्खिरहेको छ । तथापि ट्रम्पको अप्रत्याशित र आवेगपूर्ण व्यक्तित्वले अमेरिकी नीतिको पाठ्यक्रम थप अनिश्चित बन्नेछ ।

चुनावी अभियानका क्रममा ट्रम्पले बेइजिङसँग राम्रो सम्बन्ध राख्न चाहेको बताएका थिए । आफू चीनको आलोचक भए पनि ‘चीन र राष्ट्रपति सी’को सम्मान गर्ने बताएका ट्रम्पले व्यापारिक मुद्दाहरूमा कडा अडान लिनेछन् । ट्रम्प एक प्रचलित संरक्षणवादी हुन् । आर्थिक विज्ञहरूका अनुसार ट्यारिफ बढाउने र आप्रवासीहरूलाई सामूहिक निर्वासनको आदेश दिने उनको योजनाले मुद्रास्फीतिलाई थप इन्धन दिनेछ । उनको व्यापारिक प्रवृत्तिले अमेरिका र युरोपेली मुलुकसँगको सम्बन्धलाई तनावपूर्ण बनाउन सक्नेछ । उनको ट्यारिफ नीतिले विकासशील अर्थतन्त्रका लागि प्रहार हुनेछ, जसले विश्वव्यापी आर्थिक वृद्धिलाई कम गर्नेछ ।

अमेरिकी नीतिमा आमूल परिवर्तन हुने घटना ‘युक्रेन युद्ध’ हुन सक्नेछ । प्रायः ‘एक दिनमा’ युद्ध समाप्त गर्न सक्छु भन्ने ट्रम्पको दाबी ‘नेटो’ मुलुकको चिन्ताको विषय बन्दैछ । वास्तवमा ट्रम्प जो बाइडेनभन्दा कट्टर इजरायल समर्थक हुन् । उनसँग प्यालेस्टिनीहरूको दुर्दशाको लागि कुनै सहानुभूति छैन । मध्यपूर्वको सङ्कट कम गर्ने बहानामा गाजामा युद्धविराम गरेर ट्रम्पले एक तीरले बहु शिकार गर्न सक्नेछन् । विश्लेषकहरूले भन्दै आएका छन्- ट्रम्पका नीतिहरू ज्ञान र संस्थामा आधारित छैनन् । ट्रम्प एक-व्यक्ति शोमा रमाउँछन् । उनी व्यक्ति र व्यक्तित्वकेन्द्रित राजनीति गर्न रुचाउँछन् । ट्रम्प विश्वको लोकप्रिय नेता बन्न हतारिने छन् ।

हामी थप ‘असफल’ हुन सक्दैनौँ । मुलुकले उत्तर, दक्षिण र पश्चिमको ‘जमानत’माथि भरोसा गर्नु घातक हुनेछ । आफ्नो कमजोरीबाट बाहिर निस्कने उचित समय आएको छ । मुलुकमैत्री ‘विकास मोडल’ स्थापना गर्ने बाटोमा कदम राख्न जरुरी छ । शासकहरूको तिर्खा मेटाउने नाममा मुलुकले थप कुर्बानी दिन सक्दैन । अरूमाथि भर पर्ने बानी समय छँदै त्याग्न जरुरी छ । चीन, भारत वा अमेरिका या चीन, भारत र अमेरिका ! भन्दै बहुमूल्य ऊर्जा खर्च गर्नु भन्दा आफ्नै खुट्टामा उभिने बेला आएको छ । संसार परिवर्तन भइरहेको छ । राजनीति परिवर्तन हुनुपर्छ । हामीले परिवर्तन गर्नुपर्छ । नेपालले आफैंलाई रोज्नुपर्छ ।

अन्तमा, संयुक्त राष्ट्र सङ्घको सदस्यता रोक्ने र दिलाउने, प्रजातन्त्र फ्याँक्ने र हाइब्रिड लोकतन्त्र स्थापित गराउने, राजसंस्थाको कपटपूर्ण बिदाइदेखि ‘एमसीसी पुरस्कार’ स्वीकार गर्न बाध्य पार्ने घटनाहरूको सूक्ष्म अध्ययन गर्दा ‘दक्षिण-पश्चिम’को खतरनाक उपस्थिति जताततै देखिन्छ/भेटिन्छ । मुलुकको संविधानलाई फगत नोटिसमा लिने दक्षिण र वर्तमान संविधानको मेरुदण्ड अमेरिकाको नेपाल-नीति मुलुकवासीले चाहेजस्तो कहिल्यै रहेन । रुसी राष्ट्रपति पुटिनको प्रत्यक्ष सक्रियतामा गत सेप्टेम्बर १२ मा सम्पन्न ‘भारत-चीन’को सुमधुर सम्बन्ध भत्काउन अमेरिकाले कुनै कसर राख्ने छैन । यस्तो अवस्थामा निर्वाचनमार्फत उदाएका ‘ट्रम्प’ले लिने दक्षिणएसिया-नीति ‘ओली-देउवा’ सहकार्य भत्काउने/भत्कने कारण बन्न सक्नेछ ।