प्रोक्सी विद्रोह !
मुलुक ‘थेसिस र एन्टी थेसिस’मा फसेर बस्न सक्ने अवस्थामा छैन । विगतमा प्रश्न गर्दै स्थापित भएका दलहरू आफ्नै विरुद्ध उठेका प्रश्नहरू शान्त पार्न नसक्ने अवस्थामा पुगेका छन् । अरूलाई प्रश्न गरेकै भरमा सोसल मिडियाद्वारा सेलिब्रेटी बनेका/बनाइएका पात्रहरू प्रश्नभन्दा माथि बस्न पाउनुपर्छ भन्ने सोचले ग्रस्त छन् । राजनीतिक लाभार्थीहरू विगतको जीवनकाल बिर्सन आतुर छन् । हाइब्रिड उपलब्धिको जगमा वर्तमान भताभुङ्ग बनाइएको मुलुकमा लादिएको निर्वाचन पद्धतिले ‘हाइब्रिड लोकतन्त्र र संविधान’लाई थप असुरक्षित बनाउँदै छ ।
मुलुकले अकाट्य तथ्यलाई अनदेखा गरेको लामो समय भइसकेको छ । विभिन्न सन्दर्भहरूमा, मुलुकले सामना गरिरहेको समस्याहरू समाधान गर्ने ल्याकत मुलुकसँग देखिँदैन । निःसन्देह ज्ञान, सीप र नयाँ कुरा सिक्न समय लाग्छ । च्याटजीपीटी जस्ता एआई उपकरणको आगमन भइसकेको समयमा मुलुक ‘कुतर्क’को प्रविधिमा रमाइरहेको छ । जेनेरेसन ‘जेड’ (अक्सफोर्ड डिक्सनरी अनुसार सन् १९९० र २०१० को बीचमा जन्मिएका मानिसहरूको समूह)को बुझाइमा ‘गुगल’ले भगवानसँग उठबस गरिरहेको या गरिसकेको छ । तमाम जिज्ञासाको जवाफ गुगलसँग मात्र छ भन्दै आधारभूत तथ्यलाई ज्ञानको रूपमा नलिने पछिल्लो पुस्ताले मर्मतमा विश्वास गर्दैन । टेलिभिजन, इन्टरनेट र सोसल मिडियाले तथ्य, समाचार र दृश्यहरूमा बढाएको पहुँचलाई युवा पुस्ताले सूक्ष्म अध्ययन गर्न जरुरी ठान्दैन । पश्चिमा स्वार्थ र रणनीतिको निम्ति ‘समाचार र विचार’को समेत कारखाना स्थापना गरिएको हुन्छ/छ भन्ने बुझ्न चाहँदैन ।
प्याकेजमा पस्किएका भ्रममार्फत सर्वसाधारण नागरिकलाई अन्धकारमा राख्ने अभियान उत्कर्षमा पुऱ्याइएको छ । पटके परिवर्तनपश्चात् मुलुक सम्पूर्णरूपमा पश्चिमा पकडमा पुगेको छ । अनेक नामका अभियन्ताको उत्पादन गर्दै उनीहरूको लालनपालन गरिएको छ । संसद्, सडक, न्यायालय, राजनीतिक दल, शीर्ष नेतृत्व लगायत विद्वान् वर्गभित्र पश्चिमा शक्तिले जबर्जस्त पकड जमाएका छन् । पश्चिमा उपलब्धिले नेपाल र नेपालीको कल्याण गर्दैन भन्ने बुझेका उनीहरू चलाखीपूर्वक उपलब्धि जोगाउने रणनीतिमा काम गरिरहेका छन् । दुर्भाग्यवश उनीहरू ढुक्क हुन सकिरहेका छैनन् । फलस्वरूप परीक्षण र परीक्षा दोहोऱ्याउँदै छन् । आवश्यकताअनुसार नतिजा प्राप्त गर्न आतुर छन् ।
कथित पश्चिमा उपलब्धिले सिर्जना गरेका तमाम असन्तुष्टिको दोष असफल नेतृत्वको थाप्लोमा हाल्न सोसल मिडियाको रणनीतिक प्रयोग गरिएको छ । अध्ययन गर्ने, सोच्ने, विश्लेषण गर्ने र तर्क गर्ने नागरिकको क्षमता समाप्त पारिएको छ । देशभक्त र बुद्धिमान् नागरिकलाई वर्तमान राजनीतिक प्रणालीले बोझ ठानेको लामो समय भइसकेको छ । राजनीतिक षड्यन्त्रपश्चात् आसन्न विनाश नयाँ चरणमा प्रवेश गरेको छ । स्वघोषित ‘वरिष्ठ विश्लेषकहरू’ले पश्चिमा उपलब्धि जोगाउन नागरिकसामु ‘तथाकथित आहार’ पस्किँदै छन् । नागरिकले खोजेका परिवर्तन रोक्न रणनीतिक द्वन्द्वको तयारी गरिँदै छ ।
आधुनिक प्रविधि, इन्टरनेट र सोसल मिडियाको रणनीतिक प्रयोग गर्ने शक्तिले मुलुकलाई थप खोक्रो र कङ्गाल बनाउने तारतम्य मिलाउँदै छ । छल, घृणा र विभाजनको नयाँ-नयाँ माध्यमहरू मुलुकले देखेको/भोगेको छ । तथाकथित ढङ्गले राजनीतिक भगवान् बनेका/बनाइएका पात्रहरूको कुरूप अनुहार खुल्न थालेको छ । राजनीतिको ‘क्याल्कुलस’ निर्दयी हुन्छ । प्रतिद्वन्द्वी जति धेरै प्रतिकूल र अराजक हुन्छन्, सत्तारुढ वर्ग खुसीले हौसिन्छन् । जसको फाइदा फेरि पनि तिनै शक्तिले उठाउने छन् । डिजिटल सिपाहीहरू कुनै योद्धा होइनन्, उनीहरू सर्वसाधारणको असन्तुष्टिलाई नगदमा रूपान्तरण गर्ने आधुनिक व्यापारी मात्र हुन् भन्ने नागरिकले नबुझेसम्म विद्रोहको रिमोट उनीहरूको हातमा रहने छ ।
भनिँदै छ, जेफ बेजोस र मार्क जुकरबर्गको सम्पत्ति अमेरिका र चीनको बाहेक विश्वका ‘हरेक’ देशको जिडिपी भन्दा धेरै छ । अनलाइन प्रविधिलाई हतियारको रूपमा प्रयोग गर्दै उदाएका कथितहरू ‘क्रान्तिकारी परिवर्तन’को बीउ बनेका छन् । जेफ बेजोसले कारमा किताब बेचेर अमेजनको यात्रा सुरु गरे । मार्क जुकरबर्गले छात्रावासबाट फेसबुक बनाए । युवा दिमाग विनाशको सट्टा सृष्टितिर लागेमा के-के हासिल गर्न सकिन्छ भन्ने बुझ्न जुकरबर्ग र सेफ बेजोसको जीवनी काफी छ । दुर्भाग्यवश प्रतिभाशाली र रचनात्मक बन्दै संसार परिवर्तन गर्न सक्ने युवा शक्ति कुहिरोको काग बनिरहेका छन् । उनीहरूमा क्षमता होइन, दिशा र उद्देश्यको कमी छ । युवाहरू क्रान्तिकारी बन्न, भाइरलमा विश्वास गर्न र डिजिटल भीडको नेतृत्व गर्न हतारिएका छन् ।
मुलुक अस्तव्यस्त अवस्थामा छ । देशमा प्राकृतिक सम्पदाको कमी छैन, प्रतिभाको कमी पनि छैन । प्रकृतिको अपार उपहारले भरिपूर्ण हामी गरिब हुन प्रतिस्पर्धा गरिरहेका छौँ । भ्रमित र डिजिटल पाइड पाइपर्सको धुनमा मार्च पास गरिरहेका छौँ । लहड र भ्रमको आधारमा भविष्य निर्माण गर्न सकिँदैन भन्ने तथ्यलाई युवाहरूले अनदेखा गरिरहेका छन् । मुलुक र नागरिकको भविष्य निर्माण अनलाइनयुद्धबाट सम्भव छैन भन्ने बिर्संदै छन् । अधिकांश युवाको असन्तुष्टि आर्थिक आत्मनिर्भरताको कमीबाट उत्पन्न हुने गरेको छ । दुर्भाग्यवश आजसम्म नीतिनिर्माताहरूले आर्थिक सशक्तीकरणलाई ध्यान दिएको भेटिँदैन । उचित रोजगारीको अवसर सिर्जना गर्ने, श्रमबजारको निर्माण गर्न आवश्यक पहल गर्ने, युवा श्रमिकको शोषणलाई रोक्ने, नातावादमुक्त रोजगारीका अवसरहरू सिर्जना गर्न सिंहदरबारको सक्रियता आजसम्म देखिएको छैन । विशेषगरी महिलाहरूलाई सशक्त बनाउने, उनीहरूलाई आर्थिक र शैक्षिक अवसरहरू दिलाउन राज्यले दिनरात एक तुल्याउनु पर्नेछ । वस्तुनिष्ठ परिवर्तन गर्न प्रविधिको सदुपयोग, समाज परिवर्तन एजेन्डाको आत्मसाथ, आविष्कारको निम्ति राष्ट्रिय लगानी, क्रोध, दुर्व्यवहार र झूटको विरुद्ध लाग्नु पर्नेछ । तबमात्र मुलुकले स्वतन्त्रता र परिवर्तनको स्वाद चाख्न पाउनेछ ।
हरेक सत्ताले युवालाई उत्तेजित हुने र सङ्गठित हुने वातावरण बनाउँदै आएको हुन्छ । युवाहरू एकताबद्ध र सङ्गठित हुने अवसरले मुलुकलाई कहिल्यै नोक्सान पुऱ्याउँदैन । असन्तुष्टिलाई प्रभावकारी बनाउन नसकेसम्म युवाले मुलुकलाई कुनै गुन लगाउन सक्दैन, तर उनीहरूको क्रोध र निराशा व्यक्त गर्ने शैलीको मूल्य पूरै मुलुकले तिरिरहेको हुन्छ । कडा परिश्रम, त्याग, रगत र पसिनाले मात्र मुलुक बन्न सक्छ । रातारात मुलुकको अवस्था परिवर्तन गर्न सम्भव छैन । तर, ‘मुलुक बन्छ/बनाउँछौँ’ भन्दै रातारात झुल्किएका कथित एजेन्टहरूलाई स्वागत गर्न दुर्भाग्यवश मुलुक हतारिएको छ, जसले गर्दा मुलुकवासी निरन्तर ठगिँदै छन् । पुर्खाले निर्माण गरेको मुलुक सन्ततिलाई हस्तान्तरण गर्न नसक्ने अवस्थामा पुग्दैछ ।
हरेक कालखण्डमा राजनीतिक बहसको एउटा महत्त्वपूर्ण विषय युवा विकास बन्दै आएको छ । तर पनि आजसम्म नीति निर्माताहरूको सक्रियता अस्पष्ट र धिमा छ । युवाहरूको जीवनस्तरमा गुणात्मक प्रभाव पार्न नसक्ने राजनीतिले विनाश निम्त्याउन सक्छ । बदलिँदो समय र प्राविधिक विकाससँग युवालाई नजोड्ने रणनीतिक परिवर्तनको भयावह रूप र स्वरूप आम नागरिकले देख्न पाएका छन् । आउटसोर्सिङलाई विकल्प मान्दै युवालाई रुष्ट बनाउने हाइब्रिड लोकतन्त्र मुलुकलाई महँगो बनिरहेको छ । राष्ट्रिय मुद्दाहरूको सम्बोधन गर्न एक सूक्ष्म दृष्टिकोण आवश्यक छ । दुर्भाग्यवश सोसल मिडियाबाट समाधान खोज्ने प्रयासमा मुलुकलाई फसाइएको छ ।
प्रजातन्त्रदेखि हाइब्रिड लोकतन्त्रसम्म आइपुग्दा कथित नेतृत्व पटक-पटक असफल साबित भएको छ । यद्यपि यो असफलता उनीहरूको मात्र थिएन । स्थायी सरकार मानिने कर्मचारीतन्त्रको असफलता समेत थियो । निःसन्देह कर्मचारीतन्त्रले आफ्नो गल्ती कहिल्यै देख्दैन । उसले आफूलाई ‘तटस्थ र अनुशासित कार्यान्वयनकर्ता’ मात्र भएको दाबी गरिरहन्छ । तमाम कमी-कमजोरी र खराब निर्णय प्रणालीमाथि थोपार्दै पानीमाथिको ओभानो बन्न हौसिन्छन् । वास्तवमा हाम्रो सरकार निजामती कर्मचारीको हो । यसले कुलीन वर्गको सेवा र सुरक्षामा मरिहत्ते गरिरहेको छ । यस्तो अवस्थामा कर्मचारीतन्त्रद्वारा सिर्जना गरिएका निकाय र पदहरूले नागरिकको असन्तुष्टिमा इन्धनको काम गरिरहेको छ । फलस्वरूप ‘सामाजिक राजनीतिक’ समस्या थप उकालो चढ्दै छ ।
मुलुक ‘अनियन्त्रित भ्रष्टाचार र अराजकता’मा फसिसकेको छ । कथित नेतृत्वको लाजमर्दो गतिविधिपश्चात् मुलुक विद्रोहतर्फ लम्किएको छ । असीमित सक्रियता र रणनीतिक लगानीपश्चात् भित्र्याइएको हाइब्रिड उपलब्धि र पश्चिमा लगानी डुब्ने अवस्थामा पुगेको छ । नागरिकभित्र जागेको/जगाइएको सम्पूर्ण असन्तुष्टिको सूक्ष्म अनुसन्धानपश्चात् उनीहरू चिन्तित छन् । जसले गर्दा ‘ओली, देउवा, दाहाल र लामिछाने’को विकल्प खोज्न पश्चिमा शक्ति हतारिएको छ । पश्चिमा शक्तिलाई राम्रोसँग थाहा छ, ‘विद्रोह देशभक्त नागरिकको नैसर्गिक अधिकार हो ।’ सडक र सोसल मिडियामार्फत आफ्ना एजेन्टहरूलाई राजनीतिक स्थान दिलाउन सकेकै भरमा ‘राष्ट्रिय मुक्तिको आन्दोलन’ लामो समय रोक्न सकिँदैन । यस्तो गम्भीर र डरलाग्दो तथ्यलाई बुझेको पश्चिमा शक्तिले ‘प्रोक्सी विद्रोह’ गराउँदै पुरानो शक्ति र उपस्थिति कायम राख्न सम्पूर्ण तागत लगाइरहेको छ ।