दयनीय अवस्थामा मुलुक !
हाइब्रिड लोकतन्त्र विगतको व्यवस्था भन्दा राम्रो छ भनी विश्वस्त गराउन नसकेको अवस्थामा सोकल्ड नेतृत्व रन्थनिएको छ । आयातित उपलब्धिपश्चात् पुरानो उपकरण, सोच र शैलीलाई रिब्रान्ड गरेर मुलुक निर्माण गर्ने उद्देश्य सम्पूर्ण रूपमा असफल भएको छ । गलत सूचनाको युगमा ! ‘राज्य’ कानुनको शासन स्थापना गर्ने र सामाजिक आर्थिक विकास सुनिश्चित गर्नुपर्ने तीव्र दबाबमा छ । भ्रष्टहरूको प्रचारको प्रतिरोध गर्न हम्मे परेको सरकारले भ्रष्टहरूको संरक्षण गरिरहेको नागरिकको बुझाइ छ । राज्यले आफ्नो क्षमता ‘विकास र विस्तार’ गर्न नसकेको अवस्था छ ।
व्यापारीको घरमा प्रधानमन्त्री कोरल्ने हाइब्रिड लोकतन्त्रमा फैलिएको अराजकताले मुलुकलाई विचित्र ढङ्गले गाँजेको छ । अराजकहरूको कथित बहसले मुलुक थिलथिलो बनिसकेको छ । राज्यको ऐतिहासिक पहिचानमाथि धावा बोलिएको छ । बलियो सामाजिक बन्धन जबर्जस्ती भत्काइएको छ । कथित स्वतन्त्रताको नाममा मुलुक असफल राष्ट्र बनाउने अभियान तीव्र गतिमा चलाइएको छ । राजनीतिक एजेन्टहरू ‘मुलुक नबनेको उपलक्ष्य’मा प्रफुल्ल छन् । मालिकको भत्ता र प्रोत्साहनमा झुम्दै छन् । दुर्भाग्यवश कथित नेतृत्व कुर्सी जोगाउन व्यस्त छ ।
‘राजा र पञ्च’लाई गाली गरेर देश बनेन । अमेरिकालाई साम्राज्यवादी, भारतलाई विस्तारवादी र चीनलाई निरङ्कुशतावादी भनेर पनि देश बनेन । नारा, जुलुस, बन्द, हडताल, विद्रोह, आन्दोलन, जनआन्दोलन, घोषणापत्र, निर्वाचन, ऐन, नियम, कानुन, संविधान परिवर्तनले पनि देश बनेन । हुँदा-हुँदा काङ्ग्रेस, एमाले, माओवादी केन्द्रको विरोध गरेर पनि देश बनेन । उल्लेखित तमाम घटनालाई चटक्क बिर्सेर सोसल मिडिया र मिडियामार्फत तथानाम गाली गरेर पनि देश बनेन । राजनीतिक दल, नेता, शीर्ष नेता, सोकल्ड नेता, टिके नेता, निर्वाचित नेता, समानुपातिक नेता, सेलीब्रेटी नेता, अमेरिका रिटर्न नेता, अनपढ नेता, अलि–अलि पढेका नेता, डाक्टर नेता, जेल बसेका नेता, होटेल पसेका नेता, हेलिकप्टर चढ्ने नेता, ट्याम्पो चढ्ने नेताबाट पनि मुलुक बनेन ।
विश्व प्राविधिक क्रान्तिको शिखरमा उभिएको छ । वैश्य युगमा इन्टरनेटले विश्वलाई ठुलो गुन लगाएको छ । डिजिटल प्रविधि बौद्धिक क्षेत्रभन्दा बाहिर र आर्थिक क्षेत्रमा समेत फैलिएको छ । डिजिटल प्लेटफर्महरूले रोजगारीको परम्परागत धारणालाई चकनाचुर पारेको छ । उदीयमान अर्थतन्त्रहरूमा, डिजिटल उपकरणहरूले उद्यमीहरूलाई अभूतपूर्व गतिमा फाइदा पुऱ्याएको छ । विश्वलाई विकासको नयाँ उचाइमा पुऱ्याएको छ । दुर्भाग्यवश आयातित उपलब्धिलाई सर्वस्व ठानेर सुतेको कथित सरकारहरू मस्त निदाएर मालिकको सेवा गर्दैछन् ।
विकसित विश्व कृत्रिम बुद्धिमत्ता, क्वान्टम कम्प्युटिङ र मेसिन लर्निङको सीमा विस्तारमा घोत्लिएको छ । यातायात र कृषिलाई रूपान्तरण गर्न कम्मर कसेर लागेको छ । उनीहरू ऊर्जा प्रणाली र जलवायु परिवर्तनसँग लड्न प्रविधिको अधिकतम प्रयोग गर्दैछन् । विकसित संसारले स्वास्थ्य सेवामा, जिन सम्पादन र बायोइन्जिनियरिङसम्म प्रविधिको अग्रगामी प्रयोग गरिरहेको छ । मानवस्वास्थ्य र दीर्घायुमा अभूतपूर्व उपलब्धि हासिल गरिसकेको छ । दुर्भाग्य ! हाम्रो मुलुक ‘गजुरीबाट नौबिसे’सम्म आइपुग्दा १५ ठाउँमा चेकिङ गरेर बसेको छ । मुलुकको लाइफलाइन मानिएको, राजधानीलाई पाल्ने महत्त्वपूर्ण भूमिका निभाइरहेको एकमात्र सडकको दुर्गति हेर्दै ‘सुखी नेपाली समृद्ध नेपाल’को गीत गाइरहेको छ । यस्तो दुःखदायी र लाजमर्दो अवस्थामा असफल राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र, नीति निर्माता र योजनाविद्सँग मुलुक किन बनेन भनेर प्रश्न गर्नु औचित्यहीन कार्य हुनेछ ।
शक्तिशाली मुलुकहरूले आफ्नो प्रभुत्व कायम राख्न अनेकौँ अस्त्र विकास गरेका छन् । डिजिटल प्रविधि, सोसल मिडिया नेटवर्क र प्लेटफर्म, आर्थिक नीति, ब्रिटेनवुड संस्थाहरू, गरिबीको उत्पादन, रणनीतिक अस्थिरता, आतङ्कवाद, मानवअधिकार लगायत ठुला मेगा प्रोजेक्टहरू सञ्चालन गरिरहेको छ । जब-जब विकासउन्मुख मुलुकले राजनीतिक स्थिरतामार्फत आर्थिक वृद्धितर्फ पाइला राख्न थाल्छन् तब-तब अनेक गतिविधि गर्दै राजनीतिक द्वन्द्वको खेती सुरु गराउँदै आएका छन् । परिवर्तनको नाममा अनुपयुक्त विषय र वस्तुलाई संविधानमा समावेश गर्दै अस्थिर स्थिरता कायम गर्दै आएका छन् ।
व्यापार प्रतिस्पर्धात्मकता हासिल गर्ने प्रारम्भिक बिन्दु भनेको निर्यात प्रवर्द्धन र घरेलु हितको रक्षाबीच सन्तुलन कायम गर्नु हो । यस अर्थमा भन्दा मुलुकले निर्यात आधार विकास गर्न र बजार फेला पार्न सकेको छैन । देशले अन्तर्राष्ट्रिय बजारमा स्थान बनाउन सकेको छैन । निर्यात लगभग ठप्प छ । मानव निर्यात गरेर बसेको सरकारलाई वस्तु र बजारको विविधीकरण गर्नुपर्छ भन्ने ज्ञान र जाँगर रहेको देखिँदैन । वास्तवमा व्यापार घाटा फराकिलो भएको छ । मुलुकले नयाँ घरेलु आर्थिक योजना खोजिरहेको छ । अर्थतन्त्रको वर्तमान संरचनाले उत्पादकत्व वृद्धिमा बाधा पुऱ्याइरहेको छ । नयाँ विकास योजनाले निर्यातमुखी नीतिहरू पछ्याउन जरुरी छ । अर्थतन्त्रमा निजी र वैदेशिक लगानीलाई बढावा दिने लगानीको वातावरण सुधार गर्न सुधारात्मक कार्यहरूको तत्काल आवश्यकता छ । कर्मचारीतन्त्र, न्यायपालिका र कमजोर राजनीतिक व्यवस्थाले अर्थतन्त्रको हातखुट्टा बाँधेको छ ।
वैश्य युगमा कथा बिक्दैछ । सर्वसाधारण नागरिकको नजरमा राजनीतिक नेतृत्व प्रति असन्तोष चुलिँदै छ । आममानिसहरू हरेक चिज नयाँ खोज्दैछन् । सोसल मिडिया क्रान्ति, भौतिकवादको अकल्पनीय विकास र विज्ञानले आम मानिसलाई यथास्थितिमा बस्न दिएको छैन । उनीहरू हरेक सामान उत्कृष्ट खोज्दैछन् । छिटो-छिटो नयाँ मोडेलको स्मार्टफोन खोज्दैछन् । अभिभावकहरू बालबालिकाको उन्नत भविष्यको निम्ति शिक्षा, शिक्षक र विद्यालय परिवर्तन गर्न तँछाडमछाड गर्दैछन् । पारपाचुकेको मुद्दा लड्दा समेत नामचिन वकिल खोज्दैछन् । लेटेस्ट मोडेलको आइफोन, नयाँ फेसन, नयाँ गाडी, सुपर कम्प्युटर चाहन्छन् ।
गाउँबाट जिल्ला सदरमुकाम, जिल्ला सदर मुकामबाट राजधानी, राजधानी छोड्दै अस्ट्रेलिया, क्यानडा, अमेरिका जान सबै उपाय लगाएका छन् । रोजेका मुलुक जान नसक्नेसमेत मुलुकमा बस्न इच्छुक छैनन् । नागरिक परिवर्तन खोजिरहेका छन् तर परिवर्तित हुन तयार छैनन् । हामी हरेक चिज नयाँ खोज्दैछौँ । आफ्नो चाहना पूरा नभएको महसूस हुनासाथ पुरानो कुरा त्याग्न तयार हुन्छौँ । दुर्भाग्यवश हामी पुराना मोडेलका नेता बदल्न तयार हुँदैनौँ । टेस्टेड, आउटडेटेड र थकित नेतालाई मतदान गरेर परिवर्तन खोज्दैछौँ । अझ रोचक कुरा कुकुरले घरको रक्षा गरेन भन्दै ब्वाँसो पाल्न हौसिँदै छौँ ।
यतिबेला सिंहदरबारको कथा र मुख्य कथा बदलिँदै छ । मानिसको नजरमा ‘मित्र’ र ‘शत्रु’को परिभाषा बदलिँदै छ । ‘मित्रतापूर्ण’ वा ‘शत्रुतापूर्ण’ प्रश्नको आधारहरू बदलिँदै छन् । राजनीति विचित्रको द्वन्द्वमा फसेको छ । मुलुक डरलाग्दो विश्वासको सङ्कटमा फसेको छ । आधुनिक राज्य मध्ययुगीन संरचनाबाट चल्दैन । सरकारी काम आउटसोर्सिङले थलापरेको छ । राज्य चौतर्फी सङ्कटको आँधीमा फसेको छ । खानकै निम्ति सहयोग र सहकार्य गरेको सत्ताले नागरिकको धारणा र दृष्टिकोणलाई नजरअन्दाज गरिरहेको छ । दलीय ‘अन्तर्विरोध र अवसरवाद’मा खेल्नेहरूले ‘हाइब्रिड शासन’को उमेर बढाउँदै छन् । नागरिकको वैधता गुमाउँदै जाँदा विदेशी शक्तिसँग अतिरिक्त सम्झौता गर्न विवश छन् ।
यतिबेला इन्जिनियरिङ र सोसल इन्जिनियरिङ ध्वस्त भएको सजाय मुलुकले भोगिरहेको छ । दुई दिन परेको पानीले सिंहदरबारको असली ल्याकत देखाइदिएको छ । विपद्पश्चात् सक्रिय देखिने सरकारको कार्यशैलीले राज्यको नैतिक आधारहरू रित्तिएको छ । प्राकृतिक दोहन, विभाजनकारी राजनीति, भत्किएको नेपालीपन र बढ्दो भ्रममा परेका नागरिकले हाइब्रिड लोकतन्त्रको मूल्य चुकाउनु परेको छ । वर्तमान गडबडीलाई अवसरमा बदल्न सक्ने, मुलुकमैत्री दृष्टिकोण पस्किन सक्ने, बौद्धिक र विचार निर्माण गर्न सक्ने, ‘मुलुक र समाज’लाई निराशाबाट बाहिर निकाल्न सक्ने कार्यशैली र नयाँ प्रजातिको नेतृत्व मुलुकले खोजेको छ ।
‘परिवर्तन बिना प्रगति असम्भव छ, र जो आफ्नो मन परिवर्तन गर्न सक्दैन, केही परिवर्तन गर्न सक्दैन’ भन्ने जर्ज बर्नाड शाको भनाइ कण्ठस्थ गरेका युवा पिँढी देशमा बसेर परिवर्तन हुन चाहेन । उनीहरूले मुलुकमा भविष्य नदेख्नुलाई परिवर्तन ठानेका छन् । यद्यपि मुलुकले परिवर्तन खोजिरहेको छ । थलिएको भूतपूर्व एजेन्डा ब्युँताउने खेल बरालिएको छ । परिवर्तनको एजेण्डाले आकार ग्रहण गर्न सकिरहेको छैन । जसले गर्दा हाइब्रिड लोकतन्त्र ‘शक्तिहीनको शक्तिलाई थप परीक्षण गर्ने’ दुस्साहस गरिरहेको छ ।
उत्पीडकहरू सधैँ श्रेष्ठ हुन्छन् भन्ने मान्यता मुलुकमा स्थापित गरिएको छ । दुनियाँलाई थाहा छ- ‘रगत र पानी एकसाथ बग्न सक्दैन ।’ मुलुक आफ्नै गतिविधिबाट आश्चर्यचकित छ । प्रत्येक नागरिक कानुनको नजरमा समान हुन्छ र सबै संस्थाहरूले कानुनी सीमाभित्र काम गर्छन् भन्ने विषय ओझेलमा परेको छ । राजनीतिक नेतृत्वको गुरुत्वाकर्षण गुमेको समयमा मुलुकले दूरदर्शीहरू खोजिरहेको छ । विवाद गरिरहन जरुरी छैन, मुलुकले अपनाएको विकास मोडेल असफल सिद्ध भएको छ । त्रुटिपूर्ण संविधान, फैसलामुखी न्याय प्रणाली, थकित कर्मचारीतन्त्र, व्यवस्था पाल्न नपुग्ने राष्ट्रिय आम्दानी र कुशासनले मुलुक थलिएको छ । यस्तो भयावह अवस्थाबाट मुलुकलाई मुक्ति दिलाउन अग्रसर हुनुको सट्टा सुशासन र परिवर्तन चाहने युवाहरू भ्रष्टलाई जोगाउन पार्टी कार्यालयमा उपस्थित हुने रोगसमेत थपिँदा मुलुकको अवस्था थप दयनीय बन्दै छ ।