लोकतन्त्रबिनाको लोकतन्त्र !

वैश्य युगमा सत्ता-राजनीतिले नागरिकलाई चलाखीसाथ विभाजन गर्दै अभिजात, मध्यम र गरिब वर्ग बनाएको छ । मध्यम वर्ग विद्रोह गर्न रुचाउँछ तर क्रान्ति गर्न हच्किन्छ । गरिब वर्गको अधिकांश आय श्रमबाट प्राप्त हुने गर्दै आएको छ । पुँजीगत आय अभिजात वर्गबाट प्राप्त हुँदै आएको छ । जब सत्ता अभिजात वर्गको पक्षमा ढल्किन्छ, तब धनी र गरिब बीच सङ्घर्ष हुँदै आएको छ ।

राजनीतिक सिद्धान्तले भनिरहेको छ- लोकतन्त्रले अधिकांश नागरिकद्वारा मन पराइएको सामाजिक विकल्पतर्फ लिएर जान्छ । त्यसैले नागरिक लोकतन्त्र मन पराउँछन् । लोकतन्त्र तब प्राप्त हुन्छ, जब नागरिकसँग पर्याप्त राजनीतिक शक्ति हुन्छ । यद्यपि आम नागरिक उत्तम सामाजिक विकल्प र नीतिको निम्ति लड्छ र, सकारात्मक परिणाम पर्खेर बस्छ । गतिशील दुनियाँमा विभिन्न सामाजिक समूह र राजनीतिक शक्ति लोकतन्त्र कब्जा गर्ने असफल कोशिस गरिरहन्छन् ।

आधुनिक लोकतन्त्रले मान्दै आएको छ- समाजको आर्थिक र राजनीतिक संरचना राजनीतिक संस्थासँग जोडिएको हुन्छ । यसलाई सजिलोसँग बुझ्न, कुनै देशमा लोकतन्त्र हुन्छ । कुनै मुलुकमा किन हुँदैन भन्ने प्रश्न गर्नु उचित हुनेछ । अझ रोचक तथ्य कुनै मुलुकमा लोकतन्त्र किन लोकतन्त्रमा पुगेर टुङ्गिन्छ भन्ने बुझ्न जरुरी छ । Economic Origins of Dictatorship and Democracy भन्ने पुस्तकमा Daron Acemoglu / James A Robinson ले राजनीतिक विकासको चार मुख्य मार्ग प्रस्तुत गरेका छन् । पहिलो मार्ग त्यो हो, जहाँ बिस्तारै-बिस्तारै गैरलोकतन्त्रबाट लोकतन्त्रतर्फ जान्छ । एक पटक लोकतन्त्र आएपछि लोकतन्त्रलाई कहिल्यै खतरा हुँदैन । यो अझै मजबुत बन्दै जानेछ । बेलायतलाई राजनीतिक विकासको पहिलो मार्गको सबैभन्दा उत्कृष्ट उदाहरण मानिँदै आएको छ ।

दोस्रो मार्ग- जहाँ लोकतन्त्र आउँछ, केही समयपश्चात् भत्किन्छ । तत्पश्चात् प्रारम्भिक चरणमा नेतृत्व गर्ने शक्तिले लोकतन्त्र पुनर्प्राप्तिको नेतृत्व गर्छ । यो चक्र निरन्तर चलिरहने छ । बिसौँ शताब्दीको दौरान अर्जेन्टिनालाई यसको उदाहरणमा लिने गरिएको छ । तेस्रो मार्ग त्यो हो जहाँ कुनै देश अलोकतान्त्रिक बनिरहेको छ । अपेक्षाकृत रूपमा समतावादी र समृद्ध समाज भएको मुलुकमा लोकतन्त्रको निर्माण हुने गर्दैन । आम मानिस मौजुदा राजनीतिक संस्थानसँग पर्याप्त मात्रामा सन्तुष्ट रहन्छन् । फलस्वरूप व्यवस्थालाई चुनौती दिने कष्ट गर्दैनन् । उल्लेखित समाजमा गैरलोकतान्त्रिक राजनीतिक स्थितिलाई स्थिर बनाउँछ । सिंगापुर यसको उदाहरण हो । यसैगरी, चौथो मार्ग जहाँ समाज अत्यधिक असमान र शोषक हुने गर्दछ । त्यस्तो मुलुकमा राजनीतिक अभिजात वर्ग खतरनाक बन्दै शासनको निरन्तरता दिन हौसिन्छ । हिंसा र दमनसहित सबै सम्भव साधनको उपयोग गर्छ । रङ्गभेद शासनको पतन हुनुभन्दा पहिला दक्षिण अफ्रिकाले यस्तै लोकतन्त्रको अभ्यास गरेको प्रमाण छ ।

बेलायत, अर्जेन्टिना, सिंगापुर र दक्षिण अफ्रिकाले अलग-अलग राजनीतिक बाटो किन अपनाए ? केही देश लोकतान्त्रिक भए जबकि केही तानासाही या अन्य गैरलोकतान्त्रिक शासनद्वारा शासित छन् किन ? कयौँ गैरलोकतान्त्रिक देश लोकतन्त्रमा किन परिवर्तित हुन्छन् ? यस्तो परिवर्तन कहिले र कसरी हुन्छ, यसले के निर्धारित गर्छ ? किन केही लोकतन्त्र एकपटक बनाएपछि मजबुत हुन्छन्, जबकि हाम्रो मुलुक कैयौँपटक सत्ताको सिकार भएको छ । साथै तानासाहीतर्फ फर्किएको छ । राजनीतिक विज्ञान, राजनीतिक अर्थव्यवस्था र सामाजिक विज्ञानको लागि आमरुपमा केन्द्रीय प्रश्न बनिरहेको छ । उल्लेखित प्रश्नहरूको जवाफ नखोज्ने राजनीतिक दल, व्यक्ति र मुलुक लोकतान्त्रिक हुन सक्दैन । तमाम प्रश्नहरूको जवाफ प्राप्त गर्नासाथ आफूलाई परिवर्तन गर्न राजनीतिले आफ्नो दृष्टि कायम राखेको हुनुपर्ने छ । दुर्भाग्यवश कुर्सीबाहेक केही नदेख्ने नेतृत्वले वर्तमान लोकतन्त्रको गुण र दोषसमेत केलाएन ।

रणनीतिक अदूरदर्शिताका कारण बाह्य सम्बन्धले मुलुकको विकास रोकिएको छ । अमेरिकी कूटनीतिक सम्बन्धले चीनसँगको सम्बन्ध खल्बलिएको छ । फलस्वरूप मुलुकले संरचनात्मक रूपमा रूपान्तरणको अवसरहरूको फाइदा उठाउन नसक्ने अवस्था छ । वासिङ्टन र भारतको बढ्दो रणनीतिक साझेदारीको असर डरलाग्दो बन्दैछ । यस विषम परिस्थितिमा भारत-चीन सम्बन्ध महत्त्वपूर्ण छ । चीनको आक्रामक विकास र बदलिएको सोचले भारतको क्षेत्रीय महत्त्वाकाङ्क्षामा अवरोध खडा गरेको छ । यसले रणनीतिक दुविधा खडा गरेको छ । भारत र चीनबिचको सम्बन्ध विकसित भए अमेरिकी स्वार्थ र रणनीतिमा धक्का लाग्ने छ । दक्षिण एसियाको अत्यन्त महत्त्वपूर्ण भूमि बनेको नेपालमा अमेरिका रणनीतिक रूपमा एक्लो हुन कदापि चाहँदैन । जसको ऋण मुलुकले अनन्त कालसम्म तिरिरहन पर्नेछ ।

इतिहास र भविष्यको बारेमा सोच्ने क्षमता गुमाएको सिंहदरबारले अर्थतन्त्रको संरचनात्मक सङ्कट, राजनीति र राज्यको संस्थागत क्षमतामा ह्रास, ज्ञान र सीपको अनियन्त्रित पलायन र जलवायु परिवर्तनको चुनौतीहरू देख्न सकिरहेको छैन । सङ्कट व्यवस्थापन गर्ने ल्याकत गुमाएको मुलुकसँग दीर्घकालीन योजना केही देखिँदैन । देशका चुनौतीलाई सम्बोधन गर्ने र जनताको उज्ज्वल भविष्य सुनिश्चित गर्ने दिगो उपायहरू मुलुकले निर्माण गर्न सक्दैन/पाउँदैन । फलस्वरूप मुलुकले प्रणालीगत चुनौतीसँग लड्न सकिरहेको छैन । कुशासन र खेर गएका अवसरहरूले राजनीतिक स्थिरता र समृद्धिको सपना झन् झन् पछाडि धकेलिएको छ ।

लोकतन्त्रमा निर्वाचनको विश्वसनीयता किन घट्दै छ ? शासन शैली, राजनीति र राज्यका संस्थाप्रतिको जनविश्वास किन र कसले घटाउँदै छ ? निष्क्रिय शासन प्रणाली र सङ्कीर्ण अभिजात वर्गको आकाङ्क्षाा पूरा गर्दागर्दै थाकेको लोकतन्त्रको आयु कसरी बढ्न सक्छ ? नागरिकले सोध्दै गरेका, सत्ताले जवाफ दिन नरुचाएका गम्भीर सवालले मुलुकको वर्तमान अवस्था उजागर गरिरहेको छ । राजनीति र शासनलाई सार्वजनिक उद्देश्यमा समर्पित गर्ने सोच मरेको सत्ताले निम्त्याएको सङ्कट नियन्त्रण बाहिर जाँदैछ । अर्थ राजनीति हाबी भएको राजनीतिमा लामो समयदेखि कायम रहँदै आएको त्रुटिहरू त्याग्ने जाँगरसमेत नपलाएको देख्दा आगामी दिन थप भयावह हुने ठोकुवा गर्न सकिन्छ ।

रणनीतिक परिवर्तनपश्चात् मुलुकको गाउँपाखा रित्तिएका छन् । बेरोजगार बन्दै मुलुक छोड्न बाध्य युवायुवतीले भित्र्याएको रेमिट्यान्सले ठुलो मध्यम वर्गको उदय भएको छ । बढ्दो शहरीकरणले नेपालको पहिचान र परम्परागत सोच डगमगाएको छ । प्रभावशाली आर्थिक र सामाजिक समूह राजनीतिमा स्थापित हुन मरिहत्ते गरिरहेको छ । मुलुक छोड्न नचाहेका शिक्षित व्यक्ति, व्यावसायिक समूह र कर्मचारीहरू आफ्नो भूमिका बढाउँदै छन् । राष्ट्रिय मामिलामा उनीहरूको आवाज बलियो बन्दै छ । शहरी मध्यम वर्ग राजनीतिक प्रणालीमा हिस्सा खोज्दै छ । यद्यपि उनीहरूको अपेक्षा र मागहरू सम्बोधन गर्ने अवस्थामा सिंहदरबार देखिँदैन । फलस्वरूप सीमित कुलिन वर्ग र मध्यम वर्गको बीच नयाँ द्वन्द्व सुरु भएको छ । जसले गर्दा दक्षिण-पश्चिमको सक्रियता बढ्दै छ ।

मुलुकमा राजनीतिक गतिशीलता बढ्दो छ । यद्यपि त्यो मुलुक र जनमैत्री देखिँदैन । प्रविधिद्वारा सञ्चालित परिवर्तनले नयाँ वातावरण सिर्जना गरिरहेको छ । सूचना क्रान्तिले परम्परागत र प्रभावशाली व्यक्तिको राजनीतिक जमिन हल्लिएको छ । पुरानो राजनीतिक शक्ति-संरचनालाई रूपान्तरण गर्ने क्षमता मुलुकले गुमाएको छ । फलस्वरूप राजनीतिको सुधारमा बाधा पुऱ्याएको छ । आधुनिक सूचना तथा सञ्चार प्रविधिले समाजको सोच्ने क्षमतामा परिवर्तन ल्याएको छ । सोसल मिडियासँग सशक्त ढङ्गले ‘कनेक्टेड’ समाजले सही गन्तव्य समात्न सकिरहेको छैन ।

सर्वसाधारण नागरिकको सोसल मिडियासँग पहुँच र मध्यम वर्गको उदयले परम्परागत राजनीतिमा चुनौती थपिएको छ । राज्य र नागरिकबीचको सम्बन्धमा क्रमशः परिवर्तन हुँदै गइरहेको छ । राजनीतिक रूपमा सचेत शहरी वर्गको चासोहरू सतहमा देखिएका छन् । मध्यम वर्गका सदस्यहरू आफ्नो विचार र चासोलाई आक्रामक ढङ्गले प्रस्तुत गर्न सक्षम भएका छन् । यसले राजनीतिको प्रकृति र विषयवस्तु परिवर्तन गर्न बाध्य बनाउँदै छ । सामाजिक-आर्थिक परिवर्तन र राजनीतिबीचको बढ्दो बेमेलले शासन गर्ने तरिका र प्रणालीलाई थप रक्षात्मक बन्न विवश बनाउँदै छ । यद्यपि जनताले खोजेको परिवर्तन ल्याउने नेतृत्व मुलुकले फेला पार्न सकिरहेको छैन ।

निजी स्वार्थ र अदूरदर्शी राजनीति हाम्रो राजनीतिक संस्कृतिमा नौलो होइन । राजनीतिक रूपमा समाधान गर्नुपर्ने चुनौती यथावत् राखेर सोकल्ड नेतृत्व अदृश्य शक्तिको बन्धनमा बाँधियो । कुरा त्यति सरल छैन जति नेतृत्व विश्वास गर्न बाध्य छ । मुलुकको सामाजिक संरचनालाई राम्रोसँग रूपान्तरण गर्न, राजनीतिक प्रणालीलाई दोषरहित बनाउन र दक्षिण-पश्चिमको प्रभाव र दबाबलाई कम गर्न सोकल्ड नेतृत्वले मार्ग प्रशस्त गर्नु जरुरी छ । आफ्नै अस्तित्व जोगाउन मरिहत्ते गरिरहेको नेतृत्वले मुलुक र लोकतन्त्रको रक्षा गर्न सक्दैन । कठोर यथार्थ यही हो, देशको राजनीतिक तापक्रम उकालो लाग्दैछ । सम्पूर्ण रूपमा खोक्रो भइसकेको मुलुकको राजनीतिक वातावरण लोकतन्त्रको अनुकूल बनाउन सम्पूर्ण उत्पीडन रोकिनु जरुरी छ । मुलुक र जनतालाई केन्द्र भागमा राख्नुपर्ने छ ।

संस्था र नीतिमा के अन्तर हुन्छ ? राजनीतिक विज्ञान र अन्य सामाजिक विज्ञान बीचमा, एक अन्तरनिहित बुझाइ रहँदै आएको छ । ‘संस्था र नीति’बीच महत्त्वपूर्ण रूपमा अलग-अलग वस्तु हुने गर्दछ । अमेरिकी आर्थिक इतिहासकार एवम् नोबेल पुरस्कार विजेता ‘डगलस नर्थ’ले भनेका छन्- ‘नीति र संस्था’ बीच मुख्य अन्तर यसको स्थायित्वमा हुने गर्छ । नीति बदल्न धेरै सजिलो हुन्छ, जबकि संस्था अधिक टिकाउ हुनेछ । संस्थाले राजनीतिक प्राथमिकता र विभिन्न समूहको अधिकार निर्धारित गर्न सक्छ । दुर्भाग्यवश जनतासँग कुनै साइनो नराख्ने लोकतन्त्रको आगमनपश्चात् ‘नीति’ र ‘संस्था’हरू मारिएका छन् । हरेक दिन उजागर हुने काण्डहरूले लोकतन्त्रको हुर्मत लिएको छ । सम्पूर्ण भ्रष्टलाई सरकारी पाहुना बनाए जेल भरिनेछ, नबनाए मुलुकको अस्तित्व समाप्त हुनेछ । यस्तो विडम्बनापूर्ण अवस्थालाई लोकतन्त्र भनिएकोमा अभिजात वर्ग खुसीले झुमेको छ ।

इतिहास अपमानित, वर्तमान कष्टकर र भविष्य अनिश्चित बनाउने प्रणाली बोकाइएको छ । पार्टी प्रणालीमाथि नियन्त्रण, राजनीतिक एजेन्डा र नीतिमा कब्जा गर्न सफल अभिजात वर्गले महत्त्वपूर्ण स्रोतमाथि कब्जा जमाएको छ । ‘संस्था र नीति’ मार्न सफल भएको झोँकमा उन्मत्त भएको ‘आयातित लोकतन्त्र’ आधुनिक नेपालको जन्मदाता पृथ्वीनारायण शाहको नाम मेट्न मरिहत्ते गर्दैछ । कथित परिवर्तनपश्चात् मुलुकको अस्तित्व मेट्न चाहने शक्तिले सार्वजनिक स्थानमा गोरु काटेर मासु खान सुरु गराएको छ । मुलुकविरुद्ध रचिएको रणनीतिक षडयन्त्र अनदेखा गर्दै सिंहदरबार ‘प्रजातन्त्र’ मास्ने शक्तिको दलालीमा व्यस्त छ । दुर्भाग्यवश लोकतन्त्रबिनाको लोकतन्त्र ! राष्ट्रिय ऐंजेरुहरूको स्वर्गभूमि बनिरहेको छ । मुलुकवासी आयातित लोकतन्त्रको स्थानमा मुलुकनिर्मित लोकतन्त्र खोज्न विवश छन् ।