औपनिवेशिक वर्तमान र देशभक्ति !

यतिबेला मुलुकमा विगतलाई चकित पारेर हेर्ने फेसन चलेको छ । वर्तमान सङ्कटको दीर्घकालीन समाधान पहिल्याउने र व्यवस्थापन गर्ने ल्याकत सत्ताले गुमाएको छ । राजनीतिक नेतृत्व बाटो बिराएको यात्री बन्न हौसिँदा मुलुकसामु डरलाग्दो चुनौती खडा भएको छ । वैश्य युगले हामीलाई यसरी थिलथिलो बनाएको छ कि हामी आफ्नै असफलताको जिम्मेवारी लिन सक्ने अवस्थामा छैनौँ । हामी खुलेर भन्न बाध्य छौँ, हाम्रो औपनिवेशिक वर्तमानलाई स्वीकार गर्नु भनेको कसैलाई दोष दिनु होइन । दुर्भाग्य ! आजको संरचनात्मक सङ्कटको जरासम्म पुग्ने कोसिस गरिए हाम्रो पहिचान करिव समाप्तिको डिलमा उभिएको पाउने छौँ ।

वर्तमान विश्वले ‘उपनिवेशवाद’ र ‘साम्राज्यवाद’ शब्दहरूको उच्चारण गर्ने जाँगर गुमाएको छ । हाम्रो दैनिकी र जिब्रोहरू गज्जबले बाँधिएका छन् । ‘अमेरिका-इजरायल’ स्वार्थ र सम्बन्धले सिर्जना गरेको नग्न आक्रमणको बर्बरता प्यालेस्टाइनीहरूले जति भोगेका छन्, त्यसलाई बाँकी विश्वले शब्दमा बुझ्न चाहँदैन/सक्दैन । बेलायत, पोर्चुगल, स्पेन, नेदरल्याण्ड, बेल्जियमको विगत वर्तमान विश्वले पढ्न छोडेको महसूस हुँदैछ । फ्रान्सले अफ्रिकामा आफ्नो पुरानो औपनिवेशिक सम्पत्ति र स्रोतलाई जोगाएर राखेको छ । खाडी राष्ट्रहरू व्यापारसँग सबै कुरा साट्न राजी छन् । ‘अफ्रिका र अरब’ले फ्रान्सलाई आत्मसात गरिसकेको छ । यद्यपि विगतको औपनिवेशिक गतिविधिको ऋण फ्रान्सले पटक-पटक भुक्तान गरिरहेको छ । अस्ति भर्खरै लागेको आगलागीको मूल कारण पनि विगतको राजनीतिक-आर्थिक अधीनता नै थियो र हो । लामो समयको आप्रवासी जनसङ्ख्या, फ्रान्सको पुरानो औपनिवेशिक सम्पत्तिहरूको असमान वितरण, प्रणालीगत नस्लवाद, वर्ग शोषण र भेदभावका अन्य रूपहरू एकसाथ विद्रोहको रूपमा बेला-बेलामा देखापरिरहेका छन् । विगतदेखि थुप्रिएको असन्तुष्टि फ्रान्सले औपनिवेशिक विरासतको रूपमा स्वीकार गर्न बाध्य भएको छ ।

यतिबेला औपनिवेशिक शासनको रूप बदलिएको छ । वर्तमान पुस्ता औपनिवेशिक वर्तमानसँग विचित्रको नाता गाँस्न बाध्य छ । फगत आँखा, जिब्रो र शरीरको निम्ति स्वाभिमानलाई गुमाउन राजी छ । गरिब मुलुकका कथित नेतृत्व फगत पैसा र कुर्सीको निम्ति आधुनिक उपनिवेशवादको मूल्य र मान्यता स्वीकार गर्न खुसी-खुसी तयार छन् । विश्वराजनीति आईएमएफ र विश्व बैंकको कथित नीति र सिद्धान्तलाई स्विकार्न बाध्य छ । हाम्रो सङ्कटमा आईएमएफ र दाताको भूमिका डरलाग्दो ढङ्गले बढेको छ तर सरकारले शिर ठाडो पार्न सक्दैन । उसको मुख थुनिएको छ । यसबाट प्रस्ट हुन्छ, उपनिवेशको रूप बदलिएको छ । ल्याटिन अमेरिका, अफ्रिका र एसिया आधुनिक उपनिवेशवादको जालमा जकडिएका छन् । उनीहरूद्वारा निर्माण गरिएका जालमा हाम्रो अर्थतन्त्र, राजनीति र समाज जकडिएको छ । नव औपनिवेशिक ऋण व्यवस्थाको नयाँ जालमा बाँधिन बाध्य छौँ ।

इतिहास, विविधता, राष्ट्रियता, भाषा, धर्म, संस्कृति, परम्परा अर्थव्यवस्था र आन्तरिक एकतामाथि निरन्तर आक्रमण चलिरहेको छ । प्रकृतिलाई जित्ने औपनिवेशिक तर्क विनाशकारी छ । आधुनिक कानुन, मानवीय मूल्य र मान्यता, विकास र समृद्धिको नयाँ परिभाषा जबरजस्ती लादिएका छन् । हाम्रो निर्णय क्षमतामाथि कब्जा जमाइएको छ । शिक्षा, विकासको मोडेल, प्राकृतिक स्रोतको उपयोग नीति, मेगा वाटर इन्फ्रास्ट्रक्चर र घरजग्गा कारोबारमा उनीहरूको छाया परिसकेको छ । जसले हाम्रो अर्थतन्त्रलाई ध्वस्त गरिसकेको छ । बेलायती उपनिवेश आँगनमा आइपुग्दासमेत पुर्खाले बचाएको वैभव आज आधुनिक उपनिवेशको सामु घुँडा टेक्न बाध्य भएको छ । हाम्रो औपनिवेशिक वर्तमान डरलाग्दो छ तर युवापुस्ता सम्भावित मुक्तिको मार्ग खोज्नुको सट्टा मुलुक छोड्न मरिहत्ते गरिरहेको छ । आधुनिक उपनिवेशवादले कब्जा गरेको राजनीतिक–आर्थिक परियोजनापश्चात् मुलुकको स्वतन्त्र अस्तित्व केवल कागजमा सीमित छ ।

विश्व पुँजीवादले आफ्नो स्वार्थको निम्ति अनेकौँ संस्थाको स्थापना गरेका छन् । जसलाई उनीहरूले स्वतन्त्र संस्थाको पदवी भिडाएका छन् । तिनै संस्थाहरूले लोकतान्त्रिक स्वतन्त्रतामाथि पकड र निगरानी राख्दै आएका छन्, जसको पछिल्लो रिपोर्टमा मुलुकको स्तर गिर्दै गएको छ । हाम्रो मुलुक हरेक क्षेत्रमा उल्टोबाट प्रथम हुन मरिहत्ते गरिरहेको छ । जसमा हामीलाई गज्जबको सफलता मिलिरहेको छ । गरिबी, भोकमरी, सांस्कृतिक उथलपुथल, आर्थिक शोषण, राजनीतिक गडबडी, सामाजिक विग्रह मुलुकको यथार्थ बनिसकेको छ । राजनीतिक परिवर्तनको नाममा हामीले ग्रामीण अर्थ व्यवस्थाको विघटन गर्न बाध्य भयौँ । औपचारिक रूपमा मुलुक कसैको औपनिवेशिक राज्य होइन तर असमान विनिमय, आन्तरिक विघटन, धनको निर्यात र विदेशी राजनीतिक प्रभुत्व थप उकासिएको मुलुक कुनै पनि अर्थमा स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न मान्न सकिँदैन ।

वैश्य युगमा विश्व पुँजीवादले स्थापित गरेको विकासको बाटो मानवमैत्री देखिँदैन । मानवता र प्रकृतिलाई बेवास्ता गर्दै केवल नाफामुखी अवधारणामा हुर्किएको विश्व पुँजीवादले विकास उन्मुख मुलुकको स्वतन्त्र अस्तित्व थप खतरामा पार्दैछ । हरित विकासले मेलमिलाप ल्याउँछ । आर्थिक र सामाजिक विकासले निरन्तरता पाउँछ । पर्यावरण संरक्षण गर्दै गरिने सन्तुलित विकासले जीवनयापन सरल बन्ने छ भन्ने बुझेको शक्तिले तथाकथित विकासको अवधारणा ल्याएका छन् । जसले हामीलाई आधुनिक उपनिवेशको ग्राहक बन्न बाध्य पारेको छ ।

उपनिवेशको विरुद्ध २७ वर्ष जेलमा लडेका दक्षिण अफ्रिकी नेता नेलसन मण्डेलाले भनेको सारगर्भित भनाइ वर्तमान विश्वलाई चिमोट्ने किसिमको छ- ‘मेरो देशमा, हामी पहिले जेल जान्छौँ र त्यसपछि राष्ट्रपति हुन्छौँ ।’ राजनीति र नेता त्यो हो, रङ्गभेदी शासनले मण्डेलाको आत्मालाई तोड्न सकेन । साथै अकल्पनीय दुव्र्यवहारको बाबजुद उनको जन्मजात मानवतालाई निभाउन सकेनन् । अथाह कुर्बानीपश्चात् इस्पात बन्दै जेलमुक्त मण्डेलाले भने- ‘जब म मेरो स्वतन्त्रताको लागि जेलको ढोकाबाट बाहिर निस्किएँ, मलाई थाहा थियो कि यदि मैले आफ्नो तितोपन र घृणालाई पछाडि छोडिन भने, म अझै जेलमा हुनेछु ।’ हाम्रा सोकल्ड शीर्ष नेतृत्वले मुलुक र राजनीतिभन्दा ठुलो राज्यसत्ता मान्न र ठान्न थालेको मुलुकवासीले बुझ्न सकेनन् । समग्र मुलुकवासी, अर्थतन्त्र र लोकतन्त्रलाई आधुनिक उपनिवेशवादको जेलमा राखेर तिक्तता र घृणाको व्यापार जारी राखेका छन् । दुर्भाग्यवश उनीहरूले बनाएको खुला जेलमा हामी सजाय काट्न विवश छौँ ।

अङ्ग्रेजी लेखक ‘जर्ज ओर्बेल’ले देशभक्ति र राष्ट्रवादलाई लिएर भनेका छन्- ‘देशभक्त’ जीवनको एक विशेष तरिकाप्रति समर्पण हुन्छ, यसलाई व्यक्तिले स्वीकार गरिरहेको हुन्छ तर कसैमाथि जबर्जस्ती थोपर्दैन । यसैगरी ‘राष्ट्रवाद’ सत्ताको इच्छासँग अलग गर्न सकिँदैन । हरेक राष्ट्रवादी सत्ता र प्रतिष्ठा चाहन्छ । ‘राष्ट्रवाद’ हरेक शासकको अस्त्र बन्दै आएको छ । हरेक शासकले भन्दै आएका छन्, म राष्ट्रको भलो चाहन्छु । शासक र सत्ताले मानवतालाई विचलित गर्ने घटना राष्ट्रवादको नाममा चुपचाप सहन बाध्य बनाएको छ । ‘राष्ट्रवाद’ शासकको प्रति वफादारीको पर्याय बनिसकेको छ । राष्ट्रवादको नामले अनेकौँ क्रान्ति सम्पन्न गरिएका छन् । लाखौँ निर्दोष मानिसको बली चढाएको छ । विश्वभरका तानासाहले ‘राष्ट्रवाद’लाई मजबुत हतियार बनाएको इतिहास हामीले पढ्दै आएका छौँ ।

राष्ट्रवाद र देशप्रेम (देशभक्ति) बिलकुल अलग कुरा हुन् । देशप्रेम एक प्राकृतिक अनुभव हो । देशभक्तिले आफू जन्मिएको माटोलाई माया गर्छ । आफू हुर्किएको माटोलाई सम्झिरहने छ । पृथ्वीको जुनसुकै कुनामा पुगे पनि परिवार, आफू जन्मिएको माटोलाई सम्झिरहने छ । देशभक्ति भित्र आफ्नोपन हुने गर्छ । मुलुकवासीको एक साझा इतिहास रहने छ । राजनैतिक इतिहासभित्र साझा विषय रहने गर्छ । ‘माइथोलोजी’ले मुलुकवासीलाई मालामाल बनाएको हुन्छ । अलग-अलग संस्कृतिको बाबजुद ‘अनेकतामा एकता’ले बाँधिरहेको हुन्छ । त्यसैले देशभक्ति राजनीतिक भन्दा भावनात्मक कुरा हो । भावनाको कुनै सीमा हुँदैन । ‘राष्ट्रवाद’ले विविधतालाई मेटाउने प्रयास गर्दै आएको छ । तर इतिहासमा देशभक्तिले राष्ट्रिय विचारको रक्षामा भावुक व्यवहार गर्न प्रेरित गर्दै आएको छ । देशभक्तहरू देशको निम्ति मर्न हौसिन्छन् । तर राष्ट्रवादले राज्य व्यवस्थाको निम्ति मर्न सिकाउँछ या बाध्य गराउँछ ।

यतिबेला मुलुकले विचित्रको राजनीति अपनाएको छ । राणा शासनको समाप्तिदेखि मुलुकमा गरिएका गराइएका तमाम राजनीतिक परिवर्तनपश्चात् ‘देशभक्त’हरू घट्दै छन् । संविधान जारी गर्ने नाममा नागरिकता नीतिमा छेडखानी गर्दै आयातित राष्ट्रवादीहरूको सङ्ख्या बढाइएको छ । अझ रोचक र डरलाग्दो अवस्था ०६२/६३ को रणनीतिक आन्दोलनमार्फत जारी गराइएको संविधानले देशभक्तहरूलाई गैरआवासीय नेपाली र अङ्गीकृत नागरिकलाई राष्ट्रभक्त नेपाली बनाउने सफलता प्राप्त गरेको छ । जसलाई देखेर आधुनिक उपनिवेशवाद मुसुक्क हाँसेको छ । देशभक्ति रोएको छ । दक्षिण-पश्चिमको लगानीमा सम्पन्न गरिएको आर्थिक, सामाजिक उथलपुथलपश्चात् खोक्रो बनाइएको देशभक्तिको स्वर युवायुवतीले (वंशज नागरिक) चर्को बनाउँदै छन् । विडम्बना ! उनीहरू आर्थिक सफलता र सम्पन्नताको सिकार बन्दै आफ्नो अस्तित्व खुसी-खुसी मेटाउन बाध्य छन् ।

परिवर्तनलाई बुझ्न नसकेको पछिल्लो पुस्ताले छोड्दै गएको मौलिक सङ्घर्ष थप दुःखदायी छ । आधुनिकीकरणको प्रक्रियामा सामेल हुन मुलुक नै छोड्नुपर्ने परिवर्तनबाट देशभक्तहरूले शिक्षा लिएको देखिएन । सभ्य जीवनको निम्ति पलायन विकल्प हुन सक्दैन भन्ने युवायुवतीले बुझ्ने अवस्थामा उनीहरूले धेरै गुमाइसकेका हुनेछन् । आधुनिकताको पश्चिमी मान्यतामा रम्न हतारिएको वर्तमान पुस्ताको सङ्कट सार्वजनिक चेतनाले समाधान गर्ने देखिएन । वर्तमान शिक्षाले युवायुवतीलाई स्वार्थी बन्न उत्प्रेरित गरेको छ । व्यक्तिगत आत्म-उन्नतिको निम्ति सबै जायज मान्न विवश बनाएको छ । अनुशासनात्मक सीमालाई भत्काउन सिकाएको छ । आधुनिकता विघटनकारी हुन सक्छ भन्ने युवायुवतीले बुझ्न सकेको देखिएन । अवास्तविक परिस्थिति र आधुनिकताको रोगले युवायुवतीलाई पिरोलेको छ । परिवर्तन र विकास अस्तित्वको साधन हुन् । तथापि आधुनिक बन्ने नाममा आफ्नो पहिचान र मुलुकको अस्तित्व बिर्सनु थप घातक हुनेछ ।

अन्तमा, आजको प्राथमिकता देश छोडेका देशभक्तहरूलाई मुलुक फर्काउने होइन, भएका युवायुवतीलाई देशभित्रै रोक्ने हुनुपर्छ । उनीहरूको सपना, इच्छा, आकाङ्क्षा र आवश्यकताको आर्थिक, सामाजिक र सांस्कृतिक सम्बोधन यही मुलुकले गर्नेछ भन्ने महसूस गराउन सक्नु हो । यसैगरी पलायन भएको बल, बुद्धि, ज्ञान, श्रम, सीप र पुँजी फर्काउने होइन । बाँकी रहेको मानव स्रोतलाई खुसीसाथ मातृभूमिमा राख्ने/रोक्ने हुनुपर्छ । राजनीतिक विकल्प, विचार, व्यवहार, व्यक्ति र सङ्गठनहरू प्रचारमुखी, सामाजिक सञ्जालमुखी भएकोमा चिन्ता गर्ने होइन, जनतामुखी बनाउन मरिहत्ते गर्ने हुनुपर्छ । मुलुकलाई अमेरिका, अष्ट्रेलिया, क्यानडा, युरोप जस्तो बनाउने होइन । पुर्खाको आदर्श, विचारसहितको नेपाल बनाउने हो । नेतृत्व दक्षिण, पश्चिम र उत्तरमुखी भएकोमा चिन्तित हुने होइन, नेपालमुखी बन्न बाध्य पार्ने हो । तब मात्र आधुनिक उपनिवेशवादको प्रभाव कमजोर हुनेछ । देशभक्तहरू गैरआवासीय नेपाली बन्न रोकिने छन् । मातृभूमिमा बस्न पाएकोमा गर्व गर्नेछन् ।