‘एआई’को कब्जामा लोकतन्त्र !

प्रजातन्त्रप्राप्तिको ७३ वर्षे इतिहासमा मुलुकले गर्नैपर्ने महत्त्वपूर्ण काम गर्न सकेन । मुलुक पटक-पटक विदेशीको प्रयोगशाला बनिरह्यो । ‘हिमाल, पहाड र तराई’लाई दीर्घकालीन रूपले जोड्ने तन्तुलाई तोड्न चाहने शक्तिले सिंहदरबारलाई आफ्नो खुट्टामा उभिन दिएन । आज मुलुक इतिहासको कठिन घडीमा उभिएको छ । मुलुकको दीर्घकालीन उपस्थितिको निम्ति चाहिने अङ्ग, संस्था र शक्ति काम नलाग्ने अवस्थामा पुगेका छन् । सफल राष्ट्रहरू आर्थिक, सामाजिक र राजनीतिको जग मजबुत बनाएर बसेका छन् । उनीहरूको हातमा एआई नामको ‘ब्रह्मास्त्र’ छ । दुर्भाग्य ! मुलुकले आफ्नो जग भत्काएर प्राप्त गरेको लोकतन्त्र समेत ‘एआई’को कब्जामा पर्दैछ ।

प्रविधिले समाज र मानिसलाई बदल्दै आएको छ । प्रविधिले महत्त्वपूर्ण सामाजिक प्रभावलाई जन्म दिएको छ । स्मार्टफोन र सोसल मिडियाले सामाजिक सम्बन्धमा नयाँ समस्या निम्त्याएको छ । इन्टरनेटले युवाहरूको मानसिक स्वास्थ्यमा डरलाग्दो असर गरेको अनुसन्धानले देखाएको छ । डिजिटल जटिलताले युवायुवतीको एकाग्रता भङ्ग गरेको छ भने ‘एआई’को उदयपश्चात् हरेक क्षेत्रमा आउट सोर्सिङ सुरु भएको छ । ‘आउट सोर्सिङ’पश्चात् युवा पिँढीले सोच्ने शक्ति गुमाउँदै छ । सत्ता-राजनीति एआईको दुरुपयोग गर्दै बाँच्न खोज्दैछ ।

न्युजिल्यान्डमा यसै वर्षको अक्टोबरमा निर्वाचन हुँदैछ । राजनीतिक दलहरूले मतदातासम्म पुग्न एआई उपकरणहरू प्रयोगमा ल्याएका छन् । न्युजिल्यान्डको नेशनल पार्टीले विपक्षी दल र त्यस दलसँग सम्बन्धित उम्मेदवारलक्षित आक्रामक राजनीतिक विज्ञापन सुरु गऱ्यो । उसको गतिविधि विशुद्ध अराजनीतिक भएको आरोपपश्चात् पार्टी नेता क्रिस्टोफर लक्सन (Christopher Luxon) ले यी सबै काम गर्न कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरिएको स्वीकार गर्न बाध्य भए ।

नेशनल पार्टीको प्रवक्ताले भनेका छन्- हामी सोसल मिडियामार्फत जनतासम्म पुग्दैछौँ, जसको निम्ति ‘एआई’को निर्दोष प्रयोग गरिने छ । दुर्भाग्य ! एआईको प्रयोग जानाजान गलत सूचना फैलाउन गरिँदै छ । ‘एआई’सिर्जित छवि र भिडियोहरूले अराजकता निम्त्याउन थालेका छन् । गत मे २२ तारिखको दिन पेन्टागनबाहिर आगो लागेको तस्बिर सोसल मिडिया प्लेटफर्महरूमा भाइरल भयो । ट्विटरमा प्रसारित भएको छविले पेन्टागनबाहिर विस्फोट भएको देखाएको थियो । विवाद चर्किएपछि पेन्टागनको परिसरमा विस्फोट भएको भन्दै देखाइएको तस्बिर ‘गलत सूचना’को टुक्रा हो भन्दै बयान जारी गर्न रक्षा विभाग बाध्य भयो । अर्लिङ्टन फायर डिपार्टमेन्टले तुरुन्तै ट्विट गऱ्यो कि भवननजिक कुनै विस्फोट भएको थिएन ।

न्युजिल्यान्डले पहिलो एआई राजनीतिज्ञको विकास गऱ्यो, जसको नाम ‘SAM’ राखियो । ‘साम’ले फेसबुक मेसेन्जरको माध्यमबाट उपयोगकर्तासँग बातचित गर्छ । यसमा भनिएको छ- म ‘तथ्य र राय’को आधारमा निर्णय लिन्छु । म कहिल्यै पनि जानाजान झुट बोल्दिनँ, गलत जानकारी दिन्न । समयको साथ, एआई बदलिने छ । यसले हरेक मुद्दामा अधिक सिक्ने छ । सामले भन्यो- ‘न्युजिल्यान्डलाई चाहने मानिसका बीच एक अन्तर छ । निर्वाचनपूर्व राजनेता जे बोल्छन्, वास्तवमा त्यस्तो नीति प्रस्ताव गर्दैनन् । म त्यस्तो बन्द गर्न चाहन्छु ।’

गत मे १६ तारिखको दिन ‘अमेरिकी सिनेट’मा कृत्रिम बुद्धिमत्ता (AI) को बारेमा गहन छलफल गरिएको थियो । उक्त छलफलमा ‘ओपन एआई’को सिइओ समुएल एच. अल्टम्यान (Samuel H. Altman) सँग सिनेट सदस्यले सोधेका थिए- के राजनीतिक सङ्गठन मतदातालाई प्रभावित गर्न कृत्रिम बुद्धिमत्ता ‘एआई’ले ‘च्याट जीपीटी’को उपयोग गर्न सक्छ ? उक्त प्रश्नको जवाफ दिँदै ‘साम’ले भनेका थिए- वास्तवमा यो चिन्ताजनक छ । केही मानिस या राजनीतिक दल मतदातासँग आम्नेसम्ने सम्वाद गर्न, मतदातालाई मनाउन र उनीहरूको राय बदल्न च्याट जिपीटीको उपयोग गर्न सक्छन् ।

अल्टमानले विस्तारमा बताएनन् तर उनले देखेको खतरा ‘क्लोगर’ (Clogger) नामक मेसिनको विकाससँग थियो । क्लोगर अत्याधुनिक मेसिन हो जसले राजनीतिक अभियानलाई एक ‘ब्ल्याक बक्स’मा समेट्नेछ । ‘क्लोगर’ले लगातार केवल एक उद्देश्यको निम्ति मरिहत्ते गरिरहने छ । यसको प्रयोग गर्ने या सेवा लिने राजनीतिक दल या उम्मेदवारलाई चुनावमा जिताउन सबै उपायको अवलम्बन गर्नेछ । फेसबुक, ट्विटर, युट्युब या सोसल मिडिया युजरलाई अधिक समय उक्त साइटमा बिताउन एआईको उपयोग गरिन्छ तर क्लोगरमा एआईको उद्देश्य मतदाताको मतदान व्यवहारलाई बदल्नु हुनेछ ।

क्लोगर मतदाताको व्यवहार प्रभावित गर्न सक्षम छ । यो यस्तो टेक्नोलोजी हो, जसले प्रभावशाली ढङ्गले काम गर्न सक्छ । सोसल मिडिया युजरको व्यक्तिगत जीवन, सोच र विचारलाई नाटकीय ढङ्गले प्रभाव पार्न राजनीतिक विज्ञापनको उपयोग गर्न सक्छ । अत्याधुनिक एल्गोरिदम मार्फत टेक्स्ट, सोसल मिडिया र इमेल तैयार गर्ने, व्यक्तिको इच्छा र चाहना अनुसार अनगिन्ती सन्देश तैयार गर्न सक्छ । क्लोगरले रिइनफोर्समेन्ट लर्निङ नामक टेक्नोलोजीको उपयोग सन्देशहरूको प्रभाव बढाउन गरिन्छ । जसले मतदाताको सोच र भोट सजिलै बदल्न सक्छ । रोचक पक्ष यो छ कि क्लोगरले मतदातालाई पठाएको सन्देशमाथि सोसल मिडिया युजरको प्रतिक्रिया अध्ययन गरिरहन्छ । मतदाताको प्रतिक्रियालाई ध्यान दिँदै क्लोगरले तय गर्नेछ कि मतदाताको दिमाग कसरी बदलिँदै छ । उसको दिमागी हालतबाट सदैव नयाँ कुरा सिक्नेछ र, नयाँ तरिका अपनाउने छ । सबैभन्दा रोचक पक्ष ‘क्लोगर’लाई सच्चाइसँग कुनै सरोकार छैन । सत्य या झुट निर्क्योल गरिरहन क्लोगरसँग त्यस्तो कुनै उपकरण छैन । उसको लक्ष्य निश्चित छ- केवल मतदाताको सोच बदल्नु छ ! आफ्नो पक्षलाई जिताउनु छ ! उसको उद्देश्य सत्य जानकारी प्रदान गर्नु होइन । क्लोगर केवल आफ्नो रणनीतिलाई सफल बनाउन सक्रिय रहन्छ ।

कृत्रिम बुद्धिलाई प्रलयकारी मान्नु एक स्वाभाविक मानवीय प्रतिक्रिया हो । नयाँ प्रविधि र परिवर्तनले आम मानिसको ध्यान आकर्षित गर्नु स्वाभाविक छ । तर प्रविधिको विरुद्ध फैलाइएको भ्रमले आशङ्का उत्पन्न गर्ने निश्चित छ । आम मानिस आफ्नो सुरक्षालाई लिएर सधैँ चिन्तित रहने गर्दै आएका छन् । ChatGPT, Bard, HuggingChat या Open Assistant जस्ता प्रविधिको क्षमता र शक्तिको बारेमा फैलाइएको हल्लापश्चात् सर्वसाधारण मानिसले असुरक्षा महसूस गर्नु स्वाभाविक छ । वैश्विक प्रभाव राख्ने बुद्धिजीवी र व्यवसायीहरू एआईको विकासबाट चिन्तित देखिएका छन् । एआई शोधकर्ता एवम् कम्प्युटर वैज्ञानिक जेफ्री हिन्टनले एआई मानव बुद्धिभन्दा अगाडि जान सक्छ भनेसँगै व्यवसायीलाई थप झस्काएको छ । एआईको तीव्र विकाश र यसको कार्यक्षमतासँग डराएका शक्तिले एआईलाई सर्वशक्तिमान् ‘भस्मासुर’सम्म भन्न भ्याइसकेका छन् । यद्यपि यस आशङकालाई मत्थर बनाउन फेसबुकद्वारा मेटावर्सको घोषणा हुँदा गरिएको आशङ्कालाई उदाहरणको रूपमा प्रस्तुत गरेका छन् ।

वैश्य युगमा एआईको महत्त्व र चर्चा थप चुलिएको छ । एआईको आक्रामक विकासपश्चात् एउटा आशङ्का चुलिएको छ । एआईले सृष्टिलाई गलत दिशातर्फ डोऱ्याउन सक्छ । इतिहासलाई आफ्नो सुविधाअनुसार बदल्ने, अनेकौँ भ्रमको खेती गर्दै आफ्नो धन्धा कायम राख्ने, तथ्यहरूलाई तोडमरोड गर्ने एउटा वर्ग नयाँ टेक्नोलोजीलाई कब्जामा लिन मरिहत्ते गरिरहेको छ । एआईप्रति अनेकौँ आशङ्का र भ्रम सिर्जना गर्ने शक्तिले राम्रोसँग बुझेको छ- समस्या एआईमा हैन, राजनीतिमा छ । उनीहरू राजनीतिक ढङ्गले एआईको सम्पूर्ण फाइदा लिन चाहन्छन् । उनीहरूलाई राम्रो ज्ञान छ- एआईलाई दुरुपयोग गर्दै जति झुट फैलाउन सकिन्छ, त्यसभन्दा बढी अधिक सरल तरिकाले झुटलाई पत्ता लगाउन पनि सकिन्छ । यद्यपि वैश्य युगमा सर्वसाधारण मानिस सत्य पत्ता लगाउन चाहँदैनन् । किनकि, असत्यसँग बाँच्न सिकिसकेका छन् । मानवनिर्मित कुनै पनि प्रविधिको दुरुपयोग समाजले गर्दैन । दुर्भाग्यवश एआई राजनीतिक अस्त्र बन्ने खतरा चुलिएको छ ।

धनी, शिक्षित र शक्तिशाली मुलुकको राजनीति समेत एआईको कब्जामा पर्दैछ । यसै सन्दर्भमा डेनमार्कको सिन्थेटिक पार्टी नयाँ राजनीतिक दल बन्ने दौडमा उभिएको छ । वास्तवमा सिन्थेटिक पार्टी, एआई ChatBot हो र, यसका सबै नीतिहरू एआईमार्फत उत्पन्न गरिएका छन् । पहिलो पटक मतदान गर्न उत्साहित वर्तमान डेनिस मतदाताहरूको लगभग २० प्रतिशतलाई प्रतिनिधित्व गर्न डिजाइन गरिएको हो । यस दलले छिट्टै संसदमा प्रतिनिधित्व गर्ने जनाएको छ । महत्त्वपूर्ण कुरा, नेता लार्स वास्तवमा एक मेसिन हो, यसलाई सार्वजनिक पदमा आफैँ दौडने अनुमति छैन । यद्यपि पार्टीका मानव सदस्यहरू सार्वजनिक पदमा बस्न सक्नेछन् । ‘नेता लार्स पार्टीको फिगरहेड हुन्’, Asker Staunaes ले भनेका छन्, ‘हाम्रो लक्ष्य गरिबी, असमानता र जलवायु परिवर्तन जस्ता मुद्दामा केन्द्रित हुनु हो । हाम्रो पार्टी मानिस र एआईबीच सम्बन्ध कायम गर्न र शिक्षित गर्ने तरिकामा केन्द्रित छ । डेनमार्क एक प्रतिनिधि लोकतन्त्र हो, त्यसैले नेता लार्सको प्रतिनिधित्व गर्ने र ‘एआई’लाई वैधानिकता दिन मानिसहरू मतपत्रमा पोखिनेछन् ।’

आधुनिक लोकतन्त्र प्रविधिको बलमा बाँच्न तम्सिएको छ । राजनीतिक दलहरू विचारकेन्द्रित हुनुको सट्टा प्रविधिको प्रभावकारितामा भर पर्दैछ । एआईको नाटकीय चमत्कार र प्रभावकारितापश्चात् आगामी दिनमा घरदैलो कार्यक्रम, ठुला आमसभा, बृहत् अन्तरक्रिया, घोषणापत्र भन्दा राजनीतिक विज्ञापनको महत्त्व बढ्नेछ । मानवीय भावना र संवेदनासँग सजिलै खेल्न सक्ने एआईको कब्जामा परेको राजनीतिको रणनीतिक दुरुपयोग सुरु हुनेछ । राजनीतिक विज्ञापनलक्षित ब्राउजर र सोसल मिडियाको बाध्यात्मक प्रयोगपश्चात् गरिब र अशिक्षित मतदाताको दुरुपयोग बढ्नेछ । परम्परागत राजनीतिक दर्शन, सङ्गठन, सिद्धान्त, कार्यक्रमलाई एआईले निल्नेछ । केवल चुनावी सफलतालाई मात्र राजनीति ठान्ने र मान्ने राजनीतिक सोच सामान्य बन्नेछ, जसले गर्दा मतदाता र राजनीतिक नेतृत्वको सम्बन्ध केवल औपचारिकतामा सीमित हुनेछ ।

वैश्य युगमा राजनीति जनताको इच्छा र चाहना अनुसार हिँड्न सक्ने अवस्थामा छैन । सत्ता र कुर्सीकेन्द्रित राजनीतिले सिद्धान्त, विचार र व्यवहारलाई किनारामा मिल्काएको छ । जतिसुकै अप्रिय लागे पनि राजनीति नाफामुखी उद्योगमा परिणत भइसकेको छ । राज्यसत्ताप्राप्तिको निम्ति परम्परागत औजार र शैली अनुपयुक्त भएको छ । जसको स्थानमा एआईको प्रयोग हुन थालेको छ । एआई अन्तर्गत ‘क्लोगर’को जवाफ आम मानिस र कार्यकर्ताबाट सम्भव हुने छैन । त्यस्तो अवस्थामा प्रतिद्वन्द्वी पार्टीले एआईको अर्को अङ्ग dogger को प्रयोग गर्न बाध्य हुन जानेछ । ततपश्चात् राजनीति Clogger र dogger को बीच हुने छ । जसको मेसिन अधिक प्रभावी र शक्तिशाली छ, जीत उसैको हुनेछ ।

आगामी निर्वाचनमा मतदाताको अधिकारमाथि प्रविधिको नियन्त्रण हुनेछ । ‘एआई’केन्द्रित राजनीतिक दल र व्यक्तिसँग कुनै राजनीतिक विचार हुने छैन । महत्त्वपूर्ण कुरा.. यस्तो अवस्थामा प्राविधिक जीत हासिल गर्ने राजनीतिक दल या व्यक्तिले आफ्नो उपस्थिति देखाउन समेत एआईको सहयोग लिन बाध्य हुनेछ । केवल अत्याधुनिक एआईयुक्त मेसिनको सहयोगमा हुने चुनाव लोकतान्त्रिक हुने छैन । आम मतदाताले मतदान त गर्नेछन् तर आफूले चाहेको व्यक्तिलाई मतदान गर्ने स्वविवेक गुमाउनेछन् । ततपश्चात् ‘एआई’नियन्त्रित लोकतन्त्र केवल औपचारिकतामा सीमित हुनेछ ।