ब्लेम गेम !

आफ्नो कमजोरी स्वीकार गर्नुभन्दा अरूमाथि औँला उठाउने प्रवृत्तिलाई ‘ब्लेम गेम’ भन्ने गरिएको छ । पछिल्लो पुस्ताले ‘ब्लेम गेम’लाई रचनात्मक शक्ति मान्न थालेको छ । ब्लेम गेम मौलाएको समयमा विवेक र संयमताको प्रयोगले सफलता हात लाग्छ भन्नेहरू घट्दै छन् । उनीहरूको आत्मविश्वास र लक्ष्यहरू भत्किएका छन् । हिन्दु शास्त्रमा ‘सामूहिक कठोर प्रयास’लाई ‘यज्ञ’ र ‘व्यक्तिगत कठोर प्रयास’लाई ‘तप’ मानिएको वर्तमान पुस्ताले बुझ्न छोडेको छ । वैश्य युगमा ‘यज्ञ र तप’मार्फत समाज र व्यक्तिलाई परिष्कृत गर्ने काम रोकिएको छ । कमजोरीको व्यवस्थापन गर्नु भन्दा ब्लेम गेममार्फत विजय हासिल गर्ने होडबाजी राष्ट्रिय उत्सव बनेको छ । जसले हाम्रो संस्कृति र चरित्रलाई पतनतर्फ डोऱ्याउँदै छ ।

राजनीतिज्ञ र कार्यकारीहरू आफ्नो कमजोरी स्वीकार गर्न कहिल्यै तयार भएनन् । उनीहरू सदैव ‘ब्लेम गेम’मार्फत चोखिन खोजिरहेका छन् । जब मानिस गल्ती गर्छन्, स्वाभाविक रूपमा अनपेक्षित परिणामको सामना गर्छन् । फलस्वरूप आफूमाथि आउने अनिष्टबाट बच्न ‘बलिको बोको’ खोजिरहेका हुन्छन् । क्लिनिकल मनोवैज्ञानिक एवम् Yeshiva University को प्राध्यापक डाक्टर सब्रिना रोमानोफ भन्छिन्- मानिसहरू आफ्नो जिम्मेवारीबाट जोगिन अरूको थाप्लोमा दोष थोपार्न सदैव तत्पर रहन्छन् । गल्तीको स्वामित्व लिँदा आफ्नो छविमा नकारात्मक प्रभाव पर्ने डरले ब्लेम गेमको सहारा लिन हौसिन्छन् ।

यतिबेला समाज द्रुत गतिमा ओरालो लाग्दैछ । आध्यात्मिक, नैतिक, सामाजिक क्षेत्र अकल्पनीय समस्याबाट घेरिएका छन् । पुर्खाले निर्माण गरेका महत्त्वपूर्ण आधारहरू भत्किएका छन् । मानव समाज अनैतिकताको आतङ्कमा डुबेको छ । काम, क्रोध, लोभ, अहङ्कारको बोलवाला व्याप्त छ । सत्य, न्याय र प्रगतिको परिभाषा बदलिएको छ । निन्दा राष्ट्रिय कर्म भएको छ । खराब काम गर्ने मानिसको सामाजिक उचाइ र स्वर उच्च बन्दै छ । सङ्कल्प, साहस, ज्ञान, कर्म, र आचरणको कुरा गर्नेलाई अर्कै ग्रहका प्राणी मान्ने र ठान्ने फेसन चलेको छ । ‘जीवन-दर्शन’को ज्ञान गम्भीर आक्रमणमा परेको छ ।

शास्त्रको कुरा गर्ने र सुन्नेहरू घट्दै छन् । धर्मशास्त्रले भगवान् ‘राम र कृष्ण’लाई प्रकट गरेन । भगवानलाई समेत मानव कोखमार्फत धर्तीमा आउन बाध्य पारेको छ । जीवन दर्शनको मूल तत्त्व कर्मबाट विमुख हुनुलाई मानेन । यसले कर्तव्यपालनलाई सर्वोपरि मानेको छ । भगवान् राम र कृष्णले कर्तव्य, सत्य र धर्मको निम्ति ठुलो कष्ट उठाए । दुर्भाग्य ! वैश्ययुगमा मानवजातीले उनीहरूबाट केही सिक्न चाहेन । सामाजिक जीवनमा नैतिकता र देशभक्ति भन्दा व्यक्तिगत स्वार्थ हाबी हुँदै छ । नैतिक व्यक्ति र नैतिकताबाट मात्र राम्रो मानिस, परिवार, समाज र राष्ट्रको निर्माण हुन्छ भन्ने भनाइ खल्लो बनिरहेको छ । अध्यापक, प्रधानाध्यापक, प्राध्यापक, लेखक, चिन्तक, डाक्टर, इन्जिनियर, नेता नैतिकतावादी बन्नुको सट्टा व्यक्तिगत स्वार्थमा तल्लीन छन् । जसले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक परिस्थिति थप जटिलतातर्फ धकेलिँदै छ ।

ब्लेम गेम यति भयावह अवस्थामा पुगिसकेको छ कि जसले फैलाएको नकारात्मक वातावरण परिवर्तन गर्न सजिलो छैन । जोड दिएर भन्दा अत्यन्त मुस्किल छ तर असम्भव भने छैन । फगत भौतिक सुखसुविधा र समृद्धिको निम्ति मानिसले सबै तथाकथित तानाबानालाई जायज मान्न थालिसकेको छ । मुलुकमा ‘नैतिकता’ मुसाको सिङ बन्न पुगेको छ । निजी क्षेत्रले कर्पोरेट कल्चरलाई बचाउन, बढाउन सत्तासँग दलाली गर्नुपर्छ भन्ने नयाँ संस्कृतिलाई जन्म दिएको छ । जसले नयाँ पिँढीलाई उत्पादनमूलक काम भन्दा दलाली उद्योगतर्फ जान उक्साएको छ । फलस्वरूप नयाँ वर्ग सम्पूर्ण मूल्य, मान्यता र सकारात्मक सामाजिक बन्धन तोड्नुलाई राष्ट्रिय सफलता र उपलब्धि ठान्दै छ ।

आधुनिकताको चक्करमा मध्यम वर्ग समाजको मूल्य र मान्यतालाई अन्धविश्वास मान्न हौसिएको छ । जसले ‘परिवार र सम्बन्ध’लाई टिकाउन मुस्किल बनाएको छ । वृद्धाश्रमको नयाँ कल्चर मौलाउँदै छ । कुनै समय आमा-बुबाको पाउमा स्वर्ग छ भन्ने वर्ग लोप भएको छ । संवेदनहीनताको सगरमाथा थपिएका छन् । नैतिक मूल्यमा आएको ह्रासले मानवता कोमामा पुगेको छ । भ्रष्टाचार, कुशासन र दण्डहीनता राजनीतिको गहना बन्न पुगेको छ । मिलावट र कालोबजारी व्यापार भएको छ । राज्यले मानिसलाई केवल वस्तुमा सीमित गरेको छ ।

नैतिक शिक्षाबिनाको शिक्षाले नेपाली समाजको जग भत्किएको छ । आफ्नै अस्तित्व सुरक्षित राख्न नसक्ने पुस्ताले समाज र परिवारप्रतिको जिम्मेदारी निभाउने कल्पना समाप्त भएको छ । वर्तमान समयमा अध्यात्म महँगो भएको छ । केवल नाफामा आधारित पुँजीवादले भौतिकवादको ‘बारुद’ बिछ्याएको छ । ‘धन’लाई हातको मयल मान्ने र भन्ने समाज ‘धन’लाई अक्सिजन मान्न विवश भएको छ । आधुनिकता, स्वार्थ, एकाङ्कीपन र भौतिकवादले हामी माथि शासन गरिरहेको छ ।

मुलुकमा अराजकता यति बढेको छ कि राष्ट्र असफल भएको घोषणा हुन मात्र बाँकी छ । सरकारी निकायमा दोषारोपणको खेल फेसनजस्तै भएको छ । यहाँ कसैले जिम्मेवारी लिँदैन । उदाहरणको लागि, मुलुकमा हरेक साल शिक्षाको स्तर गिर्दै गएको छ । कुनै पनि निकायले आफ्नो कमजोरी देख्दैनन् । शिक्षामन्त्री, सचिव, शिक्षा विभाग, जिल्ला शिक्षा अधिकारी, विद्यालय निरीक्षक, प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक सबै एकअर्कामा दोष थोपारेर पानीमाथिको ओभानो बन्ने असफल कोसिस दशकौँदेखि गर्दै आइरहेका छन् ।

अपवादमा बाहेक उच्च स्तरको इमानदारिता र जिम्मेवारी देखाउने मानिसलाई वर्तमान पुस्ताले ‘बेवकुफ’को उपाधि थमाएको छ । हामी आफ्नो असफलताको निम्ति प्रतिकूल परिस्थितिलाई दोष दिन्छौँ । असङ्ख्य कमजोरीको बाबजुद हामी आफूलाई बदल्न तयार नहुँदा हाम्रा पुर्खाले गज्जबको उखानलाई जन्म दिएका छन् । एउटा विद्यार्थीले परीक्षाको तयारीमा समय खर्चिंदैन, कठिन प्रश्न पत्रलाई दोष दिएर उम्किन हौसिन्छ । नाच्न नजान्नेले आँगनलाई दोष दिँदै आएका छन् । अल्छी कलाकारले आफ्नो खराब प्रदर्शन स्वीकार गर्दैन । उ सदैव बजार, परिस्थिति, निर्देशक र दर्शकलाई दोष दिन्छ । पराजित नेताले मतदातालाई दोष दिन्छ । त्यसैले हामी दोषारोपणको खेल खेल्दै जित्न चाहान्छौँ । ब्लेम गेमको जानकारी नभएका, सकारात्मक सोच भएका व्यक्तिले परिस्थितिसँग भिडेका छन्, साथै उत्कृष्ट प्रदर्शन गरेका छन् । यसै सन्दर्भमा अमेरिकी लेखक जोसेफ क्याम्पबेलले भनेका छन्- ‘तपाईंंको जीवन तपाईंंको आफ्नै कामको फल हो । तपाईंंबाहेक अरू कसैलाई दोष दिन सक्नुहुन्न ।’

सन् १९९० मा कोलम्बिया (अमेरिका)को मेयर Marion Barry थिए । उनी तीन पटक मेयर निर्वाचित भएका थिए । दुर्भाग्य ! उनी कोकिनको कुलतमा फस्न पुगे । उनी ‘एफबिआई’ र स्थानीय प्रहरीद्वारा चलाइएको स्टिङ अपरेसनपश्चात् पक्राउ परे । उनले प्रहरीसामु सबै कुरा स्वीकार गरे । क्षमायाचना गरे । वासिङ्टन डिसीका जनतासँग माफी मागे । ६ महिना जेलमा सेवा गरेपश्चात् ‘व्यक्तिगत प्रतिकूलता’हरू पार गरेको भन्दै सम्पूर्ण गल्तीबाट मुक्ति पाए । सन् १९९२ मा जेलमुक्त भएसँगै Barry राजनीतिमा पुनः प्रवेश गरे । मानवीय अवगुण र असफलताहरूलाई इमानदारीपूर्वक स्वीकार गर्दा अभूतपूर्व रूपमा चौथो पटक वासिङ्टन डिसी मेयरमा निर्वाचित भए । तत्कालीन समयमा अमेरिकी जनता र मेयर बेरीले ब्लेम गेमलाई अपनाएनन् । जसले अमेरिकी राजनीतिमा सकारात्मक प्रभाव पर्न गयो । वास्तवमा उनीहरूले समयमै बुझे- ब्लेम गेम समाधान होइन, केवल समस्या हो ।

यतिबेला घर, पसल, सडक, कार्यालय, राजनीति, सार्वजनिक स्थल लगायत अनेकौँ ठाउँमा आरोप प्रत्यारोपको खेल चलिरहेको छ । नेता कार्यकर्ता दोषारोपणको खेलमा निपुण छन् । टेलिभिजनको बहसदेखि युट्युबरहरूको खल्लो प्रस्तुतिमा दोषारोपणको खेल झन्-झन् मौलाउँदै आएको छ । एउटा नेताले अर्को नेताको बारेमा गरेको कथित अपमानजनक टिप्पणी एउटा सभ्य मानिसले पचाउन नसक्ने अवस्थामा पुगेको छ । ‘फास्ट एन्ड फ्युरियस’ आधुनिक वैश्विक संस्कृतिको अभिन्न अङ्ग बनिसकेको छ । हरेक व्यक्ति, क्षेत्र, समुदायले धैर्यता गुमाएको छ । मानव जाति र राजनीति विचित्रको हतारमा छ । जसले मुलुकमा गम्भीर सांस्कृतिक असन्तुलन निम्त्याएको छ । विश्व पुँजीवादले समयलाई नियन्त्रणमा लिने कोसिस गरिरहेको छ । आम मानिसहरू समयहीन भएका छन् । आफ्नोपन गुमाउन हतारिएको मानव जाती द्रुतगतिमा सबै काम सम्पन्न गर्नुपर्छ भन्ने अभियानमा लिप्त छ । जसले मानव सभ्यतालाई धरापमा पार्दैछ ।

हरेक राजनीतिक दल, नेता र कार्यकर्ताले जनतासँग भन्दै आइरहेका छन्, यो जीत तपाईंंहरूको हो । दुर्भाग्य ! जनताले आजसम्म जितेको भेटिएको छैन । राजनीति अर्थ व्यवस्थाको अभिभावक हो । राजनीति जसले जितेको छ, अर्थव्यवस्था उसको कब्जामा पर्दै आएको छ । हो, यही अर्थव्यवस्था कब्जा गर्ने खेल मुलुकमा चल्दै आएको छ । सर्वसाधारणको व्यवस्था ल्याउने राजनीतिक दलले जित्दा समेत जनताले हारेका छन् । जनताको भागमा आश्वासन मात्र परेको छ । गरिबी, अन्याय, असमानताले सधैँ जित्दै आएको छ । ब्लेम गेमको नाङ्गो प्रयोग गर्दै भर्खरै राजनीतिमा उदाएका झिल्केहरूमार्फत वर्तमान व्यवस्था र संविधानलाई टिकाउने, जनताको अवस्था यथावत् राख्ने र तथाकथित परिवर्तनको नाममा भएको गडबडीबाट जनताको ध्यान अन्यत्र मोड्ने रणनीतिक खेलअन्तर्गत सेनाको सङ्ख्या घटाउने बेमौसमी बाजा बजाइएको छ ।

मानव विकासको इतिहासले चिच्याएर भनिरहेको छ । समाजमा शासक र शासित वर्ग थियो, छ र रहिरहने छ । शासकहरूले सर्वसाधारण जनतालाई सदियौँदेखि लडाउँदै आइरहेको छ । शासकहरूले गज्जबको राज्यसत्ता निर्माण गरेका छन् । जनताको चेतनाले विद्रोहलाई स्वीकार गर्दै आएको छ । अनेकौँ विद्रोह, आन्दोलन, सङ्घर्षले शासकलाई घुँडा टेकाए पनि राज्य सत्ताले सदैव जित्दै आएको छ । अर्थात् घुँडा टेकेको शासकको स्थानमा राज्यसत्ताले तत्काल विजेतालाई स्थापित गर्दै आएको छ । सङ्घर्ष र छलकपटको बलमा केही व्यक्ति जनताबाट नेतामा प्रमोसन हुँदै आएका छन् । जनताको हातमा ब्लेम गेमको अस्त्र थमाएर राज्यसत्ता र अर्थ व्यवस्थाको स्वाद चाख्दै आएका छन् । जनताचाहिँ व्यक्ति फेरेर ‘परिवर्तनको खुसी’मा झुम्दै आइरहेको छ ।

राष्ट्रिय सुरक्षा, आर्थिक अभाव र युवायुवतीको चिन्ता राजनीतिको मुख्य एजेन्डा बन्न छोडेको मुलुकमा ब्लेम गेम आफैमा राजनीति बन्नु स्वाभाविक छ । समस्याको समाधान खोज्ने अधिकार गुमाएको मुलुकले ‘ब्लेम गेम’बाट मुलुकको बरबादी गर्दै दक्षिण-पश्चिमलाई प्रत्यक्ष सहयोग पुऱ्याइरहेको छ । हामी अरूमाथि औँला ठड्याएर समय बरबाद गरिरहेका छौँ । रचनात्मक सोच र शैलीलाई विसर्जन गर्दैछौँ । नकारात्मकता हाम्रो रगतमा घुलिसकेको छ । हामीअरूको गल्ती खोज्न अडिग छौँ । हाम्रो सङ्घर्ष, सोच र कार्यशैली समाधानतर्फ केन्द्रित छैन । हामी अकल्पनीय अनिष्ट कुरेर बसिरहेका छौँ ।