राजनीति सकिएको राजनीति !

भनिन्छ, राजनीतिले सामाजिक यथार्थलाई उजागर गर्छ । सुविधाको राजनीतिले कति समय काम गर्छ, कसैलाई थाहा छैन । ‘कन्टेन्ट’विहीन राजनीतिले योग्यता, क्षमता र नवीनतालाई रुचाउँदैन । अरूको कमजोरी र सोसल मिडियाको दुरुपयोग गर्दै उठेको तथाकथित राजनीतिले समाजलाई गुन लगाउन सक्दैन । राजनीतिको कमजोरी गैरराजनीतिक तरिकाबाट सुधार गर्न सम्भव छैन । लोकतन्त्रमा लोकतन्त्रको कुरा गरेर समय बरबाद गरिँदैन । मुलुकमा कसैले लोकतन्त्रको मृत्युको कुरा गरेका छैनन्, किनकि लोकतन्त्र मुलुकमा अझै जन्मेको छैन । सोसल मिडिया युजर लोकतन्त्र मनपराउँछन् । उनीहरू निरङ्कुशताविरोधी छन् । दुर्भाग्य ! सोसल मिडिया युजरको गतिविधिले ‘सत्यलाई मौन पार्ने’ या ‘झुट’को रणनीतिलाई स्थापित गर्ने योजनाकारको मिसनलाई सहयोग पुऱ्याइरहेको बुझ्दैनन् ।

वैश्य युगमा राजनीतिप्रति आक्रोश चुलिँदै छ । जनताको विश्वास घट्दै छ । खाइपाइ आएकाहरूले प्रश्न गरिरहेका छन्– समय एकदमै अन्धकार भएको बेला थप निराशा फैलाउनुको अर्थ के हो ? भीडले राजनीति गर्दैन/बुझ्दैन । छिट्टै तात्ने, छिट्टै सेलाउने समाजमा भीडको लक्ष्यहरू सडकमै जन्मिन्छन्/पोखिन्छन् । नेतृत्वसहितको भीडले सडकलाई सम्मान दिए पनि जनताले औचित्यपूर्ण उपलब्धि आजसम्म महसूस गर्न पाएका छैनन् । सङ्कुचित नागरिक स्वतन्त्रताले मुलुक र लोकतन्त्रलाई असर गर्छ । अति आत्मविश्वासले मुलुकवासीको जीवनमा सकारात्मक परिवर्तन ल्याएको देखिँदैन । हरेक नागरिकको मौलिक अधिकारहरू अपरिहार्य छन् र, हुनुपर्छ । मुलुकमा ‘राजनीतिभन्दा बाहिरको राजनीतिक पार्टी’को प्रयोग सुरु भएको छ । सैद्धान्तिक र नैतिक पदहरू लिन भन्दा भावनात्मक राजनीति गर्न हौसिएको झिल्केप्रति जनताको आकर्षण मडारिँदै छ । यसले दुविधाहरू थपिएका छन् ।

सत्ताप्राप्तिको निम्ति लगाइएको राष्ट्रवादी नारा कुर्सी प्राप्तिपश्चात् सेलाउँदै गएको छ । सत्ता-राजनीतिले लोकतन्त्रवादी र वामपन्थी विचारधाराको रङ्ग खुइलिएको छ । उनीहरू ‘देशभक्त र राष्ट्रवादी’ बन्नु भन्दा अवसरवादी बन्न तँछाडमछाड गर्दैछन् । त्याग, समर्पण र आदर्शलाई बोझ ठान्दैछन् । जसले गर्दा उनीहरूको राजनीतिक सफलता ओरालो लाग्दैछ । जनजीविका र देशभक्तिको आन्दोलनमा जताततै फेला पर्ने वामपन्थी राजनीति मन्दिर, मस्जिद र चर्च धाउने अवस्थामा पुगेको छ । प्रगतिशील विचार, सामाजिक परिवर्तन र अभिव्यक्ति स्वतन्त्रताको सीमा हुँदैन । युवायुवती राज्यद्वारा निर्माण गरिएका सीमाहरू भत्काउन रुचाउँछन् । प्रगतिशील सोचले युवाहरूलाई राजनीतिक रूपमा सोच्न मद्दत गर्छ, तर यसले मूलधारको सोचबाट अलग हुने जोखिम बढाउँछ ।

दलमाथि प्रतिबन्ध रहेको समयमा शिक्षित युवाहरू प्रगतिशील बुद्धिजीवीसँग अन्तरक्रिया गर्न हौसिन्थे । दुर्भाग्य ! खुला समाज र लोकतन्त्रको आगमनपश्चात् ग्रामीण र शहरिया युवायुवती बुद्धिजीवीसँग अन्तरक्रिया गर्नुलाई अनुपयुक्त विषय मान्दैछन् । बाँच्नको निम्ति सङ्घर्ष गर्नुपर्छ भन्ने विगतको सोच बदलिएर मोज-मस्तीको निम्ति राजनीतिक उद्योगमा हाम फाल्नुपर्छ भन्ने नवीन सिद्धान्त जबर्जस्ती स्थापित गरिएको छ । राज्यविरुद्ध प्रश्न उठाउनु, सुशासनको माग गर्नु, भ्रष्टाचारविरुद्ध चर्को आवाज उठाउनु र राम्रो जीवनको खोजी गर्नु अपराध हुन सक्दैन । राज्यको कार्यशैली र रफ्तारसँग असहमत युवाहरू सोसल मिडियामा आक्रोश पोख्न हौसिन्छन् तर परिमाणको कुनै ख्याल गर्दैनन् ।

दक्षिण-पश्चिमले देखाएको बाटोमा हिँड्दा हामी अस्तित्व रक्षाको अवस्थामा पुगेका छौँ । राजनीतिक व्यवस्था र प्रणालीको अनिश्चितताले आर्थिक गतिविधिमा अकल्पनीय गडबडी निम्त्याउँदै छ । यद्यपि बिग्रेको अर्थतन्त्र र आर्थिक स्वास्थ्य ट्र्याकमा ल्याउन जरुरी छ । खराब वित्तीय सङ्कटको वास्तविकतालाई स्वीकार गर्दै कमजोर अर्थतन्त्रलाई पूर्ण रूपमा नयाँ जीवन दिने स्वतन्त्रता वर्तमान नेतृत्वसँग नरहेको बुझ्नुपर्ने छ । आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक रूपले कङ्गाल बन्दै मुलुकले अस्तित्व कायम राख्न सक्दैन । राजनीतिक रूपले टाट पल्टेको नेतृत्वले उचित र सशक्त कदम चाल्ने कल्पना यथार्थसँग मेल खाँदैन । कथित नेतृत्वले ड्यामेज गरेको तमाम गल्ती सच्याउने उचित समय आएको छ । सर्वसाधारण मुलुकवासीले वास्तविक परिवर्तनको पहल आफ्नै बलबुतामा गर्नु पर्नेछ ।

सन् १९९१ मा छिमेकी मुलुक भारतले डरलाग्दो आर्थिक सङ्कटको सामना गऱ्यो । डिफल्ट हुनैलाग्दा भारतको तत्कालीन अर्थमन्त्री मनमोहन सिंहले बजेट भाषणमार्फत मुलुकलाई जोगाए । दुर्भाग्य ! हाम्रो सङ्कट झन्डै सन् १९९१ को भारतकै जस्तो छ । हाम्रो अर्थमन्त्री मनमोहन बन्न चाहेनन्स/केनन् । हामीले जानेर या नजानेर रोजेको राजनीतिले ल्याएको आजको अवस्थाबाट फुत्किनसमेत नपाउने अवस्थामा हामी पुगेको कटु सत्य वर्तमान अर्थमन्त्रीले स्वीकारेका छन् तर ‘पृथ्वीमा कुनै पनि शक्तिले विचारलाई रोक्न सक्दैन’ भन्ने भिक्टर ह्युगोको भनाइलाई चटक्कै बिर्सेका छन् ।

द्रुत गतिमा घटिरहेको आर्थिक वृद्धिदर र बढ्दो बेरोजगारीले थला परेको मुलुकलाई सही ट्र्याकमा ल्याउने उचित समय हाम्रोसामु थियो र छ । गम्भीर आर्थिक र सामाजिक समस्याहरू समाधान गर्दै जनतामा आसा जगाउने अवसर डाक्टर अर्थमन्त्रीले पाएका छन् । दुर्भाग्यवश अर्थतन्त्रलाई स्थायित्व दिन, देशलाई ऋणबाट जोगाउन, आवश्यक कडा सुधारका उपायहरू अवलम्बन गर्ने इसारासमेत उनीसम्म आइपुगेन । यस्तो अवस्थामा नेपालमैत्री अर्थनीतिको निर्माण उनीबाट सम्भव थिएन भन्ने मुलुकले बुझ्न पाएको छ, तर स्तब्ध मुद्रास्फीतिको समयमा, राजनीतिक कारणले कठोर निर्णयहरू लिन चुक्दा देशको भविष्य थप खतरामा परेको छ । अर्थतन्त्रको वर्तमान अवस्थाको लागि डाक्टर महतलाई जिम्मेवार मान्न नसकिएला तर सङ्कटलाई बुझिसक्दा पनि अर्थमन्त्रीको रूपमा ‘असक्षम ह्यान्डलिङ’ गर्नुले मुलुकको पतनमा योगदान पु¥याएको आरोप वर्षौंसम्म उनले सुनिरहनुपर्नेछ ।

यतिबेला चलिरहेको राजनीतिक अराजकता, निरीह सिंहदरबारको अराजनीतिक खेलले आर्थिक अस्थिरता थप्दै गएको छ । बजेटको असमान वितरणले जनतालाई थप अराजक बन्न मद्दत पुग्दैछ । बजेटमा तोकिएको राजस्व लक्ष्यमाथि गम्भीर प्रश्न उठेको छ । डाक्टर महतबाहेक अर्थशास्त्रीहरू सहमत छन् कि लक्ष्यहरू अवास्तविक छन् । साहसी निर्णय लिन छोडेर डाक्टर अर्थमन्त्री खोक्रो बयानबाजीमा लाग्दै छन् । बुद्धिको आउटसोर्सिङ वा सपनाहरूको विनियोजन गर्दै मुलुक जोगाउने कल्पना बेवारिसे बन्नेछ । कथित उपलब्धि र प्रणालीको पाखण्डलाई औंल्याउने हिम्मत उनले गरेनन् । दास व्यापारको पश्चिमा लक्ष्मण रेखा पार गर्न नसक्दा भौतिकवादी र आधुनिक समाजको ‘नैतिक पतन’लाई बजेटमार्फत सुरक्षा गर्न हौसिए ।

वैश्य युगमा गरिब र व्यापारीको सामाजिक वास्तविकता राजनीतिमा निर्भर छ । अभिजात वर्गको जीवन कुशासनबाट कम प्रभावित हुन्छ । उच्च मध्यम र मध्यम वर्गको ‘क्रोध राजनीति’ सोसल मिडियाको खुराक बन्दै आएको छ । प्रगतिशील वामपन्थी राजनीतिक सङ्घर्षले अझ राम्रो लोकतन्त्रलाई जन्म दिन्छ भन्ने भनाई नेपालमा चाहिँ झुटो साबित भएको छ । सोसल मिडिया राजनीतिक सुधारबाट परै बस्न नचाहँदा नयाँ समस्या थपिएको छ । ‘क्राउडफन्डिङ’, संवेदनशील र सम्भावित घातक टेक्नोलोजीलाई नियमन गर्न नरुचाउने सत्ताले विदेशीको कथित नुन खाएको खुलिसकेको छ । विश्व–राजनीतिमा एकल पकड जमाउन तयार गरिएका आधुनिक प्रविधिलाई खुला-सोर्सिङ गर्न हौसिएको मुलुकले यसको गम्भीर परिणाम कति भयावह हुनेछ भन्ने अनुमानसमेत गरेको देखिँदैन । अझ डरलाग्दो कुरा त आफ्ना कमी–कमजोरी सुधार गर्नसमेत नचाहने सत्ताले बिनासङ्कोच सोसल मिडियाको स्वागत गर्नुले अन्ततः मुलुकलाई नयाँ भासमा जाक्ने निश्चित छ ।

कन्टेन्ट विहीन राजनीतिले राजनेता, जननेता, सन्त नेता जन्माउँदैन । सिर्जनशीलता, बौद्धिकता, परिपक्वता भन्दा हावादारी शैली मनपराउने समाज र युवायुवतीले झिल्के नेता जन्माउने गर्छन् । पछिल्लो समय मुलुकमा झिल्केहरूको राजनीति प्रवेश सोसल मिडियाको जगमा सुरु भएको छ । मिडिया र आम नागरिकको ध्यान झिल्केहरूले खिच्दै छन् । बहस र आलोचनाको स्तर गिर्दो छ । राजनीति विषय वस्तुबाट विमुख बन्दैछ । मर्यादित, सभ्य र सुसंस्कृत शब्द राजनीतिले पचाउन छोडेको छ । मुलुक, समाज, समुदाय, जाति, लिङ्गको समस्या समाधान गर्ने सामाग्री वर्तमान राजनीतिसँग रहेन । व्यक्तिगत महत्त्वाकाङ्क्षा यति हाबी भयो कि पार्टी निर्माण गर्नु या पार्टी कब्जा गर्नुलाई राजनीति मानिएको छ । सिद्धान्त, दर्शन र कानुनको सर्वोच्चता भन्दा कथित सोकल्ड नेतृत्वको ‘लहड’ राजनीतिको सामाग्री बनाइएको छ । ‘लोकतन्त्र भनेकै भोट हाल्नु हो, चुनाव जित्नु हो’ भन्ने मान्यता जबर्जस्ती स्थापित गरिएको छ । ‘जनता भन्दा ठुलो केही छैन, कोही हुँदैन’ भन्दै जनताको हुर्मत लिने काम चलाखीपूर्वक सम्पन्न गरिएको छ ।

मुलुकको दुरावस्था र राजनीति बुझ्नेहरू थाकिसकेका छन् । कुशासन र भ्रष्टाचारले युवायुवतीलाई राजनीतिबाट विकर्षित गर्दैछ । राजनीति र मुलुक नचिन्नेहरू व्यवस्था टिकाउने खेताला बनाइएका छन् । मुलुकको गौरवलाई पुनःस्थापित गर्ने, जनतामा आन्तरिक एकता र आत्मविश्वास जगाउने, ‘कडा परिश्रम, निष्ठा, सिद्धान्तमा दृढ, दूरदृष्टि, नैतिकता, स्पष्ट दृष्टिकोण, राजनीतिक कौशल, राष्ट्र निर्माणको ठोस योजना र कार्यक्रम सहितको’ बुद्धिमान राजनेता मुलुकले खोज्दैछ । दुर्भाग्य ! सोसल मिडियालाई सिद्धान्त, नीति, कार्यक्रम, कार्यकर्ता र सङ्गठन मान्ने राजनीति मुलुकमा हाबी हुँदै छ । दुर्भाग्यवश ‘लोकप्रिय’ नेताहरू वरदान कम अभिशाप ज्यादा भएको विश्व इतिहास मुलुकले पढ्न बिर्सेको छ, जसले राजनीतिलाई कोलाहलपूर्ण बनाउँदै छ ।

यतिबेला मुलुक ‘झिल्के राजनीति’को प्रयोगमा व्यस्त छ । चर्को स्वरमा भ्रष्टाचारको विरुद्ध ध्वनि प्रदूषण गरेकै भरमा उनीहरूले शङ्काको लाभ प्राप्त गरेका छन् । अल्पकालीन सफलताले गज्जबको विश्वास र अभिमान पलाएको छ, जसले झिल्केहरूमा ‘नार्सिसिज्म’ प्रवेश गरेको छ । ‘राजनीति सकिएको राजनीति’ले अध्ययन, अनुसन्धान नभएको, केवल बोल्न मात्र जानेको, रित्तो व्यक्तिबाट भरिभराउ हुने सपना देख्दैछ । ‘अरूले गरेन/सक्दैन, म सक्छु, केवल मैले मात्र गर्न सक्छु’ भन्ने रोगले ग्रस्त व्यक्तिलाई बोक्न हौसिँदै छ । यसले अन्ततः दक्षिण-पश्चिमको कथित रणनीतिलाई डरलाग्दो ढङ्गले सहयोग पुऱ्याउने छ । स्थायीरूपमा मुलुकवासीलाई दास बनाउने छ । पुर्खाको गौरवपूर्ण इतिहासको धज्जी उडाउने छ ।