कलियुगको बेइज्जत !

लोकतान्त्रिक शासन पद्धतिमा राजनीति सञ्चालन गर्ने एक मात्र माध्यम हो, संविधान र कानुन । दुर्भाग्य ! संविधान र कानुनको पालना गराउने निकाय ‘भ्रष्टाचार’लाई राजनीति मान्दैछ । जसले हाम्रो शासन पद्धति र अस्तित्वमाथि गम्भीर प्रश्नचिन्ह खडा गरेको छ । हामी पतनको डिलमा उभिएका छौँ । आफ्नो काम भ्रष्ट राजनीतिले गरिरहेको देख्दा कलियुगसमेत इज्जत जोगाउने अवस्थामा पुगेको छ ।

सत्य, त्रेता, द्वापरपछि कलियुग आउँछ भन्ने हाम्रो सनातन धर्मले मान्दै र भन्दै आइरहेको छ । कलियुगको अन्ततिर मिथ्यावादीको रजगज हुने छ । यज्ञ, दान, तप बोझ बन्ने छ । ब्राह्मण शूद्र बन्न हतारिने छन् । शूद्रहरू जन्मजात ब्राह्मण बन्ने छन् । उनीहरू पैसाको निम्ति जस्तोसुकै कुकर्म गर्न तयार हुन्छन् । क्षत्रिय र वैश्यहरू आ-आफ्नो धर्म छाडेर अन्य कर्म गर्न हौसिने छन् । पराक्रमहरू घट्ने छन् । मानिसको बोलीमा सत्यको अंश घट्दै जाने छ । अल्पज्ञानीहरू आफूलाई ब्रह्मज्ञानी ठान्ने छन् । महिला पुरुष सांस्कृतिक रूपले पतित बन्दै जाने छन् । हिंसालाई अनिवार्य मान्ने छन् । व्यापारीहरू हदैसम्म गिर्ने छन् । अधर्म बलवान हुने छ । कपटको बोलवाला हुनेछ । केवल श्रीमतीलाई मात्र मित्र ठान्ने छन् । ठग र चोर आत्मप्रशंसामा रम्ने छन् । आफ्नै दाहिने हातले देब्रे हातलाई लुट्ने छ । बलवान कायर बन्ने छन् । कलियुगको अन्तमा कसैले कसैको कुरा या उपदेश सुन्ने छैनन् । गुरुहरू शिष्यबाट अपमानित हुनेछन् । महाभारतमा उल्लेख भएअनुसार कलियुगको अन्त हुन अझै चार लाख छब्बिस हजार भन्दा बढी वर्ष रहे पनि रफ्तारमा हामी त्यसतर्फ लम्किँदै छौँ भन्ने प्रस्ट सङ्केत मिलिसकेको छ ।

यतिबेला मुलुक र लोकतन्त्रलाई कलियुगले लपेटेको छ । सम्पूर्ण मुलुकवासीको भाग्यविधाता बन्नुपर्ने सिंहदरबार आफै मानव तस्करीको आरोप खेप्दै छ । राज्य र राज्य सञ्चालकहरू अपराधीसँग उठबस गरेको नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुकको शिर झुकेको छ । अवसर नपाउने मात्र इमानदार बनेका भन्दै भ्रष्टाचारीहरू इमानदारलाई होच्याउँदै छन् । पासपोर्ट बनाउन नसक्ने, बालक, असक्त, दलीय कार्यकर्ता, राजनीतिक उद्योगमा बिकेका युवायुवती, सार्वजनिक स्रोत र सम्पत्ति दोहन गर्नेहरू, राज्यबाट अतिरिक्त सेवा-सुविधा लिँदै जीवन गुजारेका व्यक्ति मात्र मुलुकमा बस्ने अवस्था राजनीतिले सिर्जना गरेको छ । पासपोर्ट बनाउन नसक्ने, दुई छाक खान सङ्घर्ष गर्नुपर्ने, विकल्पहीन मानिस, घुस खान नसक्ने कर्मचारी, भिसा लगाउन नसक्ने र राज्य लुट्न नसक्ने नेता सिंहदरबारको आँखामा नपुंसक बनेका छन् ।

अवस्था यस्तो देखिन्छ- वैश्य युगमा मुलुकका हरेक मानिस भ्रष्ट बन्न आतुर छन् । केवल विदेशमा बस्ने अनुमति पत्र (रेजिडेन्ट पेपर) छ भनेकै भरमा छोरी दिन मरिहत्ते गर्ने अभिभावक, आफ्ना सन्तान विदेशमा छन् भन्दै गफ दिने बाबुआमा, मुलुकमै सड्नु परेको पीडा पोख्ने युवायुवतीको सङ्ख्या बढ्नुले हाम्रो परिवर्तन र नेतृत्वको औचित्यमाथि गम्भीर प्रश्न चिन्ह खडा गरेको छ । श्रीमान् जिउँदै छँदाछँदै कथित झिल्केको निम्ति सती जान तयार हुने सोच, मर्दले सकेको जति श्रीमती ल्याउँछ त भन्ने कथित धारणा व्यक्त गर्ने समाज आखिर के चाहन्छ ? भ्रष्टाचार केवल आर्थिक मात्र नहुने बुझ्नसमेत नचाहने या नसक्ने पछिल्लो ‘फेसबुके पुस्ता’ले मच्चाइरहेको सामाजिक, सांस्कृतिक, वैचारिक भ्रष्टाचारको मुहान कहाँ छ ? ‘शरीर र जिब्रो’लाई सन्तुष्ट राख्न सफल विदेशमा रहेका असन्तुष्ट वर्गले जान-अनजानमा गरिरहेको गडबडीले मुलुकलाई कहाँ पुऱ्याउँदै छ ? उनीहरूले बुझ्ने बेलामा मुलुकको सुरक्षा सामाजिक सञ्जालले गर्छ र ?

हामीले सदैव सकारात्मक परिवर्तनको वकालत गऱ्यौँ । राणा शासन फाल्यौँ । पञ्चायत फाल्यौँ । लोकतन्त्र ल्यायौँ । गणतन्त्र ल्यायौँ तर अवस्था झन् झन् विकराल बन्दै छ, किन ? सामान्य व्यक्तिदेखि मुलुक हाँक्ने व्यक्तिसम्म अतिरिक्त पैसाको पछि भाग्ने अवस्था किन आयो ? संसारकै उत्कृष्ट भनिएको व्यवस्थामा भ्रष्टाचारी कसरी जन्मिए ? मुलुकले अझै जवाफ खोज्न चाहेको भेटिँदैन । सुशासन र समृद्धिका लामा-लामा भाषण छाँट्नेहरू, न्याय र समानताको वकालत गर्नेहरू, लोकतन्त्रको जगमा सुखी नेपाली र समृद्ध नेपालको नारा लगाउनेहरूको अनुहारमा ‘रावण’को छवि देख्दै छन् । मुलुक कङ्गाल बन्दै गर्दा भ्रष्टाचार मौलाउँदो छ । जनताको भाग भ्रष्टाचारीले खाँदै छन् । भगवान् रामले रावणको टाउको काट्नासाथ अर्को टाउको पलाएको शैलीमा भ्रष्टहरूको जन्म भइरहेको छ ।

यतिबेला मुलुकवासी नराम्रो कुरा मात्र सुन्न, देख्न र भोग्न विवश छन् । मिडियामा तथाकथित काण्डको बाढी आएको पढ्न विवश मुलुकवासीले सुशासनको औपचारिक मृत्यु भएको महसूस गरिरहेका छन् । भ्रष्टाचारको दलदलमा फसेका नेता कार्यकर्ताको कारण मुलुक र लोकतन्त्रको रङ्ग खुइलिएको छ । शीर्ष नेतृत्वको तथाकथित भलाकुसारी र अतिरिक्त सक्रियताले नयाँ ढङ्गको अराजकताको खतरा चुलिएको छ । लोकतान्त्रिक मूल्य, मान्यता र आचरणलाई मिल्काउन रत्तिभर सङ्कोच नमान्ने शीर्ष नेतृत्व राष्ट्रिय अर्थतन्त्रलाई ध्वस्त पार्दै निजी उत्थानमा दिनरात एक गर्दै छन् ।

मुद्दामा आधारित राजनीति शीर्ष नेतृत्वले बिर्सेको छ । राजनीतिलाई सार्वजनिक सेवा बनाउनुको सट्टा अस्तित्वको खेल बनाइएको छ । राजनीतिक प्रवचन जगबिनाका छन् । पश्चिमी परिवर्तनलाई टपक्क टिप्ने अल्लारे वर्गले नेपाली समाजको वास्तविक धरातल बुझ्नै चाहेन । विकृति र क्रोध सामान्य भएको समाजमा सफल क्रान्तिका मुख्य तत्त्वहरू हराइरहेका छन् । विश्वसनीय नेतृत्व र स्वतन्त्र मिडिया हराएको मुलुकमा राजनीतिले निकास दिन करिव असम्भव छ । गलत सूचना, षड्यन्त्रको सिद्धान्त र हाम्रो सार्वजनिक शिक्षाले युवायुवती र सहरी जनसङ्ख्यालाई राजनीति बुझ्नै दिएन । विडम्बनाको कुरा के हो भने नेपालको जनआन्दोलनले वास्तवमा परिवर्तनलाई सधैँ रोकेको छ । व्यक्ति परिवर्तन गरेर व्यवस्थालाई जीवित राखेको छ ।

आफैसँग इमानदार बन भन्ने चिनियाँ विद्वानले दिएको सुझाव विश्व पुँजीवादले बुझ्दै गर्दा व्यक्ति, संस्था र नेतालाई इमानदार बनाउने इन्जेक्सन उसैले बनाउने कुरै भएन । मुलुकको राष्ट्रिय चरित्र भ्रष्ट बनाउन सफल राजनीतिक नेतृत्वले सर्वसाधारण जनताको वैचारिक स्तर उठाउने कुरै थिएन । अभिजात वर्गहरू अविभाजित छन् तर गरिब वर्ग सधैँ विभाजित छ । आफ्नो स्वार्थलाई सुरक्षित गर्न सफल वर्गले अर्को सङ्कटको चाहना राख्दैन । उनीहरू आफ्नो स्वार्थको त्याग गर्न चाहँदैनन् । मुलुकको समस्या कुनै पार्टीको लागि विशेष छैन । राजनीति र कूटनीतिमा दोहोरो मापदण्ड सुरु भएको छ । मुलुकमा दक्षिण-पश्चिमको उपलब्धि बोक्ने सञ्चालकहरू आफू र आफ्ना संस्थाप्रति इमानदार हुन सकेनन् । मुलुकको राजनीति र आर्थिक सङ्कटप्रति पटक्कै चिन्ता नभएका उनीहरू गज्जबको आरामदायी जीवन बिताइरहेका छन् । लोकप्रिय राजनीतिको जगमा सुशासनको पैरवी गर्नेहरू आफ्ना विरोधीलाई ‘चोर-डाकूँ’ भन्दै कलङ्कित गर्नमा व्यस्त छन् । वैकल्पिक राजनीतिको वकालत गर्नेहरू विकृति र विसङ्गतिको दलदलमा फस्दैछन् । कलियुगको प्रभावमा परेको समाज र राजनीतिलाई कसरी जोगाउन सकिन्छ भन्ने विषयमा नयाँ कार्यक्रम निर्माण गर्न असफल बन्दा मुलुक नयाँ अराजकतातर्फ फस्दै छ ।

‘रेडिमेड परिवर्तन’ले शक्ति सन्तुलनमा केही परिवर्तन ल्याउने आशा तुहिएको छ । सरकारको आम्दानी भन्दा खर्च धेरै भएको अर्थतन्त्र र अन्तर्राष्ट्रिय खेलहरूले सिंहदरबार थप रक्षात्मक बन्दै छ । भ्रष्टाचारको विरुद्ध सरकारको पोजिसनमा परिवर्तन आएको छ तर जनआक्रोश र अविश्वास भने यथावत छ । त्यसैले जनताको पीडा र आक्रोश हाम्रो सामूहिक असफलता बनेर देखापरेको छ । यतिबेला लोकतन्त्र र सर्वसाधारणको असन्तुष्टि सरकारको नियन्त्रणमा छैन । दुईध्रुवीय पार्टी राजनीति अचानक बहुध्रुवीय बन्न पुगेको छ ।

नयाँ र पुरानाको जबर्जस्ती भाष्य निर्माण गर्न हौसिएको पूर्व टिभी एन्कर र कथित सोसल मिडिया ट्रोल निर्माताले फैलाएको कथा खल्लो भइसकेको छ । दक्षिण-पश्चिमका उपलब्धिबाट मुलुकवासीको कल्याण नहुने बुझ्दै नेपाल-नीति बनाउने र प्रस्तुत गर्ने अवसर गुमाएको छ । सत्ताले प्रयोग गर्दै आएका कार्यनीतिहरू असफल भइरहेको समयमा उनीहरूको उपस्थिति झनै खल्लो देखिँदै छ । सामाजिक सञ्जालको वीभत्स दुरुपयोगपश्चात् उदाएको शक्तिसँग अभिजात वर्ग थप सजग बनेको छ । अराजकताले कुलीन प्रणालीको अन्त्य गर्दै नयाँ प्रणालीको उदय गर्छ भन्ने बुझेको अभिजात वर्गले अनुहार बदलेर आफ्नो सत्ता कायम राख्न मरिहत्ते गर्दै छ ।

नाफामा आधारित मिडिया हाउसले पत्रकारितालाई लोकतन्त्रको एक महत्त्वपूर्ण हिस्साको रूपमा विश्वास गर्दैनन् । गुणस्तरीय पत्रकारिता वैश्ययुगको बोझले थलिएको छ । सत्य-तथ्यभन्दा भ्रमको पछि कुद्ने दर्शकहरू देख्दा नाफामा आधारित मिडिया मालिकहरू, व्यवसाय निर्माण गर्न सोसल मिडिया प्लेटफर्महरूमा हामफाल्दै छन् । डिजिटल युगमा, तथाकथित कन्टेनहरूले सर्वसाधारणको इच्छामा परिवर्तन गराइएको छ । पछिल्लो कालखण्डमा समाचार सामग्रीको आवश्यकता छैन । अबको केही वर्षमा पत्रकारिता कस्तो हुन्छ भनेर कसैले अनुमान गर्न सक्दैन । समाचारको उत्पत्ति एआई टेक्नोलोजीले गरिरहेको छ । परिवर्तनपश्चात् राजनीतिक, आर्थिक, सामाजिक र बाह्यरूपमा मुलुकलाई बरबाद गर्ने खेल नयाँ चरणमा प्रवेश गरेको छ । रणनीतिक हिंसा समाप्त गर्ने नाममा लादिएका उपलब्धिले लामो समयसम्म काम नगर्ने बुझेका तिनै शक्तिले व्यक्ति परिवर्तन गरेर मुलुकवासीलाई बेवकुफ बनाउने खेल सुरु भएको छ ।

जरा कुहिएको समाज र युवायुवती सबैभन्दा राम्रो विकल्पको वकालत गर्न हौसिन्छन् तर उनीहरू अस्थिरता र कुशासनको सहयोगी बनेको पत्तै पाउँदैनन् । स्थायित्व र राम्रो शासनको सपना देख्न चाहने यो वर्ग अभिजात वर्गको सधैँ टाउकोदुखाइ बन्दै आएको छ । कुहिएको राजनीतिक प्रणाली भिडाएर शान्तिपूर्वक बाँच्न चाहने अभिजात वर्गले मुलुकको दोहन गरेकोगऱ्यै छ । विज्ञानको चमत्कार, वैश्य युगको दबदबा, भौतिकवादी सोचले समाजलाई सधैँ आन्दोलित गरिरहेको छ । असमान न्याय प्रणाली, बहुआयामिक गरिबी, बढ्दो बेरोजगारी, अनियन्त्रित महँगी, डरलाग्दो भ्रष्टाचार, ध्रुवीकृत राजनीति र गुमाउन केही नभएको जनता र अस्थिरताका नयाँ कारखाना विद्रोहको कच्चा पदार्थ बन्दै छ । सामन्तवादबाट भर्खरै पुँजीवादमा हामफालेको समयमा परिवर्तनकारी शक्ति छोटो समयमा यथास्थितिबाट प्रतिक्रियावादी बन्न सुरु गर्दै छ । हाम्रो राजनीतिक इतिहासले हामीलाई सिकाएको छ- घृणाबाट मुलुक निर्माण गर्न सकिएको छैन तर घृणा बेचेर चुलो बाल्ने खेल चलिरहेको छ/चलिरहने छ ।

वैश्य युगमा मानिसहरू निजी मुद्दाहरूमा चिन्तित हुने सम्भावना बढी हुन्छ । व्यक्तिगत जीवनका सबै पक्षहरूलाई नियन्त्रित गर्ने पुर्खाको दर्शन बिर्सेको वर्तमान पुस्ताले अरूलाई गाली गरेर सन्तुष्टि लिँदैछ । आफ्नो इतिहास, मूल्य, मान्यता, धर्म, संस्कृति, परम्परा, नैतिकता र आदर्शलाई चटक्क बिर्सेर पश्चिमी रोडम्यापमा रमाउने सोचले मुलुकलाई पिरोल्दै छ । पश्चिमाहरूले स्थापना गरेको तथाकथित व्यक्तिवादी र भौतिकवादी सोचबाट मुलुकवासीलाई जोगाउन जरुरी छ । अनियन्त्रित स्वतन्त्रताको दलदलबाट जोगाउनुपर्ने छ । दुर्भाग्य ! जिब्रो र शरीरको निम्ति मुलुकको नागरिकतासमेत त्याग्न तयार पछिल्लो पुस्ता कलियुगको इज्जत लुट्न हौसिदै छ ।