अवसरवादको ताण्डव नृत्य !

दीपेन्द्र पाण्डे

मुलुकको संसद्ले भर्खरै नयाँ प्रधानमन्त्रीलाई अनुमोदन गरेको छ । कार्यकालको हिसाबले हेर्दा प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्न सफल भएका हुन् । जनादेश, मतादेश र अङ्कगणितले उनको इच्छा र चाहनालाई खुसीसाथ बोक्न सक्ने अवस्था थिएन । तथापि, संसदीय राजनीतिको दुर्गुणले कमरेड प्रचण्डको स्वार्थलाई गज्जबले स्वीकार गरेको छ । नीति, विचार, कार्यशैली, कार्यक्षमता वा कार्यदक्षतामा कुनै भिन्नताबिना पटक-पटक मुलुकको कार्यकारी पदमा पुग्न सकिने व्यवस्था पाल्दै परिवर्तनको सपना बाँड्न मिल्ने राजनीतिले अवसरवादको शक्ति र कमजोरी एकसाथ बयान गर्दै छ ।

भनिन्छ, परिवर्तनपश्चात् जनतालाई ‘दिन’ भन्दा ‘लिन’ हौसिए जनताले हार्न सुरु गर्छन् । लोकतन्त्रको अधिकांश लडाइँमा सर्वसाधारण जनता हार्दै आएका छन् । राजनीतिमा अवसरवादले टाउको उठाउनासाथ राजनीतिक शक्ति-सन्तुलनमा जनविरोधि तागत शक्तिशाली बन्नेछ । २००७ सालदेखि २०६२/०६३ सम्म भएका हजारौँ जुलुस, धर्ना, विरोध, हडताल, आन्दोलन, जनआन्दोलनका बाबजुद हाम्रो सङ्घर्ष र राजनीतिले आफूभित्र अन्तरनिहीत कमजोरीतर्फ सोच्नसमेत चाहेन । हरेक परिवर्तनपश्चात् ‘अवसरवाद’लाई राजनीतिले नियन्त्रणमा राख्नुको सट्टा राजनीतिक नेतृत्व आफै परिवर्तन हुन हौसियो । फलस्वरूप परिवर्तनको राप ताप छोटो समयमा सेलायो । परिवर्तनलाई खल्लो बनाउन सक्रिय नेतृत्वको गतिविधिले सर्वसाधारणलाई निराश बनाउँदै अवसरवादको आधारभूमि तयार गरिरह्यो ।

भरत मुनिको ताण्डव शास्त्रले ‘नृत्यदेखि युद्धसम्म’को व्याख्या गर्दा मुक्ति मान्यताले सृष्टि पनि गर्छ भन्ने कुरालाई कमरेड प्रचण्डले आफ्नै अर्थ लगाए । ताण्डवले ‘निर्माण, संरक्षण, विनाश, भ्रम र मुक्ति’ मान्यताको सिद्धान्तमा टेकेर कसरी काम गर्छ भन्ने राम्रोसँग बुझेका कमरेड ‘प्रचण्ड’ले २०५२ साल मै विधिको शासनलाई मान्दै राजनीति गरेको भए मुलुकले आरक्षण, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक सहभागिता जस्ता एजेन्डामा बहुमूल्य समय र ऊर्जा खर्च गर्नुपर्ने थिएन । राजनीतिक सिद्धान्त, राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राख्दै राजनीति गरिदिएको भए मुलुकले ‘अवसरवाद’को परिभाषा लेख्ने जिम्मा कमरेड प्रचण्डलाई दिन सक्थ्यो । कमरेडलाई राम्रोसँग ज्ञान थियो । विधिको शासन नमान्नेहरू अवसरवादी हुन् । अवसरवादीको छवि हुँदैन । चरित्र हुँदैन । स्वरूप हुँदैन । सामाजिक, प्रतिष्ठा मान, सम्मान र भिजन हुँदैन । हुन्छ त केवल निजी स्वार्थ, निन्दनीय व्यवहार । दुर्भाग्य ! अवसरवादको ताण्डव नृत्य दौरा-सुरुवालमा पुग्दा कमरेड प्रचण्ड ‘डाइनामिक अवसरवादी’मा उक्लेका छन् ।

वैश्ययुगमा राजनीतिको स्तर डरलाग्दो ढङ्गले गिरेको छ । २००७ सालदेखि २०७९ सम्मको राजनीतिलाई हेर्ने हो भने तुलनात्मक रूपमा वामपन्थी नेताहरू थोरै स्तरीय फेला पर्छन् । दुर्भाग्य ! एउटै प्रचण्डले वामपन्थी अवसरवादको रेकर्ड तोड्न सफल भएका छन् । लचकताको नाममा, ‘सत्ता लोभ तथा विचारहीनता’को पराकाष्टा कमरेड प्रचण्डले एकलौटी कब्जा गरेका छन् । लोकतन्त्रमा पक्ष–विपक्ष सामान्य र अनिवार्य हुने गर्दछ । सर्वसाधारण मानिस राजनैतिक दलको सदस्य बन्न या छोड्न उनीहरूको स्वेच्छा निर्भर हुनु पर्दछ । अवसरवादी नेतृत्वले राजनीतिक दल र सिद्धान्तलाई कपडा फेरेसमान मान्न थालेसँगै अवसरवादको परिभाषा बदलिएको छ ।

वर्तमान समयमा मुलुकको राजनीति शीर्ष नेतृत्वको तथाकथित व्यवहार र सोसल मिडियाको घृणाले थला परेको छ । राजनीतिमा निष्ठा, मूल्य, मान्यता, सिद्धान्त, नैतिकता र राजनीतिक अखण्डता नेतृत्वको अमूल्य गहना हुन । विशेष परिस्थितिमा राजनीतिक नेतृत्वले सैद्धान्तिक स्थितिलाई स्थगित गर्दै राजनीतिक लचिलोपनको उपयुक्त व्यवहार प्रस्तुत गर्नु अनिवार्य हुन्छ । राजनीतिक अवसरको सदुपयोग गर्दा नेतृत्वले देश र जनतालाई केन्द्रबिन्दुमा राख्नु जरुरी हुन्छ । फगत कुर्सीको निम्ति राजनीतिज्ञ र राजनीतिक दलहरूले ‘मुद्दा र राजनीतिक’ अडानलाई त्याग्दा सिद्धान्त र विचारधाराको हत्या हुन पुग्छ । राजनीतिमा कहिलेकाहीँ राजनीतिक सिद्धान्त र कहिले राजनीतिक एकतामा जोड दिनुपर्ने भए पनि व्यवहारवाद र लचकताको नाममा राजनीतिक अवसरवादले स्थान जमाउँदा मुलुक अवसरवादीको नजरमा ‘चारधाम’ बनेको छ । राजनीतिक अवसरलाई नितान्त व्यक्तिगत फाइदाको निम्ति ‘रचनात्मक र सिर्जनात्मक प्रयोग’ भन्न पछि नहट्नेहरू तथाकथित कार्यलाई समेत सैद्धान्तिक जामा पहिराउन सफल हुनुलाई अवसरवादले महान् विजय ठान्दै छ ।

मुलुकमा एक समय अवसरै अवसर थियो । अवसरवादी बन्ने हिम्मत अपवादमा मात्र थियो । विश्व–राजनीतिको मूल्य र मान्यता पछ्याउँदै राजनीति गर्न सम्भव थिएन । दलमाथि प्रतिबन्ध थियो तर भूमिगत रूपमा राजनीति गर्न अनेकौँ अवसर थियो । मुलुकमा अवसर नदेख्नेहरू अवसर निर्माण गर्न मरिहत्ते गरिरहन्थे । राजनीतिमा अवसरको वकालत जरुर चल्दथ्यो तर अवसरवादी बन्न कसैलाई जाँगर र हतार थिएन । फलस्वरूप राजनीतिक विचारधारा र सिद्धान्तको स्थान अत्यन्त सम्मानित थियो । त्यागमा प्राप्ति थियो । अवसर खोज्न विदेश जानेहरू अवसरवादी कहलिन्थे । राजनीतिले स्थापित गरेका मूल्य र मान्यता त्याग्दै व्यक्तिगत स्वार्थमा रमाउन चाहनेहरू सत्तासँग सम्झौता गर्दै अवसरवादी बन्ने गर्थे । ‘मुलुकमा अवसर छैन, राजनीति पतित र भ्रष्ट भयो, मुलुकको भविष्य छैन’ भन्दै नागरिकता त्यागिसकेकाहरू चोरबाटोबाट राजनीतिक उद्योगमा प्रवेश गर्दै ‘प्रचण्ड-ओली’लाई गुरु मान्न मरिहत्ते गर्दैछन् ।

राजनीतिमा सिद्धान्त र व्यक्तिमा नैतिकता समाजले हेर्ने ‘कपडा’ हो । शब्दकोशको परिभाषाले राजनीति र व्यक्तिलाई वैश्य युगमा हस्तक्षेप गर्न सम्भव देखिएन । जब-जब वास्तविक संसारको अपूर्णताले हामीलाई टोक्छ, तब-तब व्यक्तिहरूको नजरमा इमानदारीको अर्थ फरक-फरक बन्न थाल्छ । तसर्थ, व्यवहारमा चुक्नेहरू नियम र सामाजिक अपेक्षाहरूलाई जीवित राख्न भन्दा निजी आवश्यकता र महत्वकाङ्क्षासँग आत्मसमर्पण गर्न रमाउँछन् । इमानदारिता महत्त्वपूर्ण चिज हो, यसको पालना अरूले गरिरहुन् तर आफूमा लागु नहोस् भन्ने चाहना अवसरवादीहरूको हुने गर्छ ।

राजनीतिक प्रयासको अर्थ र उद्देश्य हुनैपर्छ । इमान्दारिता राजनीतिज्ञको पुँजी हो । अवसरवादले राजनीतिज्ञको आस्था, विश्वास र राजनीतिक आचरणलाई धुलोमा मिलाउने गर्दछ । अवसरवादीको नजरमा राजनीति गरिबबाट भोट लिने फगत एक कला हो । सूचनाको स्वतन्त्रता, व्यक्तिगत सम्पत्तिको सार्वजनिक घोषणा र सार्वजनिक छानबिनको खुला आमन्त्रण नौटङ्कीमा बदलिएको राजनीतिमा नव अवसरवादीको स्ट्ण्टवाजीसमेत ‘राजनीति’ बन्न पुग्यो । राजनीतिक इच्छाशक्ति र राजनीतिक गुण घट्दै गएको वैश्ययुगमा समृद्धि, विकास, राष्ट्रवाद, पारदर्शिता र जवाफदेहिता भन्दा सोसल मिडियाको समर्थन अनिवार्य बनाइयो ।

मुलुकको लोकतन्त्रका चारै स्तम्भ मक्किएका छन् । अवसरवाद र अवसरवादीको दलदलमा फसेको संसदीय व्यवस्था ‘गिरोह’, भ्रष्ट, अज्ञानी र स्टण्टवाजको कब्जामा परिसकेको छ । दलीय सिन्डिकेट कमजोर भएको अवस्थामा अवसरवादी राजनीतिको दृश्यहरू अकल्पनीय ढङ्गले बदलिएको छ । परिवर्तनको ब्याज खाएर थाकेको लोकतन्त्रले ‘झिल्के’हरूलाई ‘नयाँ जोगी’को रूपमा फेला पारेको छ । ठुला दलहरू कमजोर बन्दा बाध्यात्मक सम्झौताले लोकतन्त्रको पेचकिला झनै मक्किएका छन् । सरकारी पारदर्शिता, मिडिया स्वतन्त्रता, मतदाता सचेतना ओरालो लागेको समयमा उदाएका या स्थापित गरिएका ‘अवसरवादी र स्टण्टवाजी’को ऋणसमेत मुलुकवासीले तिर्नुपर्ने छ ।

‘अवसरवाद’ले निर्णय लिने अवस्थालाई वर्णन गर्दछ । दुर्भाग्यवश ‘अवसरवाद’को प्रयोग गर्नेहरू यसलाई ‘आवश्यकता या लचकता’ भन्दै परिभाषित गर्न हौसिन्छन् । यतिबेला मुलुकमा अवसरवादको नाङ्गोनाच चलिरहेको छ । अवसरवादको ‘डिग्री’ झन्–झन् उकालो चढ्दैछ । जसले गर्दा अवसरवादीलाई ‘अवसर र जोखिम’को पहिचान गर्न हम्मे पर्दैछ । अवसरवाद भनेको स्वार्थ हो । अवसरवाद लाभको लागि कुनै पनि अनैतिक व्यवहारमा संलग्न हुने सामान्य स्वभाव हो । यद्यपि ‘झिल्के’हरूले ‘अवसरवाद’लाई आवश्यकताअनुसार परिभाषित गर्न सक्छन् ।

राजनीति उच्च वैचारिक रूपमा चलेको समयमा अल्पकालिन फाइदाको निम्ति अवसरवादको सहारा लिनु उपयुक्त र अनिवार्य हुन्छ भन्ने वामपन्थीहरूको तर्क रहने गरेको छ । उदाहरणका लागि, सन् १९१७ मा रुसी बोल्सेविक पार्टीले रुसी सरकारको धम्की र कोर्निलोभको सैन्य विद्रोहको प्रयासको जवाफमा, लेनिनले रुस फर्कन जर्मन (शत्रु)को समर्थन गरे । ‘अवसरवाद’ सैद्धान्तिक लक्ष्यको निम्ति हुनुपर्छ न कि व्यक्तिगत स्वार्थपुर्तिको निम्ति । एल्स्टरको बुझाइमा अवसरहरूमा बाधाहरू परिवर्तन गर्न धेरै गाह्रो छ । यद्यपि उनी यो पनि स्वीकार गर्छन् कि अवसरहरूले इच्छाहरूलाई अन्ततः प्रभाव पार्छ । किङडन्स मान्छन्- अवसरवादको वैध अवधारणा ‘अवसर’को स्पष्ट परिभाषामा निर्भर हुनुपर्छ । व्यक्तिले चाहनाको हिसाब राख्दैन । फाइदाहरू प्रदान गर्दै लोकप्रियता खोज्नु सिद्धान्ततः अवसरवादी बन्नु होइन भन्दै अवसरवादीहरू ताण्डव नृत्य गर्न सफल हुन्छन् ।

अवसरवादको परिभाषा अवसरवादीको नजरमा फरक-फरक हुन सक्छ । सत्य, सत्यता र कटु सत्यलाई व्याख्याद्वारा पुष्टि गरिरहनुको कुनै औचित्य छैन । जब अवसरवादले ‘अपराध’लाई अनिवार्य मान्न र ठान्न थाल्छ, त्यसले विचित्रको परिभाषा निर्माण गर्न हौसिन्छ । अवसरवादीको क्षमता र लक्ष्यहरूले अवसरवादको सामग्री सदैव खोजी गरिरहेको हुन्छ, जसले गर्दा उनीहरू विशिष्ट व्याख्यालाई समेत अवसरको दृष्टिले हेर्न रुचाउँछन् । यसलाई सजिलोसँग बुझ्न निर्वाचनको आसपास कमरेड प्रचण्डले दिएका अन्तरवार्ता र वर्तमान गृहमन्त्रीले सञ्चारकर्मी बन्दै टेलिभिजनमा बोलेका एकाध कार्यक्रम सुन्नु काफी हुनेछ ।

मान्न र भन्न सकिन्छ- राजनीतिको अन्तिम लक्ष्य सत्ताप्राप्ति हो । तर राजनीतिक ‘लक्ष्य’ हासिल गर्न अवसरवादी नै बन्नुपर्छ भन्ने ‘सिद्धान्त’ मुलुकलाई प्रयोगशाला बनाए पश्चात् जबरजस्ती स्थापित गरिँदै छ । प्रेम, युद्ध र सत्ता राजनीतिमा सबै जायज हुन्छ भन्ने अवसरवादीको जमघटले जनतालाई दिने भनेको केवल आश्वासन र कुशासन मात्र हो । आयात रोकिँदैन । महँगी घट्दैन । उत्पादन हुँदैन । रोजगारीको निम्ति विदेश जानेको सङ्ख्या घट्दैन । ढुकुटीबिना बाँड्ने कुरा सरकारी प्राथमिकतामा परिरहन्छ भने मुलुक असफल बन्न कसले रोक्न सक्छ ? मुलुक निर्माणको ‘रोडम्याप र डिपिआर’ बिना राजनीतिमा मौलाएको अवसरवादले मुलुकलाई थप कङ्गाल बनाउनेमा तर्क गरिरहनु पर्दैन । अझ भनौँ- गोलीबिनाको बन्दुक बोकेर सिकार गर्न निस्केको अवसरवादले सोसल मिडियाको दुरुपयोगमा आफ्नो आयु लम्ब्याउने छ ।

सामान्यतया राजनीतिले सर्वसाधारण मानिसलाई आकर्षित गर्दैन । तर विगत केही समयदेखि आम जनताको ध्यान राजनीतितर्फ आकृष्ट हुँदै छ, ‘विकर्षण’को रूपमा । राजनीतिक सिद्धान्त त्याग्दै निजी स्वार्थप्रति इमानदार बन्ने राजनीति हाबी हुँदा मुलुकको लोकतन्त्र जनताको नजरमा औचित्यहीन बन्न पुगेको छ । दलीयतन्त्रको नाममा जनता बिच वैचारिक मतभेद सिर्जना गर्नेहरू लोकतन्त्रको हुर्मत लिन सफल हुँदैछन् । एकअर्का बीच कट्टर विरोधी राजनैतिक दल सत्ता हासिल गर्न हदैसम्म गिर्न तयार छन् । मतदातालाई सिंहदरबार छिर्ने चाबीमा सीमित गर्न हौसिएको दलीयतन्त्र लोकतन्त्रको आत्मामाथि गम्भीर प्रहार गर्दैछ ।

समाधान पस्किन असफल निर्वाचनको नतिजापश्चात् राजनीतिक माहौल वास्तवमा अन्धकारतर्फ लम्किँदै छ । जनताको दुःख र निराशा नयाँ चरणमा प्रवेश गरेको छ । नैतिकता रफ्तारमा गिर्दै छ । संसदीय अङ्कगणितले संविधान र लोकतन्त्रलाई थप गरिब र कङ्गाल बनाउँदै छ । धन-शक्ति, बाहुबल र संस्थागत भ्रष्टाचार नयाँ अध्याय लेख्न आतुर छ । ‘धनकुवेर’ राजनीति चम्किँदै गर्दा जनता ‘सुदामा’ बन्दै छन् ।

खण्डित जनादेशको कारण राजनीतिक स्थिरता अब केवल सपना बन्न पुगेको छ । मुलुक सरकारविहीन बन्ने कल्पना संविधानले नगरेको हुँदा गठबन्धन राजनीति अनिवार्य बन्न पुगेको छ । निर्वाचनपूर्व या निर्वाचनपश्चात् अनिवार्य बनेको गठबन्धन ‘राजनीतिक अवसरवाद’मा बन्ने भत्कने अवस्थापश्चात् अवसर र अवसरवादको नयाँ-नयाँ एपिसोड बनिरहने निश्चित छ । अवसरवादको बिम्बको रूपमा ‘कमरेड प्रचण्ड’लाई स्थापित गर्न पूरै दलीयतन्त्र र संसदीय व्यवस्था लाग्नुले विश्व अवसरवाद समेत मक्ख छ ।

मुलुकमा अवसरवादको ताण्डव नृत्य चलिरहेको छ । चलिरहने छ । तमाम अवसरवादीहरूको नेतृत्व प्रधानमन्त्री प्रचण्डले गरेका छन् । मुलुकको राजनीति ‘लोकप्रियवाद, अर्थवाद, अवसरवाद र करपोरेटवाद’को गोजीमा पुग्दा मुलुकवासी हताश र निराश छन् । ‘लोकप्रियवाद’को आवरणमा ‘अर्थवाद र अवसरवाद’को संरक्षण गर्न क्रियाशील पात्रहरू जनताको प्रवक्ता बनेर उदाएका छन् । असङ्ख्य सङ्घर्ष र परिवर्तनबाट धोखा खाएका सर्वसाधारण सामाजिक सञ्जालको उन्माद र प्रचारशैलीको फन्दामा पर्दै छन् । लोकप्रियवाद, अवसरवाद र सामाजिक सञ्जालको अविवेकी ताण्डवबाट जोगिन नसके अवसरवादीहरूले कप्लक्क खाने छन् ।