के सोसल मिडियाले राजनीति मार्दै छ ?

भ्रष्टाचार, गरिबी, अशिक्षा, बेरोजगारी, राजनीतिक सङ्क्रमण र अधिक सपनाबाट आक्रान्त मतदाताहरू राजनीतिक निकास खोज्दै थिए । गत मङ्सिर ४ गते सम्पन्न आम निर्वाचनमा तिनै मतदाता सोसल मिडियाको कच्चा पदार्थ बन्न हौसिए । अशिष्ट, अभद्र, उत्तेजनापूर्ण र निम्न स्तरको भाषा प्रयोग गर्दै मूलधारका दल र त्यससँग सम्बन्धित नेतालाई खुइल्याउन सोसल मिडियाको नाङ्गो प्रयोग गरियो । व्यवस्था कायम राख्दै अवस्था बदल्ने नाममा सोसल मिडियाको रणनीतिक दुरुपयोग गरिएपश्चात् ‘के सोसल मिडियाले राजनीति मार्दैछ ?’ भन्ने सवालमा गम्भीर बहस हुनु जरुरी देखिन्छ ।

विश्व-राजनीतिले तय गरेका ‘लक्ष्मण रेखा’भित्र सर्वसाधारण जनता बस्न कठिन बनाउने माध्यम बनेर सोसल मिडिया मुलुक प्रवेश गरेको छ । यतिबेला सोसल मिडिया ‘दुवैतर्फ धार भएको तरबार’ बनेर उदाएको छ । राजनीतिमा सोसल मिडिया ‘औषधि कम रोग ज्यादा !’ बन्न हतारिएको पछिल्लो अवस्थापश्चात् जनताको आवाज थप बरालिँदै छ । सन् २०२२ को जनवरीसम्म मुलुकमा ११.५१ मिलियन इन्टरनेट प्रयोगकर्ता थिए । सन् २०२२ को सुरुमा नेपालको इन्टरनेट प्रवेश दर कुल जनसङ्ख्याको ३८.४ प्रतिशतमा उक्लियो । Internet World Stats ले पस्केको डाटा हेर्दा फेसबुकको पेनिट्रेसन डरलाग्दो देखिन्छ । सन् २०२२ जुलाईको डाटाअनुसार ७८५५८८ जनसङ्ख्या भएको सानो मुलुक भुटानमा ५ लाख ७९ हजार ६ सय फेसबुक युजर हुनुले सोसल मिडियाको प्रभाव कुन हदसम्म फैलिँदै छ- बुझ्न सकिन्छ । यसैगरी सन् २०२२ को जनवरीमा भारतमा ६५ करोड ८० लाख र पाकिस्तानमा ८ करोड २९ लाख इन्टरनेट प्रयोगकर्ताहरू थिए । पाकिस्तानको इन्टरनेट प्रवेश दर २०२२ को सुरुमा कुल जनसङ्ख्याको ३६.५ प्रतिशत थियो । दक्षिण एसियामा इन्टरनेट प्रयोगकर्ताहरू बढ्दै जाँदा सोसल मिडिया थप झ्याङ्गिदै छ ।

वैश्ययुगको समाज र राजनीतिमा समान परिवर्तनहरू विश्वभर प्रतिध्वनित हुँदै आएको छ । सोसल मिडियाले लोकतन्त्रलाई बलियो वा कमजोर बनाउन सक्छ भन्ने विश्व पुँजीवादले राम्रोसँग बुझेको छ । मूलधारका मिडिया, टिभी च्यानल र समाचारपत्रहरू पक्षपाती हुन्छन् । गरिब र निमुखाहरूको आवाज र दु:खलाई स्थान दिन चाहँदैनन् । हो, यही कुरालाई विश्व पुँजीवादले बुझ्यो र सोसल मिडियामार्फत उनीहरूसम्म पुग्यो ।

भनिन्छ- सोसल मिडिया गरिब, असहाय, निमुखाको आवाज र ‘मुखपत्र’ हो । दुर्भाग्य ! यस भनाइलाई खण्डित गर्न उसका आफ्नै गतिविधि जिम्मेवार बन्दैछन् । वैश्ययुगले सोसल मिडियालाई गज्जबले पुल्पुल्याउँदै छ । उसको उत्ताउलो गतिविधि हेर्दा, देख्दा सभ्य र शिक्षित मानिस मात्र हैन सामान्य मानिसलाई समेत वाकवाकी लाग्ने अवस्था छ । आरोप, घृणा, नकारात्मकताको मार्केटिङ गर्दै सर्वसाधारणको दिमाग चाट्न हौसिएको सोसल मिडियाको छाडापन पचाउन गैँडाको जस्तो छाला बनाउनुपर्ने समय आएको छ ।

नेपाली समाजभित्र असङ्ख्य समस्याहरू थिए । सत्ताभित्र अनेकौँ अन्तरविरोधहरूले जन्म लिँदै थियो । सत्ताले समयमै तमाम समस्या र अन्तरविरोधको वस्तुनिष्ठ समाधान खोज्न रुचि देखाएन । अन्तत: मुलुकले अनेकौँ आन्दोलन देख्न बाध्य भयो । परिवर्तन देख्न पायो । यद्यपि परिवर्तन संस्थागत हुन दिइएन । प्रजातन्त्रदेखि लोकतन्त्रप्राप्तिको अभियानमा मुलुकले बगाएको अथाह रगत, पसिना, आर्थिक र भौतिक नोक्सानीको उल्लेख गर्दै नयाँ पाठ्यक्रम परिवर्तन गर्न राजनीतिक दलहरूले रुचि देखाएनन् । नयाँ पाठ्यक्रम लागु गर्दै राजनीतिक इतिहास, नैतिक शिक्षा र प्राविधिक शिक्षालाई आक्रामक ढङ्गले लागु गर्न नचाहेको फाइदा सोसल मिडियाले उठाउँदै छ । लोकतन्त्रको आगमनपश्चात् मुलुकमा जनताको पक्षमा कुनै काम भएन । जे-जति भए सबै नराम्रो मात्र भयो भन्ने प्रचार गरियो/गरिँदै छ । जनताको चेतनास्तर, राष्ट्रिय ढुकुटी, शिक्षाको अवस्था, प्रविधिको अवस्था, न्यायालयको परम्परागत सोच, कर्मचारीको यथास्थितिवादी शैलीलाई पुर्णत: अनदेखा गर्दै झुट, उत्तेजना, भावना र असन्तुष्टिको प्रचार गर्दै जनतालाई आक्रोशित गर्न सोसल मिडिया सक्रिय भए/हुँदैछन् ।

राजनीतिक सिद्धान्तबिना मुलुकले सही दिशा समात्न नसक्ने अन्तर्राष्ट्रिय मूल्य र मान्यतालाई चटक्क बिर्सेर मुलुकमा नयाँ अभियान छेडिँदै छ । अशिक्षा, अभाव, गरिबी, बेरोजगारी र भ्रष्टाचारले थिलथिलो बनाएको मुलुकमा फेसबुक, ट्विटर, इन्स्टाग्राम र व्हाट्सएपको विभत्स प्रयोग बढाउँदा राजनीति र सर्वसाधारणको मथिङ्गल नराम्रोसँग खल्बलिएको छ । राजनीतिक सहभागिता बढाउने नाममा विशेषगरी मध्यम वर्ग र सीमान्तकृत समूहहरूलाई दिग्भ्रमित गर्ने क्षमता राख्ने सोसल मिडियाको प्रयोग राजनीतिक स्थिरता र सुशासनको निम्ति नयाँ समस्या बनेर उदाएको छ । नकारात्मकता फैलाउन, समाजलाई विभाजित गर्न, असहमतिलाई बिस्तार गर्न, विकृति फैलाउन र साम्प्रदायिक तनावलाई मलजल गर्न हौसिएको सोसल मिडिया मुलुकमैत्री नरहेको बुझ्न ढिला भइसकेको छ ।

पछिल्लो कालखण्डमा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या अकल्पनीय ढङ्गले बिस्तार हुँदा फेसबुकले सस्तो, आधारभूत प्याकेज प्रस्ताव गर्न विश्वभरका दूरसञ्चार प्रदायकहरूसँग साझेदारी गरिरहेको छ । सोसल मिडियाको कारण जन्म लिएका अनेकौँ समस्यालाई नियन्त्रण गर्न पाकिस्तानले सेन्सरसिपलाई बढाउन बाध्य भएको छ भने भारतले अनलाइन निगरानीको कानुन ल्याउने तयारी गर्दैछ । जनताप्रतिको उत्तरदायित्व राम्रोसँग बहन गर्न नसकेका कमजोर सत्ता रहेका मुलुकहरूमा सोसल मिडिया आफै शासक र न्यायकर्ता बन्ने कोसिस गरिरहेको छ । सकारात्मक नतिजा पस्किने बहानामा सम्बन्धित मुलुकको सामाजिक जनजीवन र राजनीति थप अव्यवस्थित बन्न पुगेको छ । व्यक्तिगत रूपमा लक्षित अपराध र अनलाइन-घृणाको अनियन्त्रित घटनाले महिला र युवतीहरू थप प्रताडित बन्न विवश छन् । सोसल मिडियामा अपलोड गरिएका विषय र घटनाले जनता र सत्ताबीच शङ्का, घृणा र तनावलाई बढवा दिँदैछ । जसले जनता–जनता बीच दूरी बढाउँदै छ । अवश्य पनि, तनावको लागि सोसल मिडियालाई दोष दिन सकिँदैन, तर यसले आगोलाई पङ्खाको काम गरिरहेको छ । हाम्रासामु शताब्दीदेखि अफवाहहरू मौजुद छन् । गरिब मुलुकभित्र रहेका राजनीतिक अन्तरविरोधलाई आफ्नो पक्षमा ढाल्न दिनरात एक गरेका पश्चिमी शक्तिले सोसल मिडियामार्फत राजनीतिको आत्मामाथि प्रहार गरिरहेको छ ।

एमनेस्टी इन्टरनेसनलको सर्वेक्षणले बेलायतमा पाँचमध्ये एक महिलाले अनलाइन दुर्व्यवहारको सिकार भएको फेला पारेको छ । भारत, नेपालमा व्हाट्सएपसम्बन्धी हिंसामा तीव्र वृद्धि हुँदै छ । व्हाट्सएपको सेवाका शर्तहरूले घृणायुक्त भाषण, हिंसाको धम्की र झूटा बयानहरूलाई निषेध गरे पनि व्यवहारमा प्रयोगकर्ताले उतारेको भेटिँदैन । सञ्चारको लागि व्यक्तिदेखि व्यक्तिसम्म डिजाइन गरिएको फेसबुक वा ट्विटरमा अपलोड गरिएका सन्देशहरू सजिलै निगरानी गर्न सकिँदैन । इन्क्रिप्टेड सन्देशहरू केवल पठाउने वा प्राप्त गर्ने फोनहरूमा मात्र देखिन्छन् । फरवार्ड गरिएको नक्कली भिडियोको उत्पत्ति कहाँबाट भयो भनेर ट्र्याक गर्न सजिलो छैन । करिब असम्भवजस्तै छ ।

सोसल मिडियाको उदयसँगै परम्परागत राजनीतिज्ञहरू र आम जनताबीचको अन्तरक्रियाको संस्कृतिमा परिवर्तन आएको छ । पछिल्लो समयमा नेताको मतदातासँग घुलमिल हुने, गरिबसँग खाना खाने, अँगालो हाल्ने र सेल्फी खिच्न हतारिएको फेलापरेको छ । मतदाताहरूले नेताको शैली र उनीहरूको विगतको कार्यसम्पादन र भविष्यका प्रतिनिधिको रूपमा विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाइरहेका छन् । उत्पीडनमा परेका मतदाताले सोसल मिडियालाई प्लेटफर्मको रूपमा फेला पारे पनि समग्रमा तस्बिर जटिल छ । राजनीतिक बहसमा धेरै मानिसहरूलाई आवाज दिए पनि, उत्पीडन र गलत सूचनाको स्तरले अभिव्यक्ति स्वतन्त्रतालाई कम गर्ने स्पष्ट जोखिम छ । फलस्वरूप सोसल मिडियाको अन्तहीन फाइदा सर्वसाधारणले लिन करिव असम्भव छ ।

मदिरा, वेश्यावृत्ति र सोसल मिडिया विश्व पुँजीवादका सफल अस्त्र हुन् । डिजिटल प्लेटफर्महरू परिवर्तन र विद्रोहको ‘डाइनामाइट’ बन्न सक्ने बुझ्नासाथ विश्व पुँजीवादले यसको प्रयोग चलाखीसाथ सर्वसाधारणसम्म पुर्‍याउँदै छ । स्वयम सङ्गठित र स्व-व्यवस्थित, सामान्यतया गैर-नाफामुखी, खुला र सहभागितामूलक तरिका अपनाएको भन्दै विरोध र असहमतिको महत्त्वपूर्ण साइटहरूको रूपमा, सामाजिक आन्दोलनको नेतृत्व गर्दै वैकल्पिक मिडिया मुलुक भित्रियो । मुलुकवासीको इच्छा र चाहना या लोकतन्त्रको न्यूनतम मूल्य र मान्यतामा चल्नुभन्दा दक्षिण-पश्चिमको सेवा गरे सदासर्वदा संस्थापन शक्ति बन्न सकिन्छ भन्ने मूलधारका दलहरूले सोसल मिडियाको तागत बुझ्नसमेत नचाहनु आफैमा रहस्यमय छ ।

‘सामाजिक सञ्जाल प्रयोगकर्ताहरू ग्राहक होइन, नागरिक हुन्’ भन्ने विश्व पुँजीवादले आजसम्म स्वीकार गरेको भेटिँदैन । फेसबुक र अन्य प्लेटफर्ममार्फत उत्पन्न ‘महत्त्वपूर्ण डाटा’ उनीहरूको राजनीतिक पुँजी बनिरहेको छ । सामाजिक सञ्जालको ‘Data mining’ले इन्टरनेट प्रयोगकर्ताहरूको स्थान, गतिविधि, नेटवर्क र प्राथमिकताहरूको विस्तृत निगरानी र विश्लेषण गरिरहेका छन् । सामाजिक सञ्जालमा आधारित खुफिया भेला, सक्रियता र विरोधलाई अनुसन्धान गर्दै नयाँ-नयाँ रणनीति र योजना निर्माण गर्दै प्रयोगमा ल्याउँदै छन् । सामाजिक सञ्जालहरू निजी क्षेत्रको स्वामित्वमा छन् । उनीहरू नितान्त व्यावसायिक र रणनीतिक ढङ्गले काम गरिरहेका छन् । उनीहरू ‘विज्ञापन, बस्तुहरू र डेटा बेच्नको लागि अत्यधिक अपारदर्शी उपकरणहरूको वरिपरि केन्द्रित छन् । साथै हाम्रा अनलाइन गतिविधि र प्राथमिकताहरू ट्र्याक गर्दै आइरहेका छन् । जसले गर्दा हाम्रो राजनीतिमा गम्भीर चुनौतीहरू थपिँदै गइरहेका छन् ।

नियमन प्रक्रिया फितलो भएको मुलुकमा सामाजिक सञ्जालको अव्यवस्थित प्रयोगले गलत सूचनाको फैलावटलाई तीव्र बनाउँछ । भाइरल बन्ने बनाउने नियतले प्रयोगकर्तालाई गुमराहमा पार्ने गर्छ । टिक्न र बिक्न पर्ने बाध्यताले विकृति र गलत जानकारीको प्रवर्द्धन समेत हुने गर्छ । डिजिटल, छापा, टेलिभिजनलगायत व्यावसायिक उद्योगहरू चलाउने नाममा पत्रकारिताको मापदण्ड, अपेक्षा र अभ्यासहरू परिवर्तन गर्न बाध्य बनाउँछ । केवल नाफाकेन्द्रित मिडिया हाउसहरू ‘छोटो बाटो’ समात्न हौसिने हुँदा सोसल मिडियामार्फत आफ्नो अभीष्ट पूरा गर्न चाहने शक्तिलाई सुअवसर प्राप्त हुन पुग्छ ।

लोकतन्त्रमा सर्वसाधारणका वैध अपेक्षाहरू थपिँदै छन् । इन्टरनेट गलत सूचनाको हतियार बनिरहेको छ । हामी चाहान्छौँ- यो सुरक्षित र भरपर्दो हुनुपर्छ । इन्टरनेट त्यस्तो ठाउँ हुन सक्दैन जहाँ विषाक्त पदार्थहरू मौलाओस् । जबकि इन्टरनेटले असल शक्तिको प्रतिनिधित्व गर्नुपर्छ । सम्पूर्ण मानवजातिको निम्ति इन्टरनेट असल शक्ति रहिरहोस् भने पनि विश्व पुँजीवाद त्यस्तो चाहँदैन । सन् २०२२ को डिसेम्बर १३ मा भारतीय केन्द्रीय सूचना प्रविधि एवम् आइटी राज्यमन्त्री राजीव चन्द्रशेखरले दुबईमा आयोजित इन्डिया ग्लोबल फोरममा इन्टरनेटको बारेमा गम्भीर सवाल उठाए । कार्यक्रममा उनले भने- इन्टरनेट विषाक्त बन्दै गएको छ । यसमार्फत ‘गलत सूचनालाई हतियार बनाइँदै’ छ । युवायुवतीहरू साइबर बुलिङको सिकार हुँदै छन् । इन्टरनेटमा हुने ट्रोलिङ रोक्न नयाँ कानुनको जरुरी छ ।

गरिबीमा लोकतन्त्र मौलाउन सक्दैन तर भ्रष्टाचारको निम्ति मलिलो जमिन प्राप्त हुने गर्छ । सस्तो आश्वासनले लोकतान्त्रिक व्यवस्थालाई थप कमजोर बनाउँछ । निर्वाचन प्रक्रिया, विश्वव्यापी द्वन्द्व र चरम राजनीतिमा सोसल मिडियाको प्रयोगले गरिब मुलुकमा कूटनीति कम ‘निजी स्वार्थ र धारणा’ हाबी हुँदै छ । सोसल मिडियाका सन्देशहरू थप सशक्त र असरदार बन्दै गर्दा राजनीतिमा अझ खराब दिन आउन बाँकी छ । वाकवाकी लाग्ने ढङ्गले फैलाइने तथाकथित सूचनाले राजनीतिमा उथलपुथल ल्याउँदै छ । परिवर्तनको नाममा नालायकहरूलाई लायक स्थानमा पुर्‍याउने खेल सुरु भइसकेको छ । आफ्ना रणनीतिक स्वार्थलाई परिवर्तनको बहानामा स्थापित गर्न मरिहत्ते गरिँदै छ । अविश्वसनीय स्रोतहरूबाट नक्कली समाचार र कथाहरूलाई जङ्गलको आगो जस्तै फैलाउन सफल हुँदा सोसल मिडियाले लोकतन्त्रलाई नियन्त्रणमा लिने तागत सिर्जना गरेको छ ।

असङ्ख्य भिन्नताहरूको बाबजुद, ‘ज्ञान अर्थव्यवस्था’ knowledge economy सोसल मिडियाको एक महत्त्वपूर्ण पक्ष हो । शोधकर्ताहरूले टिप्पणी गरेका छन् कि व्यक्तिको ज्ञान एक दुर्लभ स्रोत हो । ज्ञान अर्थव्यवस्थाको महत्त्व र शक्ति बुझेको सोसल मिडियाले व्यक्तिको ‘तनाव’लाई पुँजीकृत गर्न भरमग्दूर कोसिस गरिरहेको छ । राजनीतिक विषयहरू सन्दर्भअनुसार भिन्न हुन्छन् । केवल त्रुटी मात्र खोज्ने शैलीले सोसल मिडियाको औचित्य कमजोर हुँदै छ । सार्वजनिक प्रतिक्रियामा बहुमूल्य समय खर्च गर्दा सामाजिक सम्पत्तिको रूपमा स्थापित राजनीतिक पार्टी, जाति, धर्म, मूल्य, मान्यता थप कमजोर बन्दै छन् । जसले गर्दा अनिश्चित राजनीतिक परिणामहरू ल्याउने वातावरण निर्माण गरिँदै छ । विशेषगरी गलत सूचना र गलत जानकारीको पछि लाग्दा भएका उपलब्धिसमेत सङ्कटमा पर्दै छन् । सोसल मिडियाको कु-प्रभावमा पर्दा व्यक्ति र समूहबीचको सामाजिक सम्बन्ध पातलो बन्दै छ । अन्तत: अपत्यारिलो ढङ्गले राजनीतिलाई मृत्युतर्फ धकेल्न ‘सोसल मिडिया’ सफल हुँदै छ ।