अन्तिम मौकाको खोजीमा केपी ओली

६ महिनाको अवधिमा दुई पटक संसद् विघटन, नेकपाको औपचारिक विघटन र अदालतमा जन्मिएको एमाले पार्टीसमेत चोइटिएपछि अध्यक्ष ओली विचित्रको घेराबन्दीमा परेका छन् । महाकाली सन्धि र त्यसपश्चात् दक्षिण-पश्चिमलाई रिझाउन गरेको अथाह कुर्बानीको बाबजुद सडकमा पुग्न बाध्य भएको ओली राजनीतिले निर्वाचन नामको अर्को एउटा महायुद्ध लड्ने तयारी गर्दैछ । दुब्लाएको राजनीतिक छवि, गुमाएको विश्वसनीयता, देउवा-प्रचण्ड-माधवको सिद्धान्तहीन घेराबन्दी र दक्षिण-पश्चिमको कसिलो रणनीतिलाई कसरी चिरेर अगाडि बढ्छन् भन्ने उत्सुकता सर्वसाधारण नेपालीले गर्दै छन् । यस्तो कहालीलाग्दो अवस्थामा अध्यक्ष ओलीसँग हुबहु मिल्ने महाभारतको घटना पस्किने अनुमति माग्दछु ।

धृतराष्ट्र पत्नी गान्धारीमाथि भगवान् शिवको असीम कृपा थियो । भगवान् शिवबाट प्राप्त वरदानअनुसार गान्धारीको आँखामा अथाह शक्ति थियो । गान्धारीले आँखामा बाँधेको पट्टी खोल्दै जसलाई हेर्ने छिन् । उसको शरीर फलामको हुनेछ । महाभारत युद्धमा आफ्ना ९९ पुत्रको मृत्युपश्चात् माता गान्धारीले पुत्र दुर्योधनसँग भनिन्- ‘नुहाएर नाङ्गो अवस्थामा मेरोसामु आऊ ।’ गान्धारीको शक्ति बुझेका भगवान् कृष्णले दुर्योधनलाई उचाल्दै भने- ‘जवान मानिस गुप्ताङ्ग देखाएर कसरी मातासामु जान सक्छौ ? कम्तीमा लाजको त ख्याल गर !’ गान्धारीले आँखाको पट्टी खोल्दा निस्केको ज्योतिले दुर्योधनको शरीर फलामको भयो तर केराको पातले छोपेको स्थानमा ज्योति पर्न सकेन । फलस्वरूप उनको गुप्ताङ्ग कमजोर रहन गयो । दुर्भाग्य ! भगवान् कृष्णको षडयन्त्रले उनी मारिए ।

भगवान् कृष्णलाई राम्रोसँग थाहा थियो । दुर्योधन रहेसम्म महाभारत युद्ध पाण्डवहरूको पक्षमा जाने छैन । माता गान्धारीको आँखाको ज्योति सम्पूर्ण शरीरमा परेको खण्डमा साक्षात् महादेवले चाहे पनि दुर्योधनको मृत्यु सम्भव थिएन । महाभारतको यही घटनाबाट शिक्षा लिएका दक्षिण-पश्चिमले अदालतको प्रयोग गर्दै ओलीलाई निर्वाचन गराउन दिएनन् । अब पालो ओलीको आएको छ । उल्लेखित घटनाबाट अध्यक्ष ओलीले ठुलो शिक्षा लिन तयार भए उनको राजनीतिक भविष्य फलामको बन्न सक्छ । जसको निम्ति उनले आफ्नै विगततर्फ फर्किनु अनिवार्य छ । १२बुँदेको अपार सफलतापछि मुलुकमा राजनीति समाप्त पारिएको छ । राजनीतिक परिवर्तनको नाममा मुलुकले धेरै गुमाएको छ । कुर्सीको निम्ति नीति, नियम, सिद्धान्त, परम्परा, संस्कृति र माटो त्याग्न तयार दलीय नेतृत्वले ‘बीपी र मदन’लाई मागीखाने भाँडोमा सीमित गरिसकेका छन् । राजनीतिक परिवर्तनको महान् लक्ष्य चटक्क बिर्सेर अंश-झगडामा फसेको वर्तमान राजनीतिले मुलुकलाई रसातलमा पुर्‍याउँदै छ । राजनीतिक स्वतन्त्रता, स्थिरता र शान्तिको नाममा दिवङ्गत नेता गिरिजाप्रसाद र ओलीले प्रचण्डलाई बोक्न तयार भएको सजाय मुलुकले भोगिरहेको छ ।

हिंसालाई जायज र बाध्यात्मक देखाउन प्रचण्डले भन्ने गरेका उपलब्धिले मुलुकवासीलाई थप गरिब बनाएको छ । प्रचण्ड उपलब्धिलाई संस्थागत गर्न सर्वसाधारण जनताको थाप्लोमा अतिरिक्त आर्थिक बोझ थपिएको छ । तथाकथितहरूलाई पाल्न नाजायज ‘कर’ उठाइएको छ । परिवर्तनको नाममा दले, बिचौलिया र सीमित व्यक्तिको हातमा अर्थतन्त्र सुम्पिँदै दलाल पुँजीवादको शासन स्थापित गरिएको छ । गरिबहरूको सपना खाडी मुलुकमा खोजिँदै छ । वार्षिक ५ लाख श्रमिकले मुलुक छोड्न बाध्य छन् । अनगिन्ती युवा खाडीमा प्राण त्यागेर काठको बाकसमा मुलुक फर्किने रोग तीव्र गतिमा बढ्दै छ । नेपालीको थाप्लोमा स्वदेशी र विदेशी ऋणको भारी थपिँदै छ । भ्रष्टाचारको विकेन्द्रीकरण थप मौलाउँदो छ । सत्तासीन दुर्योधनहरूको नालायकी र असक्षमताको ऋण मुलुकले भुक्तान गरिरहेको छ । गिरिजाप्रसाद र प्रचण्डको दुर्योधन प्रवृत्तिबाट वाक्क भएका जनताले ओलीलाई ‘नेपाली युधिष्ठिर’ मान्ने भुलबाट मुक्ति पाइसकेका छन् ।

प्रजातन्त्रको दुरुपयोग गर्न हौसिने तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र लोकतन्त्रको हुर्मत लिने प्रचण्डको अविवेकी राजनीतिको पछाडि को थिए ? क-कसको उक्साहट र सहयोगमा प्रजातन्त्र र लोकतन्त्रको आत्मा जन्मिनासाथ मारियो भन्ने आफ्नै आँखाले देखेका अध्यक्ष ओलीले गरेको आत्मसमर्पणको दूरगामी असर सतहमै देखिन थालेको छ । जातीय राज्यको घोर विरोधी ओली समानुपातिक सहभागिताको नाममा जातीय राजनीतिलाई संविधानमा संस्थागत गर्न कसरी राजी भए ? राजा-काङ्ग्रेस र वाम शक्ति मिलेर मुलुकभित्र रहेका तमाम संस्थालाई मजबुत र जनमैत्री बनाउँदै प्रजातन्त्रको मजबुतीतर्फ लाग्ने अभियान स्थगित गर्दै पश्चिमा उपलब्धिले भरिएको संविधान जारी गर्न राजी भएको पुरस्कार र सजाय अध्यक्ष ओलीले भोगिरहेका छन् । कमजोर स्वास्थ्यलाई ध्यान दिँदै प्रधानमन्त्री बन्ने एकल अभियानमा अध्यक्ष ओलीले ‘दक्षिण’को मन दुखाउँदै पश्चिमा उपलब्धि स्वीकार गरेको तथ्यलाई ढाकछोप गर्न पश्चिमा शक्तिले चलाखीपूर्वक अध्यक्ष ओली रातारात ‘राष्ट्रवादी’ बनाइए । वैश्य युगको राजनीतिमा दुर्योधन भनेको सबैखाले सत्ता हो । सत्ताले युधिष्ठिर जन्माउँदैन भन्ने राम्रोसँग बुझेका नेता ओली दुर्योधन प्रवृत्तिलाई संस्थागत गर्न हौसिए ।

महाकाली सन्धिमा अतिरिक्त सक्रियताको बाबजुद भारतीय संस्थापनले कम महत्त्व दिएको कारण नेता ओली लामो समय एमाले नेतृत्वमा पुग्न सकेनन् । माओवादी ध्वंशको कटु आलोचना गर्दै कार्यकर्ताको मन मन्दिरमा बस्न सफल ओली एमाले नेतृत्वमा चुनिए । २०७० सालको संविधानसभाले संविधान जारी गर्न सफल नभए आफ्नो स्वार्थ पूरा नहुने बुझ्नासाथ देशको स्वार्थ भुल्न तयार भएको सर्वसाधारणले देखिसकेका हुन् । झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर तराई मधेसमा दिन नमान्ने अध्यक्ष ओली तथाकथित सङ्घीयता स्वीकार गर्दै संविधान जारी गर्न राजी हुँदा मुलुकले भारतीय नाकाबन्दी सहन बाध्य भयो । सुशील सरकारको औपचारिक बिदाइपश्चात् प्रचण्डसँग बाँडीचुँडी खाने भद्र सहमति अनुरूप नौ महिना प्रधानमन्त्री बन्न सफल हुँदा अध्यक्ष ओलीको अतृप्त सत्ता स्वादले प्रचण्डसँग भात-भान्सा मिलाउन तयार हुँदै एमाले विघटन गर्न समेत राजी भएको कटु इतिहास ताजै छ ।

आर्थिक वृद्धिदर र समाजवाद सँगसँगै जान नसक्ने बुझ्दाबुझ्दै पुँजीवादी कार्यक्रममार्फत समाजवाद ल्याउन हौसिने ओली कार्यकालमा जनताले सम्झिराख्ने काम हुन सकेन । उनको ४० महिने कार्यकालमा आफ्नै स्वास्थ्य मजबुत बनाउने र ‘प्रचण्ड-माधव’लाई साइजमा राख्नमै बित्यो । भीमकाय अङ्कगणितको दम्भमा दबिएको ‘सुखी नेपाली समृद्ध नेपाल’को नारा बामे सर्न पनि पाएन । शकुनीहरूको घेराबन्दी र सल्लाहमा दौडिएको जस्तो देखिने तर हिँड्न सुरु नगर्ने ओली शासन ‘दुर्योधन पथ’मा गज्जबले फस्यो तर अध्यक्ष ओलीले स्वीकार गर्न चाहेनन् ।

अध्यक्ष एवम् प्रधानमन्त्री ओली ‘शकुनी’हरूको भर परे । उनीहरूको स्वार्थको निम्ति जनतासँग गरेको बाचा बिर्सिए । आफ्नै सक्रियतामा काटिएको प्रधानमन्त्रीको विशेषाधिकार (संसद् विघटन) विहीन संविधान पढी-पढिकन संसद् विघटन गर्न हौसिए । प्रचण्ड-माधवलाई राजनीतिक रूपले समाप्त गर्न संसद् विघटन जायज देखिए पनि संविधानले उनलाई यस्तो गल्ती गर्ने छुट दिएको थिएन । शकुनीहरूको अधिक भरोसामा पर्दै चालिएको बाध्यात्मक र अप्रिय कदमले अध्यक्ष ओलीलाई रक्षात्मक अवस्थामा पुर्‍यायो । अध्यक्ष ओलीले ‘एमसीसी’ सम्झौता अनुमोदन गरेनन्, तर अस्वीकार गर्ने जाँगर पनि देखाएनन् । प्रधानमन्त्रीको रूपमा पहिलो कार्यकाल सुरु गर्दै गर्दा ‘एसपीपी’ माग गर्दै सेनाले अमेरिकालाई चिठ्ठी लेख्यो । तर दोस्रो कार्यकालमा अमेरिकी चाहना अनुरूप अगाडि बढ्न हच्किए । सुरुवातमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा जारी गर्न जाँगर देखाएनन् । परिबन्धमा परेपछि संसदीय अनुमोदन गराउन राजी भए । जसको कारण भारतीय सत्ता र मोदीसँग बढ्दै गरेको दोस्ती बीचैमा रोकियो । सत्तामा बस्दा प्रधानमन्त्री ओली कमजोर स्वास्थ्य, प्रचण्डको निरन्तर असहयोग र दक्षिण-पश्चिमको चर्को घेराबन्दीमा परिरहे । फलस्वरूप उनको ४० महिने कार्यकाल जनताको नजरमा उत्साह बोकेर सुरु भयो भने समाप्त हुँदा जनताले बिस्मातसम्म गर्न रुचाएनन् ।

भावुकता कमजोरी हो । योद्धाले परिणामको चिन्ता गर्दैन या परिणामको चिन्ता गर्नेले युद्ध लड्न सक्दैन । आफै नबदलिनेहरूलाई समाजले बदल्छ । बातचितले सबै समस्या समाधान हुँदैन । यदि हुन्थ्यो भने राम र रावणबीच युद्ध हुने थिएन । भगवान् कृष्ण शान्तिदूत बन्दै हस्तिनापुर गए । महर्षि व्यासले युद्ध रोक्न राजा धृतराष्ट्रसँग अनुरोध गरे, तर युद्ध रोकिएन । झट्ट हेर्दा दुर्योधनसँग देखिए पनि शल्य, युयुत्सु, भीष्म, द्रोण र विदुरले कुनै न कुनै रूपले युधिष्ठिरलाई सहयोग गरे । चौतर्फी घेराबन्दीमा परेका अध्यक्ष ओलीलाई वर्तमान निर्वाचन युद्ध भन्दा कम हुने छैन । उनले बुझ्नैपर्छ- दक्षिण-पश्चिमको लुगा लगाएर युद्ध जित्न सकिँदैन । ओली सत्ताको खल्लो बहिर्गमन महाभारत युद्धसँग मिल्दोजुल्दो रहेको या भएको अध्यक्ष ओलीले बुझिसकेको हुनुपर्छ । तटस्थ मानिसलाई इतिहासले याद गर्दैन ।

अध्यक्ष ओलीले नपढेको महाभारतमा इच्छा मरण पाएका भीष्म पितामहले राजनीति, नीति, जीवन र धर्मको बारेमा मृत्यु शय्याबाट दिएको उपदेश दुर्योधनले सुन्न चाहेनन् । कुनै पनि किसिमको भेदभाव समृद्धिको बाधक बन्छ । परिवर्तन संसारको नियम हो । यसलाई स्वीकार गर्नुको विकल्प छैन । साथै यसलाई कसैले बदल्न सक्दैन । आफूसँग असहमत पक्षको अपमान, अहङ्कार र दम्भ त्याग्न दुर्योधनसँग पटक-पटक गरेको अनुरोध सत्तासीन ओलीले सुनेको भए आज मुलुकमा दक्षिण-पश्चिमको खुल्ला राज हुने थिएन ।

‘मार्क्सवादीहरू भन्ने गर्छन्- ठोस परिस्थितिको ठोस विश्लेषण ! अध्यक्ष ओलीको मार्क्सवादी विश्लेषण महाकाली सन्धिमा फेल खाएको अस्ति भर्खरै ओलीले स्वीकार गरिसके । सोभियत सत्ताको अकल्पनीय पतनपश्चात् कमरेड मदनले रातारात ल्याएको पुँजीवादी कार्यक्रम ‘जबज’ परिस्थितिको ठोस विश्लेषण सबैभन्दा सटिक भयो । दुर्भाग्य ! कमरेड ओलीको मार्क्सवादी विश्लेषण अपवादमा बाहेक कहिल्यै सही भएन । तर ओली षडयन्त्र सधैँ सफल भयो । जीवनभर जसको निम्ति यति धेरै षडयन्त्र गर्न बाध्य भए, आज उसैको लात खाएर सडकमा पछारिँदा कमरेड ओली ‘स्वदेशी मार्क्सवाद’ पढ्नैपर्ने अवस्थामा पुगेका छन् ।

माओवादी हिंसालाई दक्षिण-पश्चिमले स्वागत गर्दै मुलुकको सार्वभौम सत्ता र स्वतन्त्रतासँग खेलबाड गरेको कुरा कदापि समर्थन गर्न सकिँदैन भन्ने अध्यक्ष ओलीसमेत हिंसालाई अनुमोदन गर्न तम्सिँदा इतिहासले उनीमाथि गम्भीर प्रश्न गरिरहेको भर्खरै थाहा पाएका छन् । विदेशी चलखेल, हिंसा, अथाह आर्थिक र भौतिक क्षति गर्दै लादिएको ‘प्रचण्ड’ उपलब्धिमा नेपाली जनताले खोजेको र चाहेको कुरा वर्तमान संविधानमा कहाँ छ भन्दै खोज्दै जाँदा ओलीले मुलुक समेत गायब हुँदै गरेको महसूस गर्दै छन् । नागरिकतालाई राष्ट्रिय सुरक्षासँग गाँस्नुपर्ने अहम् विषयलाई केवल ‘कुर्सी र भोट’को रूपमा हेर्दै शीर्ष नेतृत्वको लहडमा बाँड्ने ‘चकलेट’ बनाइएको विषयले ओलीलाई नराम्रोसँग झस्काएको छ । देउवा-प्रचण्डले कुर्सीको निम्ति धृतराष्ट्रको शैलीमा मुलुकप्रति गद्दारी गर्दै अनुमोदन गरिएको नागरिकता विधेयकपश्चात् विगतमा गुमाएको विश्वसनीयता सडक आन्दोलनमार्फत प्राप्त गर्ने सुनौलो अवसर ओलीले प्राप्त गरेका छन् ।

यतिबेला अध्यक्ष ओलीको विकल्प साँघुरिएका छन् । पश्चिमा संविधान जोगाउने नाममा देशलाई बन्धक राखेर लुट्न र देशको अस्मितासँग खेलबाड गर्दै दक्षिण-पश्चिमको दलाली गर्न हौसिएको गठबन्धनसँग भिड्न अध्यक्ष ओलीले दक्षिण-पश्चिमको मोह त्याग्नैपर्छ । ओलीलाई देखाएर मुलुकवासीलाई दास बनाउने, पश्चिमी रणनीतिको नाङ्गो स्वागत र अनुशरण गर्ने, मुलुकको अस्मिता र सार्वभौम सत्ताको खिल्ली उडाउने गठबन्धन राजनीतिसँग जुध्न, भिड्न र च्यालेन्ज गर्न ४० महिने कार्यकालमा गरिएका कमजोरीको बारेमा खुलेर क्षमा याचना गर्नुपर्ने छ ।

विगतमा आफैले उठाएका एजेन्डालाई स्थगित गर्दै अगाडि बढ्दा मुलुकलाई के-कति नोक्सानी भयो ? निर्मम समीक्षा गर्ने उपयुक्त समय आएको छ । साथै सङ्घीयता र धर्मनिरपेक्षताको बारेमा आत्मालोचना गर्दै करेक्सनको नारासहित जनताबीच जाने हिम्मत ओलीले गर्नुपर्ने छ । सिद्धान्त सकिएर अंश झगडामा फसेको राजनीति सपार्न ओलीबाटै सुरु गर्नुपर्नेछ । पुत्रमोहमा गान्धारीले आफ्नो प्रतिज्ञा तोडेकै शैलीमा अध्यक्ष ओलीले देशभक्तिको निम्ति विगतमा पहिरिएका तमाम वस्त्र खोल्ने हिम्मत गर्नुपर्छ । गान्धारीको शक्ति बोकेर बसेका जनतासामु दक्षिण-पश्चिमका बस्त्र फालेर नाङ्गै जान सके ओली राजनीति फलाम बन्ने छ । ‘जनताले तेल दिँदा नखाने, कोल चाट्ने’ भन्ने उखानको शैलीमा अब पनि एकाध पश्चिमी लुगाले गुप्ताङ्ग छोप्न हौसिए ओली-सपना सदाको लागि अस्ताउने छ । आगे केपी ओलीकै मर्जी !