बकासुर तन्त्र !

‘शून्यदेखि मौनसम्म’ शब्दमार्फत व्यक्त गर्न सकिने हाम्रो सनातन धर्म र परम्पराले ‘शब्द’लाई ‘ब्रह्म’को रूपमा स्वीकार गर्दै आएको छ । सनातन बुझाइमा शब्दको बाहिर केही हुँदैन । दुःख र मृत्युसमेत शब्दको औँलो समातेर धर्तीमा आएको मानिन्छ । दुर्भाग्य ! परिवर्तनको राग अलाप्दै मुलुक प्रवेश गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा नेपाली जनता शब्दविहीन बन्दै छन् । प्रधानमन्त्री देउवालाई कालो झन्डा देखाउँदै असंसदीय शब्द प्रयोग गर्ने अर्जुन पौडेल, सोम शर्मा, विप्लव खड्का पक्राउ पर्दा संसदीय व्यवस्थामा ‘शब्द’लाई रोक लगाउने वकालत सत्ताले गर्दै छ । शब्दमाथि प्रतिबन्ध लगाउने विचारलाई लिएर भारतीय समाजवादी नेता डाक्टर राममनोहर लोहिया भन्ने गर्थे- शब्दलाई माझ्ने गर्नुपर्छ जसले शब्दमा चमक उत्पन्न गर्दछ । राजनीतिक हमला र असंसदीय टिप्पणीमा के अन्तर हुन्छ भन्ने विषयमा उनी पूर्ण सचेत थिए । उनी शब्दमा नभइ काम र व्यवहारलाई कठघरामा खडा गर्थे । जब तत्कालीन भारतीय राष्ट्रपति राजेन्द्र प्रसादले बनारसमा पाँच सय ब्राह्मणको पाउ धोए । तब डाक्टर लोहियाले उक्त घटनालाई अश्लील कृत्यको संज्ञा दिए । उनले भने- जब जातिगत श्रेष्ठताको आधारमा राष्ट्रपतिले कसैको पाउ पखाल्छन् भने समाजलाई निराश गर्ने काम हुनेछ ।

भनिन्छ- वैश्य युगमा अपराध गर्नुलाई अपराध मानिँदैन । केवल प्रमाण नष्ट गर्न नसक्नुलाई अपराध मानिन्छ । अल्पविकसित मुलुकका सत्ताहरू शब्दको पछि कुद्ने गर्छन् । दुर्भाग्य ! उनीहरू आफूलाई ‘जननिर्वाचित’को हवाला दिँदै आफ्नै असंसदीय र अलोकतान्त्रिक व्यवहारमाथि आँखा चिम्लन्छन् । भारतीय लेखक अनुपम मिश्र शब्दको अन्तरविरोधबाट दुःखी रहँदै आएका छन् । उनी भन्ने गर्थे- ‘हामी जसलाई उदारीकरण भन्ने गर्छौं, वास्तवमा त्यो सख्तिकरण (कडाइ) हो । उदारीकरणको नाममा हामीले बजारको क्रुरतालाई लुकाउँदै या छोप्दै आएका छौँ । वास्तवमा हामी सहमति या असहमति शब्दको पछि दौडिन्छौँ तर शब्दको आत्मा बुझ्ने ल्याकत गुमाउँदै छौँ ।’ मिश्रको कुरालाई गहिरो र मिहीन ढङ्गले अध्ययन गर्ने हो भने पत्ता लाग्छ, हामीले उपभोग गरिरहेको परिवर्तन या व्यवस्था वास्तवमा प्रगतिशील र न्याययुक्त व्यवस्था होइन । सर्वसाधारण जनताले पेट काटेर जनप्रतिनिधिलाई पाल्नुपर्ने प्रणाली लोकतन्त्र नभएर ‘बकासुरतन्त्र’ हो ।

मुलुकमा पटक–पटक राजनीतिक परिवर्तन भयो तर मुलुकले लोकतन्त्रको मुख देख्न पाएन । कानुन र संविधानको अनिवार्य पालन, नागरिकको अधिकार र स्वतन्त्रताको सुरक्षा एवम् ग्यारेन्टी, देशभक्तिको भावना र विकास, राज्यको शक्ति एवम् व्यक्तिको स्वतन्त्रताको अद्भुत समन्वय, लोकहितको शासन, जनताको इच्छा एवम् विशेषज्ञताको सुन्दर समन्वय, सत्ता दुरुपयोगको अन्त्य, नैतिक विकासको अनिवार्यता, जनताको व्यक्तित्व निर्माणको सुवर्ण अवसर, सुशासन, पारदर्शिता, संवैधानिक संस्थाहरूको सुदृढीकरण, साधन, स्रोत र समयको अधिकतम उपयोग र सम्मान, भ्रष्टाचारको अन्त्य, सम्पूर्ण जनताको अभिभावकको रूपमा सरकारको उपस्थितिसहितको परिवर्तनलाई लोकतन्त्र भन्न र मान्न सकिन्छ । यिनै विशेषतासहितको व्यवस्था ल्याउने परिवर्तनकारी शक्तिहरूको भनाइमा विश्वाससहित ल्याइएको परिवर्तनमा जनताको भावना र चाहनाको कुनै उपस्थिति नरहेको हुँदा वर्तमान व्यवस्थालाई लोकतन्त्र भन्न सकिएन, सकिँदैन ।

हरेक परिवर्तनपश्चात् बाँडिने नागरिकता, राज्य पुनर्संरचनाको नाममा थपिने सभासद्को सङ्ख्या, आयातित उपलब्धिसँगै थपिने सुरक्षा खर्च, असन्तुलित वैदेशिक असन्तुलनको कारण सिर्जित राजनीतिक द्वन्द्व, आर्थिक आत्मनिर्भरतातर्फको यात्रामा रणनीतिक अवरोध, प्राकृतिक स्रोत र साधनमाथि गिद्धेदृष्टि, सीमा समस्या, असमान सन्धि/सम्झौता पुनरावलोकनमा अन्तहीन असहयोग, सुशासन, पारदर्शिता र जवाफदेहिताको समाप्ति, परिवर्तनपूर्व स्थापित मूल्य, मान्यता र क्षमताको अपमान, उन्नति, प्रगति र समृद्धिको नाममा राष्ट्रदोहन, सर्वसाधारणको थाप्लोमा आन्तरिक र बाह्य ऋणको भारी बोकाउने परिवर्तन कसरी लोकतन्त्र हुन सक्छ ? परिवर्तनको सम्पूर्ण ब्याज खाएर कहिल्यै नअघाउने तथाकथित बकासुरहरूले निर्माण गरेको पछिल्लो तन्त्र लोकतन्त्र नभएर बकासुरतन्त्र हो भन्ने सर्वसाधारणको समेत बुझाइ छ ।

परिवर्तनपश्चात् राजनीतिजीवीमा आएको अकल्पनीय वैचारिक पतनलाई विश्व नवउदारवादले उत्सुकतापूर्वक अध्ययन गर्दै सही नतिजा निकाल्न सफल भयो । राष्ट्रिय पुँजी निर्माण गर्नुको सट्टा दलाल पुँजीवादको अन्ध स्वागत गर्ने राजनीतिक परिवर्तनले सुधारको नाममा बजारलाई बिचौलियाको हातमा फुक्काफाल छोडिदिएको सजाय जनताले तिरेर साध्य रहेन । बकासुरहरूको भोजनको बन्दोबस्त गर्दा-गर्दा टाट पल्टेका सर्वसाधारणहरूको वर्ग विभाजन र आय असमानता द्रूत रूपमा बढ्दै गएको वैश्य युगमा आर्थिक वृद्धिको खल्लो नारा बिक्ने देखिएन । विकासवाद, अर्थशास्त्र र सङ्क्रमणवादको खोक्रो आश्वासन सुन्दा-सुन्दा थकित जनता नवउदारवादी भूमण्डलीकरणको अघोषित आक्रमणपश्चात् विगतमा शान्ति, स्थिरता र समृद्धिका सपना बाँड्ने कथित क्रान्तिकारीहरूलाई बकासुरको रूपमा भोग्न विवश छन् । भुइँफुट्टा वाद र दलाल नियन्त्रित अर्थतन्त्रद्वारा सिर्जित आर्थिक शासनको विवादास्पद र विरोधाभासपूर्ण निर्णयहरूले हाम्रो परिवर्तनको स्वाद सम्पूर्ण रूपमा बकासुरहरूले कब्जा गरेको कटु यथार्थ सर्वसाधारणबाट लुकेको छैन । प्रतिकट्ठा तीनदेखि पाँच लाख पर्ने जमिनको मूल्य रातारात ३० देखि ४० लाखसम्म पु¥याउने बकासुरतन्त्रमा आफ्नै जग्गाको ‘बकासुर कर’ तिर्दै जनप्रतिनिधि नामका ‘बकासुर’हरू पाल्नुपर्ने व्यवस्थालाई कुनै हालतमा लोकतन्त्र भन्न नसकिने बुझ्न बकासुरको कहानी पस्कन पङ्क्तिकार बाध्य छ ।

एकचक्र नगरको गाउँमा बस्ने ‘बकासुर’ नामको राक्षसको बारेमा महाभारत ग्रन्थमा महत्त्वपूर्ण ढङ्गले वर्णन गरिएको छ । राक्षस बकासुरले आफ्नो भोजनको निम्ति राज्यलाई बाध्य पारेको थियो । प्रत्येक दिन एक परिवारको एक सदस्यले बकासुरको निम्ति भोजन लिएर जङ्गल जानु पर्दथ्यो । राक्षस बकासुरले भोजन लिएर जाने मानिसलाई समेत खाने गर्दथ्यो । गुप्तवासको दौरान पाण्डव परिवार घुम्दै-घुम्दै उक्त गाउँमा पुगे । उनीहरूले एक ब्राह्मणको घरमा आश्रय लिए । ब्राह्मणको एक पुत्री र एक पुत्र थिए । एक दिन माता कुन्तीले बकासुरको निम्ति परिवारमा कसले जीवन त्याग्ने भन्ने विषयमा रुवावासी चल्दै गरेको सुनिन् ।

माता कुन्तीले ब्राह्मणसँग बिस्तारमा सोधिन्, ब्राह्मणले माता कुन्तीलाई बताए । ‘एकचक्र नगरका राजाले राक्षस बकासुरसँग सम्झौता गरेका थिए । प्रतिदिन बैलगाडीभरि भोजन लिएर गाउँको एक व्यक्ति जानुपर्नेछ । भोजन र भोजन लाने व्यक्तिलाई बकासुरले खानेछ । आज हाम्रो पालो आएको छ । हामीमध्ये कसले भोजन लिएर जाने भन्ने विषयमा रुवावासी चल्दैछ…’ । तमाम कुरा सुनेपछि कुन्तीले भनिन्- ‘अतिथि परिवारको सुख-दुःखको हिस्सा बन्नु पर्दछ । तपाईंको समस्या हाम्रो पनि समस्या हो । यसकारण मलाई यसको उपाय गर्ने पूरा अधिकार छ ।’ जब ब्राह्मणले आफ्नो हिस्साको मृत्यु अतिथिलाई नदिने बताए, तब माता कुन्तीले भनिन्- ‘मेरो पाँच पुत्र छन् । एकको मृत्यु भए पनि चार जीवित हुनेछन् ।’ अन्तमा कुन्तीले ब्राह्मणलाई मनाइन् र पुत्र भीमलाई बकासुरसामु भोजनको रूपमा पठाइन् । भीमले बकासुरको अगाडि सारा खाना खाइदिए । रिसले चुर भएको बकासुरसँग भीषण युद्ध भयो । भीमले बकासुरको वध गरिदिए ।

राजनीतिक परिवर्तनको दौरान अथाह त्याग गरेको पुस्ताको वीभत्स-पतन बकासुरतन्त्रको रूपमा उदाएको छ । समाजलाई सही मार्ग देखाउनेहरूको अकल्पनीय पतन विदेशीहरूको दुर्लभ तागत बन्दै छ । आर्थिक, सामाजिक र राजनीतिक अपराधको अटुट एपिसोड निर्माण गरेर नथाक्ने बकासुरहरू देशवासीलाई भ्रममा राखेर विदेशीको दलाली गर्न हौसिएको पछिल्लो अवस्थाले दक्षिण-पश्चिम मसक्क मस्किएको छ । जनताको सामान्य चाहनालाई अनदेखा गर्दै विश्वव्यापी मुनाफा खोरहरूको पिरमर्का र प्रणालीको सुरक्षामा चिन्तित छ । विदेशीको दलाली र गुलामीमा आफ्नो भविष्य सुनिश्चित देख्दै स्वदेश तथा विदेशमा रहेका कुलीन वर्गको रक्षार्थ खटिएको बकासुरतन्त्र सर्वसाधारणको कमाइ मात्र हैन जीवन खान हौसिएको छ ।

‘मुलुकको राजनीतिक परिवर्तनले देश ‘घर’ हो र जनता ‘परिवार’ भन्ने भनाइको खिल्ली उडाउँदै छ । अग्रगमनको नारा दिँदै सत्ता र सडक कब्जा गरेर मुलुक र मुलुकवासीको भाग्यसँग भद्दा मजाक गरिरहेको बकासुरतन्त्रमा ‘कर आतङ्क र आर्थिक भ्रष्टाचार’ मौलाउँदो छ । आर्थिक वर्ष ०७७/७८ को महालेखा प्रतिवेदनलाई आधार मान्दा एकै वर्षमा २ खर्ब बेरुजु थप्न सक्ने बकासुरतन्त्रले कुल बेरुजु ८ खर्ब २९ अर्ब पुगेको उपलक्ष्यमा राष्ट्रिय उत्सव मनाउन मात्र बाँकी छ । तीन तहको सरकार दिएको बहानामा जनताको गाँस खोस्न हौसिएको बकासुरतन्त्रले मुलुकको दीर्घकालीन अस्तित्वसँग गम्भीर खेलबाड गर्दैछ ।

प्रजातन्त्रदेखि लोकतान्त्रिक सङ्घीय गणतन्त्रसम्म आइपुग्दा कुर्सी र सत्ताको आडमा बकासुरहरूले धेरै भोजन गरिसकेका छन् । २४० वर्षसम्म मुलुकको पहिचान बनेर रहेको राजसंस्थालाई खाएर हौसिएको बकासुरतन्त्रले धर्म, भाषा, संस्कृति, परम्परा बाँकी राख्ने कुरै थिएन । शिक्षा, स्वास्थ्य, सुशासनमाथि धावा बोल्दै आयातित उपलब्धिको निम्ति गरिएका कुकर्म र तथाकथित भोजनको वर्णनले पीडासिवाय केही मिल्दैन । परिवर्तनको नाममा मुलुकको दोहन गर्न न्यूनतम नैतिकता समेत बिर्सिएका बकासुरहरूले आफ्नै इतिहास खाए । नैतिकता खाए । सपना खाए । समृद्धि खाए । इज्जत खाए । युनिभर्सिटी खाए । फुटपाथ खाए । आश्वासन खाए । घोषणापत्र खाए । राष्ट्रियता खाए । जनताको वर्तमान र भविष्य खाए । नदीनाला खाए । चौतारो खाए । नेपाली भाषाको नम्बर प्लेट खाए । ललिता निवास खाए । वाइडबडी खाए । सार्वजनिक जग्गा खाए । गिट्टी खाए । बालुवा खाए । कमिसन खाए । ३८ क्विन्टल सुन खाए । क्षमापुजा गर्नुपर्ने गरी पशुपतिनाथको जलहरिको सुन खाए । प्रधानन्यायाधीश खाए । शान्ति, सुरक्षा, न्याय खाए । अदालत खाए । सिसिटिभी फुटेज खाए । संवैधानिक निकायहरूमा ‘चेक एन्ड ब्यालेन्स’ खाए । बकासुरहरूको भोक मेटिएन ।

मुलुकको सञ्चित कोषको धज्जी उडाइयो । बजेट विनियोजन र खर्चको निर्माण दलाल र बिचौलियाबाट सुरु गरियो । असारे खर्च र वैदेशिक सहायता, व्यापार घाटा, विदेशी मुद्रा सञ्चिति र कहालीलाग्दो बेरुजु बकासुरहरूको मिठो भोजन बनिरह्यो । बजेटबिनाको आयोजना ल्याइयो । बजेट भएको आयोजना तुहाइयो । कोरोनाको नाममा लुट्नुसम्म लुटियो । सार्वजनिक सम्पत्ति बकासुरहरूको भोक मेटाउने अन्तिम खाना बनाइयो । सही योजना छनौट, समयको सम्मान, स्रोतको न्यायपूर्ण बाँडफाँट, कार्यान्वयन र अनुगमनको महत्त्व बकासुरहरूलाई कहिल्यै रुचिको विषय रहेन ।

एक थान संविधान जारी गर्ने र प्रधानमन्त्री बनिहाल्ने एकल अभियानको ऋण मुलुकले तिर्न बाध्य बनाइयो । परिवर्तन र उपलब्धिको नाममा मुलुकलाई निरीह बनाइयो । रणनीतिक ढङ्गले हरेक परिवर्तनपश्चात् मुलुकको तागत र पहिचानमाथि प्रहार गरियो । राजनीतिक उपलब्धिको नाममा बकासुरहरूको संरक्षण गरियो । जनतालाई थप कङ्गाल बनाइयो । संविधान जोगाउने नाममा जन्माइएको सिद्धान्तहीन गठबन्धनमार्फत मुलुकको स्वाधीनता, अखण्डता र सार्वभौम सत्ताको खेलबाड डरलाग्दो ढङ्गले सम्पन्न गरियो । संविधान जोगाउन मरिहत्ते गर्नेहरूले संविधान भनेको के हो भन्ने अवस्था सिर्जना गरियो । दलबदल अध्यादेशमा ४० प्रतिशत केन्द्रीय सदस्य र ४० प्रतिशत सांसदको ठाउँमा ‘र’ मात्र हटाउँदा कोलाहल मच्चाउनेहरू २० प्रतिशत केन्द्रीय सदस्य र सांसद राख्दा लोकतन्त्रवादी र संविधानको संरक्षक बनाइयो ।

सत्ता र सरकार परिवर्तनको नाममा जनताले धोका मात्र पाएको, संविधान रक्षाको नाममा मुलुकमा ताण्डव मच्चाइरहेको बकासुरतन्त्र अब मुलुकले थेग्न सक्दैन । एमसीसी सम्झौताको संसदीय अनुमोदन, एसपीपीको डरलाग्दो खेल, नागरिकता विधेयकमार्फत अङ्गीकृत नागरिकको दीर्घकालीन रणनीति स्वीकार, उत्तर-दक्षिण र पश्चिमको नाङ्गो परेडपश्चात् मुलुक र मुलुकवासीले बुझ्नैपर्छ- उपलब्धिको नाममा मुलुकले अभ्यासमा ल्याएको संविधान रहेसम्म मुलुकवासीले लोकतन्त्रको अनुभव गर्न पाउने छैनन् । राष्ट्रिय बकासुरहरूको संरक्षण गर्न हौसिएका अन्तराष्ट्रिय शक्तिले राम्रोसँग बुझेका छन् कि वर्तमान संविधान रहेसम्म बकासुरतन्त्र जीवित हुनेछ । निर्वाचनमार्फत बकासुरहरूको सामान्य परिवर्तन गर्दै बकासुरतन्त्रको संरक्षण गर्ने अन्तराष्ट्रिय षडयन्त्र चिर्दै मुलुकबाट सम्पूर्ण रूपमा बकासुरतन्त्रको जरा उखेल्न सम्पूर्ण जनता ‘भीम’ बन्न ढिला भइसकेको छ । यदि, परन्तु, अथवा, तथापि, यद्यपि जस्ता शब्द प्रयोग गर्दै बकासुरतन्त्रको संरक्षणमा लागिरहे राष्ट्रिय/अन्तर्राष्ट्रिय बकासुरको भोजन मुलुकवासी मात्र हैन मुलुक नै हुनेछ । आगे ‘भीम’को सामर्थ्य दर्शाउन ढिलो गरिरहेका नेपालीजनकै मर्जी !