अमेरिकी वैश्य युगमा बर्बरिकहरूको उत्साह !

असङ्ख्य पराक्रमीहरूले भरिएको द्वापर युगमा भगवान् कृष्णको निर्णायक उपस्थिति सत्य, न्याय र धर्मको पक्षमा भएको पाइन्छ । यद्यपि कुरुक्षेत्रको अन्तिम समयमा बर्बरिकको आगमनले भगवान् कृष्णको ‘मास्टर प्लान’मा धक्का लाग्ने अवस्था सिर्जना भयो । तत्कालीन समयको सर्वश्रेष्ठ धनुर्धर बर्बरिक महाभारत युद्धलाई आफ्नो पक्षमा पार्ने क्षमता राख्दथे । केवल तीनवटा बाण लिएर युद्ध मैदानतर्फ लम्किएका बर्बरिकलाई भगवान् कृष्णले बाटोमा सोधे- ‘तिमी को हौ ? कता जान हिँडेको ?’ भीमपुत्र बर्बरिकले वृद्धको भेषमा रहेका कृष्णलाई चिन्न सकेनन् । तत्काल जवाफ फर्काउँदै भने- ‘महान् योद्धाहरूले लडेको कुरुक्षेत्रको लडाइँमा सहभागी हुन हिँडेको ।’ वृद्धभेषमा रहेका कृष्णले बर्बरिकसँग भने- ‘महान् धनुर्धर भीष्म, गुरु द्रोणाचार्य, कुलगुरु कृपाचार्य, अमर अश्वत्थामा, दानवीर कर्ण, युवराज दुर्योधन, सत्यवादी युधिष्ठिर, सर्वश्रेष्ठ धनुर्धर अर्जुन, गधाधर भीमलगायतका हस्तीहरू संलग्न युद्धमा तिमी बबुरोले के नै गर्न सक्छौ र ?’ वृद्धको कुरा सुनेर रिसले चुर भएका बर्बरिकले भने- ‘कुरुक्षेत्रको युद्ध म केवल दुईवटा बाणले जित्ने छु । म एउटा बाण फिर्ता लिएर फर्कने छु ।‘

वृद्धरुपी कृष्णले बर्बरिकसँग सोधे- ‘कसरी ?’ उसले भन्यो- ‘सम्पूर्ण शत्रुलाई एउटा बाणले चिन्ह लगाउँछु । अर्को बाणले शिर छेदन गर्नेछु । एउटा बाण लिएर फर्किने छु ।’ ‘त्यसोभए यस रुखमा भएका सबै पातमा चिन्ह लगाऊ त !’ यो सुनेपछि बर्बरिकले तत्काल बाण छोडिहाल्यो । वृक्षमा भएका सबै पातलाई चिन्ह लगाएर बाण भगवान् कृष्णको खुट्टाको बुढीऔँलामा आएर अडियो । बर्बरिकले वृद्धसँग भन्यो- ‘कृपया बुढी औँला हटाऊ । मलाई वृक्षको पात बाणले छुनु छ । तिम्रो औँला हैन ।’ एउटा पात छोपेर बसेको औँला हटाउँदै कृष्णले बर्बरिकसँग सोधे- ‘तिमी कसको पक्षमा युद्ध लड्नेछौ ?’ उसले अभिमान प्रस्तुत गर्दै भन्यो- ‘यतिबेला जो कमजोर छ उसकै पक्षमा लड्नेछु ।’ हारको मुखमा पुगेको कौरवको पक्षमा बर्बरिक लड्न गए आफ्नो सारा योजना भताभुङ्ग हुने बुझ्नासाथ वृद्धले बर्बरिकलाई भने- ‘वरदान माग, म दिन्छु ।’ घमन्डले चुर भएको बर्बरिकले वृद्धसँग भन्यो- ‘तिमी के वरदान दिन्छौ ? बरु म तिमीलाई दिन्छु । माग के चाहिन्छ !’ आफ्नो असली रूप देखाउँदै कृष्णले बर्बरिकको शिर मागे । वचनको पक्का बर्बरिकले महाभारत युद्ध हेर्न पाउने अन्तिम इच्छा सुनाउँदै कृष्णको हातबाट मारिए ।

धर्मशास्त्र अनुसार वर्तमान युगलाई कलियुग भनिन्छ । कलियुगलाई चलनचल्तीको भाषामा वैश्ययुग पनि भनिन्छ । वैदिक सनातन धर्मको तागतबाट प्रभावित बन्दै वैश्ययुगमा युद्ध र औद्योगिक क्रान्तिमार्फत विश्वको कृष्ण बन्न हौसिएको अमेरिका आफ्नो असीमित सत्ताको निरन्तरता खोजिरहेको छ । सोभियत सङ्घको पतन र शीतयुद्धको समाप्तिपश्चात् विश्वको एकल सम्राट् बनिरहनु छ । विश्व-राजनीतिको मैदानमा अन्तिम सत्य र शक्ति बनिरहन उसले अनेकौँ हतियार निर्माण गरेको छ । राजनीतिक, आर्थिक, सामाजिक, मनोवैज्ञानिक अस्त्रहरूको परीक्षण गर्न रणनीतिक युद्ध लडिरहेको छ । आफ्नो असीमित महत्त्वाकाक्षा पूरा गर्न कहिले कडा कहिले नरम भाषा प्रयोग गरिरहेको छ । सन् २००९ पछि देखापरेको आर्थिक मन्दी र बहुध्रुवीय राजनीतिलाई अस्वीकार गर्दा अमेरिकी रणनीतिको अनौपचारिक युद्धमा विश्व-राजनीति पिल्सिएको छ । उसको चाहनाविरुद्ध जाने मुलुकले शान्तिको सास फेर्न नपाएको हेर्न र जान्न इराक, अफगानिस्तान, सिरिया पछिल्ला उदाहरण हुन सक्छन् ।

मानवअधिकार, आतङ्कवाद, शान्ति, व्यापार र पारवहन, पर्यावरण जस्ता अमूर्त भाषाको माध्यमबाट हुँदै गरेको अमेरिकी शासन सर्वसाधारणको सोच बाहिर छ । संयुक्त राष्ट्रसङ्घ, विश्व व्यापार सङ्गठन, विश्व बैंक, अन्र्राष्ट्रिय मुद्रा कोष, विश्व खाद्य सङ्गठनलगायत उसले खडा गरेका शक्तिशाली र रणनीतिक निकायमार्फत लाद्ने अमेरिकी नीतिले विश्वमा अप्रत्यक्ष शासन गर्ने कला अद्भुत छ । ‘आधुनिक सुदर्शन चक्रदेखि कलात्मक बाँसुरी’सम्मको पेटेन्ट राइटमार्फत शासन गरिरहेको अमेरिकी शक्तिलाई तत्काल धक्का दिने या तोड्ने तागत अहिलेसम्म वर्तमान विश्वले देख्न पाएको छैन ।

आफ्नो दबदबा कायम राख्न, आर्थिकमन्दी र अन्तर्निहित समस्याबाट विश्वको ध्यान अन्यत्र मोड्न, शान्तिको नाम लिँदै थोपरिने युद्धको अनिवार्य वातावरण कसरी तयार गरिन्छ भन्ने बुझ्न ‘युक्रेन-रुस’ युद्ध काफी छ । राम्रो कुराको वकालत गर्दै खराब नतिजा पस्किने अमेरिकी रणनीतिको खर्च विश्वले कसरी ब्यहोर्न बाध्य हुन्छ भन्ने बुझ्नासाथ विश्व-राजनीतिमा रातारात उदाउने रेडिमेड बर्बरिकहरूको हैसियत र औकात तत्काल बुझ्न सकिन्छ । नयाँ मुलुकको उदय र पुराना मुलुकमा सिर्जना गरिने राजनीतिक अस्थिरतामा अमेरिकाको अनुहार कुनै न कुनै ढङ्गले देख्न पाइने विश्व राजनीतिबाट नेपाल अछुतो थिएन/रहेन । नेपाली जनताको उन्नति, प्रगति र नेपालको राजनीतिक स्थिरतासँग कुनै साइनो नराख्ने अमेरिका नेपालको भू-अवस्थितिको अधिकतम फाइदा उठाउन पचासौँ वर्षदेखि सक्रिय भएको समयमा अनेक नामका बर्बरिकको उदय आफैमा रोचक देखिन्छ ।

अनुशासन, शिक्षा र सुशासनबिना दुनियाँको कुनै देश बन्न सक्दैन । आलोचना गरेर, असन्तुष्टि पोखेर, अरूलाई पखालेर, व्यक्ति व्यक्तिको पीडासँग भावनात्मक ढङ्गले जोडिएर मुलुक र राजनीतिमा आमूल परिवर्तन आउँदैन भन्ने बुझेरै होला । स्वतन्त्र व्यक्ति स्वतन्त्र राजनीतिक पार्टी निर्माण गर्न अग्रसर भएको हुनुपर्छ । इतिहास साक्षी छ, अरूको कमजोरीमाथि औँला ठड्याएर मुलुक बनेको भेटिँदैन । अवस्था बदलेर केही हुँदैन या व्यवस्था परिवर्तनबिना अवस्था परिवर्तन गर्न सम्भव छैन भन्नेहरू स्खलित भएको राजनीतिमा नयाँ एपिसोड थप रोचक हुने नै छ ।

आफ्नो भूगोल, जनताको चेतनास्तर, राष्ट्रिय स्रोत र साधनको अधिकतम उपयोग, समय र प्रविधिको सम्मान र प्रयोग, मुलुकको इतिहास, धर्म, संस्कृति, परम्पराको सम्मान र संरक्षण बिना मुलुकवासीको अवस्था परिवर्तन असम्भव छ । यी तमाम काम गर्दा मुलुक आत्मनिर्भर बन्न सक्छ । हाम्रो भू-राजनीति, खाइपाई आएका वर्तमान राजनीतिक दल, आर्थिक उदारवाद र अमेरिकी नीति, हाम्रो स्वार्थी बानी, पद बिना बाँच्नै नसक्ने राजनीति मुलुकवासीको अवस्था परिवर्तनको निम्ति कति सहयोगी बन्ला ? मिडिया, सामाजिक सञ्जाल र असन्तुष्ट युवाको चाँडै तातिने छिट्टै सेलाउने तथाकथित सोच मतपत्रमा कसरी पोखिएला ? नेपालको तरक्कीमा गिद्धेनजर लाएर बसेका शक्ति र व्यक्तिले कसरी सहयोग गर्लान् ? नेपालीको अवस्था परिवर्तन भए ती तत्त्व र शक्तिको नेपाल बसाइ कस्तो होला ? थुप्रै प्रश्नको उत्तर सकारात्मक फेला पर्दैन ।

व्यवस्था हैन, अवस्था फेर्न राजनीतिमा प्रवेश गरेका रेडिमेड बर्बरिकहरूसँग के त्यस्तो तिलस्मी शक्ति छ ? कर्मचारीलाई पूर्णतया राष्ट्रसेवामा लगाउने अकाट्य शक्ति के छ ? मुलुकको राजस्व प्रणाली र वर्तमान राजस्वबाट मुलुकको अवस्था कसरी परिवर्तन हुन्छ ? ऋण लिएर तथाकथित वर्तमान र पूर्व सेता हात्ती पाल्नैपर्ने सङ्घीयतासहितको व्यवस्था जोगाउँदा जनताको बचत कसरी बढ्छ ? सुधारवादी राजनीतिमार्फत तपाईं एक जनाको अवस्था परिवर्तन हुँदा या नहुँदा मुलुक र राजनीतिलाई के फरक पर्छ ? विदेशी कागज लिएर स्वदेशमा ‘तर’ मारिरहेका सरकारी कर्मचारी, राजनीतिक व्यक्ति र पूर्वकर्मचारीको राष्ट्रघात रोक्ने शक्ति एकल सफलताले सम्भव छ या यही व्यवस्थाबाट सम्भव छ ? ०४६ सालदेखि आजसम्म मुलुकमा भएको निजीक्षेत्र र सरकारी तवरमा सम्पन्न आर्थिक घोटाला रोक्ने, अनुसन्धान गर्ने, जेल हाल्ने तागत यही संविधान र व्यवस्था कायम राखेर सम्भव छ ? छ भने कसरी ? कार्यपालिकाको सामान्य परिवर्तन समेत न्यायपालिकाले रोक्ने हाम्रो राजनीतिको कटु यथार्थता बिर्सेर तपाई)को भावनात्मक र शाब्दिक क्रान्तिलाई हामीले किन पत्याइदिनुपर्ने ? यी र यस्ता अनगिन्ती सवालको वस्तुनिष्ठ जवाफ पस्किन सक्ने अनुहार र आधार मुलुकले कुरिरहेको छ ।

खाडी र मलेसिया जान बाध्य लाखौँ बेरोजगारको स्वदेशमा रोजगारीबिना अवस्था परिवर्तन कसरी हुन्छ ? दलाल पुँजीवाद, आर्थिक उदारीकरण र खुलाबजार अर्थव्यवस्थालाई कायम राख्दै शिक्षा र स्वास्थ्यमा गरिने आमूल परिवर्तनको ‘ब्लु प्रिन्ट’ तयार छ कि ‘बनाउँछु’मै सीमित छ ? रातारात नवनिर्मित बजेटमा करको दर काटकुट पार्न सक्ने दलाल पुँजीवादसँग पौंठेजोरी खोज्ने आर्थिक नीति कहाँबाट ल्याउनु हुन्छ ? राजनीतिलाई पखाल्नुसम्म पखालेर राजनीतिको दुर्गन्धित पोखरीमा हामफाल्ने अदभुत कलाका धनीहरूले कस्तो परिवर्तनको वकालत गरेका हुन् ? जसको निम्ति तपाईंसँग के कस्ता कार्यक्रम छन् ? पश्चिमा उपलब्धि धरापमा पर्दै गएको समयमा उठ्न सक्ने राष्ट्रिय मुक्तिको आन्दोलनलाई रोक्न तपाईंहरूको वीभत्स प्रयोग गरिएको हैन भन्ने आधार के छ ? असङ्ख्य बेथितिले थला परेको वर्तमान व्यवस्थालाई जुरुक्क बोकेर हिँड्नुपर्ने तपाईंहरूको रहरले मुलुकलाई असफल बनाउने रणनीतिलाई साथ र सहयोग गरिरहेको त छैन भन्ने गम्भीर अवस्था सिर्जना भएको छ ।

ब्रेनको लडाइँ लडिरहेको विश्व पुँजीवादसँग भोको पेटले गर्ने प्रतिस्पर्धा कति निरीह हुँदोरहेछ भन्ने बुझ्न राणा शासनदेखि लोकतन्त्रप्राप्तिको राजनीतिक आन्दोलनमा संलग्न दलहरूको कुरूपता काफी छ । पङ्तिकार अत्यन्त सजग छ । नयाँ पार्टीलाई पहिलो पाइलामा विरोध गर्नुको अर्थ पुराना पार्टीलाई अझै लुट्न दिनु हो । विश्व-राजनीतिमा सत्य, न्याय र धर्मको आफ्नै परिभाषा निर्माण गरेको अमेरिकी सत्ताले नेपाली भूमिको रणनीतिक प्रयोग गर्ने अभियानमा अनेक नामका बर्बरिकहरूको उत्पादन गरिरहेको बुझ्न न्युज कारखाना, अभियन्ता र मानवअधिकारवादीको अनुहार हेरे थप बोलिरहनु पर्दैन । आफ्नो स्वार्थको निम्ति विश्वका जुनसुकै कुनामा बर्बरिकहरूको उत्पादन र प्रयोग गर्ने नयाँ अभ्यासमा नेपाल परेको बुझ्न ‘एमसीसी र एसपीपी’ जस्ता रणनीतिक कार्यक्रम काफी छन् । द्वापर युगदेखि वैश्ययुगसम्म जन्मिने/जन्माइने बर्बरिकहरूमा विचित्रको आत्मविश्वास र क्षमता हुने गर्छ । उनीहरू स्थान र परिणाम नहेरिकन युद्धभूमिमा हामफाल्न हौसिन्छन् । विगतमा जस्तो भारतलाई देखाएर काङ्ग्रेस, एमाले, माओवादी केन्द्रमार्फत मुलुकलाई थप कमजोर बनाउन सजिलो नहुने बुझाइपश्चात् अमेरिकी रणनीतिको वैकल्पिक शक्ति तयार गरिँदै गरेको आरोप स्वतन्त्रहरूको नयाँ दलले अवश्य सामना गर्नेछ । केवल अवस्था परिवर्तनमा सीमित वैश्ययुगका ‘रेडिमेड बर्बरिक’हरू अमेरिकाको समर्थनमा गए जनताले चाहेको परिवर्तन सम्भव छैन । विपक्षमा गए बर्बरिकहरू बाटोमै बिलाउने छन् । आशा गरौँ, पङ्क्तिकारको शङ्का झुटो होस् । स्वतन्त्रहरूको अभियानले राष्ट्रिय मुक्ति आन्दोलनको खुट्किलो निर्माण गरोस् ।