विश्व-लोकतन्त्रको जटिलता र सत्ता-राजनीति !

नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकलाई गत चैत्र ९ गते सम्बोधन गर्दै केपी ओलीले भने- ‘प्रचण्डले पार्टी कब्जा गर्न षडयन्त्र गरे । पार्टीलाई प्रचण्डको कब्जामा पुग्नबाट जोगाउन पुस ५ को संसद् विघटन जरुरी थियो ।’ एमाले अध्यक्ष ओलीको दाबीलाई प्रतिउत्तर दिँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनमा आफ्ना कार्यकर्तासँग भने- ‘निर्वाचन आयोगले समयमै सनाखत गरेको भए केपी ओलीसँग पार्टी र सूर्य चिह्न रहने थिएन । आज उनी पार्टीविहीन हुने थिए ।’

माथि उल्लेखित दुई भनाइमा एउटा विचित्रको समानता छ- ‘पार्टी कब्जा’ ! उपरोक्त घटनालाई अर्थपरक ढङ्गले बुझ्न भारतीय राजनीतिको एउटा घटना सापट लिनु सटिक हुनेछ । भारतीय नेता नेहरूले ‘A Bunch of Old Letters’ नामक पुस्तकको सम्पादन गरेका थिए । उनले किताबमा सुभाषचन्द्र बोससँग केही सामान्य विषयमा बाहेक अधिकांश मुद्दामा जबर्जस्त वैचारिक समानता रहेको उल्लेख गरेका छन् । महात्मा गान्धी सुभाषचन्द्र बोसलाई अत्यधिक सम्मान गर्थे । तथापि सन् १९३९ मा जबलपुरनजिकै सम्पन्न काङ्ग्रेस अध्यक्षको निर्वाचनमा बोसको विरुद्ध गान्धीले डाक्टर पट्टाभि सीतारमैयालाई खडा गरे । निर्वाचनमा बोसलाई हराउन सरदार पटेलले कथित भूमिका निभाए, तर पनि नेता बोसले सीतारमैयालाई पराजित गर्ने सफलता पाए ।

निर्वाचनमा प्रतिस्पर्धाको आधार वैचारिक थियो । बोसप्रति व्यापक सम्मानका बाबजुद गान्धीले उनको विरुद्ध उम्मेदवार खडा गर्नुको अर्थ बोसको विचार र कार्यशैलीप्रतिको शङ्का थियो । गान्धीजी सोच्दथे- नेता बोसको हातमा काङ्ग्रेस पार्टी सुम्पिए आजादीको आन्दोलनले हिंस्रक रूप लिन सक्छ । फलस्वरूप चुनावमा जितको बाबजुद अध्यक्ष बोसलाई काङ्ग्रेस कार्यकारिणी बनाउन दिइएन । आफ्नो नेतृत्वको विरुद्ध गान्धी, नेहरू, पटेललगायतको सक्रिय असहयोग देखेपछि अन्ततः बोसले काङ्ग्रेससँग डिभोर्स लिएर ‘फरवार्ड ब्लक’ नामको पार्टी जन्माए र, तत्पश्चात् भारत स्वतन्त्रताको निम्ति हिंसाको बाटो चुन्न हौसिए ।

नेता बोसलाई छिटोभन्दा छिटो आजादी (स्वतन्त्रता) ल्याउनु थियो । अङ्ग्रेजलाई भारतबाट बिदा दिन उनले जर्मनी र जापानसँग मद्दत मागे । नेता बोसले तानाशाह हिटलर र जापानी राजा हिरोहितोसँग भेट्ने कोसिस गरे । हिटलरले उनीसँग भेट्न चाहेनन् । राजा हिरोहितोले भेट त दिए तर दोस्रो विश्वयुद्धमा जापान-जर्मनीले जितेको खण्डमा अङ्ग्रेजबाट भारतलाई मुक्ति दिने वचन दिएनन् । नेता बोस जीवनभर आफ्नो मिसनमा लागिरहे । विश्वयुद्ध समाप्तिपश्चात् उनी भारत फर्किन पाएनन् । विमान दुर्घटनामा उनको निधन भयो ।

भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको सुरक्षाअधिकारी ‘केएफ रुस्तमजी’ले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । अङ्ग्रेजले भारत छोडेपश्चात् प्रधानमन्त्री नेहरू बर्मा गए । नेहरू र बर्माका प्रधानमन्त्रीबीच भएको संवादअनुसार दोस्रो विश्वयुद्धमा जापानको जित भएको भए बर्मा र भारत अङ्ग्रेजको गुलामीबाट मुक्त भए पनि जापानको गुलामी सहन बाध्य हुन्थ्यो ।

नेहरूले नेताजी बोसको प्रस्तावलाई विनम्रतापूर्वक अस्वीकार गरे । उनी प्रस्ट थिए । भारतको आजादीको निम्ति ‘हिटलर र हिरोहितो’सँग दोस्ती गर्नु लोकतन्त्रको खिलाफ हुनेछ । रामधारी सिंह दिनकरले ‘लोकदेव नेहरू’ नामक पुस्तक लेखेका छन् । ‘हिटलर र मुसोलिनी’लाई अत्यन्त घृणा गर्ने जवाहरलाल नेहरू जीवनभर फासिस्ट’को खिलाफ रहे । चाणक्यको नामबाट आफ्नै आलोचना गर्दै लेख छपाउने नेहरूको लोकतन्त्र भन्दा कुर्सी र अनन्त सत्ताको निम्ति ‘जबज’ र एमालेको विघटन गर्न पार्टीसँग सामान्य छलफल समेत नगर्ने ओली-राजनीति नेता बोसको आजादीसँग प्रभावित रहेको मान्न करै लाग्छ ।

५ मार्च २०१४ मा प्रकाशित वासिङ्टन पोस्टमा To settle the Ukraine crisis, start at the end शीर्षकमा नेता हेनरी किसिन्जरले सम्पादकीय लेखे । ‘आफ्नो जीवनमा मैले चार वटा युद्ध ठुलो उत्साह र जनसमर्थनको साथ सुरु भएको देखेँ, जुन युद्धहरू कसरी समाप्त गरिन्छन् थाहा थिएन तर तीन वटा युद्ध हामीले एकतर्फी रूपमा फिर्ता लिएका थियौँ । युद्ध नीतिको परीक्षण यो कसरी समाप्त हुन्छ भन्ने हैन, कसरी सुरु हुन्छ भन्ने हो ।’

जर्मनीमा जन्मिएर राष्ट्रपति रिचर्ड निक्सनको क्याबिनेटमा महत्त्वपूर्ण भूमिका निभाउन सफल किसिन्जरले भू-राजनीतिक संवेदनशीलता कतिसम्म महत्त्वपूर्ण र खतरनाक हुन सक्छ भन्ने राम्रोसँग बुझेका थिए । हतियार र युद्धले लोकतन्त्रलाई छायामा राखेको समयमा अमेरिकी स्वार्थलाई चीन र युरोपसम्म सफलतापूर्वक फैलाउन शान्ति र कूटनीतिको पैरवी गर्दै रहे । उनले लेखे- ‘पश्चिमले बुझ्नुपर्छ- रुसको नजरमा युक्रेन कहिल्यै अलग देश थिएन । रुसी इतिहासको सुरुवात युक्रेनबाट भएको हो । रुसी धर्मको जन्म युक्रेनबाट भएको हो । युक्रेन सदियौँदेखि रुसको हिस्सा हो । युक्रेन अभिन्न अङ्ग थियो । उसको इतिहास हो । पश्चिमी मुलुकले रुसको इतिहासलाई स्वीकार र सम्मान गर्नुको विकल्प छैन । रुसको भू-राजनीतिक संवेदनशीलता र किसिन्जरको बुझाइलाई राष्ट्रपति बाइडेन र जिलेन्सिकीले तौलिन सकेको भए आज युरोपको लोकतन्त्र र सत्ता-राजनीति अर्कै बाटोमा हिँडिरहेको हुन्थ्यो ।

कुनै पनि सङ्गठनले प्राथमिक निर्णय लिनको निम्ति एक व्यक्तिलाई जिम्मेवारी दिएको हुन्छ । आधुनिक या राजनीतिक भाषामा उसलाई नेता भन्ने गरिन्छ । नेताले सही या गलत निर्णय गर्न सक्छ । तर लोकतान्त्रिक नेतृत्वले सङ्गठनात्मक सफलताको निम्ति आफूलाई सदैव गौण राख्दै महत्त्वपूर्ण भूमिका निभाउन सक्रिय रहन्छ । एक महान् नेताको परीक्षा कठिन समयमा हुने गर्छ । उसले चाहेको खण्डमा हरेक सङ्कटको सामना त्रुटिहीन तरिकाले गरिरहेको हुन्छ । नेताको व्यक्तित्व, लक्षण र विशेषताको आधारमा सङ्गठनको तरक्की र भविष्य निर्भर हुने गर्दछ ।

विन्सटन चर्चिलले भनेका थिए- ‘कसैले पनि यो देखावटी गर्न सक्दैन । लोकतन्त्र पूर्ण या सर्वज्ञ छ । वास्तवमा सरकारको सबैभन्दा खराब रूप लोकतन्त्रको कमजोरी हो । सिवाय ती सबै रूपहरूलाई छोडेर जसको समय-समयमा जाँच या परीक्षा लिइएको छ । लोकतन्त्र त्रुटिपूर्ण हुन सक्छ, तर पनि यो शासनको सबैभन्दा राम्रो तरिका हो ।’ जोन गस्टिलको विचारमा लोकतान्त्रिक नेतृत्व एक टिम प्रयास हो । टिमलाई कुशलतापूर्वक सञ्चालन गर्नु सजिलो पक्कै छैन । जहाँ नेतृत्वले सबैको आवाज सुन्न जरुरी हुन्छ साथै कसैको अनुपयुक्त प्रयासलाई अतिरिक्त छुटबिना निर्णय लिन जरुरी हुन्छ ।

लोकतन्त्रले सख्त या कडा नेताको कल्पना गर्दैन । ‘दुनियाँमा उथलपुथल चलिरहेको छ, भारत मजबुत बन्नु जरुरत छ साथै मुस्किल समयको निम्ति एक सख्त नेताको जरुरत छ’ भन्ने मोदी-राजनीति नेहरूको देशमा मौलाउँदै छ । भारतीय लोकतन्त्र यतिमा सीमित छैन । योगी आदित्यनाथको नयाँ परिभाषा लेख्न हौसिँदै छ । उनी भन्छन्, हामीले एउटा मेशिनको विकास गरेका छौँ-‘बुलडोजर’ ! यसले एक्सप्रेस हाइवे बनाउँछ साथै माफिया र अपराधीसँग मुकाबिला पनि गर्न सक्छ ।

सामान्यतया लोकतान्त्रिक तरिका अपनाउँदै जनताबाट निर्वाचित हुन रुचाउने व्यक्तिलाई सत्ताको भोक लाग्न थालेपछि लोकतन्त्र दुब्लाउन सुरु गर्छ । अझ भनौँ, आफूले अँगालेको सिद्धान्तमा भन्दा सत्ताको हात-खुट्टामा अधिक तागत देख्न सुरु भएपछि पार्टी-सत्ताको दुरुपयोग सामान्य र अनिवार्य बन्न पुग्छ । जसले गर्दा क्रान्तिकारी नेता यथास्थितिवादी बन्दै मुक्तिदाताबाट ‘सख्त’ नेतामा रूपान्तरण हुन पुग्छन् । जोसेफ टीटो, सुकार्नो, मुगाबे जस्ता नेताहरू जसले मुक्तियुद्धको नेतृत्व गरे, लोकप्रिय मतसहित निर्वाचित भए, जनताको अकल्पनीय माया पाए । तर दुर्भाग्य ! सत्ताको निम्ति सख्त नेता बन्दै ‘लोकतन्त्र र आफ्नै इतिहास’को विसर्जन गर्न हौसिए ।

कृष्णप्रसाद र मनमोहन बाहेक हाम्रो लोकतन्त्रले विनम्र नेतासँग साक्षात्कार गर्न पाएन । हरेक व्यक्ति, निकाय, जात, धर्म र क्षेत्रले आफ्नै ढङ्गले अर्थ लगाउन मिल्ने लोकतन्त्र हाबी भएको मुलुकमा बुद्धिमान, शान्त, अध्ययनशील नेताको खडेरी नै पऱ्यो । सर्वसाधारणको कुरा सुन्ने, संविधान, ऐन, कानुन, धर्म, परम्परा, संस्कारको रक्षा र सम्मान गर्ने, सामाजिक सद्भाव कायम राख्दै छोटो, यादगार र सफल कार्यकाल पूरा गरी चुपचाप सत्ताबाट बिदा लिने नेता आजसम्म फेला परेन । लोकतन्त्रको मूल्य र मान्यतामाथि खेलबाड गर्नुलाई नैसर्गिक अधिकार ठान्ने नेतृत्व राजनीतिमा हाबी हुँदा लोकतन्त्र मौलाउन सकेन । शक्तिप्राप्तिको निम्ति हदैसम्म बदनाम हुन हौसिएको लोकतन्त्रमा नैतिकताको स्कोप रहेन ।

लोकतन्त्रमा सबैभन्दा महत्त्वपूर्ण कुरा देशको स्रोत र साधनको वितरण कसरी हुन्छ वा गरिन्छ भन्ने नै हो । अभिव्यक्तिको स्वतन्त्रता जसले हामीलाई निर्णयकर्ताको गल्तीको आलोचना गर्ने अनुमति दिन्छ तर आलोचना गर्न सक्षम हुनु नै सही निर्णय गर्न सक्षम हुनु हो भन्ने मानिँदैन । उत्तम निर्णयहरू सबैभन्दा राम्रो जानकारीको साथ गरिन्छ भन्ने लोकतान्त्रिक मान्यता हाम्रो सत्ताले बोझ मान्दै आएको छ । सुशासन र पारदर्शितालाई ‘निगाह’को वस्तु मान्ने वैश्य युगको लोकतन्त्रमा ‘मण्डेला’को कल्पना सम्भव थिएन । अध्यक्ष ओलीले मण्डेला बन्ने अवसर मिल्काउँदै पार्टी कब्जा गर्न संविधानलाई दाउमा लगाए । नेता बोसले भारतलाई स्वतन्त्र बनाउन हिटलर र जापानी राजासँग हात मिलाउन तयार भएको शैली नक्कल गर्दा ओलीको लोभलाग्दो छवि, राजनीतिक प्रतिबद्धता र लोकप्रियता धुलोपिठो बन्न पुग्यो । ‘कब्जा राजनीति’लाई रोक्ने नाममा ‘कब्जा नीति’नै अँगाल्ने सिंहदरबार र विश्व-राजनीतिले लोकतन्त्रको जटिलता अनदेखा गर्दा साना मुलुकको सार्वभौमसत्ता थप निरीह बन्दै छ ।