नैतिकताको खडेरी, लोकतन्त्र धरापमा !

त्रेता युगको समाप्ति र द्वापर युगको आरम्भमा १२ वर्ष पानी परेन । जसको कारण भीषण अकाल सिर्जना भयो । स–साना जलाशय सुकेर गए । पानीको हाहाकार भयो । खेतीपाती चौपट भयो । सुख्खा र अधिक तापमानको कारण अधिकांश भाग उजाड हुन पुग्यो । गाउँ र जङ्गल डढेर खरानी भयो । भोकको कारण लुटपाट र चोरी व्यापक हुन थाल्यो । बालक कुपोषित भए । वृद्ध मर्न थाले । गाईबस्तु, जनावर प्रायः समाप्त हुन पुगे । चारैतिर हड्डीको थुप्रो मात्र देखिन थाले । यस्तो दुर्दिनको समयमा महर्षि विश्वामित्र भोकले तड्पिएर आश्रमबाट भोजनको तलासमा निस्किए ।

घुम्दा–घुम्दा कहीँ केही नमिल्दा उनी एक हिंस्रक समूहको बस्तीमा पुगे, जहाँ मृत मानिसबाट उतारिएको कपडा टाँगिएका थिए । लासमाथि चढाइएका फूलले उनीहरूको घर सजाइएका थिए । जहाँ गधाको आवाज चर्कोसँग सुनिन्थ्यो । मन्दिरबाट लाटोकोसेरोको आवाज आइरहेको थियो । कुकुरहरूको समूह देखिन्थ्यो ।

भोक–प्यासले तड्पिएका ऋषि विश्वामित्रले हिंस्रक बस्तीको घर–घर गएर भीख मागे तर कसैले केही नदिँदा चोरी गर्न एक घरभित्र प्रवेश गरे । घरको मालिक घरभित्र सुतिरहेका थिए तर निदाएका थिएनन् । आराम गरिरहेका घरमालिकले चोर ठान्दै गर्न सक्ने सम्भावित आक्रमणबाट बच्न ऋषि विश्वामित्रले तत्काल आफ्नो परिचय दिए । भर्खरै मारेको कुकुरको मासु आफ्नै अगाडि देख्दा बिनासङ्कोच उक्त मासु माग्दै ऋषिले भने- ‘म अत्यन्त भोकाएको छु । प्राणरक्षाको निम्ति यो मासु चाहन्छु । अधिक भोकले मनुष्यलाई कलङ्कित बनाउँछ । चेतनालाई नष्ट गरिदिन्छ । शरीर शिथिल हुन्छ र श्रवण शक्ति गायब हुन्छ । मनुष्यलाई हदैसम्म गिर्न इजाजत मिल्छ । साथै लज्जा गायब पारिदिन्छ । सही र गलतबीच निर्णय गर्ने क्षमता समाप्त गरिदिन्छ । त्यसैले म कुकुरको मासु लिएर जान चाहन्छु ।’

ऋषिको कुरा सुनेर घरमालिकलाई ठुलो आहत भयो । उनले ऋषिसँग भने– ‘मुनिवर, यस्तो कुनै काम नगर्नुस् जसले हजुरको धर्म भ्रष्ट होस् । साथै, कुकुरको मासुको कारण हजुरको तपस्या नाश होस्- यस्तो नगर्नुस् ।’ उसले जोड दिँदै ऋषिलाई भन्यो– ‘त्यागी, तपस्वी र राम्रो पुरुषले आफ्नो प्राण त्याग गर्नु उचित हुनेछ तर अभक्ष सेवन गर्दै आफ्नो अस्तित्व समाप्त गर्नु महाभूल हुनेछ ।’

विश्वामित्र जस्तो ऋषिलाई धर्मको उपदेश दिनुमा आफैलाई अक्षम मान्दै घरमालिकले थप भने- ‘कसैले अयोग्य स्थान, अनुचित कर्म र निन्दित व्यक्तिबाट कुनै निषिद्ध बस्तु लिन चाहन्छ भने उसलाई उसकै सदाचारले मात्र रोक्न सक्छ । लोभवश यस्तो पाप हजुर नगर्नुस् ।’ घरमालिकको कुरा सुनेपछि विश्वामित्रले भने- ‘मेरो शरीर मेरो अभिन्न मित्र हो, यसको रक्षा गर्नु मेरो परम कर्तव्य हो । शरीर रहे मात्र धेरै सत्कर्म गर्न सकिन्छ ।’ यस्तो भन्दै विश्वामित्र ऋषिले कुकुरको मासु लिएर गए ।

आफ्ना पिताको गल्ती सुधार गर्दै राजा महेन्द्रले १७ देखि २७ सालसम्म गरेको दीर्घकालीन रणनीतिक महत्त्वका योजना र कार्यक्रमको कारण ०४६ सालमा गणेशमानको आँगनमा उनीहरूको न्यानो स्वागत त्रिभुवनले सुरु गरेको राजनीतिक खडेरीको निरन्तरता बन्न पुगेको ठोकुवा गर्न सकिन्छ ।

गत पुस ५ पछि मुलुकको राजनीतिमा विचित्रको खडेरी सुरु भएको छ । नेपाली जनताले सुन्दै आएको ‘युद्ध र प्रेममा सबै जायज हुन्छ’ भन्ने भनाइमा कुर्सी-राजनीति समेत थपिएको छ । मुर्छित सपनाको मार्केटिङ गर्दै उदाएका केपी ओली सुशासन र समृद्धिको यात्रातर्फ लम्किनुको सट्टा ‘बा साम्राज्य’ स्थापना गर्न हौसिए । भीमकाय पार्टी र संसदीय अङ्कगणितको अधिकतम सदुपयोग गर्नुको सट्टा माधव-प्रचण्डको राजनीति समाप्त गर्दै जीवनभर शासन गर्ने ‘ओली-रोडम्याप’मा सर्वोच्च अदालतको ‘संवैधानिक मुक्का’पश्चात् मुलुकको राजनीतिमा नैतिकताको खडेरी सर्वसाधारणसम्मले देख्न-भोग्न पाएका छन् ।

वास्तवमा भन्नुपर्दा ओली सरकारका तीन वटा नीति तथा कार्यक्रम र बजेट, राजनीतिक टिम र जाँगर देखेपछि जनताले समृद्धि धेरै टाढाको कुरा हो भन्ने बुझेकै हुन् । उत्तर, दक्षिण र पश्चिमसँग सन्तुलित सम्बन्ध कायम गर्दै भू-अवस्थितिको फाइदा उठाउनसमेत चतुर केपी असफल भएकै हुन् । संविधानको सफल कार्यान्वयन गर्दै राजनीतिक स्थिरता र दीर्घकालीन विकासको एजेन्डामा विघटित नेकपालाई समाहित गर्दा पार्टीमा प्रचण्ड-एजेन्डा स्थापित हुने जोखिम मोल्न ओली तयार हुने कुरै थिएन । फलस्वरूप संविधानलाई मुर्छित गर्दै पार्टीमा एकल नेतृत्व स्थापित गर्ने आफ्नो रोडम्याप तयार गर्न संसद् विघटन अनिवार्य थियो ।

जनताको दृष्टिमा औचित्यहीन तर केपीको दीर्घकालीन राजनीतिको निम्ति अनिवार्य संसद् विघटनपश्चात् सत्ता र सडकमा उपस्थित दुई कम्युनिस्ट कित्ताले जनसमर्थन र आन्दोलनको नाममा जनतासँग भिक्षा माग्दा कतै केही नपाएको दृश्य सर्वसाधारणले देखिसकेका छन् । अनेकौँ कोशिसका बाबजुद आन्दोलनमा जनताको उत्सुकता नदेखिँदा अनेक प्रतिबद्धता ल्याउन तयार आन्दोलनकारी शक्ति अदालतबाट संसद् ब्युँतिनासाथ प्रतिबद्धतापत्र र श्वेतपत्रको उच्चारण गर्न बिर्सिएका छन् । यसैगरी प्रधानमन्त्रीले बुझ्ने भाषामा सर्वोच्च अदालतले राजीनामा र संविधानको रक्षा गर्न नभनेको सजाय ‘संविधान र राजनीति’ले पाउँदै छ ।

आधुनिक नेपालको निर्माणसँगै बलियो बन्न थालेको नेपालको मौलिक भाषा, धर्म, परम्परा, संस्कृति, विविधताभित्रको एकतापूर्ण समाज, सङ्गठित सेना र राजसंस्था नै मजबुत नेपाल बन्ने कारण बुझेका शक्तिहरूले अनेक बहानामा नेपाली एकतालाई छिन्नभिन्न बनाउन नेपाली समाजभित्र तात्कालिक सत्ताले सिर्जना गरेको अन्तरविरोधलाई गम्भीर ढङ्गले दुरुपयोग गर्‍यो ।

नेपालको राजनीतिमा नैतिकताको औपचारिक खडेरी दिवङ्गत राजा त्रिभुवनबाट थालनी गरिएको मान्ने आधार इतिहासले चिच्याइ-चिच्याइ भनिरहेको छ । राणाशासनबाट मुक्ति पाउने लालसामा आफ्नो राजनीतिक धर्मलाई बेवास्ता गर्दै शरणार्थीको रूपमा भारत जाने कार्यले नेपालको राजनीतिमा भारतको उपस्थिति र अनुपयुक्त हस्तक्षेपको जग बसेको कटुसत्य इन्कार गर्न सकिँदैन । आफ्ना पिताको गल्ती सुधार गर्दै राजा महेन्द्रले १७ देखि २७ सालसम्म गरेको दीर्घकालीन रणनीतिक महत्त्वका योजना र कार्यक्रमको कारण ०४६ सालमा गणेशमानको आँगनमा उनीहरूको न्यानो स्वागत त्रिभुवनले सुरु गरेको राजनीतिक खडेरीको निरन्तरता बन्न पुगेको ठोकुवा गर्न सकिन्छ ।

कुनै पनि मुलुकको राजनीतिक परिवर्तन त्यस देशको राजनीतिक दल, जनताको इच्छा, चाहना र सक्रियतामा हुने गर्दछ । विडम्बना ! ०७ सालपछिको हरेक दश वर्षमा अस्थिर बनाइने नेपालको राजनीतिमा अर्थपरक सहभागिता र हिस्सेदारी खोज्ने दक्षिणको चाहना ०४६ सालको सन्तुलित परिवर्तनमा भूमिकाविहीन बन्न पुग्यो । फलस्वरूप कलिलो प्रजातन्त्रलाई समाप्त गर्न माओवादी ध्वंश र त्यसको योजनाकारलाई सुरक्षित सेल्टर दिएर भारतले आफ्नो चरित्र र नियत खुलेआम सार्वजनिक गर्न राजी भयो । यद्यपि राजा त्रिभुवन, काङ्ग्रेस र कम्युनिस्ट नेताले भारतमा बसेको ऋण तिर्दा–तिर्दा कङ्गाल भएको नेपाली राजनीति पुस ५ पछि टाटै पल्टियो ।

आधुनिक नेपालको निर्माणसँगै बलियो बन्न थालेको नेपालको मौलिक भाषा, धर्म, परम्परा, संस्कृति, विविधताभित्रको एकतापूर्ण समाज, सङ्गठित सेना र राजसंस्था नै मजबुत नेपाल बन्ने कारण बुझेका शक्तिहरूले अनेक बहानामा नेपाली एकतालाई छिन्नभिन्न बनाउन नेपाली समाजभित्र तात्कालिक सत्ताले सिर्जना गरेको अन्तरविरोधलाई गम्भीर ढङ्गले दुरुपयोग गर्‍यो । लामो समयसम्म सामन्ती सत्ताले गरेको दमन, अन्याय, अत्याचार, असमानता, गरिबी, बेरोजगारी, भ्रष्टाचार र असन्तुलित विकासको विकल्प हिंसा हुन नसक्ने जान्दाजान्दै रणनीतिक ढङ्गले माओवादी हिंसा जन्माइयो । आवरणमा माओवादीलाई देखाउँदै पर्दापछाडिबाट उचालिएका गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता र समावेशिता जस्ता पश्चिमी एजेन्डा संविधानमा संस्थागत गरियो तर माओवादी आन्दोलन र नेतृत्वलाई उठ्नै नसक्ने गरी समाप्त गरियो । संविधानभित्र उपलब्धिको नाममा स्थापित गरिएका एजेन्डा हुर्काउने जिम्मा माओवादी एजेन्डाको घोर विरोधीको हातमा रणनीतिक ढङ्गले पुर्‍याइयो ।

लोकतन्त्रमा ‘नैतिकता’लाई अलिखित संविधान मानिन्छ । जब समाज र राजनीतिमा नैतिकताको खडेरी पर्छ तब मुलुकमा अपराध र भ्रष्टाचारमा व्यापकता, अर्थव्यवस्थामा गिरावट, अपराध र अनियन्त्रित हिंसामा वृद्धि, चाकडी र चाप्लुसीको प्रमोसन, नातावाद र आशीर्वादको जगजगी, गुण्डागर्दी र दादागिरी चुलिन्छ ।

संविधान बलियो बन्दा आफू कमजोर बन्ने ओली–सोच पुस ५ पछि सतहमा देखापरिसकेको छ । गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र समावेशितालाई बोक्ने माओवादी केन्द्र आफै अस्तित्वरक्षाको लडाइँमा छ । काङ्ग्रेसलाई संविधान जोगाउने कुनै जाँगर छैन । दश वर्षसम्म मुलुकलाई बन्धक राखेर, मुलुकभित्र स्थापित संस्था र सङ्गठनलाई विकलाङ्ग तुल्याउँदै जस्केला र ढोकाबाट एकसाथ भिडाइएका परिवर्तन बेवारिसे बन्ने-बनाउने खेल कसले र किन खेल्दै छ ? सवाल गम्भीर छ । नैतिकताको खडेरीमा सत्तासुख लिन हौसिएका प्रधानमन्त्री ओलीबाट पश्चिमा उपलब्धि हुर्कने, बढ्ने कल्पना स्वयम् पश्चिमा शक्तिले नगर्नुको अर्थ मुलुकमा नयाँ द्वन्द्वको भाग-२ तयार हुँदै गरेको बुझ्न सकिन्छ ।

मिसन ‘कब्जा’मा होमिएको ओली-राजनीति संविधानलाई पङ्गु बनाउँदै संविधानमाथि बस्ने कुचेष्टा गर्दै छ । लोकतन्त्र केवल ऐन, नियम, कानुन र संविधानले मात्र चल्ने शासन होइन । लोकतन्त्रमा ‘नैतिकता’लाई अलिखित संविधान मानिन्छ । जब समाज र राजनीतिमा नैतिकताको खडेरी पर्छ तब मुलुकमा अपराध र भ्रष्टाचारमा व्यापकता, अर्थव्यवस्थामा गिरावट, अपराध र अनियन्त्रित हिंसामा वृद्धि, चाकडी र चाप्लुसीको प्रमोसन, नातावाद र आशीर्वादको जगजगी, गुण्डागर्दी र दादागिरी चुलिन्छ । त्यस्तो अवस्था सिर्जना हुनासाथ प्रधानमन्त्री ओलीको शासन न्यायालय, सेना र कर्मचारीको आशीर्वादमा मात्र टिक्ने छ । सत्ता नै सबै थोक हो । यसको रक्षा गर्नु मेरो परम कर्तव्य हो । सत्ता रहे मात्र मेरो अस्तित्व रहन्छ भन्ने सोचका साथ संविधान लोकतन्त्र, नैतिकता, सिद्धान्तलाई मुर्छित पार्दै सत्ताको अधिक भोकमा लम्किने रक्षात्मक ओली-शासन धरापमा परे विश्वामित्रले कुकुरको मासु खान विवश भएको अवस्थामा मुलुक पुग्ने निश्चितप्रायः छ ।