बादशाह अकबरदेखि ओलीसम्म !

आफ्नो सोच र दाबीलाई बादशाह अकबरले मन्त्री वीरबलसामु तेस्र्याउँदै भने– आगरामा मूर्ख मानिस फेला पर्ने छैनन् ।

बादशाहको कुरा सुन्नासाथ मन्त्री वीरबलले भने, हजुरलाई यो कुरामा गर्व हुनुपर्छ कि यहाँ केवल बुद्धिमान मानिस मात्र बस्छन् ।

तिमी मेरो कुरा बुझ्न सकिरहेका छैनौँ । म भन्न खोजिरहेको छु कि एउटा मूर्ख मानिसलाई कसरी चिन्न सकिन्छ ?

हजुर ! मूर्ख मानिसको विशेष चिनारी हुँदैन । हामीले खोज्न चाह्यौँ भने यस्ता असङ्ख्य मूर्खहरू फेला पार्न सक्छौँ । त्यति मात्र नभइ कहिलेकाहीँ नपत्याएको बुद्धिमान मानिसले गरेको मूर्खता पनि देख्न सकिन्छ ।

वीरबलको कुराले रन्थनिएका बादशाह अकबरले भने– ‘म तिमीलाई दश दिनको समय दिन्छु । मेरोसामु केवल दश मूर्ख मानिस पेश गर ।

बादशाह अकबरको आदेशअनुसार मन्त्री वीरबल दश मूर्ख खोज्न निस्किए । एकाध दिनपछि मन्त्री वीरबलले दुई व्यक्तिको मूर्खतापूर्ण सम्वाद सुन्न पाए ।

पहिलो व्यक्तिले दोस्रो व्यक्तिसँग भन्दै थियो- यदि तिम्रोसामु भगवान् आए के वरदान माग्छौ ? दोस्रोले भन्यो- म दूध दिने गाई माग्छु । यसैगरी पहिलो व्यक्तिसँग दोस्रोले सोध्यो- तिमी के माग्छौ नि ? पहिलो व्यक्तिले जवाफ दियो- म बाघ माग्छु, ताकि तिम्रो गाईलाई खाओस् । यो सुनेर दोस्रो व्यक्ति रुन/कराउन थाल्यो । यसको बाघले मेरो गाई खायो । अब मलाई पनि खानेछ भन्दै उनीहरू एक आपसमा झगडा गर्न थाले ।

माटोको भाँडोमा तेल बोकेको मानिस संयोगवश त्यही बाटोबाट कतै जाँदै थियो । दुई झगडालुले काल्पनिक बाघ र गाईको निम्ति गरेको झगडामा तेलवालासँग समाधान खोजेछन् । सबै वृत्तान्त सुन्नासाथ तेलवालाले भनेछ- तिमीहरू दुवै मूर्ख हौ । तिमीहरू मलाई पनि मूर्ख ठान्छौ भने मेरो तेललाई पानी जस्तै बगाएर देखाओ । तेलवालाको घमन्ड सुन्नासाथ दुई मूर्खले तेलको भाँडो फुटाइदिए । तेल सडकमा पोखियो । मन्त्री वीरबलले उनीहरूको नाम ठेगाना कागजमा टिपे ।

क्रमशः मन्त्री वीरबलले मूर्ख फेला पार्दै गए । चौथो मूर्ख एउटा बत्तीमुनि केही खोज्दै थियो । वीरबलले उसलाई सोधे- के खोजेको ? हिजो अँध्यारोमा माला हराएको थियो, यो बत्तीमुन्तिर पाइन्छ कि भनेर खोजेको । वीरबल मूर्खको खोजीमा हिँड्दै गर्दा एउटा मानिस खाडलमा देखे । उसलाई खाडलबाट बाहिर निकाल्न हात दिए । तर खाडलमा भएको मानिसले भन्यो । मेरो कपाल समातेर बाहिर निकाल । किनकि मेरो हातमा तिजोरीको नाम लेखेको छु । तिमीले निकाल्दा मेटिन सक्छ । यसैगरी वीरबलले अर्को मूर्ख फेला पारे । उ खाल्डो खन्दै केही खोज्दै थियो । वीरबलले सोधे- के खोजेको ? उसले भन्यो- हिजो मैले धन गाडेको थिएँ, आज खोज्दै छु । वीरबलले ‘हिजो चिनो लगाएनौ ?’ भनी प्रश्न गर्दा उसले ‘आकाशको बादल हेरेर गाडेको थिएँ, आज बादल आकाशमा कतै छैन’ भन्ने जवाफ दियो ।

मन्त्री वीरबलले माथिका घटनासँग जोडिएका सबै मूर्खहरूको नाम र ठेगाना टिप्दै थिए । अचानक एउटा मानिस उनको छेउबाट दौडियो । उनले त्यस मानिसलाई रोकेर सोधे- किन बेजोडले भागेको ? उसले भन्यो- म मेरो आवाजलाई समात्न दौडिँदै थिएँ, तिमीले रोकिदियौ । मन्त्री वीरबल आठौँ मूर्ख फेला पार्न आतुर थिए । उनले अकस्मात् एक मानिस घोडामा बसेर आफ्नो टाउकोमा एउटा भारी राखेर जाँदै थियो । वीरबलले उसलाई सोधे- किन टाउकोमा भारी बोकेको ? आफ्नै पछाडि राखे घोडाले बोकी हाल्छ । उसले जवाफ दियो- घोडा धेरै थाकेको छ त्यसैले आफ्नै टाउकोमा राखेको । वीरबलले उसको पनि नाम र ठेगाना टिपे र बादशाह अकबरसामु मूर्खहरूको नाम पेश गरे ।

मूर्खहरूको नाम र ठेगाना हेरेपछि बादशाह अकबरले वीरबललाई ब्यङ्ग्य गर्दै भने- वीरबल मेरो राज्यमा जम्मा आठ जना मात्र मूर्ख रहेछन् । अरू मूर्ख फेला परेनन् ? वीरबलले विनम्रतापूर्वक जवाफ फर्काए- महाराज, नवौँ मूर्ख मै हुँ । म आफ्नो जिन्दगीको महत्त्वपूर्ण दश दिन मूर्खको खोजीमा बरबाद गरिरहेको छु ।

‘म तिमीसँग सहमत छु’- अकबरले भने, ‘तर दशौँ मूर्ख को हो ?’

वीरबलले आदरपूर्वक जवाफ दिए- ‘दशौँ मूर्ख हजुर होइबक्सिन्छ, किनकि राज्यको धेरै समस्या र महत्त्वपूर्ण काम पन्छाएर दशवटा दिन मूर्खको खोजीमा बरबाद गर्नुभयो ।’

उल्लेखित सन्दर्भ मुलुकको वर्तमान राजनीतिमा ठ्याक्कै मेल खाएको दृश्य टिठलाग्दो छ । राजा-महाराजाहरूले राष्ट्रवादलाई मात्र ध्यान दिए, प्रजातन्त्रलाई अनुपयुक्त विषय भन्दै पन्छाइदिए । ‘राष्ट्रिय मूर्ख’ मात्र जन्माउने शिक्षानीति स्वीकार गर्न राजी तात्कालिक नारायणहिटी र सिंहदरबारले प्रतिबन्धित दलीय प्रजातन्त्रवादीको महत्त्वाकाङ्क्षा र जरोकिलोतर्फ अनदेखा गरिदियो । देशभित्र राजनीति गर्न नदिने अदूरदर्शी नीतिले आफ्नै जनता विदेशीभूमिमा पार्टी खोल्न बाध्य भए । विदेशीभूमिमा शरण लिएका बीपीसँग प्रजातान्त्रिक समाजवादको अकाट्य पुँजी थियो तर धोका नखाएसम्म नेपालीपन आएन । बीपीको कमजोरी देखेका झापाली युवाले पार्टी त स्वदेशमै जन्माए तर विचार विदेशीकै बोक्न राजी भए । जनताको निम्ति परिवर्तन भन्दै फगत सत्ता, शक्ति र पैसाको निम्ति परिवर्तित काङ्ग्रेस-कम्युनिस्टहरू मूर्ख उत्पादन गर्ने कारखाना बन्न पुगे ।

करिव ६० वर्षको रणनीतिक लगानीपश्चात् मुलुकमा दशौँ तहको मूर्ख बस्ने दरबार खाली गराइयो । विडम्बना ! सर्वसाधारण जनतादेखि बौद्धिक ‘ब्रेन’सम्मलाई एक नम्बरदेखि आठ नम्बरको मूर्खमा सीमित राख्दै हौसिएको बालुवाटारका दशौँ ‘मूर्ख’ले राष्ट्रवाद, समृद्धि, विकास, राममन्दिर, अयोध्या, नयाँ युगको सुरुवात, रेल, पानीजहाज जस्ता काल्पनिक उपलब्धिमा मुलुकवासीलाई विभाजित गरिदिए । आफैले छरेको समृद्धिको बिउ नउम्रिने पक्कापक्की भएको अवस्थामा मुलुकवासीलाई राष्ट्रवादको खाल्डोमा धकेलेर कपाल तान्ने कार्य अनेक खालका दूतको दौडधुप नहुँदासम्म जारी राखे ।

बीपीको कमजोरी देखेका झापाली युवाले पार्टी त स्वदेशमै जन्माए तर विचार विदेशीकै बोक्न राजी भए । जनताको निम्ति परिवर्तन भन्दै फगत सत्ता, शक्ति र पैसाको निम्ति परिवर्तित काङ्ग्रेस-कम्युनिस्टहरू मूर्ख उत्पादन गर्ने कारखाना बन्न पुगे ।

बादशाह अकबरदेखि केपी ओलीसम्म आइपुग्दा विश्व मानचित्रमा अनेकौँ राजनीतिक नक्सा बदलिए, शासक फेरिए, जनता फेरिए, मूर्ख पनि फेरिए, तर पनि सत्ताले ‘मूर्ख र मूर्खता’सँग नाता तोड्न चाहेको देखिँदैन । ‘सत्य’ सज्जनको लागि मात्र हो । भोको पेटमा मुसा दौडिँदा आँखा चिम्लनेहरूको प्रतापले दशौँ मूर्ख बन्ने सौभाग्य पाएका ओली आफ्नो औचित्य समाप्त गरेर इतिहास निर्माण गर्न हौसिएका छन् । अपवादमा बाहेक बालुवाटारबाट फर्कने प्रधानमन्त्रीको अनुहार दागरहित छैन । राजनीतिक प्रलयपश्चात् वर्तमानको रूप नक्सा यथास्थानमा फेला पर्दैन भन्ने बुझेका समृद्धिको रचयिता दशौँ मूर्खमै रमाउनु इतिहास पढ्नेहरूको निम्ति थप पीडाको विषय अवश्य बन्दै छ ।

सामन्ती राजालेसमेत जनताको घरबाट धुँवा ननिस्केसम्म खाना नखाएको इतिहास छ । कसैलाई पढ्न नदिने राणाले कलेज खोलेको मुलुकमा गरिबले उपचार गर्ने वीर अस्पतालसमेत सामन्तीले बनाए, तर समाजवाद र साम्यवादको डिङ हाँक्ने, समृद्धिको पुराण सुनाउनेहरू कोभिड बिरामीको उपचार नगरेर दलाल पुँजीवादको सेवा गरेको दृश्य आफैमा क्रान्तिभन्दा कम छैन । ‘वार्षिक एक खर्ब बीस अर्ब आम्दानी हुनेछ, समृद्धिको सूर्य पश्चिमबाट उदाउने छ, मुलुकको कायाकल्प हुनेछ’ भन्ने कमरेड नै दोस्रोपटक प्रधानमन्त्री भइसक्दा पनि महाकाली सन्धिले समेटेको पञ्चेश्वरको डिपिआर समेत बन्न सकेन । जातिवाद, क्षेत्रियतावादको कडा प्रतिवाद गरेको ब्याज खाँदै नितान्त व्यक्तिवादमा रूपान्तरित सत्तावादले मुलुक र लोकतन्त्रलाई गुन लगाउनुको सट्टा बालुवाटारमा परेको अनैतिकताको असिनापानीले नेकपाको बाली मात्र हैन लोकतन्त्रको बालीसमेत नष्ट हुँदै छ ।

राजनीतिमा लोभीपापी र अवसरवादी मात्र हाबी हुने भए राजनीति यस दुनियाँबाट गायब भइसक्थ्यो । निष्ठावान्, सैद्धान्तिक, जनता र इतिहासलाई सम्मान गर्ने मानिस अझै पार्टी-राजनीतिमा रहेकै कारण नवौँ र दशौँ मूर्खहरूको कुर्सी पटक-पटक धर्मराएको छ । संसदीय अङ्कगणितको महत्त्व नबुझिने विषय थिएन । सुन्दा अत्यन्त कर्णप्रिय लाग्ने ‘सहमति’ शब्दको चीरहरण सत्ताले गरेकोगर्‍यै छ । सडक र कुर्सीको लोकतान्त्रिक परिभाषा आ-आफ्नै रहेसम्म जनताको समस्या समाधान गरिदिने जिम्मेवारी मूर्खहरूले पाइराख्ने व्यवस्था संविधानमार्फत सुनिश्चित गरिएको जनताले पत्तै पाएनन् ।

एकल नेतृत्वबाट मुलुकमा समृद्धि ल्याउने हवाइकल्पना र व्यक्तिवादको चरम महत्त्वाकाङ्क्षा लोकतन्त्रले रुचाएको इतिहास छैन । ‘सामूहिकता र त्याग’ जस्ता शब्द ‘ओली-शब्दकोश’मा फेला पर्दैनन् । काल्पनिक समृद्धिमा मुलुकवासी झुम्मिँदा नवौँ र दशौँ मूर्खहरूको अलोकतान्त्रिक रजगज विचित्रसँग मौलाएको छ । धोका खानुलाई उपलब्धि मान्ने जनता मूर्ख बन्दै मूर्ख खोज्न राजी छन् । तमाम समस्याको समाधान लोकतान्त्रिक विधि र पद्धतिबाट गर्न नरुचाउने प्रधानमन्त्री ओली दशौँ ‘बादशाह’ बन्दै मुलुकको बहुमूल्य समय बरबाद गर्दै छन् । समृद्धि र सुशासनको निम्ति मूर्खहरू पुजिनुपर्छ भन्ने सोच स्थापित गर्न हौसिएको ओली-शासन सगरमाथाको उचाइ बढाउने उपाय बेसक्याम्पमा खाल्डो खन्नुलाई मान्दै छ । २४० वर्षसम्म अविच्छिन्न शासन गरेको शाहवंशले समेत जनताको नासो जिम्मा लगाउँदै खुरुखुरु दरबार छोडेको मुलुकमा बादशाह अकबरकै शैलीमा निरन्तर मूर्ख खोज्न तम्सिएको ओली-शासन मूर्खताको नयाँ अध्याय लेख्न हौसिँदै छ । अस्तु ।