भोग्न नपाउने समाजवाद !

दार्शनिक अरस्तु भन्ने गर्थे- ‘मानिस एक राजनीतिक प्राणी हो ।’ मानिसको क्षमतालाई बुझ्नासाथ उनले भने कि राजनीति मानिसको स्वाभाविक गतिविधिको क्षेत्र हो । अरस्तुको मान्यताअनुसार ‘राज्य मानव जीवनको निम्ति अस्तित्वमा आउँछ र राम्रो जीवनको लागि निरन्तर रहन्छ ।’ अतः राजनीतिको प्रमुख लक्ष्य ‘उत्तम जीवन’ प्राप्त गर्नु नै हो । राजनीतिलाई प्राचीनकालदेखि नै समाज परिवर्तनको प्रमुख शक्ति मानिँदै आएको छ । ‘राजा कालस्य कारणम्’ अर्थात् राजसत्ता असल या खराब स्थिति उत्पन्न गर्न सक्ने प्रभावशाली तन्त्र हो ।

धर्मको खिलाफ कहिल्यै नगएका समाजवादी नेता डाक्टर राममनोहर लोहिया ‘धर्म र राजनीति’बारे भन्ने गर्थे- ‘धर्म एक दीर्घकालिक राजनीति हो र राजनीति एक अल्पकालिक धर्म ।’ उनको बुझाइमा धर्मको दायित्व धेरैभन्दा धेरै राम्रो कुराको जन्म दिनु हो । उनी राजनीतिबारे भन्ने गर्थे कि नराम्रो कुराको विरुद्ध लड्न अग्रिम मोर्चामा आउनु नै राजनीतिको धर्म हो । धार्मिक प्रवृत्तिका नास्तिक डाक्टर लोहियाले धर्मको दुवै काण्डलाई राम्रोसँग अध्ययन गरे । चन्दन, टीका, आरती, पूजालगायत कर्मकाण्डीय पक्षभन्दा महत्वपूर्ण ज्ञान काण्डको बाहुल्य बढाउन वकालत गरिरहे । उनी भन्ने गर्थे- एकात्मभाव दृष्टिको विकास केवल ज्ञान काण्डले मात्र गर्न सक्छ । साथै ज्ञानले मात्र महिला, दलित, धार्मिक समुदाय, पिछडिएका वर्गले आफ्नो स्वाभिमानको प्रदर्शन गर्न सक्छन् ।

मुलुकको राजनीतिक उद्योगमा प्रवेश गरेका सुकुम्बासी नेताहरूको दृष्टिमा डाक्टर लोहियाको राजनैतिक दर्शन मात्र हैन उनको ‘फक्कडपन’सहितको व्यक्तिगत जीवनशैली असान्दर्भिक भइसकेको छ । जिन्दगीभर स्थायी ठेगानाबिना राजनीतिमा जमेका उनले राजनीतिमार्फत अकबरपुरको पुस्तैनी घर मर्मत गर्न सकेनन् । फर्रूखावादलाई कर्मभूमि बनाउँदै निर्वाचनमा होमिएका डाक्टर लोहिया कार्यकर्ताको घर नै आफ्नो घर मान्ने गर्दथे ।

जर्मनी बसाईको दौरान राममनोहर लोहियाले मार्क्स र एंगेल्सका थुप्रै किताब अध्ययन गरे । मार्क्सवादले गरेको साम्राज्यवाद र पुँजीवादको सम्बन्धसँग उनी सहमत हुन सकेनन् । मार्क्सवादले मान्ने गर्छ कि पुँजीवादको विकासबाट साम्राज्यवाद मौलाउँछ वा हुर्किन्छ । मार्क्स भन्ने गर्थे, पुँजीवादलाई समाप्त गरे मात्र साम्राज्यवादको विनाश हुनेछ । लोहियाले यसलाई ठिक उल्टो ढङ्गले बुझ्न पुगे । साम्राज्यवाद नै हो जसले पुँजीवादको विकास गऱ्यो । उनले भने- साम्राज्यवादलाई उखेलेर फाल्न सके मात्र पुँजीवादको नास हुनेछ ।

राजनीति र समाज चिन्तकहरूको नजरमा विकासका सूचकहरू बहुपक्षीय र गैरआर्थिक पनि हुन्छन् भन्नेमा रोचक सहमति हुने गर्छ । तर अर्थशास्त्रीहरू विकासलाई अर्थशास्त्रले मात्र मापन गर्नुपर्छ भन्ने वकालत गरिरहन्छन् । सर्वसाधारण मानिसको दैनिकीमा आइरहेको परिवर्तनलाई केवल अर्थशास्त्रीय आँखाबाट मात्र हेर्दा समाज परिवर्तन बुझ्न सकिँदैन । सुनेको कुराबाट विश्वास हराउँदै गएको पछिल्लो पुस्ताले खोजेको ‘समाजवाद’ नेता र बौद्धिक विलासको विषयमा सीमित बन्दै छ । अवसरवादको घोर विरोध गर्ने तर अवसरवादी बन्न कुनै सङ्कोच नमान्ने वैश्य युगको कुर्सी राजनीति ‘दलाल पुँजीवाद’को आवरणमा उदाउनु स्वाभाविक छ । सिद्धान्त, नीति, कार्यक्रम र विचार भन्दा ‘भौतिकवाद’ हाबी भएको राजनीतिमा नैतिकता र समाजवादको कुरा गर्नु ‘हास्यास्पद’ कार्य हुन पुगेको छ ।

अनेकौँ राजनीतिक उतारचढावपश्चात् निर्मित समाजवादउन्मुख नेपालको संविधानले आर्थिक समानता, समृद्धि र सामाजिक न्याय, समतामूलक समाज निर्माण गर्ने सङ्कल्प लिएको छ । भ्रष्टाचार, आर्थिक अनियमितता, कर आतङ्कसँगै थपिएको कोरोना युद्धपश्चात् देश वैदेशिक ऋणमा चुर्लुम्म डुबेको छ । ऋण तिर्ने तागतसमेत नभएको अवस्थामा ‘समृद्धि र समाजवाद’को नारा ‘शरीर मे नहीं लत्ता चलो कलकत्ता’ भनेजस्तो हुँदै छ । नैतिकता, इमानदारिता, पारदर्शिता र राष्ट्रप्रेमको नवीन परिभाषा दिन चुकेको राजनीतिक नेतृत्वले पाइला पाइलामा बलात्कार गरेको ‘समाजवाद’ शब्द सुन्ने तागत लोकतन्त्रले बिस्तारै गुमाउँदै छ ।

जसरी पनि समाजवाद स्थापना गर्ने भन्दै जन्म लिएका राजनीतिक पार्टीले आफू जवान हुन कति कुर्बानी गऱ्यो ? त्यत्रो सङ्घर्ष र कुर्बानीपश्चात् हुर्केको पार्टीहरू पटक-पटक सरकार र प्रतिपक्षमा पुग्दा पनि समाजवादतर्फको यात्रा सुरु हुन सकेन, किन ? अनेकौँ छलफल, दस्ताबेज, मिटिङ, घोषणापत्रमा नछुट्ने समाजवाद कार्यान्वयनको चरणमा प्रवेश गर्न किन सकेन ? हाम्रो भूगोल, जनसङ्ख्या, चेतना, आवश्यकता, जीवनशैली, धार्मिक पद्धति, शिक्षाले समाजवाद देख्न नरुचाएकै हो त ? वा आजको हाम्रो जीवनशैली नै समाजवाद भन्दा उन्नत भएरै हो त ? जवाफ दिने कष्ट राजनीतिक उद्योगले कदापि गर्ने छैन ।

राजनीतिक पार्टीसँग जोडिएका लाखौँ नेता-कार्यकर्ता छन् । नक्कल गरिएका कार्यक्रम छन् । विकास र समृद्धिको नारा कण्ठस्थ पारेका छन् । कुनै विषय घोषणापत्रमा छुटेका छैनन् । बीपीको सपना बेच्ने पार्टी प्रतिपक्षमा छ । मदनको शोकलाई शक्तिमा बदल्दै भीमकाय शरीर बनाएको पार्टी सरकारमा छ । उनीहरूको सपना पूरा गर्ने त्याग, इमानदारिता, जोश र प्रतिबद्धता कार्यान्वयनमा कहिल्यै जाँदैन । ‘जोगी हुन राजनीति गरेको हो र ?’ भन्ने अवस्थाबाट गुज्रेका नेता-कार्यकर्ता निर्धक्कसँग भन्छन्- ‘ओली-प्रचण्ड-देउवाले पार्टी र राजनीति दूषित गरे । हाम्रो भविष्य अनिश्चित बनाए ।’ कुनै नेता-कार्यकर्ता देश र जनताको भविष्यप्रति चिन्तित छैनन् । उनीहरूलाई केवल आफ्नो अराजनीतिक भविष्यले सताउँदै गएको छ । धर्म, भाषा, परम्परा, संस्कृति, सार्वभौमसत्ता दिनप्रतिदिन घेराबन्दीमा परेको तर्फ उनीहरू चिन्तित छैनन् । राजनीतिक अधिकारको नाममा राष्ट्र दोहन गर्नुलाई आफ्नो नैसर्गिक अधिकार सम्झँदै छन् । आर्थिक उन्नति, प्रगति, समानता, अवसर, उत्पादनका साधनमा सर्वसाधारणको गम्भीर उपस्थिति जनाउँदै समाजवादतर्फको यात्रामा मुलुकलाई प्रवेश गराउने साइत कुर्दै समय ब्यतीत गर्दै छन् ।

राजनीतिक स्थिरताको नाममा हजारौँ नेता-कार्यकर्ताले जागिर पाए । जनताको भागमा भ्रष्टाचार, महँगी र सपनासिवाय केही परेन । रणनीतिक हिंसामार्फत जनतालाई हायलकायल पार्दै अनुपयुक्त उपलब्धिको भारी बोकाइयो । संविधानमार्फत अमूर्त समाजवादको सपना बाँड्दै अराजनीतिक ठगहरूले जनतालाई राजनीतिक उद्योगको कच्चा पदार्थमा सीमित गरिदिए । कहिल्यै काम नगर्ने, घरबाट सुको नल्याउने, आम्दानीको नाममा रुपैयाँ नकमाउने राजनीतिक उद्योगका नेता-कार्यकर्ताले देखेको समाजवाद उनीहरूको जीवनमा मागीखाने भाँडो बनिसकेको छ ।

चरम आर्थिक असमानता र सुनियोजित गरिबीले मौलाएको राजनीतिको जगमा जन्मने सपनाहरू मुलुकले थेग्न नसक्ने गरी वितरण गर्दै सत्तामा विराजमान ओली सरकारको समाजवाद साक्षात् कार्ल मार्क्सले समेत बुझ्न सक्ने छैनन् । सुत्दा, उठ्दा, बस्दा मात्र हैन उखान-टुक्का र ठट्टामा समेत समाजवाद देख्ने प्रधानमन्त्री मुलुकले पायो तर समाजवादको ‘डिपार्चर’ देख्न पाइएन । निर्वाचनमार्फत आवधिक सत्ता प्राप्त गरेको सरकारले आफ्नै मुर्छित सपनाको डिपिआर निर्माण गर्दै कार्यान्वयनमा जान कसले रोक्यो ? जवाफ पनि पाइएन । प्रेमपत्र जस्तो घोषणापत्र, पार्टी सिद्धान्त र जनतासँग गरिएको औपचारिक अनौपचारिक बाचा कबुलको जिम्मा लिने व्यक्ति, सङ्गठन, मोर्चा, निकाय, कमिटी कहीँकतै फेला नपरेको समयमा समाजवाद पनि विदेशबाटै ल्याउने तयारी नहोला भन्न सकिन्न ।

रणनीतिक रूपमा नेपाली राजनीति पथभ्रष्ट बनाइएको छ । राजनीतिक आचरण र नैतिकता समाप्त पारिएको छ । सिद्धान्त, नियम र श्रेष्ठ विचारहरू मुलुकमा बस्न नसक्ने अवस्था सिर्जना गरिएको छ । मानवीय मूल्य, सत्य, दया, संयम, दान, अहिंसा, क्षमा, धर्मयुक्त जीवन व्यवहारको वकालत गर्नेहरू प्रतिगामी कहलिएका छन् । समाजमा सुरक्षा एवम् शान्ति स्थापित होस्, रोजगारी, न्याय सर्वसुलभ होस् भन्ने राजनीति ‘एकादेशको कथा’ बन्न पुगेको छ । अनिष्टकारी स्थिति, पारिवारिक विघटन, अपराधीको बोलवाला, चौपट अर्थतन्त्र, नातावाद, कृपावाद, डनगिरी, असुरक्षा, मानव अधिकारको उलङ्घन, राजनीतिजीवी, सरकार र कर्मचारीतन्त्रप्रति जनताको चरम अविश्वास अनेक रूपमा देखा पर्दै छ ।

कार्यकर्ताको आनीबानी, व्यवहार, उठबस, जीवनशैली, बैश्ययुगको समान समस्या, समान वैचारिक धरातल, किताब फोबियापछि समाजवाद ‘पञ्चायतको शोषणरहित समाजको परिकल्पना’ जस्तै बन्न पुगेको छ । प्राकृतिक श्रोतको दोहन, शिक्षामा दलालीकरण, जग्गाको प्लटिङ, यातायात क्षेत्रको सिन्डिकेट, मिलीमतोमा ठेक्कापट्टा, म्यानपावर एजेन्सी, झोलामा हाइड्रो, पानीदेखि सुन बेच्नेसम्म समाजवादी भएको राजनीति देख्दा छक्क परेको पुँजीवादसमेत नेपाली समाजवाद देख्न आतुर छ । भट्टीदेखि पार्टीप्यालेस, जुवाघरदेखि क्यासिनोसम्म, टोले डनदेखि राष्ट्रिय डनसम्म पहुँच बनाउन सक्ने कार्यकर्ता मात्र नेताको प्रिय हुने लोकतन्त्रमा उदाउने समाजवाद भोग्ने जाँगर र तागत जनतासँग बाँकी रहेन ।