नेकपाको दुर्भाग्य !

दुई वटा खच्चर भारी बोकेर जङ्गलको बाटो हिँड्दै थिए । अगाडि हिँडेको खच्चरले ढिका नुन र पछाडि हिँडेको खच्चरले कपासको भारी बोकेको थियो । खोला तर्ने दौरानमा काठेपुलबाट नुन बोकेको खच्चर चिप्लिएर खोलामा खस्यो । कपासको बोझले थकित खच्चर जानाजान खोलामा हाम फाल्यो । केही समयपछि नुन बोकेको खच्चर पानीबाट बाहिर निस्कन सफल भयो तर कपास बोकेको खच्चर आफ्नै भारीको वजनले थिचिएर मरेको दृश्य नुन बोक्ने खच्चरले हेरिरह्यो ।

उल्लेखित सन्दर्भ पछिल्लो समय नेकपा–राजनीतिमा विचित्रसँग मेल खाँदै छ । देउवाको कमजोरी र प्रचण्डको अस्ताउँदो राजनीतिको फाइदा उठाउँदै सम्भव–असम्भव सपनाको जगमा अध्यक्ष ओलीले जनताको भारी बोक्ने अवसर पाए । केवल कुर्सीको निम्ति जीवनभर स्वीकार गरेको मूल्य, मान्यता र विचार स्थगित गर्दै अङ्कगणितको खेल खेल्दा राजनीतिको पुलबाट चिप्लेर प्रचण्ड दलदलमा खसेका छन् ।

तमाम कुरालाई थाती राखेर आधा–आधा खाने सिद्धान्तमा गाँसिएको ओली–प्रचण्ड प्रेममा दरार उत्पन्न भएसँगै नेकपा–राजनीति गन्तव्यहीन बन्दै छ । ओली–राजनीतिको एकल यात्रामा माधव–प्रचण्डको रणनीतिक असहयोगपश्चात् मुद्दाको भन्दा व्यक्तिको व्यवस्थापन गर्दै चल्ने असफल अभ्यासमा प्रधानमन्त्री ओली पूर्वमाओवादी नेताको नाडी छाम्न व्यस्त छन् । माओवादी ध्वंशकालमा यौन विचलन र आर्थिक विचलनमा मुछिएका कमरेडहरूलाई विशेष ढङ्गले प्रयोग गर्ने ओली–योजना बुझ्नासाथ कमरेड प्रचण्डको छटपटी चुलिँदै छ ।

वर्तमानको सम्पूर्ण उपलब्धिमा आफ्नो एकल योगदान रहेको बुझाइमा चुर्लुम्म डुबेका नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई कार्यकारी अध्यक्षले प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट राजीनामा दिन अनुरोध गरेसँगै झस्किएका अध्यक्ष ओलीले प्रचण्डलाई मुखभरिको जवाफ फर्काएका छन् । अध्यक्ष चाहिए महाधिवेशन कुर्नुस्, प्रधानमन्त्री चाहिए निर्वाचनसम्म कुर्नुस् भन्ने ‘ओली–अल्टिमेटम’पछि विचार, नीति, विधि, पद्धति खोज्न बाध्य भएको दृश्य प्रचण्ड–राजनीतिमा टीठलाग्दो बन्दै छ । सेक्टर काण्डपश्चात् प्राप्त राजनीतिक उचाइसँगै कहिल्यै विधि, पद्धतिमा बस्न नचाहेका अध्यक्ष प्रचण्ड, ओलीका कमजोरीको एकल फाइदा लिने लक्ष्यसाथ माओवादी केन्द मर्ज गरेको पश्चात्ताप गर्दै माधवको सहयोगमा विचार र पद्धतिको बहसमा उत्रिएको दृश्य झनै रोचक देखिन्छ ।

ओलीले मसँग बदला लिन खोजे भन्ने अवस्थामा पुगेका प्रचण्डले नेकपा–झगडालाई विचार, नीति, विधि, पद्धतिका लागि सङ्घर्ष बताए पनि पार्टीएकता बिचौलियाको पहलमा भएको चलाखीसाथ लुकाएका छन् । माधवलाई सांसदमा हराउन नचाहेको तर दुर्घटनापश्चात् पहिलो संविधानसभामा मनोनित गरेको, झलनाथलाई छापामार शैलीमा प्रधानमन्त्री बनाएको मात्र हैन वर्तमान प्रधानमन्त्री ओलीलाई दुई पटक प्रधानमन्त्री बनाउन सहयोग गर्दै त्याग गरेको हुँदा वर्तमान पार्टी–झगडा पदको निम्ति नभएको भन्न भ्याएका छन् । पारिवारिक सदस्यलाई सर्वत्र लाभको पदमा राखेको लुकाउँदै त्यागको मिसाल देखाउने कमरेड प्रचण्डले प्रधानमन्त्री ओलीसामु पार्टीमा गम्भीर सवाल उठाएका छन् । माक्र्सवाद, लेनिनवादका आधारमा निर्देशित पार्टी बनाउने कि बुर्जुवा मान्यतालाई पक्रिएर जाने ? पार्टीलाई निश्चित राजनीतिक मान्यतामा सङ्गठित गर्ने कि अराजक भीड बनाउने ? पार्टीको अधीनमा व्यक्ति हुने कि व्यक्तिको अधीनमा पार्टी ? विवेकले सत्ता चलाउने कि सत्ताले विवेक ? सामूहिक निर्णय, व्यक्तिगत उत्तरदायी कि व्यक्तिगत निर्णयको सामूहिक जिम्मेवारी ? जस्ता सवाल पस्कँदै पार्टी–झगडालाई सैद्धान्तिक रङ दिन चाहेका छन् । सत्ता, शक्ति र पैसाको निम्ति जुनसुकै घाटको पानी पिउने आफ्नो विगत नै ‘ओली उदयको जमिन’ हो भन्ने अस्वीकार गर्दै प्रचण्डले ओली कार्यशैलीमाथि निर्मम प्रहार गरेका छन् ।

फगत निजी स्वार्थको निम्ति प्रचण्डले स्वीकार गरेका विदेशी एजेन्डाको आंशिक विरोध गर्दा देशप्रेमी जनताले कमरेड ओलीलाई रुचाए । जनआन्दोलनको समयमा गणतन्त्र ल्याउन असम्भव देखेका कमरेड ओलीले कुर्सीकै निम्ति पश्चिमा शक्तिसँग सम्झौता गर्दै संविधान जारी गर्न राजी भए । माओवादी ज्यादती र प्रचण्ड–हिंसाको कडा प्रतिवाद गरेको कारण जनताको नजरमा चम्किएका ओली पश्चिमा रणनीतिअनुरूपको जातीय राज्यबाहेक सबै मुद्दामा प्रचण्डसँगै उभिएको पत्तै नपाउने कारण बन्न पुग्यो ‘भारतीय नाकाबन्दी’ ।

पञ्चायती निरंकुशताको विरुद्ध व्यक्तिहिंसामा उत्रिएका ओली र प्रजातन्त्रको विरुद्ध मुलुकमा रणनीतिक हिंसा थोपरेका प्रचण्डबीच रणनीतिक साझेदारी गराउने शक्तिले चलाखीपूर्वक नेकपा राजनीतिमा पकड जमायो । जातीय मुद्दाबाहेक तमाम मुद्दा समान रहेका, केवल माओवादी हिंसा र प्रचण्डशैलीको विरोध गर्दै राजनीतिमा जमेका ओलीलाई यथास्थिति र प्रतिगमनतर्फ आकर्षित गर्ने वातावरण प्रचण्डको अङ्कगणित जोड्दै पूरा गरियो । संसदीय राजनीतिमा सहमति, सम्झौताभन्दा ठूलो अङ्कगणित हुने हुँदा विदेशी, बिचौलिया र ओलीको स्वार्थले चलाखीपूर्वक ‘प्रचण्ड’को मर्ममा प्रहार गर्नु जायज बनाइयो । फलस्वरूप ओली–सत्तामार्फत व्यापक अपमानित गर्दै प्रचण्डको अन्तिम प्रयोग गर्ने रणनीति मुलुक प्रवेश गराइयो ।

हिजोको चिन्तन र रोडम्यापमा हिँडेर भोलिको नेपाल बनाउने ओली–अभियान प्रचण्ड–दोस्तीसँगै घाइते बनाइयो । ओली–प्रचण्डको दोस्तीपश्चात् गिट्टी कुट्नेको निम्ति गरिएको राजनीति गिट्टी बेच्नेको हातमा पुऱ्याउँदै नेकपाभित्र भुइँफुट्टावाद, आवारा पुँजीवाद र दलाल पुँजीवादको नाङ्गो नाच सुरु गराइयो । कुर्सी प्राप्त गर्न त्यही पात्र र प्रवृत्ति जायज हुने, कुर्सी नपाउँदा वा खोसिन लाग्दा तमाम गुण अवगुणमा बदलिने अवस्थापछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ब्यङ्ग्य, घोचपेच, गुटबन्दी गर्नमा व्यस्त छन् । उनी हतारमा छन् तर हतारो छैन । उनी समृद्धिका भोका छन् तर टन्न अघाएका छन् । ‘बैठकमा आउँदिनँ निर्णय मान्दिनँ, जानेको गर्नुस् आफ्नो बाटो लाग्नुस्’को अवस्थाबाट गुज्रिएका प्रधानमन्त्री ओली सुखसयलवादमा डुबेका छन् ।

प्रधानमन्त्रीलाई विगतदेखि वर्तमानसम्म व्यक्तिगत गुन लगाएकै भरमा अनुपयुक्त पात्रलाई उपयुक्त स्थानमा पुऱ्याउने उनको कार्यशैली ‘स्वर्णयुगमा’ प्रवेश गर्दै छ । विकास, समृद्धि र सुशासनको माग गर्ने सर्वसाधारणको ध्यान अन्यत्र मोड्न र आफ्नो ‘पातलो’ कार्यकुशलता या कार्यक्षमता लुकाउन प्रधानमन्त्रीको प्रयास र नियत सही छ तर उनको वरिपरि बस्ने मानिस गलत छन् भन्ने प्रचारबाजी रणनीतिक ढङ्गले गराउँछन् । सही मानिसको वरिपरि खराब मानिस कसरी रहन सक्छन् वा सही मानिसले खराब पात्र र प्रवृत्तिलाई साथ लिँदै जनताको मन–मन्दिरमा कसरी बस्न सक्छ ? यस्तो गम्भीर सवालको जवाफ दिन जरुरी ठान्दैनन् ।

कार्यकर्ता र नेतृत्वबीच अत्यन्त ठुलो खाडल, तमाम नेतामा आत्मकेन्दित प्रवृत्ति, नेतृत्व केन्द्रित सिद्धान्त, भेडी गोठ केन्द्रीय कमिटी, अर्थकेन्द्रित राजनीति, दलाल, बिचौलिया, भुइँफुट्टा वर्गको घेराबन्दीमा प्रधानमन्त्री परेसँगै माधव–प्रचण्डसामु चार विकल्पमध्ये एक रोज्नुपर्ने अवस्था सिर्जना भएको छ । वर्तमान बेथिति र अराजकतालाई खुला छुट दिँदै राजनीति छोडिदिने, बहुमतको आधारमा नयाँ नेतृत्व चयन गर्ने, नितान्त व्यक्तिगत स्वार्थलाई ध्यान दिँदै वर्तमान नेतृत्वसँग आत्मसमर्पण गर्ने वा नेतृत्वको गलत रवैयाविरुद्ध पार्टीभित्र सङ्घर्ष चर्काउने बाटो तय गर्नुपर्ने छ ।

लोकतन्त्रमा जनता मालिक र नेता सेवक हुनुपर्नेमा उल्टो गङ्गा बग्दै छ । जनता त्रस्त, नेता मस्त ! वर्तमान लोकतन्त्रमा नेता मालिक र जनता नोकर बन्दै गरेको दृश्य टिठलाग्दो बन्दै छ । जनताको दैनिकी गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, महँगीलगायतको बोझमै रुमल्लिएको छ । निर्वाचनमा यिनै समस्याबाट जनतालाई मुक्ति दिलाउने आश्वासनसहित जनताको घरदैलोमा हात जोड्दै पुग्ने नेताको जिन्दगी मात्र परिवर्तित हुने लुटतन्त्र संस्थागत र मजबुत बन्दै छ । सर्वसाधारण जनताको मुक्तिको निम्ति गरिएको राजनीति सत्ताप्राप्तिसँगै पुँजीपति र बिचौलियाको सेवामा लाग्दै सर्वसाधारणलाई शोषण गरेको दृश्य रोचक लाग्दै छ ।

काण्डैकाण्डमा समृद्धि हासिल गरेको ओली सरकारको कार्यशैली यथावत् रहेमा नेकपा विसर्जनको दिशातिर जाने र सरकार असफल भएर चुनावमै जान नसक्ने अवस्था आउँदै छ । ‘ऐंजेरु’हरू पुरस्कृत हुँदै जाने, आफ्नै मन्त्रीहरूलाई कित्ताकाट गर्न आदेश दिने, पार्टीको सट्टा फाउन्डेसन चलाउने, स्वघोषित राजनेता बन्ने अभियान चलाउने, पार्टीको बैठकबाट वा संसदीय दलबाट निकास खोज्नुको सट्टा सडक र संविधानको दुरुपयोग गर्न लम्किने प्रधानमन्त्री ओलीको कार्यशैली समृद्धिमैत्री देखिएन । अनेकौँ कोसिसका बाबजुद प्रधानमन्त्री ओली सच्चिन राजी नहुँदा नकारात्मक पात्र र प्रवृत्ति मौलाउँदै छ । नितान्त सत्ताकेन्द्रित राजनीतिमा आधारित ओली–प्रचण्डको असफल नेतृत्वमा मुलुकवासीको भविष्य थप अन्धकारतर्फ मोडिँदै छ । आफ्नो विकल्प कोही छैन भन्ने दम्भमा असफल नेतृत्वले जनताको म्यान्डेटलाई खिल्ली उडाएको टुलुटुलु हेरेर बस्ने कि ? जनस्तरबाटै सकारात्मक परिवर्तनको पहल गर्ने भन्ने अवस्था सिर्जना हुनु नै नेकपाको दुर्भाग्य बन्दै छ ।