पुँजीवादको रणनीतिक सन्तान ‘मध्यम वर्ग’ !

आममानिस स्वर्ग जान चाहन्छन् । तर, स्वर्ग कस्तो छ ? कस्तो हुनुपर्छ ? एउटै जवाफ फेला पर्दैन । यदि कसैलाई आँखामा पट्टी बाँधेर स्वर्गमा छाडिदिए के उ साँच्चै सुखी हुन सक्ला कि नसक्ला ? दार्शनिकहरू भन्ने गर्छन्– स्वर्ग पुगेको मानिस नर्क खोज्न हतारिन्छ । स्वर्ग त केवल कल्पना हो । महसुस गर्ने कुरा हो । महसुस मनले गर्ने हो । आँखाले देख्ने स्वर्ग र मनले देख्ने स्वर्ग पनि फरक–फरक हुने गर्छ । यसैको फाइदा वैश्य युगमा पुँजीवादले उठाइरहेको छ भने स्वर्गको भ्रममा मध्यम वर्ग वर्षौंदेखि ठगिँदै आएको छ ।

पुँजीवादको रणनीतिक स्वार्थको निम्ति जन्माइएको ‘मध्यम वर्ग’ ! संसारभर छरिएको छ । सत्ताको सहयोगी बन्न रुचाउने तर सत्ता नै लिन मरिहत्ते नगर्ने, लाभ कम लिने, बढि कर तिर्ने यो वर्ग न धनी छ न त दरिद्र नै छ । गरिब शब्दसँग झस्किने यो वर्गसँग धेरै पैसा छैन, तर नैतिकता प्रशस्त छ । यो वर्ग पैसा कमाउन कडा परिश्रम गर्छ तर परिश्रमको फलको आनन्द लिन पर्याप्त समय हुँदैन । बेकारमा बस्न वा जीवनको अस्पष्टताहरूको बारेमा सोच्ने विकल्प हुँदैन । मध्यम वर्ग एक यस्तो ‘मेसिनरी’ हो जसले राष्ट्र चलाउँछ तर उनीहरूको सामाजिक स्थिति शताब्दीयौँदेखि समान छ ।

मध्यम वर्ग आफै दाबी गर्छ– निर्वाचन परिवर्तन ल्याउने समय हो । उनीहरू उच्च वर्गदेखि निरास छन् । साथै तल्लो वर्गमा खस्किन रुचाउँदैनन् तर निर्वाचनमा मध्यम वर्ग सधैँ अल्मलिने गर्छ । मध्यम वर्ग राजनीतिक दलहरूबाट छिट्टै प्रभावित हुन्छ, साथै निरास पनि उत्तिकै छिटो । उनीहरू सरकारले हरेक क्षेत्रमा अर्थपरक उपस्थिति देखाओस् भन्ने चाहन्छन् । हरेक गडबडीमा कारबाहीको माग गर्छन् । जसको कारण उनीहरू भोट हाल्न रुचाउँछन् । भोटबाटै परिवर्तन ल्याउने कोसिस गर्छन् र महत्त्वपूर्ण विषयमा अक्सर चिप्लने गर्छन् ।

मुलुकमा मध्यम वर्ग धेरै प्रभावशाली छ । उच्च वर्गको मामिलाहरू व्यवस्थापन गर्न र निम्न वर्गलाई रोजगार र निर्देशन दिन मध्यम वर्ग हतारिएको छ । पछिल्लो समय यो वर्ग ठूलो तनावमा देखिन्छ । दुर्भाग्यवश, मध्यम वर्ग धेरै सोच्दै छ । उनीहरू माथिल्लो वर्ग र निम्न वर्गलाई मुलुकको राजनीतिमा असक्षम देख्ने गर्छ । शिक्षामा राम्रो उपस्थितिको कारण मध्यम वर्गले मुद्रास्फीति, बढ्दो मूल्य, अधिक खर्च जस्ता विषयमा धेरै सोचविचार गरिरहेको छ । जलवायु परिवर्तन, प्रदूषण (हावा, माटो र पानीको), ग्रामीण समस्या, खडेरी र अनिकाल, शिक्षा र स्वास्थ्य क्षेत्रमा थपिँदै गएका चुनौतीसँग यो वर्ग निकै चिन्तित देखिन्छ ।

जागिरको अनिश्चितता, बचतको अभाव, बढ्दो महँगी, ऋणको समस्या, बच्चाहरूको हवाइ कल्पना, फेसनको गम्भीर दुष्प्रभावले मध्यम वर्ग हरदम दुःखी तथा चिन्तित भएको पाइन्छ । स्थिर बजेट नहुनु मध्यम वर्गलाई सताउने प्रमुख समस्या हो भने अनावश्यक सुरक्षाको बारेमा सोच्दै चिन्तित हुने उसको प्रवृत्ति झनै खतरनाक समस्या हो । कोभिड–१९ ले मध्यम वर्गलाई नराम्रोसँग घेरेको छ । कोभिड–१९ ले यो वर्गको दैनीकीमाथि धावा बोलेको छ । निम्न र उच्च वर्गको बीच देखापर्ने मध्यम वर्ग आफैमा अस्थायी स्थान हो । सानो कुराले अत्यन्त प्रभावित हुने र सानो समस्या आउनासाथ ठूलो दबाबको महसुस गर्दै सामना गर्न तम्सने यस वर्गको चरित्र पछिल्लो समय सतहमै देखापरेको छ । वैश्ययुगको कारण मध्यम वर्ग झन्–झन् अस्थिर बन्दै छ । विधि, पद्धति, ऐन, नियम र लोकतान्त्रिक संस्थाको मजबुतीको चर्को स्वरमा वकालत गर्न तम्सिने तर तिनै संस्थालाई बचाउन खासै जाँगर नदेखाउने यो वर्ग विचित्रको दुविधामा रहेको देखापर्दै छ ।

धर्मले ‘कर्म’मा जोड दिन्छ भने विश्व पुँजीवादले ‘अर्थ’मा । धर्मप्रधान समाजमा वर्गको स्थान हुँदैन । केवल उनीहरूको ‘कर्म’लाई महत्व दिइन्छ । विश्व पुँजीवादले धर्मलाई आफ्नो दुश्मन ठान्दै केवल अर्थमा ध्यानकेन्द्रीत राजनीतिमार्फत मध्यम वर्गको निर्माण गऱ्यो । मध्यम वर्गलाई पहिचान, स्वतन्त्रता, मानवअधिकार, लोकतन्त्र जस्ता जादुमय शब्दमा लठ्याउँदै आफ्नो शासन–सत्ता लम्ब्याइरह्यो । राज्यले हुर्काएको ‘जमिन र जागिर’मा आधारित यो वर्ग सँधै सत्ताको सहयोगी बन्न रुचायो । पुँजीवादी आर्थिक नीतिको कारण सँधै दबाबमा रहने मध्यम वर्ग सरकारको तारिफ र आलोचनामा सीमित बन्न रुचायो । स–साना घटनामा उत्तेजित हुने, सामाजिक सञ्जाल र मिडियामा अधिक भरोसा गर्ने तर ऐन मौकामा चुप बस्ने यो वर्ग आफैमा शक्तिशाली हुँदा पनि सत्ताको मोहोरा बन्न पुग्यो ।

ऋण गरेर घ्यू खाने, मागेर इज्जत देखाउने, जानाजान धोका खाएर खुसी हुने यो वर्गको पहुँच मुलुकमा जताततै फैलिएको छ । दिन–प्रतिदिन कमाइको अनुपातमा खर्च बढेको, पारिवारिक बोझ थपिँदै गएको कारण मुलुकको समस्या र खराब राजनीति सुधार्नु पर्छ भन्ने मानसिकता उसको प्रथमिकताबाट हटिसकेको छ । बढ्दो भ्रष्टाचार र अपराधको राजनीतिकरणसँग चिन्तित मध्यम वर्ग समाधानको वकालत गर्न तम्सिन्छ तर समाधानको निम्ति कुनै पहल गर्न रुचाउँदैन ।

व्यक्तिगत फाइदाको निम्ति अनुपयुक्त (अ)राजनीतिक मुद्धा बोक्न तम्सिने, काम गर्नुपूर्व दिमागको प्रयोग नगर्ने, अन्य शक्तिबाट परिचालित हुँदै खराब नतिजा प्राप्त गरेपश्चात सोच्न थाल्ने मध्यम वर्गको कारण हाम्रो राजनीति पनि अछुतो रहेन । मुलुकको हित हुँदा सम्पुर्ण नागरिकको हित हुन्छ भन्ने बुझ्दाबुझ्दै मुलुकलाई नोक्सान पुऱ्याउने सत्ता र उच्च वर्गलाई साथ दिँदै आफ्नो वर्गको निश्चित मुद्दाको उठान गर्नबाट बञ्चित हुन रुचायो । जसको कारण ठूला–ठूला राजनीतिक परिवर्तनपछि धोका खाँदै हाँसिरह्यो ।

विश्व पुँजीवादले ‘वर्ग’हरूको परिभाषामा काफी भ्रमहरू जन्माइदिएको छ । जसको कारण वर्गहरूको सर्वमान्य परिभाषा फेला पर्दैन । तथापि हरेक वर्गभित्र अनेकौँ वर्ग हुन्छन्, छन् र रहन्छन् भन्नेमा करिव एक मत देखिन्छ । हाम्रो मुलुकमा मध्यम वर्गको चहलपहल जताततै भेटिन्छ तर निर्णायक र दबाबमुलक भेटिँदैन । मध्यम वर्ग नैतिकता र इज्जतको भोको हुने हुनाले बोल्नबाट सँधै डराउँछ । मुलुकमा राजनीतिको भ्रष्टीकरण बढेसँगै मध्यम वर्गको ‘चिन्तन र चिन्ता’ खल्बलिएको छ । मध्यम वर्गको पहिचान धर्मसँग जोडिने हुँदा यसको निरन्तरता अर्थबाट सञ्चालित र उत्प्रेरित हुने गर्दैन । जसको कारण जसरी पनि आर्थिक उन्नति गर्नुपर्छ भन्ने वैश्य युगको मान्यतासँग यो वर्ग सहमत हुन मान्दैन । फलस्वरुप राजनीतिले आफ्नो स्वार्थको निम्ति नयाँ परिभाषासहितको नक्कली ‘मध्यम वर्ग’ जन्माउँदा पनि टुलुटुलु हेरिरहयो ।

पेसा, व्यवसाय, निजी सम्पत्ति, परिवार, समाज, धर्म, परम्परा, संस्कार र राजनीतिप्रति अत्यन्त चिन्तित तर निर्णायक संघर्ष गर्न नरुचाउने ‘मध्यम वर्ग ’ सत्ताको निम्ति अनिवार्य र अपरिहार्य कच्चा पदार्थ बन्दै आएको छ । यही कमजोरीलाई अधिकतम प्रयोग गर्दै विश्व पुँजीवादले नयाँ खालको ‘मध्यम वर्ग’ समेत जन्माउन सफल भएको छ । धर्म र नैतिकता मार्दै सत्ताको कच्चा पदार्थको रुपमा बाँच्ने यो वर्गको निम्ति नभइनहुने प्रमुख तत्व ‘इन्टरनेट’ बनाइएको छ । राजनीतिक परिवर्तनलाई रोक्न, सत्तासीन वर्ग र उच्च वर्गको रक्षाको निम्ति रणनीतिक ढंगले निर्माण गरिएका फिल्म उद्योग, जुवा घर, टेलिभिजन सिरियल, टिकटक, रणनीतिक प्रोजेक्ट, स्क्रीप्टेड राजनीतिक झगडा र प्रायोजित द्वन्द्व सत्तानिर्मित वर्गको खुराक बनाइएको छ ।

धर्म, धार्मिकता, आत्मा र स्वाभिमान मरेको विश्व पुँजीवादी सत्ता कोभिड–१९ को कारण रन्थनिएको छ । खुलाबजार, नीजिकरण, आर्थिक उदारिकरण, लोकतन्त्र जस्ता गहनामार्फत मध्यम वर्गको पसिना चुस्दै चम्किएको पुँजीवाद विचित्रको दलदलमा फस्दै छ । मध्यम वर्गलाई जसरी पनि जोगाउनै पर्ने अन्यथा आफ्नो सत्ता नै धराशयी हुने अवस्थामा पुगेको विश्व पुँजीवादले सर्वसाधारणको ध्यान अन्यत्र मोड्न राजनीतिक हिंसा, तोडफोड, राष्ट्रवाद, जातीवादको सहारा लिने खतरा चुलिएको छ । मध्यमवर्गको राजनीतिक अर्थव्यवस्था भताभुङ्ग भएको, रोजगारी र मजदूरीको विकल्प तत्काल फेला नपरेको अवस्था सत्ताको टाउकोदुखाइ बन्दै छ । ‘कोरोना युद्ध’ले टाट पल्टिएको पुँजीवादी सत्ताको कारण ‘समुदाय र परिवार’को भविष्य धरापमा परेको यस कठिन घडीमा सम्मान र पहिचानको आवश्यकता महसुस गरे ‘मध्यम वर्ग’ नयाँ राजनीतिक प्रणालीको जन्मदाता बन्ने छ ।