एमालेको मलामी जान भक्तहरूको प्रतिस्पर्धा !


४ पुस २०८२, शुक्रबार

मदनकालीन एमाले र ओली सँगसँगै जान नसक्ने अवस्था भर्खरै सम्पन्न महाधिवेशनको नतिजाले सिर्जना गरेको छ । विगतमा प्रचण्ड र ओली मिलाएर नेपालको वाम आन्दोलन समाप्त गर्न रचिएको वैदेशिक खेल भूराजनीतिक शक्तिबीचको टकरावले सफल हुन सकेन । फलस्वरूप ओलीमार्फत संसद्माथि पटके आक्रमण गर्न लगाइयो । अन्ततः अदालतको प्रयोग गर्दै एमाले जन्माउने शक्तिले ओलीलाई जोगाउन हर सम्भव सहयोग गरिरह्यो । गत भाद्र २३ र २४ गतेको घटना पश्चात् वामहरू मजबुत र  एक हुन नदिने शक्तिले ओलीलाई जोगाएको विश्लेषकहरूको दाबी छ ।

२२६३ एमाले महाधिवेशन प्रतिनिधिसँग नेपालको वाम आन्दोलन, मदनको विचार र एमालेप्रतिको आसा, भरोसा र उत्साह जोगाउने ठुलो अवसर थियो । पूर्वी युरोप र सोभियत सङ्घको समाजवादी सत्ता गर्ल्यामगुर्लुम ढलेको घटनालाई गम्भीर ढङ्गले अध्ययन गर्दै नेपालको वाम आन्दोलन जोगाउन दिवङ्गत मदन भण्डारीले तत्कालीन समयमा ठुलो योगदान पुर्‍याएका थिए ।जबजको जगमा फैलिएको, लोकतान्त्रिक शैलीलाई जीवन पद्धति बनाएको एमाले पार्टीलाई नागरिकबाट दलाल, बिचौलिया, सत्ता, शक्ति र अतिरिक्त आम्दानीतर्फ अध्यक्ष ओलीले फर्काएको कार्यकर्ताले ठिक समयमा बुझ्न सकेनन् ।जबज, नागरिक र पार्टी कार्यकर्ताबाट सम्बन्ध विच्छेद भएको ओली-राजनीति डिजिटल पुस्ताको गम्भीर असहयोगले खरानी बन्यो । यस घटनाबाट शिक्षा लिँदै महाधिवेशन प्रतिनिधिले एमालेलाई जनतातर्फ फर्काउनुको सट्टा `रोबर्ट मुगाबे` जन्माएर महाधिवेशन प्रतिनिधिले ऐतिहासिक भूल गरेका छन् ।

विगतमा भएको तमाम गडबडीको जिम्मा ओलीलाई देखाएर एमाले चैँ ठिक हो थियो भन्ने राजनीतिक मान्यता ११औँ महाधिवेशनको नतिजापश्चात् खण्डित भएको छ । ओली कार्यशैली, भ्रष्ट मानसिकता, कथितहरूको संरक्षण, दम्भ, घमन्ड र ओलीवादलाई बहुमत प्रतिनिधिले अनुमोदन गरेपश्चात् एमाले पार्टीको सुनौलो इतिहास ध्वस्त भएको छ । ओलीको खराबीलाई अनुमोदन गर्दै गत भाद्र २३ र २४ को नरसंहार र विध्वंसको सम्पूर्ण जिम्मेवारी एमाले पार्टीले लिएको छ । महाधिवेशन प्रतिनिधिले विश्व राजनीति र भूराजनीतिबाट अलग थलग भएर गरेको निर्णयको सजाय वाम आन्दोलन, एमाले र मुलुकले भोग्न बाध्य हुनेछ । अझ रोचक कुरा, ५ मिनेटपछि बालुवाटारबाट भाग्दै ज्यान जोगाउनुपर्छ भन्नेसम्म सूचना नराख्ने ओलीलाई पार्टी-सत्ता सुम्पेर सार्वभौम सत्ता र सम्प्रभुता जोगाउने हवाई कल्पना भक्तहरूले गरेका छन् ।

संविधानसभा ‘दुई’बाट जारी गराइएको संविधानभित्रका पश्चिमा अन्तर वस्तुलाई नागरिकले थाहा नपाउन भन्न ओलीलाई राष्ट्रवादी देखाउने पश्चिमा रणनीति मुलुकको निम्ति कति महँगो पर्‍यो भन्ने गत भाद्र २४ को मिसन खरानीले चिच्याएर भनिरहेको छ । झन्डै दुई तिहाइको भीमकाय संसदीय अङ्क गणितले कसरी सडकसँग आत्मसमर्पण गर्‍यो ? केवल २७ घण्टामा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका एकसाथ निकम्मा किन भयो भन्दै गम्भीर आत्मसमिक्षा गर्न नचाहेको असफल नेतृत्वलाई पुरस्कृत गर्दै महाधिवेशन प्रतिनिधिले आफ्नो खुट्टामा बन्चरो हानेका छन् ।

चलाख शासकले पेट्रोलको मूल्य प्रतिलिटर रु १० बढायो । जनताको आँखामा छारो हाल्न आफै विद्यार्थी सडकमा उतार्दै प्रतिलिटर रु २ घटाएर रु ८ बढाउन सफल भएको शैलीको नक्कल नेता ओलीले गरेको दास कार्यकर्ताले पत्तै पाएनन् ।माओवादीमार्फत नेपाल प्रवेश गराइएको सङ्घीयताअन्तरगत १४ प्रदेशबाट ११ अनि ओलीमार्फत ७ प्रदेशमा झार्दै एकसाथ `ओली र सङ्घीयता` स्थापित गरिएको शैलीमा ११औँ महाधिवेशनमार्फत एमाले विघटनको तारतम्य मिलाइएको छ ।मिति नतोकिएको भारत भ्रमण गर्न नपाएका नेता ओलीलाई ब्यारेकबाट फिर्ता ल्याएर स्थापित गराइएको घटना नबुझ्ने बहुमत महाधिवेशन प्रतिनिधिले एमालेको भविष्य जोखिममा परेको निकट भविष्यमा हुने निर्वाचन मार्फत थाहा पाउनेछन् ।

‘मिसन नरसंहार’पछि सत्ताबाट मिल्काइएको, रणनीतिक लक्ष्यको निम्ति पार्टी-सत्तामा जोगाइएका नेता ओली अन्ततः एमालेको अध्यक्षमा ल्याइएको छ । पार्टीभित्रको शक्ति-सन्तुलनमा आउँदै गरेको स्वाभाविक परिवर्तनलाई स्वीकार गर्न जबरजस्ती गरिरहेका ओलीले आफ्ना सेवक र भक्तहरूको उचित व्यवस्थापन गर्न शतप्रतिशत सफल भएका छन् । संसदीय टिकटदेखि राजकीय सुविधाको पद बाँड्दै रोबर्ट मुगाबे बन्न सम्पूर्ण तागत लगाइरहेका ओलीको व्यवहारले डिजिटल पुस्तालाई थप विद्रोही बनाउँदैछ । ओलीको पछिल्लो सफलतापश्चात् एमालेको सुक्दै गरेको समुन्द्रमा पाइड पाइपर अफ ह्यामलिन कविता धेरै भक्तहरूले पढ्नेछन् । मिठो मुरलीवादकले शहरका सबै मुसाहरूलाई आफ्नो धुनको मोहनीमा लट्ठ्याएर समुन्द्रमा होमेझैँ कुर्सी प्राप्तिको नसामा एमालेका मुसाहरूलाई बली दिनेछन् । पार्टी र वाम आन्दोलनलाई विघटन गर्दै आफू सुरक्षित हुने अन्तिम प्रयासमा उनको आगामी ‘अराजनीति’ केन्द्रित हुने छ ।

महाधिवेशनको दौरान रुँदै हिँडेका आफ्नै भक्तहरूको गतिविधि हेर्न विवश  नेता ओलीले महाभारतका पात्र अर्जुनको कहानी स्मरण गर्दै छन् । एक पटक अर्जुनमा एउटा अहङ्कारले जन्म लियो । उनलाई लाग्यो कि संसारमा उनी भन्दा ठुलो भक्त भगवान् श्रीकृष्णको अरू कोही छैनन् र हुन सक्दैनन् । अर्जुनको घमन्डलाई बुझ्नासाथ श्रीकृष्णले उनलाई सँगै घुमाउन लगे । बाटोमा उनको भेट एक गरिब ब्राह्मणसँग भयो । उसको व्यवहार अलि विचित्रको थियो । ब्राह्मण सुकेको घाँस खाइरहेका थिए, तर कम्मरमा तरबार भिरेका थिए ।

अर्जुनले ब्राह्मणलाई सोधे- तपाईं त अहिंसाको पुजारी हुनुहुन्छ, जीव हिंसा गर्नु नपरोस् भनेर घाँसबाटै प्राण धानिरहनुभएको छ ।तर, कम्मरमा किन तरबार बोक्नुभएको ? ब्राह्मणले अलि आक्रोशित हुँदै भने- म केही मानिसलाई दण्डित गर्न चाहन्छु । तपाईंको शत्रु को हुन् ?- अर्जुनले जिज्ञासा राखे । ब्राह्मणले भने- म चार मानिसलाई खोजिरहेको छु, ताकि उनीहरूसँग आफ्नो हिसाब चुक्ता गर्न सकूँ ।

सबैभन्दा पहिला नारदको खोजी गर्दैछु । नारद मेरो प्रभु श्रीकृष्णलाई आराम गर्न दिँदैनन् । सदा भजन र कृतन गर्दै उनलाई जागृत गरिरहन्छन् । दोस्रो, द्रौपदीसँग क्रोधित छु । द्रौपदीले मेरो प्रभुलाई त्यो समय पुकारिन्, जब मेरो प्रभु भोजन गर्न बसिरहेका थिए । मेरो प्रभुले तत्काल खाना छोड्दै पाण्डवहरूलाई दुर्वासा ॠषिबाट बचाउन भोकै जानु पर्‍यो । मेरो भोको प्रभुलाई जुठो खानासमेत खुवाए ।

अनि तेस्रो शत्रु को हुन् ? – अर्जुनले फेरि सोधे । ‘उनी हृदयहीन प्रह्लाद हुन् । निर्दयी प्रह्लादले मेरो प्रभुलाई गरम तेलको कराइमा प्रवेश गराए । हात्तीबाट कुल्चन बाध्य बनाए । अन्तमा खम्बाबाट प्रकट हुन विवश बनाए । अनि चौथो शत्रु हुन्- अर्जुन । उसको दुष्टता हेर्नुस् त ! मेरो प्रभुलाई आफ्नो सारथि बनाए । दुष्ट अर्जुनले भगवान् कृष्णको असुविधाको अलिकति ध्यान पनि दिएनन् ।कति कष्ट भयो होला मेरो प्रभुलाई ।’

यसो भनिरहँदा ब्राह्मणको आँखा आँसुले भिजिरहेको अर्जुनले देख्न पुगे । ततपश्चात् अर्जुनको घमन्ड चकनाचुर हुन पुग्यो । अर्जुनले श्रीकृष्णसँग क्षमा माग्दै भने- प्रभु यो संसारमा हजुरका कति भक्त होलान्, म त केही पनि रहेनछु ।

माथि उल्लेखित नीतिकथाले नेता ओलीलाई ऊर्जा प्राप्त भएको भर्खरै सम्पन्न महाधिवेशनले पुष्टि गरेको छ । मदन भण्डारीको अकल्पनीय अवसानपछि सत्ता-राजनीतिको रस खान पल्केका नेता ओलीले भक्तहरू जन्माउँदै `परिक्रमावाद`को विकास गरे ।पार्टीलाई आफ्नो कब्जामा लिन गरिएका अवैधानिक कोसिसले गुटको राजनीतिलाई अपत्यारिलो ढङ्गबाट स्थापित गर्दै आफूलाई दाता र अरूलाई सेवक र भक्तमा सीमित गरी दिए । विश्व कम्युनिस्ट आन्दोलनको खराबीलाई चिर्नुपर्छ भन्दै राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको सवाललाई उठान गर्दै अगाडि बढेको ओली-राजनीति `सत्ता र कुर्सी`को निम्ति नरसंहार मच्चाउन तयार भयो । आफूलाई भगवान् कृष्ण भन्दै मुलुकको दोहन गर्न तम्सिएका स्वघोषित अर्जुनहरू एमालेको मलामी जान प्रतिस्पर्धा गरिरहेको `गुण्डु`मा बसेर आनन्द लिँदैछन् ।

व्यक्ति हत्या र वर्ग सङ्घर्षबाट ३५ सालमा जन्मिएको माले, एकीकरण पछि एमाले पार्टी औपचारिक रूपमा कब्जा गर्न सफल भएकोमा नेता ओली दङदास छन् । हेलिकप्टरमा भागेर, अनेकौँ शक्ति केन्द्रसँग अलिखित सम्झौता गर्दै प्राप्त अध्यक्षको कुर्सी जोगाउन भक्तहरूलाई एमालेको मलामीमा रूपान्तरण गर्दैछन् । उद्योग खोल्दा गरिब र, प्राकृतिक साधनको दोहन गरे धनी हुने, ज्यामीझैँ काम गर्ने कार्यकर्तामै सीमित हुने, चाप्लुसी र परिक्रमा गरे नेता बन्ने जुक्ती सिकाउने ओलीको फर्मुला छताछुल्ल भएको अवस्थामा आफूले जन्माएको भक्तहरू नारद, द्रौपदी, प्रह्लाद र  अर्जुन जस्तो मात्र फेला परेको ब्राह्मण किसान जस्तो असली सेवक बनाउन असमर्थ भएको महसुस ओलीले महाधिवेशनको दौरान गरेका छन् ।

अन्तमा, एमाले महाधिवेशन प्रतिनिधिले दम्भ, घमन्ड र यथास्थितिलाई स्वीकार गरेका छन् । आफ्नो र सन्ततिको भविष्यमाथि खेलबाड गरेका छन् । राजनीतिक दल भनेको सार्वजनिक सम्पत्ति हो भन्ने आधारभूत मूल्य र मान्यतालाई अस्वीकार गरेका छन् । एमाले पार्टीलाई लोकतन्त्र र परिवर्तनको बाहक शक्ति प्रमाणित गर्ने सुनौलो अवसर मिल्काएका छन् । निर्वाचन नभए मुलुक गृहयुद्धमा जाने, निर्वाचन सम्पन्न भए पश्चिमी शक्ति हाबी हुने वातावरण मिलाएर ओलीभक्तहरू घर फर्किएका छन् । यस्तो विडम्बनापूर्ण अवस्थामा भाद्र २४ मा बाँकी रहेको काम ओलीलाई देखाएर सम्पन्न गरिनेछ ।