बहुपक्षीय सङ्कट !
२६ मंसिर २०८२, शुक्रबार
आयातित लोकतन्त्रमा असफलहरू थप शक्ति जम्मा गर्न सक्रिय हुँदा मुलुक खरानी बन्यो/बनाइयो । हाम्रा स्तम्भहरू हाम्रो इच्छामा उठ्न नपाउने/नसक्ने गरी भाँचिए । रणनीतिक त्रासदी र मिसन खरानीमा झुक्किएर बचेका स्तम्भसमेत समाप्त गर्ने वातावरण निर्माण गरिँदैछ । हाइब्रिड सेटअप र पराजित किर्नाहरू मुलुकलाई सङ्कटतर्फ धकेल्न अन्तिम शक्ति लगाइरहेका छन् ।
औपनिवेशिक युगको कानुनबाट लिइएको `कालक्रमवाद`लाई आधुनिक लोकतन्त्र मान्ने कथितहरूबाट डिजिटल पुस्ताले मुक्ति खोजेको छ । समकालीन चुनौतीलाई सम्बोधन गर्ने ल्याकत र हैसियत नभएको तत्त्व र तप्का राजनीतिको संरचना कब्जा गरेर बसेको छ । वैश्य युगको बाध्यता र आयातित लोकतन्त्रको जगमा मुलुकले गलत कामलाई स्वीकार गर्न थालेको लामोसमय भइसकेको छ । हाइब्रिड प्रणालीले कुख्यातहरूलाई मुक्तिदाता मान्न विवश बनाएको छ । यस्तो विडम्बनापूर्ण अवस्थामा अयोग्यहरूको झुट आधुनिक लोकतन्त्र बनेर मुलुक प्रवेश गरेको छ । विवेक प्रयोग गर्ने पुर्खाको सुनौलो इतिहास एकादेशको कथा बनिसकेको छ ।
मुलुकमा राजनीतिक अस्थिरतामात्र समस्या होइन, पछिल्लो समयमा शासनको सङ्कट समेत थपिएको छ । सोसल मिडियाले पछिल्लो पुस्ता र प्रयोगकर्तालाई सुरक्षा दिन असफल भएको छ । वैश्य युगको मुद्दा र त्रासदीको बीचमा सोसल मिडिया प्लेटफर्महरू बालबालिकालाई हानि पुर्याउन प्रयोग भइरहेको छ । इन्स्टाग्राममा एक किशोरलाई जबरजस्ती तस्बिरहरू साझा गर्न लगाएर ब्ल्याकमेल गर्दै आत्महत्या गर्न बाध्य पारिएको घटना बाहिर आएसँगै सोसल मिडियाप्रति विश्व झस्किएको छ । यस्ता घटना बढ्दो रूपमा सामान्य हुँदै जाँदा सिकारीहरूले डिजिटल प्लेटफर्म मार्फत कसरी शोषण गर्छन् भन्ने बुझ्न जरुरी छ ।
प्रारम्भिक च्याटरूमहरू मार्फत सुरु गरिएको एल्गोरिदमले आफ्नो तागत देखाउन सफल भएको छ । विशेष ढङ्गले डिजाइन गरिएको प्लेटफर्ममा विचित्रको उदासीनता फैलिएको छ । सिकारीहरूले प्लेटफर्म मार्फत नाबालिगहरूलाई लक्षित गर्छन् र शोषण गर्छन् । स्पष्ट रूपमा लुकेको सङ्कट, सुरक्षा र परिणाम प्रणालीद्वारा निर्मित भएको छ । फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा मेटाको नियन्त्रणले वास्तविक सहमतिबिना प्लेटफर्महरूमा सामग्री पुन:प्रयोग गर्न अनुमति दिन्छ । प्रणालीले डेटा उत्पादन गर्ने र निर्बाध प्रवाह गर्ने खेल चलिरहेको छ । सोसल मिडिया कम्पनीहरू केवल प्लेटफर्महरू मात्र होइनन्; उनीहरू कोडेड, अपारदर्शी र कुनै पनि कानुन भन्दा छिटो चलिरहेका प्रणाली बनेका छन् । यही कारणले उनीहरूको नियमन असफल भएको छ । जब निजी अभिव्यक्तिहरू कर्पोरेट सम्पत्ति बन्छ, समुदाय र शोषणबीचको सीमा हराउँछ । जसलाई मेटाले राम्रोसँग बुझेको छ ।
परम्परागत मिडिया भन्दा फरक, डेटाले सोसल मिडिया प्लेटफर्महरूलाई जीवित राख्छ । पछिल्लो समयमा प्लेटफर्महरूलाई बहिष्कार गरेर आफूलाई स्थापित गर्न गाह्रो छ । प्रयोगकर्तासँग आधुनिक विकल्प नभएको अवस्थामा अनुपयुक्त तर्क कुतर्क अर्थहीन हुनेछ । डिजिटल पुस्ताको पछिल्लो मान्यता अनुसार, `प्लेटफर्मबाट टाढा जानु स्वतन्त्रता होइन, डिजिटल संसारबाट एक प्रकारको निर्वासन हो` भन्ने प्रमाणित गर्ने कोसिस गरिएको छ ।
शक्तिको केन्द्रीकरणले जबाफदेहितालाई विकृत बनाएको छ । सोसल मिडिया प्लेटफर्महरू तटस्थ मध्यस्थकर्ता बन्न हौसिएका छन् । जब एउटा कम्पनीले नेटवर्क, विज्ञापन र एल्गोरिदमको स्वामित्व लिन्छ, तटस्थता काल्पनिक बन्छ । शिक्षा र सत्यलाई क्युरेट गर्न सम्पूर्ण तागत लगाउँदै आएका कम्पनीले डेटामार्फत खेल्दैछ । भावनात्मक प्रतिक्रियाबाट चुपचाप लाभ उठाउँदैछन् । ‘सुरक्षा’ कानुनहरू सेन्सरसिपको बहाना बनेकोमा विरोध जनाउँछन् । अभिव्यक्ति स्वतन्त्रतालाई जोगाउने नाममा प्रायः आलोचकलाई चुप लगाउने काम गर्छन् । सरकारले वास्तविक डिजिटल सुरक्षाको सट्टा राजनीतिक स्वार्थहरू पछ्याउनमा बहुमूल्य समय खर्चिंदैछ । यस्तो अवस्थामा पारदर्शिताको महत्त्व बुझ्दै अर्थपूर्ण काम गर्नुको सट्टा, नियन्त्रणको कानुन बनाउन सरकार मरिहत्ते गर्दैछ ।
मानिसहरू निरन्तर निगरानी चाहँदैनन् । प्रश्नहरू उठ्छन्- निगरानी कुन बिन्दुमा अनैतिक हुन्छ ? सुरक्षा र गोपनीयताबीचको रेखा कहाँ तान्ने ? गोपनीयताको रक्षा कसरी गर्ने ? मानिसहरू अनुगमन र रेकर्डिङलाई उनीहरूको गोपनीयता र स्वतन्त्रताको उल्लङ्घनको रूपमा हेर्दैछन । सेलिब्रेटीको अस्तित्वले सहमतिको विचारलाई अस्वीकार गर्छ । एआई-उत्पन्न तस्बिर पोस्ट गर्नुअघि सहमति लिने चलन सुरु नभएको समाजमा नयाँ-नयाँ समस्या जन्मिएको छ । कसैको अनुहार अर्को व्यक्तिको शरीरमा राख्न वा तपाईंले चाहेको कुनै पनि छवि सिर्जना गर्न, परिष्कृत गर्न महँगो सफ्टवेयरको आवश्यकता पर्दैन । जेनेरेटिभ एआईले तपाईंको इच्छालाई नोटिसमा लिन चाहँदैन । जेनेरेटिभ एआईका केही पक्षहरू `बम` भन्दा कम छैनन् भन्ने डिजिटल पुस्ताले अनदेखा गरिरहेको छ ।
हाम्रो समाजमा, ‘मर्यादा’को नाममा महिलाको हुर्मत लिइएको असङ्ख्य उदाहरण छन् । अभिनेत्रीको गोपनीयता मिडियामा आएको बहनामा आत्महत्या गरेको नमिठो इतिहास हामीसँग छ । प्रत्येक वर्ष, साइबर अपराधसँग सम्बन्धित हजारौँ उजुरी प्राप्त गरिरहेको छ । अनलाइन ब्ल्याकमेल, ठगी, झूटा र बनावटी छविहरू समावेश गर्ने उत्पीडनका घटनाहरू समावेश छन् । दोषीले सजाय नपाउने घटना बढ्दै जाँदा अवस्था चिन्ताजनक बन्दैछ । जेनेरेटिभ एआईमा फ्र्याङ्केन्स्टाइन बन्ने सम्भावना छ; जसले धेरैलाई दु:ख दिने अवस्था आउनु भन्दा पहिल्यै नियन्त्रण गर्न जरुरी छ ।
हामीले जे चाहन्छौँ त्यो हुन सक्छ, तर एआई कहिल्यै हाम्रो मालिक हुनु हुँदैन । नीति निर्माण कुनै नयाँ कुरा होइन, एआईको अवधारणा निरन्तर विकसित भइरहेको छ । हरेक बिहान, संसार उठ्छ र यसलाई बुझ्ने प्रयास गर्छ, केवल एआई पहिले नै अगाडि बढिसकेको पत्ता लगाउन । व्यक्तिगत डेटा संरक्षण विधेयक ल्याउन ढिला भइसकेको छ । नवप्रवर्तनलाई शोषणको बिन्दुमा पुग्नुअघि नै नियमन गर्न आवश्यक छ । द्रुतगतिमा प्रगति भइरहेको कृत्रिम बुद्धिमत्ताले हामीलाई सहमति, मर्यादा र गोपनीयताको धारणामा पुनर्विचार गर्न बाध्य पारिरहेको छ ।
मुलुकको इतिहास राजनीतिक उथलपुथलले परिभाषित गरेको छ । यसको औपचारिक अस्तित्व पश्चिमा स्वार्थमा टिकेको छ । पछिल्लो समयमा चोरीको जनादेश, राज्य हिंसा, दमन, न्यायपालिका र सोकल्ड नेतृत्वको असफलताले डिजिटल पुस्ताको विश्वासलाई क्षय गरेको छ । यसको गम्भीर मनोवैज्ञानिक परिणामहरू छन्, जसले गर्दा स्थायी अनिश्चितता थप मजबुत हुँदै गएको छ । डर र अविश्वास राष्ट्रिय भावनाहरू बनेका छन् ।
लाखौँ मुलुकवासीको लागि, मनोवैज्ञानिक पीडा आर्थिक कठिनाइबाट अविभाज्य छ । बढ्दो मुद्रास्फीति, बेरोजगारी र पतनशील क्रयशक्तिले आम नागरिकलाई बाँच्नको लागि परीक्षा लिँदैछ । मानसिक पीडा अस्वाभाविक ढङ्गले बढेको छ । गरिबी केवल भौतिक अभाव मात्र होइन; यो असमान प्रणालीद्वारा गरिएको मनोवैज्ञानिक हिंसा हो भन्ने खुलेर प्रकट भएको छ । उच्च बेरोजगारी र श्रम बजारबाट विच्छेद भएको पुरानो शिक्षा प्रणालीले डिजिटल पुस्तालाई क्रान्तिकारी बन्न विवश बनाएको छ । `नातावाद र पक्षपात`लाई अस्वीकार गर्ने युवापुस्ता नयाँ युग निर्माण गर्ने कि देश छोड्ने भन्ने प्रश्नले आन्दोलित हुँदै छन् ।
मुलुकले ७ वटा संविधानको स्वाद चाखिसकेको छ । संविधानसभा ‘दुई’बाट जारी गराइएको आयातित संविधान डिजिटल विद्रोहपश्चात कोमामा पुगेको छ । मुलुक अव संविधान मात्रले नचल्ने पुष्टि भइसकेको छ । डिजिटल पुस्ताले राजनीतिमा संशोधन खोजेको छ । उनीहरुको इच्छा र चाहनालाई सम्बोधन गर्ने राजनीति वैश्ययुगमा करीव असम्भव छ । यस्तो अवस्थामा उनीहरुले ‘एकता, विश्वास, अनुशासन’मा ‘भ्रष्टाचार’ समेत थपेर आफूलाई बचाउनु पर्नेछ । वैश्ययुगमा ‘भ्रष्टाचार’ अब दुर्गुण रहेन, यो एक अनिवार्य एवम् शक्ति प्राप्त गर्नको लागि एक पूर्वशर्त बनिसकेको छ ।
रोमन सिनेटर ट्यासिटसले चेतावनी दिँदै भनेका छन्, ‘राज्य जति भ्रष्ट हुन्छ त्यति नै धेरै कानूनहरू निर्माण गरिन्छन् ।’ उनको चेतावनीपश्चात एउटा गम्भीर प्रश्नले आममानिसलाई चिमोटेको छ- के मुलुकभित्र रहेका कानूनहरु भ्रष्टाचार रोक्न पर्याप्त छन् ?दुर्भाग्यवश आयातित लोकतन्त्र सँगसँगै मुलुक प्रवेश गरेको/गराइएको आवधिक निर्वाचन र निर्वाचन प्रणालीले केही व्यापारीलाई नेता र केही नेतालाई व्यापारी बनाउने बाहेक केही गरेन ।
मुलुकले भोगेको पछिल्लो पीडा `भगवानले लिएको परीक्षा` होइन; यो राजनीतिक हो । सामाजिक विकासलाई बेवास्ता गरेर सामाजिक न्याय प्रदान गर्न, गरिबीलाई सम्बोधन गर्न, आधारभूत आवश्यकताहरू प्रदान गर्न, भ्रष्टाचार नियन्त्रण गर्न असम्भव छ । भावनात्मक लागत धेरै महँगो भइसकेको छ । मौन त्रासदीले मुलुकलाई निल्दैछ । रणनीतिक मौनता घातक बन्दैछ । गरिबी, असमानता, भ्रष्टाचार र कुशासनलाई धैर्य गर्न भनिएको छ, जसले गर्दा अन्तिम सङ्घर्ष अनिवार्य भएको छ।
अन्तमा, मुलुकमा भ्रष्टाचारले वार्षिक रूपमा GDP को कति प्रतिशत खर्च गर्छ ? भ्रष्टाचारको जोखिमले मुलुकको आर्थिक स्थिरता कसरी भत्किँदै छ भन्ने अझै खोजी भएको छैन । समाधानको लागि राजनीतिक अर्थतन्त्रको नक्साङ्कन आवश्यक छ । भ्रष्ट नेतृत्व र औचित्यहीन संस्थालाई बदल्न डिजिटल पुस्ता सडक ओर्लिएको छ । सामान्य सुधारले डिजिटल पुस्ताको रफ्तार र भावनाको सम्बोधन हुन सक्दैन । अभिजात वर्गको कब्जाबाट निकाल्दै राजनीतिलाई खुला वातावरणमा हुर्किन दिनु पर्नेछ ।अगाडि बढ्नको लागि गलत विकल्पहरू त्याग्न आवश्यक छ ।