सर्वशक्तिमान् एल्गोरिदम !
१२ मंसिर २०८२, शुक्रबार
जोहरान ममदानी राष्ट्रपति ट्रम्पको कट्टर दुस्मन बनेर उदाएका छन् । ट्रम्पको नजरमा उनी कम्युनिस्ट हुन् । यद्यपि कार्ल मार्क्सले सन् १८४८ मा युरोपका औपनिवेशिक पुँजीवादीहरूलाई धम्की दिएको भूत भने होइनन् । समतावादी विद्रोहको मार्क्सवादी उपस्थितिले युरोपलाई पिरोलेको १७७ वर्ष पुरानो `कम्युनिस्ट घोषणापत्र`को समर्थक उनी होइनन् । अझ प्रस्ट भाषामा भन्दा चर्चिल, हिट्लर, मुसोलिनी, म्याकार्थी, पिनोचे, रेगन, थ्याचर, मोदीजस्तै कम्युनिस्टविरोधी हुन् । दुर्भाग्यवश ट्रम्पको परिभाषामा उनी कम्युनिस्ट नै हुन् ।
वैचारिक रूपमा अशुद्ध कथन लाग्न सक्छ, न्युयोर्क पोस्टको नजरमा ममदानी कुनै न कुनै रूपमा कम्युनिस्ट र ‘कट्टरपन्थी जिहादी’ हुन् । न्युयोर्क पोस्टद्वारा प्रकाशित रिपोर्ट र ट्विटहरूमा ममदानीले लगाएको रातो टाइलाई कम्युनिस्ट सन्दर्भसँग जोडेर उल्लेख गरिएको छ । पर्याप्त सोसल मिडिया पोस्ट, वेबसाइट र भिडियोहरूले भनिरहेको छ, AI ले यसलाई सामान्यतया सत्य मान्दछ । कम्प्युटर विज्ञानको भाषामा यसलाई GIGO अर्थात् ‘Garbage In, Garbage Out’ भनिन्छ । सरल भाषामा भन्नुपर्दा, एल्गोरिदम वा प्रणाली जतिसुकै परिष्कृत भएपनि कम्प्युटरलाई त्रुटिपूर्ण, पक्षपाती वा खराब-गुणस्तरको डेटा खुवाइयो भने आउटपुट पनि त्रुटिपूर्ण हुनेछ ।
नागरिकलाई संलग्न गराउँदै मनोरञ्जन गराउने उद्देश्यसहित सन् २०१६ मा माइक्रोसफ्टले ‘Tay’ ट्विटर च्याटबोट सुरु गर्यो, जहाँ नागरिकहरू अनौपचारिक र रमाइलो कुराकानीमार्फत अनलाइनमा एकअर्कासँग जोडिन्छन् । १८ देखि २४ वर्षका अमेरिकी युवायुवतीलाई लक्षित गर्दै, माइक्रोसफ्टले गर्वकासाथ घोषणा गर्यो- ‘तपाईंले टेसँग जतिधेरै कुराकानी गर्नुहुन्छ, उनीहरू त्यति नै स्मार्ट हुँदै जानेछन् ।’ युवायुवतीको गतिविधिपश्चात् ट्विटरले चुनौती स्वीकार गर्दै भन्यो, ‘टेमाथि यतिधेरै अतिवादी र जातिवादी सामग्रीको बमबारी भयो कि १६ घण्टाभित्रमा टे ‘भर्चुअल नाजी’मा परिणत भयो ।’
‘एआई’ले प्रारम्भिक दिनदेखि आजसम्म एक विशिष्ट शब्दको सामना गरिरहेको छ : ‘डेटा विषाक्तता’ । पक्षपाती, गलत र दुर्भावनापूर्ण जानकारी दिँदै एआईलाई भ्रष्ट पार्ने उद्देश्यले जानाजानी गरिएका कथित कामले डिजिटल पुस्तालाई डुबाउँदै छ ।अमेरिकी वेबसाइट रेस्पोन्सिबल स्टेटक्राफ्टले रिपोर्ट गरेको छ कि च्याटजीपीटीलाई इजरायल समर्थक कथाहरू (भिडियो, टिकटक, पोडकास्टहरू) निर्माण गर्न ६ मिलियन डलरको सम्झौतामा एक अमेरिकी कम्पनीसँग इजरायलले हस्ताक्षर गरेको छ । रणनीतिक सामग्रीहरू नागरिकको स्मार्टफोनमा बढी देखिने र एआईद्वारा एल्गोरिदममार्फत ब्रेनवास गर्ने सम्भावना सुनिश्चित गरिएको छ ।
हामी खुसीसाथ मेसिनहरू आउटसोर्स गरिरहेका छौँ, हामी सचेत हुनुपर्छ कि एआई सर्वशक्तिमान् होइन, यो एक एल्गोरिदम हो । डिजिटल पुस्ता आफ्नो गोप्यता र सोच मेसिनलाई सुम्पन हतारिएको छ । डिजिटल युगको राजनीतिमा प्रविधि, सांस्कृतिक अभ्यास, नवप्रवर्तनको गति, संलग्नता र सहभागिता महत्त्वपूर्ण चुनौती बनेको छ । डिजिटल पुस्ताले समान विचारधारा भएकाहरूसँग अन्तरक्रिया गरिरहेका छन् र विरोधाभासी दृष्टिकोणहरूलाई बेवास्ता गरिरहेका छन् । प्रविधि र सोसल मिडियाको रणनीतिक प्रयोगबाट डिजिटल पुस्ता कसरी र कुन अवस्थामा सिकार हुन सक्छ भन्ने मुलुकले देखिसकेको छ ।
अतिवादीहरूले समाजलाई अस्थिर बनाउन र लोकतान्त्रिक प्रक्रियाहरूलाई कमजोर पार्न सामाजिक सञ्जालमार्फत गलत जानकारी फैलाउँछन् । कम मिडिया साक्षरताले मानिसहरूलाई झूटा र वास्तविक समाचारबीचको भिन्नता छुट्टाउनबाट रोक्छ, जसले राज्यलाई डिजिटल स्वतन्त्रता जोगाउन गाह्रो बनाउँछ । सीमित साइबर अपराध अनुसन्धान क्षमता र कमजोर कानुनहरूले विश्वासलाई कमजोर बनाउँछ । कानुनमार्फत नक्कली समाचार र हानिकारक सामग्री हटाउन प्लेटफर्महरूलाई बाध्य पार्न नसकेको सजाय राज्यले भोगिसकेको छ । मुलुकले कथात्मक युद्धको सामना गरिरहेको छ । बुद्धिजीवी वर्गले समेत राज्यविरोधी कथालाई बोक्न हौसिएको मुलुकमा वैदेशिक शक्तिले सुनौलो अवसर पाएको छ, जसले गर्दा असन्तुष्टि र हिंसा मौलाउँदै छ।
राज्यले आतङ्कवाद, आन्तरिक द्वन्द्व र भूराजनीतिक टकरावको सामना गरिरहेको छ, जसले आन्तरिक सुरक्षा कठिन बनाएको छ । नक्कली समाचारले युद्धको अवस्था सिर्जना गरेको छ । पहिचान र आर्थिक असमानताले थलिएको मुलुकमा रणनीतिक एल्गोरिदमले नागरिकलाई नकारात्मक बाटोतर्फ धकेल्दै छ । साइबर अपराध, डेटा उल्लङ्घन र डिजिटल जासुसीले सार्वभौमिकतालाई कमजोर बनाउँदै छ । इन्टरनेटले सूचना युद्धको लागि ठाउँ प्रदान गरेको छ । सङ्गठित अपराधले कानुनको शासनलाई कमजोर बनाउँदा भ्रष्टाचारलाई प्रोत्साहन गरेको छ ।
भूराजनीतिक द्वन्द्वले मुलुकलाई कमजोर र थकित बनाएको छ । आन्तरिक समस्या अझ जटिल बनेको छ । कुप्रभाव बेथिति, विकृति, झाँगिएको छ । शाहवंशको विरासत बिसाएर शान्त बसेका सत्ताच्युत राजाबाट सिक्दै बस्नुपर्नेमा मुस्किलले ज्यान जोगाएर फर्किएकाहरूले फनक्क फर्केर हानेका शब्द वाणले स्मार्टफोनलाई फोहोर गरिरहेको छ । कथित शासक बर्बराउन थालेको एल्गोरिदमले नरुचाउँदा मुलुक गम्भीर द्वन्द्वमा फस्ने खतरा चुलिएको छ ।
डिजिटल पुस्ताले अनेक नामका जिलेन्स्कीहरुलाई ‘पोस्टर ब्वाय’ मान्दै सोसल मिडियाको झगडालु ग्रुपसँग अल्झिनुको सट्टा बौद्धिक वर्गसँग बहसमा समावेश हुने समय आएको छ । मुलुकलाई आयातित नीति, विचार र उपलब्धिबाट मुक्त गराउने एकसूत्रीय लक्ष्यमा केन्द्रित हुनु पर्नेछ । यस्तो गतिविधि र कार्यक्रमलाई एल्गोरिदमको अवस्थामा पुर्याउन डिजिटल प्रविधिको अधिकतम सदुपयोग गर्न सक्नु पर्नेछ ।
सुरक्षा र डिजिटल स्वतन्त्रतालाई सन्तुलनमा राख्नुपर्छ । समृद्ध इतिहास, संस्कृति, धर्म र समाजको बाबजुद डिजिटल पुस्तालाई बुझ्ने वास्तविक ज्ञानको अभाव छ । डिजिटल पुस्ताले राजनीति र शासनमा सहभागिताको लागि सङ्घर्ष गरिरहेका छन् ।उनीहरूभित्र पलाएको राजनीतिक आकाङ्क्षाको बारेमा सम्बोधन गर्ने ल्याकत परम्परागत नेतृत्वसँग रहेन । मिसन खरानीपश्चात् डिजिटल पुस्ताले स्थान निर्माण गर्न खोजिरहेका छन् । उनीहरूको पछिल्लो विद्रोहले समाजको जग हल्लिएको छ । यद्यपि राष्ट्रभित्र सांस्कृतिक एकताको ठुलो अवसर आएको छ ।
हामी त्यस्तो समयमा बाँचिरहेका छौँ जहाँ सबै भाइरल हुन चाहन्छन् । नयाँ खेलमा हाम्रो पुस्ता बरालिएको छ । पत्रकारिता भनेको सोसल मिडियामा पोस्ट गरिएका क्लिपिङहरू होइनन् जसले सम्पूर्ण कथा बताउँदैनन् । झूट फैलाएर नाफा कमाउने भ्लगरहरूको कुरूपतामा पछिल्लो पुस्ता रमाइरहेको छ । डिजिटल उत्पीडन एक वास्तविक खतरा बनेर आएको छ । बिस्तारै शारीरिक हिंसामा परिणत हुने साइत कुरेर बसेको छ । भ्लगरहरू जवाफदेहिताको खातिर काम गरिरहेका छैनन् । उनीहरूलाई पत्रकारिता के हो भन्ने थाहा छैन । सम्पूर्ण समस्या यहीँ गुजुल्टिएको छ । जसको फाइदा सत्ता र कथित नेतृत्वले उठाइ रहेको छ । नागरिक ‘स्यान्डवीच’ बन्न विवश छन् ।
मनोरञ्जन र डलरको लागि सबैकुरा सार्वजनिक गर्ने या निजी मामिलालाई तमासामा परिणत गर्ने `कुकुर संस्कृति` मुलुकको नयाँ आदर्श बन्न सक्दैन । डिजिटल पुस्ताले नागरिकसँग संवाद र अन्तर्क्रिया गर्न उत्साहित हुन जरुरी छ । प्रत्येक प्रशासन अभिव्यक्ति स्वतन्त्रतालाई दबाउन हदैसम्म गिर्दै गएको अवस्था छ । आफूलाई असजिलो पर्नासाथ एआई उत्पन्न भिडियो भन्ने फेशन चलेको छ । यद्यपि, सोसल मिडियामा फगत मनोरञ्जनको निम्ति पस्किएका एआई कन्टेन्टले नागरिकमा भ्रम उत्पन्न गर्दै आएको छ । षडयन्त्र या चर्चाको निम्ति निर्माण गरिएका भाइरल कन्टेन्टले समाजमा गम्भीर समस्या निम्त्याएको छ । समयमा कानुनी दायरामा ल्याउन नसक्दा अपराधका दोषीहरू उम्कँदै आएका छन्, जसले सामाजिक अराजकता थप चुलिएको छ ।
मुलुकमा डिजिटल राजनीतिक व्यापार-चक्र सुरु हुन सक्नेछ । राजनीतिक दल र नेताहरू नगद स्थानान्तरणको महत्त्व, खेल र शक्तिको बारेमा पूर्णरूपमा सचेत छन् । आगामी निर्वाचनमा मतदातासँग प्रत्यक्ष सम्पर्क गरेरभन्दा ‘भर्चुअल भोट खरिद’ हुने सम्भावना चुलिएको छ । सङ्गठनबिना निर्वाचनमा होमिएका कथित सेलीब्रेटी र हेलिकप्टरमा भागेका, सेनाको ब्यारेकमा बसेर खुला वातावरणमा फर्किएका नेताहरू आगामी निर्वाचनमा डिजिटल भुक्तानी प्रणालीको प्रयोग गर्न बाध्य हुनसक्ने छन् ।
सार्वजनिक निराशा र असुरक्षा आतङ्कवादको खतरा जत्तिकै घातक छन् । सुरक्षासँग सम्बन्धित संस्थाहरूले रणनीति विकास गर्दा सार्वजनिक गुनासोलाई ध्यानमा राख्ने लोकतन्त्र मुलुकमा आएको छैन । भाद्र २३ र २४ गतेको घटनालाई लिएर विभिन्न मानव अधिकारवादी संस्थाहरूले प्रस्तुत गरेका तथ्याङ्कहरूले सुरक्षा एजेन्सीको रोकथाम उपायहरू पुनर्विचार र आधुनिकीकरण गर्नुपर्ने आवश्यकतालाई जोड दिन्छ । उल्लेखनीय कुरा के छ भने, भाद्र २४ मा न्यायालयमा गरिएको आक्रमण सबैभन्दा घातक थियो, जुन घटना लोकतन्त्रको आधारभूत मान्यताको विपरीत थियो/छ । मुख्यतया परम्परागत राजनीतिक नेतृत्व र प्रहरी अधिकारी लक्षित घटनाले लोकतन्त्रको अभ्यासमा गम्भीर खराबी रहेको उजागर भएको छ ।
अन्तमा, डिजिटल पुस्ताको आवश्यकता र सोचलाई सम्मान गर्ने राजनीति एकादेशको कथा भएको छ।इन्टरनेट युगमा नागरिकको इच्छा र चाहनालाई सरकारद्वारा निर्माण गरिएको रक्षात्मक पर्खालले रोक्न नसक्ने पुष्टि भइसकेको छ । राज्यको कमजोर सुरक्षा व्यवस्थापन विश्वले देखिसकेको छ । सरकार आफ्नो सुरक्षा योजनालाई समीक्षा गर्न वा पुनर्विचार गर्न अनिच्छुक देखिन्छ।असुरक्षाको स्तर स्वाभाविक रूपमा उच्च छ । डिजिटल पुस्तालाई गलत बाटोमा धकेल्ने अधिकतम कोसिस गरिएको छ । ‘चनाको बोटलाई रुख बनाउने एल्गोरिदमको चाल’लाई बुझ्दै सटिक निर्णय लिन चुकेमा डिजिटल पुस्ताको भविष्य अत्यन्त पीडादायी हुनेछ ।