भूराजनीति र ‘ओली-बर्बराहट’ मुलुकको दुर्भाग्य !
५ मंसिर २०८२, शुक्रबार
प्रचलित विश्व व्यवस्थालाई भत्काउने प्रक्रियाको नेतृत्व अमेरिकाले गरिरहेको छ । भूराजनीतिक शक्ति र उनीहरूको रणनीतिक टकरावले सार्वभौम सत्ता दुब्लाउँदै गएको छ । मुलुकलाई विचलित पार्ने प्रवृत्ति बढ्दो छ । राजसंस्थाको षडयन्त्रमूलक विस्थापनपश्चात् भूराजनीतिक शक्तिले एकलौटी खेल्दै आएको छ । विश्वव्यापी अनिश्चितता, घातक प्रविधि, साइबर युद्ध र गलत सूचनाले मुलुकलाई थिल्थिलो बनाएको छ । ‘मिसन खरानी’को चक्रव्यूहमा परेको डिजिटल पुस्ता ‘माछा पानीमा छट्पटियो भन्दै पानीबाहिर राखेजस्तो’ अवस्थामा पुगेको छ ।
विश्व कता जाँदैछ या कता लगिँदैछ ? यस्तो देखिन्छ कि प्रचलित विश्व-व्यवस्था क्षय हुँदै जाँदा धेरै शक्तिकेन्द्रहरू उदाउँदैछन् । मुलुक भूराजनीतिक भिडन्तको इपिसेन्टर बनिसकेको छ । युरोप, प्यालेस्टाइन, पूर्वी एसिया र दक्षिण एसियाको भूराजनीतिक गतिविधि सूक्ष्म अध्ययन गरेमा नयाँ विश्व-व्यवस्थाको रूपरेखा बुझ्न सकिन्छ । भूराजनीतिक शक्तिले आवश्यकताअनुसार सद्दाम जन्माउँछ । बिन लादेन जन्माउँछ । मुजाहिद्दीन जन्माउँछ । जब आफ्नो स्वार्थ पूरा हुन्छ, उनीहरूको सफाया गर्दै आएको छ । पछिल्लो समयमा भूराजनीतिक शक्तिले आफ्नो कार्यशैलीमा रणनीतिक परिवर्तन गरेको छ । भ्रष्टाचारविरुद्ध चर्को आवाज, सुशासन स्थापना, महिला अधिकार, मानवअधिकार, समानता, राज्यको हरेक क्षेत्रमा युवाको सक्रिय सहभागिता, समलिङ्गी विवाह, पहिचान जस्ता आकर्षक नारासहित विश्व भ्रमणमा निस्किएको पश्चिमा-राजनीतिले गरिब मुलुकमा विचित्रको बारुद बिछ्याउन सफल भएको छ ।
यतिबेला ‘अमेरिका र चीन’को प्रतिस्पर्धाले विश्वका हरेक क्षेत्रलाई असर गरिरहेको छ । पूर्वी एसिया, विशेष गरी दक्षिण चीन सागरमा अमेरिकाको अतिरिक्त उत्सुकताले एसियामा राजनीतिक अशान्ति मौलाउँदै छ । पूर्वी एसियाली राष्ट्रहरू कठिन सन्तुलनमा फस्नबाट सङ्घर्ष गरिरहेका छन् । डोनाल्ड ट्रम्प र सी जिनपिङबीच दक्षिण कोरियामा हालै सम्पन्न भएको बैठकले यस क्षेत्रमा अस्थिरता बढ्ने सङ्केत गरेको छ । पछिल्लो नौ वर्षमा मोदीको भारतले पाकिस्तानविरुद्ध तीन पटक आक्रमण गरेको छ । दिल्ली विस्फोटपश्चात् भारतीय नेतृत्वले ‘अपरेसन सिन्दूर’ पुनः सुरु गर्ने बाचा गरेको छ ।
इराकबाट अमेरिकाको स्वैच्छिक बहिर्गमनपश्चात् रुस, इजरायल, इरान, टर्की र अरब राज्यहरूले भूराजनीतिक एजेन्डा पछ्याए । उनीहरूले जटिल भूराजनीतिक परिदृश्यभित्र आफूलाई सुरक्षित गर्न समय खर्च गरे । द्वन्द्व विकसित हुँदै जाँदा, राष्ट्रपति असद भागेर मस्को पुगे । अमेरिकाले आतङ्कवादी करार गरेका एचटीएसका प्रमुख अहमद अल-शारालाई राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनमा स्वागत गरे । तालिबानको सत्तामा फिर्तीपश्चात् अफगानिस्तानले अमेरिकासँग राजनीतिक दृष्टिकोण बनाउन र पाकिस्तानलाई दबाबमा राख्दै भारतसँग रणनीतिक सम्बन्ध राख्न सफल भयो । दुर्भाग्यवश पुटिनसँग हात मिलाएको, सी जिङपिङको जस्तै उचाइ बनाएको ‘छोराछोरीको दाबी’मा हौसिँदा ओली-राजनीति धुलोपिठो भएको छ । स्वार्थ र राजनीतिक लाभको आधारमा अगाडि बढेको भूराजनीति सत्ताच्युत ओलीले भर्खरै बुझ्दैछन् ।
मोदी-दर्शनभेटको निवेदन स्वीकृत भएको, उत्तरसँग दूरी घटेको, देउवालाई किस्ती उपहारमा अल्मल्याउन सफल भएको, विद्या भण्डारीलाई पार्टी-राजनीतिमा ढोका बन्द गर्न सफल भएको, दुई कार्यकालको आफ्नै मान्यतालाई मिल्काउँदै अध्यक्षको कुर्सीसमेत आर्यघाट जाने तारतम्य मिलाएको अवस्थामा सत्ताच्युत हुनुपरेको पीडाले नेता ओली विक्षिप्त छन् । ठुलो जालझेल र षडयन्त्रमार्फत प्राप्त सत्ता गुमाएको पीडामा उनी बर्बराउँदै छन् । नैतिकताबिनाको लोकतन्त्र ‘कुशासनको मन्दिर’ बन्छ भन्ने चटक्क बिर्सेर सत्ताच्युत ओली प्राकृतिक मृत्यु, दुर्घटना र राजनीतिक नरसंहारलाई एउटै बनाउन सम्पूर्ण तागत लगाइरहेका छन् । भाद्र २३ गते मच्चाइएको नरसंहारको नैतिक जिम्मेवारी लिँदै पार्टी र मुलुक बचाउनुको सट्टा जेनजी विद्रोहको अपमान गर्न मरिहत्ते गरिरहेका छन् । सेनाको हेलिकप्टर चढेर किन भाग्नु पऱ्यो भन्ने बुझपचाउँदै ७६ जना नेपालीको रगतको आहाल र खरानीको थुप्रोमा बसेर सत्ताच्युत ओली प्रश्न गर्दै छन्- ‘२३ गतेको नरसंहारको जिम्मा लिनुपर्छ भनेको के हो ?’
लोकतन्त्रको परीक्षा बहुमतलाई कसरी सुरक्षित राख्ने भन्ने कुराले निर्देशित हुँदैन । दुर्भाग्यवश नार्सिसिस्ट ओली लोकतन्त्रको आधारभूत मूल्य र मान्यताको खिलाफ जाँदा अकल्पनीय ढङ्गले पछारिए । सुशासन र भ्रष्टाचारविरुद्ध सडक ओर्लिएको डिजिटल पुस्ताको विरोध कार्यक्रममा भएको नरसंहारपश्चात् सुरु गराइएको ‘मिसन खरानी’को दौरान सरकारी सम्पत्ति मात्र होइन, निजी सम्पत्ति समेत खरानी बनाइएको छ । तमाम कमजोरीका बाबजुद उनी आत्मसमीक्षा गर्न तयार छैनन् । उनलाई थाहा छ- कारणहरू खोज्न तयार भए आफ्नो कार्यशैलीभित्र सयौँ कमजोरी फेला पर्नेछ । त्यसो गर्न उनको दम्भले दिँदैन । फलस्वरूप सम्पूर्ण दोष भूराजनीतिक शक्तिको थाप्लोमा हालेर नरसंहारको पाप पखाल्ने असफल कोशिस गर्दैछन् ।
कुरा चपाउन जरुरी छैन, सुगौली सन्धिपछि मुलुकविरुद्ध गम्भीर षडयन्त्र हुँदै आएको छ । कहिले यो सुषुप्त, कहिले आक्रामक ढङ्गले आएको छ । दुर्भाग्यवश हरेक शासकले सडकमा पुगेपछि षडयन्त्र देख्दै आएको छ । वैदेशिक शक्तिको बुई चढेर सत्तामा पुग्दा, कुर्सीमा टिक्दा, कथित सन्धि-सम्झौता गर्दा कहिल्यै मुलुक, जनता र सिद्धान्तको याद आउँदैन । कथित स्वार्थ पूरा गर्न वैकल्पिक केन्द्रीय सदस्य देवराज घिमिरेलाई मतदान गराएर महाकाली सन्धि पास गराएको याद आउँदैन । एस. जयशंकरलाई शयन कक्षमा किन स्वागत गर्नु पऱ्यो ? भारतीय गुप्तचर सामन्त गोयलसँग रातभर बालुवाटारमा किन भलाकुसारी गर्नु पऱ्यो ? एमसिसी पुरस्कार कसरी स्वीकार गर्नु पऱ्यो ? बिआरआईको फ्रेमवर्क कसको दबाब र चाहनाले सम्पन्न भयो ?
उल्लेखित घटनालाई चटक्क बिर्सेर उन्मत्त हिँड्दा भूराजनीतिक शक्तिलाई दोष दिएर चोखो हुन पाइन्छ ? नेता ओलीको लहडमा बोकाइएको असीमित आन्तरिक र बाह्य ऋणको भारी, देशभक्तिको आडमा दलाल बिचौलियाको संरक्षण गर्दै मच्चाइएका काण्डहरू, नालायक र असक्षमहरूलाई पुरस्कृत गर्दा भएको ब्रेनड्रेन, ‘सुखी बिचौलिया, सम्पन्न दलाल’को उखानटुक्कामा युवा निर्यातको रणनीतिक अभियानले डिजिटल पुस्ता रुष्ट बनेको, कथित पात्रको घेरामा रमाएका ओलीको गतिविधिले मुलुक खरानी बनाउन चाहने शक्तिलाई असीमित ऊर्जा र आधार प्राप्त भएको स्वीकार नगर्नुको अर्थ भूराजनीतिक शक्तिको अविच्छिन्न सेवा हो भन्न सकिन्न र ?
राजनीतिक लाभ प्रदान गर्ने बहानामा भूराजनीतिक शक्तिले आतङ्कवादी अभिनेताहरू जन्माएको छ । राज्यको शून्य उपस्थितिमा आतङ्कवादी सङ्गठनको रणनीतिले आकार लिएको छ । राज्यको प्राथमिकता बरालिँदा आतङ्ककारीले गम्भीर फाइदा उठाएको सुरक्षा निकायको बुझाइ छ । परम्परागत आतङ्कवादको स्वरूपमा परिवर्तन आएको छ । विश्व-राजनीतिले स्मार्ट आतङ्कवादी देख्दै/भोग्दै छ । डिजिटल पुस्ता, स्कलर, शिक्षित, हवाइट कलरहरू, इन्जिनियर, मेडिकल डक्टरहरू आतङ्कवादी गतिविधिमा संलग्न हुँदैछन् । यसको अर्थ परम्परागत राजनीतिमा गम्भीर त्रुटी र कमी छ । असफल सिद्धान्तको आधारमा हुर्किएको नेतृत्वले कार्यशैलीमा परिवर्तन गर्नु, राज्यसत्ताको चरित्रमा आवश्यक सुधार गर्नुको सट्टा दमन, षडयन्त्र र खरिदमा विश्वास गरिरहेको छ । जसले सर्वसाधारण नागरिकलाई मृत्युको मुखमा धकेल्दैछ । मुलुक अस्तित्व रक्षाको परीक्षामा फस्दैछ ।
यतिबेला नेता ओलीले गुण्डुमा बसेर बर्बराउनुको सट्टा गम्भीर आत्मसमिक्षा गर्ने समय हो । भूराजनीतिक द्वन्द्वलाई बुझ्दै राष्ट्रिय एकता कायम गर्न बहुमूल्य योगदान गर्नुपर्ने हो । पटके असफलता र राजनीतिक अनुभवबाट शिक्षा लिँदै डिजिटल पुस्तालाई एकजुट गर्ने समय हो । डिजिटल पुस्ताको दुरुपयोग हुनसक्ने सम्भावनालाई बुझ्दै उनीहरूको सुरक्षा गर्ने समय हो । असभ्य, निन्दनीय, खेदजनक पार्टी र राज्यसत्ता सञ्चालन गर्दा जबजको हत्या भएको महसूस गर्ने अवसर हो । ‘नरसंहार’लाई अस्वीकार गर्नु भनेको मदनको अपमान गर्नु हो । मदनको विचारको हत्या गर्नु हो भन्ने बुझ्ने समय हो । दुर्भाग्यवश नार्सिसिस्ट ओली शाब्दिक कराँतेमार्फत आफ्नै सहकर्मी र सहयोद्धाको मानमर्दन गर्दैछन् । राजनीतिक आत्मसमर्पण या सन्यासमार्फत मुलुकलाई गुन लगाउनुको सट्टा भूराजनीतिक शक्तिलाई अप्रत्यक्ष सहयोग गर्दैछन् ।
आइएनजिओ सरकारले मुलुकको पक्षमा काम गर्न नपाउने वर्तमान अवस्थामा ‘बारा घटना’ भूराजनीतिक चलखेलको निरन्तरता हो । यसलाई कास्टिङ मान्दै सत्ताच्युत ओलीले बर्बराउन छोडिदिए मुलुकलाई सानो गुन नै हुनेछ । श्रीलंकन राष्ट्रपति गोटाबाया राजपाक्षे, प्रधानमन्त्री महिन्द्रा राजपाक्षे कहाँ छन् ? बङ्गलादेशी प्रधानमन्त्री शेख हसिना कस्तो अवस्थामा छिन् ? उनीहरू किन र कसरी राजनीतिबाट विस्थापित भए भन्ने सत्ताच्युत ओलीले बुझ्ने कोशिस गरिदिए कम्तीमा उनका सेवक, भक्त र छोराछोरीको राजनीतिक भविष्य बाँच्ने सम्भावना रहन सक्ला । पछिल्लो समय डिजिटल युग हो । यहाँ खानामा भन्दा कानमा ज्यादा बिख हालिन्छ । मेटा र सोसल मिडिया साइट ‘एक्स’लाई देखाइदिने केटाकेटी सोचले भूराजनीतिक शक्तिलाई थप आक्रामक बन्ने वातावरण मिल्नेछ । सङ्कटको नाममा सत्ताच्युत शासक बोक्ने खेलले ‘मिसन खरानी’ भाग-२ निम्त्याउन सक्ने छ ।
अन्तमा, षडयन्त्र कुन युगमा थिएन र ! त्रेतायुगमा रावणले षडयन्त्रपूर्वक सीताको हरण गरे । मर्यादा पुरुषोत्तम रामले विभीषणको प्रयोग गरे । त्यसैगरी द्वापरयुगमा दुर्योधनले पाण्डवहरूलाई मार्न लाक्षागृह बनाए । भगवान् कृष्णले माता गान्धारीसामु दुर्योधनलाई निर्वस्त्र जान दिएनन् । भीमलाई प्रतिज्ञा सम्झाएर गधायुद्धमा जाँघमा हान्न उक्साए । षडयन्त्र कहाँ थिएन ? नेपालको राजनीतिक इतिहास पढ्नुस्, षडयन्त्र जताततै भेटिन्छ । कोतपर्व, भण्डारखाल पर्व उच्चतम् उदाहरण हुन् । झुट, कपट र षडयन्त्रको जगमा उदाएका नेता ओलीले एउटै कक्षा दोहोऱ्याउँदैन भन्दै कुर्सीसमेत आर्यघाट जान मरिहत्ते गरिरहेको घटना षडयन्त्रमा आधारित छ कि छैन ? सत्ताच्युत ओलीलाई राम्रो ज्ञान छ- षडयन्त्रको साथ लिनुको अर्थ कमजोरी लुकाउनु हो । गुण्डुमा बसेर षडयन्त्रको गीत गाउँदै अनुपयुक्त पात्रलाई भेट्नुले मुलुकलाई गृहयुद्धतर्फ धकेल्दै छ । भाद्र २३ को नरसंहारबाट जोगिने बहानामा मच्चाइएको बर्बराहटले मुलुकलाई औपचारिक विघटनसम्म धकेल्न सक्नेछ ।