ग्रामर बिग्रेको राजनीति !


२८ कार्तिक २०८२, शुक्रबार

जब शासकहरू पाखण्डी हुन्छन्, राज्यको सम्पूर्ण शक्ति र विकल्पहरू असफल हुन्छन् । त्यस्तो अवस्थामा सत्ताको विरोध, आलोचना, नागरिक अवज्ञा देशभक्तिपूर्ण कार्य बन्न पुग्छन् । ‘प्रचण्ड, माधव, झलनाथ, वामदेव, भीम रावल’लाई एक बनाउन या ओलीलाई गुण्डुमा बसेर डिजिटल पुस्ताविरुद्ध तितो पोख्न ‘रङ्गीन विद्रोह’ गरिएको थिएन । राज्यसत्ताका अङ्गहरू – राजनीतिक दलहरू, सोकल्ड नेतृत्व, प्रहरी सङ्गठन, कर्मचारी प्रशासन, न्यायालयको अलोकप्रिय गतिविधिले मौलाएको असन्तुष्टि, नेतृत्वको असफलताले जन्म लिएको पछिल्लो विद्रोहलाई मूल्यहीन बनाउन यथास्थितिवादीहरू न्वारनदेखिको बल लगाउँदै छन्, जसले गर्दा राजनीतिको ग्रामर ठिक गर्न डिजिटल पुस्तालाई सकस परिरहेको छ ।

‘व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका’लाई लोकतान्त्रिक राज्यको प्रमुख स्तम्भहरू मानिँदै आएको छ । मिसन खरानीबाट जन्माइएको सरकारले लोकतन्त्रको मूल्य र मान्यतालाई फोहोरको टोकरीमा फ्याँकेको छ । प्रभावकारी रूपमा ‘कुलीन वर्ग’को उपस्थिति थप मजबुत भएको छ । वर्तमान शासनलाई अस्तित्वमा राख्न गराउनैपर्ने चुनाव शङ्कामा परेको छ । उल्लेखनीय संशोधन आवश्यक भएपनि, सडे-गलेका कथित नेतृत्व परिवर्तन हुन नचाहेको अवस्थामा मुलुक ठुलो खाडलमा जाकिने सम्भावना चुलिएको छ । इतिहासले चिच्याएर भनिरहेको छ- २०६२/०६३ मा नागरिकले नमागेको एजेन्डा कसरी मुलुक छिराइयो ? पछिल्लो डिजिटल विद्रोहले नमागेको एजेन्डा मुलुक प्रवेश गर्न नदिने हो भने पूर्वप्रधानमन्त्रीहरूले छिटोभन्दा छिटो राजनीतिक सन्यास लिन जरुरी छ । अन्यथा नेपालले धान्न नसक्ने सङ्कट मुलुक प्रवेश गर्नेछ ।

विद्यमान शक्ति संरचनामा प्रभुत्व जमाएको कुलीनतन्त्रलाई चुनौती दिने शासन सुरु नभएसम्म वास्तविक लोकतन्त्र आउने छैन । राजनीतिक-आर्थिक स्वार्थी खेलले विभिन्न समूहबीच द्वन्द्व उत्पन्न गरिसकेको छ । मुख्य धाराका राजनीतिक दलहरूमा प्रभुत्व जमाएको सम्पत्ति वर्गहरू कहिल्यै ‘नागरिक सर्वोच्चता’ चाहँदैनन् । उनीहरू प्रतिपक्षमा हुँदा लोकतन्त्र, सीमान्तकृत वर्ग र श्रमजीवी जनताको दुर्दशाको बारेमा गीतात्मक शैलीमा कुरा गर्छन् । सत्तामा पुग्नासाथ नागरिकलाई दुस्मन देख्छन् । कुर्सीको निरन्तरताको निम्ति कथित वर्ग र समूहसँग सम्झौता गर्न हौसिनछन् । शक्ति संरचनाको रचनात्मक, नैतिक, राजनीतिक र अर्थपूर्ण परिवर्तनबिना लोकतान्त्रिक समाज निर्माण हुन सक्दैन भन्ने भुसुक्कै बिर्सन्छन् ।

प्रत्येक नागरिक विशेष क्षमताको धनी हुन्छन् । उनीहरूलाई मानवतावाद, आध्यात्मिक र नैतिक पक्षले बाँधेको हुन्छ । दुर्भाग्यवश वैश्ययुगको राजनीतिले उनीहरूभित्र रहेका सकारात्मक पक्षको हत्या गर्दै विश्वलाई कुरूप बनाएको छ । जसको निम्ति विश्व पुँजीवादले विचित्रको पाठ्यक्रम तयार पारेको छ । परिचालित मिडिया, प्रिपेड एकेडेमिक विद्वान, अनेक नामका फाउन्डेसन, रणनीतिक अन्तर्क्रिया, गोष्ठी, बैठक, प्रतिवेदन, अनुसन्धानको हवाला दिँदै आफ्नो उपस्थिति कायम राख्दै आएका छन् । यी तमाम काममा मुलुकभित्रकै ‘तथाकथित’हरूको प्रयोग भइरहेको छ ।

स्वतन्त्रता, समानता, भ्रातृत्व, प्रेम र मर्यादा मानव व्यक्तित्वको विकासको लागि आवश्यक र अनिवार्य तत्त्व हुन्, जसको प्रयोगबिना कुनैपनि समाजले प्रगति गर्न सक्दैन । साथै, जबर्जस्ती लादिएका रणनीतिक कार्यक्रम, दमन, असमानता, आर्थिक निर्भरता, बहिष्कार, शोषण र अपमानहरूले मुलुकको उन्नति र प्रगतिलाई रोकेर बसेको छ । मानवतावाद, विज्ञान, धर्म र तर्कसङ्गतताको प्रयोगबिना, शान्ति र स्थिरता रहँदैन । ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चुनौतीको हात्ती’लाई सम्हाल्न राजनीतिक दृष्टिकोण, संयुक्त प्रतिबद्धता र तर्कसङ्गत निर्णय बिना असम्भव हुनेछ ।

सामूहिक राजनीतिक विद्रोहको हरेक घटनामा षड्यन्त्रको भूमिका देख्नु कमजोर विश्लेषण हो । यद्यपि मुलुकको राजनीतिक इतिहासमा वैदेशिक हस्तक्षेपको इतिहास लामो छ । उनीहरूको रणनीतिक स्वार्थ र आर्थिक/भौतिक लगानीमा हुर्किएका संस्था र व्यक्तिले गरेका कथित कामले मुलुकलाई स्वतन्त्र राष्ट्रको रूपमा महसूस गर्न कठिन हुँदैआएको छ । यथास्थितिप्रति डिजिटल पुस्ताको निराशा मूर्त र वास्तविक छ । राजनीतिक प्रक्रियामार्फत निराशालाई समाधान गर्ने संस्थाहरूको अभावमा सडक प्रदर्शन, विरोध, विद्रोह र असहमति अनिवार्य बन्दै गएको छ । युवाहरूले प्रयोग गरिरहेको डिजिटल प्रविधि र डिजिटल संसारलाई सत्ताले शत्रुको रूपमा हेर्दै आएको छ । उनीहरूले सोसल मिडियामा उपभोग गरेका, साझा गरेका इन्फरमेसन, डिसइन्फर्मेसनले ग्रामर बिग्रेको राजनीतिमा गहिरो प्रभाव पारिरहेको छ । जसलाई सुरक्षा निकाय र हाइब्रिड पञ्चले बुझ्न नसक्दा मुलुकले ठुलो मूल्य चुकाएको छ । यस तथ्यलाई मुलुकले पूर्णरूपमा बुझ्न र सामना गर्न अझै बाँकी छ ।

स्पष्ट भन्नु पर्दा, मुलुकमा राज्य अतिवादविरुद्ध राजनीतिक विरोधको समृद्ध इतिहास छ । राष्ट्रवादी आन्दोलनदेखि राजनीतिक मुद्दाहरूमा युवाले नेतृत्व गरेका छन् । विशुद्ध आर्थिक मुद्दाहरूमा ठुलो विरोधको अभाव छ । उच्च मुद्रास्फीति र बेरोजगारीले सडक परिचालनलाई उत्प्रेरित गरेको छैन । जनविद्रोहमार्फत प्रणालीलाई उल्टाउने राजनीतिले आकार नलिँदै तुहिएको छ । समाजको चरित्र, सार्वभौम राज्यको पीडादायी आर्थिक राजनीतिक अवस्था, लोकतान्त्रिक विचार र व्यवहार बीचको विरोधाभास, समानता र स्वतन्त्रताको वास्तविक अर्थ गुमाएको नेतृत्वले राजनीतिको ग्रामर नरुचाउनु स्वाभाविक छ ।

जब चुनावी नतिजाबाट उदाएको नेतृत्वमाथि नागरिकले प्रश्न उठाउँछन्, ऐतिहासिक शहीदहरूको रगत खेर गएको फाइदा सेनालाई हुनेछ । सैन्य शासनअन्तर्गत न्याय र लोकतन्त्रको जमिन उपलब्ध हुन सक्दैन । त्यस्तो अवस्थामा नागरिकहरू लोकतन्त्र खोज्न सडक ओर्लिन बाध्य हुनेछन् । विरोध र सडक-सङ्घर्षले शहीद उत्पादन गर्नेछ । मताधिकारमा आधारित लोकतन्त्रमा धनी र गरीबबीचको गम्भीर आर्थिक असमानताले अभिजात वर्गलाई मात्र फाइदा पुग्दै आएको छ । आयातित संविधान र लोकतन्त्रमा रचनात्मक कार्य असम्भव छ । आधारभूत समस्याहरूले निर्णायक परिवर्तन खोजिरहेको छ । जसलाई रोक्न हाइब्रिड पञ्चहरू सम्पूर्ण तागत लगाउँदै छन्, जसले गर्दा राजनीतिको ग्रामर थप बिग्रँदै गएको छ ।

ग्रामर बिग्रेको राजनीतिले गर्ने भनेकै परम्परागत दलहरूको विस्थापन, अस्थिरता र अराजकता हो । दुर्भाग्यवश डिजिटल पुस्ताले दलहरूको पतनमा सुशासन देखिरहेको छ, जसले मुलुकलाई डुबाउँदै छ । हरेक अवस्थामा, जनताको विरोध र राजनीतिक दलबिना लोकतन्त्र बाँच्न सक्दैन । लोकतन्त्रप्राप्तिको हरेक विरोध प्रदर्शनको नेतृत्व गर्ने राजनीतिक दलहरू नै थिए । विगतमा अनेकौँ शासकलाई राजीनामा दिन बाध्य पार्ने महत्त्वपूर्ण भूमिका खेलेका थिए । भर्खरै बालुवाटारबाट भागेको शासकले समेत राजनीतिक परिवर्तनको निम्ति विगतमा सक्रिय र प्रभावकारी भूमिका खेलेको थियो । आज परिस्थिति परिवर्तन भएको छ, डिजिटल पुस्ताले उसलाई अस्वीकार गरेका छन् ।

दबाएर वा बेवास्ता गरेर, डिजिटल पुस्ताको असन्तुष्टि हट्दैन । आवश्यकताले विद्रोह, आन्दोलन वा विरोधहरू जन्मिन्छ । तर विद्रोहको सफलताले कति बेला नयाँ मोड लिन्छ भन्ने आन्दोलनकारीले थाहा नपाउन सक्छ । प्रायः सार्वजनिक र सामूहिक जागरूकताले विरोधहरू आन्दोलनमा परिणत हुन्छन्, जसले विद्रोह निम्त्याउँछ । यस्तो अवस्था मुलुकले पटक-पटक भोगेको छ । राज्यको सशस्त्र शक्तिले परिवर्तनलाई रोक्न असफल भएको छ । सबै विरोध, आन्दोलन र विद्रोहहरू सफल हुँदैनन् । धेरै आन्दोलनको विघटन या विसर्जन प्रायः पीडा, आतङ्क र उत्पीडनमा समाप्त हुन्छ । विरोध प्रदर्शन लोकतन्त्रको अभ्यास र अनिवार्य तत्त्व हुन् । सकारात्मक विरोधले लोकतन्त्र बलियो र सुदृढ हुन्छ । नागरिक अवज्ञालाई राष्ट्रविरोधी भन्नेहरू आयातित लोकतन्त्रका लाभार्थीहरू हुन् । पछिल्लो विद्रोहले उनीहरूको कथित साम्राज्य असुरक्षित भएको छ ।

प्रधानमन्त्रीको विशेषाधिकार (संसद् विघटन) खोस्दै जारी गरिएको रोगी संविधान, ‘जनादेश र मतादेश’को खिल्ली उडाउँदै सडक आन्दोलनमार्फत समाधान खोज्ने आयातित राजनीति, समाप्त हुनुभन्दा अघिको दलीय नेतृत्व, सडकको बलमा मात्र सत्ता त्याग्ने शासक, राजनीति बुझ्दै गरेको डिजिटल पुस्ता, प्रशासनिक र वित्तीय जिम्मेवारी भुलेको व्यवस्था, विद्रोहलाई स्वागत गरिरहेको भूराजनीतिले राजनीतिको ग्रामर ठिक गर्ने सामर्थ्य राख्दैन । ग्रामर मिलेको राजनीतिमा निर्माण, सिर्जना, विचार र आदर्शको महत्त्वपूर्ण स्थान हुन्छ । कपट, झुट, षडयन्त्र, घमन्ड, अहङ्कार, जेलबसाइलाई योग्यता मानिँदैन । देशभक्ति, त्याग, सनातन र पुर्खा परम्पराको अगाडि कुर्सीको महिमा तुच्छ हुन्छ । विघटन, ध्वंस, विग्रह, दलालीको कुनै स्थान हुँदैन । नेतृत्वलाई दाताको सट्टा सेवक मानिन्छ । नागरिकलाई ‘राष्ट्र’ मानिन्छ । कसैको कमजोरीमा आफ्नो प्रगति खोजिँदैन । आफ्नै योग्यता, क्षमता, दृष्टिकोण, लक्ष्यअनुसार राजनीति गरिन्छ । तास फिटे जस्तो जिब्रो चलाइँदैन । औकात, हैसियत, आवश्यकता अनुसार बोलिन्छ तर कसैको मानमर्दन र अवमूल्यन गरिँदैन ।

अन्तमा, ग्रामर बिग्रेको राजनीतिले मुलुकमा उथलपुथल ल्याएको छ । निर्वाचनलाई निकास भन्ने र मान्ने शक्तिले भूराजनीतिको रणनीतिलाई अनदेखा गरिरहेको छ । राजा त्रिभुवनले मुलुक छोडेर बिगारेको ग्रामर मिलाउने तागत राजा महेन्द्रसँग रहेजस्तो अवस्था अहिले छैन । बीपीको मेलमिलाप नीति, राजा वीरेन्द्रको सन्तुलित कार्यशैली, मदनको लचकताले बचेको मुलुक ओली÷प्रचण्ड÷देउवाको व्यक्तिवादी र कुर्सीकेन्द्रित राजनीतिले खरानी बनेको छ । यसलाई करेक्सन गर्ने कोसिस नेपाली सेनाले मात्र गर्न नसक्ने/नपाउने अवस्था उजागर भइसकेको छ । उत्तर-दक्षिण र पश्चिमको स्वार्थ र चाल बुझेको सत्ताच्युत राजसंस्थाले दलीय सहमतिबिना राजनीतिको ग्रामर ठिक गर्न नलाग्ने सङ्केत दिएको छ । दुर्भाग्यवश पछिल्लो विद्रोहका बाबजुद भ्रष्टहरू जुर्मुराएको, देशभक्तहरू थलिएको, डिजिटल पुस्ता बरालिएको परिवेशमा राजनीतिले अकल्पनीय अनिष्टलाई स्वागत गरिरहेको छ ।