जेनजी पुस्ताको अग्निपरीक्षा !

३१ आश्विन २०८२, शुक्रबार

वित्तपोषित षड्यन्त्र र डिजिटल प्रविधिले नयाँ युद्ध लड्यो/लडाइयो । मुलुक हाइब्रिड युद्धको सिद्धान्तमा खरानी बन्यो/बनाइयो । दुर्भाग्यवश प्रविधि बुझेको चलायमान पुस्ता आफै प्रविधिको सिकार बनेको पत्तै पाएन । परम्परागत राजनीतिक शक्तिले लोकप्रिय र जनमैत्री कार्यक्रम पस्किन नसक्दा/नचाहँदा अन्ततः जेनजी पुस्ताले साहसिक विद्रोह गर्दै परम्परागत शक्तिलाई कर्नरमा पुऱ्याए । जेनजी पुस्ताको राजनीतिक सुझबुझ, ज्ञान र अनुभवको फाइदा उठाउँदै मुलुकलाई ‘नर्क’ बनाउन चाहने शक्ति पूर्णतया सफल भएको छ ।

मुलुकले नतिजा खोजिरहेको छ । भाषण, आश्वासन, उपदेश सुन्ने जाँगर कसैसँग छैन । राजनीतिलाई गहिरो विश्लेषण गर्दा टाउको नदेखिएका झुन्डहरू निरन्तर दौडिरहेका देखिन्छन् । २०८४ सालको निर्वाचन २०८२ मा गराउन जेनजी पुस्ताले विद्रोह नगरेको सुशीला सरकारले बुझेको देखिएन । आवधिक निर्वाचनमार्फत आएको सरकार जस्तो हनिमुन मनाउने सुशीला सरकारको मनसायले परिस्थिति जटिल बन्दैछ । संविधानसभा-२ बाट जारी गरिएको/गराइएको संविधानअनुसार वर्तमान सरकार असंवैधानिक हो भन्ने स्वयम् सुशीला कार्कीले स्वीकार गर्ने सङ्केत सर्वोच्च अदालतमा थुप्रो लागेका निवेदनले गरिरहेको छ ।

वर्तमान संविधान जीवितै राखेर पूर्व प्रधानन्यायाधीश कार्की मानवअधिकार आयोगमा बाहेक अन्य राजनीतिक नियुक्तिको निम्ति अयोग्य छिन् भन्न संविधानविद् हुन जरुरी छैन । अझ रोचक कुरा नेपालको संविधान २०७२ अनुसार प्रतिनिधिसभाको सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन सक्दैन भन्ने बुझेको व्यक्ति प्रधानमन्त्रीमा शपथ लिनासाथ प्रतिनिधिसभा विघटन गर्न राजी हुनुले मुलुक र राजनीति गम्भीर दुर्घटनातर्फ लम्किएको मान्न सकिन्छ ।

कुशासन, भ्रष्टाचार, विकृति, विसङ्गति, अन्याय, अत्याचार, नातावाद, कृपावादको विरुद्ध सडक ओर्लिएको जेनजी पुस्ताको रगतबाट जन्मिएको सरकारले नेपाली जनताको माग सम्बोधन गर्न दिनरात एक गर्नुको सट्टा कथित वैदेशिक शक्तिको रणनीतिक स्वार्थ पूरा गर्न मरिहत्ते गरिरहेको छ । खस्किएको मनोबल उठाउने, लगानीकर्ताको विश्वास जगाउने, लुटिएका हातहतियार फिर्ता लिन विशेष अपरेशन चलाउने, कथित लुटपाट, आगजनी र हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउँदै मुलुकवासीको विश्वास जित्नुको सट्टा बारबरा, समता र हामी नेपालको आदेश कुर्ने सरकारको कार्यशैलीले ‘भागेर नडराएकाहरू’को मनोबल उकासिएको छ ।

वास्तवमा ‘जेनजी पुस्ता’ राजनीतिक सिद्धान्त या विचार थिएन, होइन । यो केवल उमेर समूह हो भन्ने मुलुक र जेनजीले समेत बुझेको देखिएन । जेनजी पुस्ताको माग मेरो क्षेत्राधिकारभित्र पर्दैन भन्ने प्रधानमन्त्री सुशीला कार्कीले कसको निम्ति आमनिर्वाचन गराउँदैछिन् भन्ने मुलुकले बुझ्न चाहेको देखिएन । असफल नेतृत्वको व्यवहार र मुडलाई ध्यानमा राख्दा सुशीला सरकारले मुलुकको मनोबल उठाउन आवश्यक पहल गरेको देखिँदैन । महत्त्वपूर्ण समय खेरफाल्दै औचित्य गुमाएको सरकारले नियमित षड्यन्त्र, हिंसा, अराजकतालाई मलिलो मैदान दिँदैछ । दुर्भाग्यवश अराजकताबाट मुलुक निर्माण गर्न तम्सिएका दलीय नेतृत्व र सोसल मिडियाबीच विचित्रको सहकार्य देखिएको छ ।

वर्तमान अवस्थाको जिम्मेवार केवल काङ्ग्रेस/एमाले/माओवादी केन्द्रमात्र होइनन् भन्ने जेनजी पुस्ताले बुझ्न जरुरी छ । प्रजातन्त्रदेखि संघीय लोकतान्त्रिक गणतन्त्र दिने बहानामा दक्षिण-पश्चिमले लादेका तथाकथित सिद्धान्त र दबाबले परम्परागत राजनीतिक दल र नागरिकबीचको न्यानो सम्बन्ध टुटेको भुल्न हुँदैन । युवा पुस्तालाई स्वार्थी र अवसरवादी बनाउँदै राजनीतिबाट टाढा पुऱ्याउने र नालायकहरूलाई लायक स्थानमा पुऱ्याउँदै कुशासनलाई लोकतन्त्र भन्ने र मान्ने दक्षिण-पश्चिमको कथित रणनीतिले मुलुक कसरी बरबाद गरियो भन्ने बुझ्न जेनजी पुस्ताले इतिहासको गहिरो अध्ययन गर्न जरुरी छ ।

आत्मनिर्भर मुलुक बनाउने राजा महेन्द्रको रणनीतिलाई दक्षिण-पश्चिमले प्रजातन्त्रसँग साट्यो । ‘काङ्ग्रेस/कम्युनिस्ट’लाई कुर्सी दिलाउँदै रुस-चीनद्वारा निर्मित उद्योग बन्द गराइयो । राजनीतिक नेतृत्वलाई भ्रष्ट बनाउँदै शिक्षा, स्वास्थ्य, कर्मचारी प्रशासन, अदालतलाई नागरिकसम्म पुग्न दिइएन । उनीहरू त्यतिमै सन्तुष्ट भएनन् । मुलुकलाई दीर्घकालीन रूपमा दलाल पुँजीवादको स्थायी ग्राहक बनाउन माओवादी ध्वंश मच्चाइयो । उत्पादन र रोजगारीको सम्पूर्ण सम्भावना समाप्त पारियो । अलिकति बचेका क्षेत्रलाई एनजिओ/आएनजिओमार्फत भ्रष्ट बनाइयो । नागरिकको दिमाग प्रदूषित गर्न सोसल मिडिया प्रयोग गरियो । ओली/देउवालाई बिदा दिने बहानामा छाला, जिब्रो र आँखाको निम्ति बाँचेको जेनजी पुस्ताको प्रयोग/दुरुपयोग गर्दै मुलुक खरानी बनाइयो । मुलुकले अन्तिम अवसरको रूपमा उपयोग गरिरहेको वैदेशिक रोजगारी समेत खतरामा पारियो ।

क्रेमलिन, दिल्ली र बेजिङको पछिल्लो सहकार्यपश्चात् अमेरिका खुलेर आएको छ । उसका गतिविधि पारदर्शी बन्दैछ । उसको लगानी र नेपाली खेतालाहरू वेबसाइटमा देख्न सकिन्छ । राजनीतिक परिवर्तन र विद्रोहको नाममा कथित अनुहार थोपरिँदै छ । आयातित जोखिमहरू जेनजी पुस्ता र मुलुकले थेग्न नसक्ने अवस्थामा पुगिसकेको छ । सडकमा नओर्लिएसम्म नागरिकको आवाज नसुन्ने रोग बारबरा/समतानिर्मित सरकारले समेत सुरु गरिसकेको छ । धेरै नजिकको खतरा नदेख्ने, मुलुक जोगाउन नयाँ जोखिम स्वीकार गर्नुपर्ने अवस्थामा सहमतिको बाटो पहिल्याउन सरकारले कोसिस समेत गर्न नपाउने देखिएको छ । फलस्वरूप मुलुक बाह्य जोखिम, आन्तरिक गडबडी र अराजकताको चक्रब्युहमा फस्ने सङ्केत प्राप्त भएको छ ।

मुलुक आर्थिक र राजनीतिक जोखिममा फसिसकेको छ । सुधारलाई बेवास्ता गर्दै वैदेशिक शक्तिको सेवामा भविष्य सुरक्षित देखेको पूर्ववर्ती शासकले मुलुकलाई गम्भीर सङ्कटमा पारेर गएको छ । राजनीतिक परिवर्तन, जनादेश र मतादेशबाट आउने हरेक सरकारलाई कहिल्यै आत्मनिर्भर बन्न नदिने उत्पादन नीति, आर्थिक नीति र सामाजिक नीति लिन बाध्य पार्ने शक्तिले सुशीला कार्कीलाई सत्तामा पुऱ्याएर नेपाली जनताको कल्याण हुनेछ भन्ने कल्पना गर्नु बिरामी मरेपछि उपचार गरेजस्तै हो भन्ने जेनजी पुस्ताले बुझ्न जरुरी छ । मुलुकको स्वतन्त्रता र सार्वभौम नागरिकको हैसियत समाप्त गर्ने वैदेशिक रणनीतिको चक्रब्युहमा फसेको जेनजी विद्रोहमा देखिएका पात्र, प्रवृत्ति र तिब्बतीयन ओरिजिन ब्लडको अभियानलाई सफल बनाउन ल्याइएका कथित अनुहारलाई जेनजी पुस्ताले बहिस्कार गर्न चुकेमा उनीहरूको भविष्य थप जोखिममा पर्नेछ ।

वास्तवमा आजका वृद्धवृद्धा हिजोका परिवर्तनका महत्त्वपूर्ण एजेन्ट हुन् । जेनजी पुस्ताले वृद्धवृद्धाको आकाङ्क्षा र पूर्वीय समाजमा उनीहरूले खेल्ने अमूल्य भूमिकालाई बेवास्ता गर्न चाहेको सङ्केत मिल्दैछ । सामाजिक-सांस्कृतिक अधिकारको मान्यता, राष्ट्रिय प्रगतिमा सक्रिय सहभागीको रूपमा वृद्धवृद्धाको योगदानको कदर र समर्थनबिना नेपाल बलियो हुने छैन । वृद्धवृद्धासँग ज्ञान, सीप र जीवन अनुभवको भण्डार छ । दुःखको कुरा आयातित प्रणालीले उनीहरूलाई किनारामा पारेको छ । मानव संसाधनको उल्लेखनीय क्षति गर्ने राजनीतितर्फ जेनजी पुस्ता होमिँदै छ ।

वयस्कहरूले बुद्धि, सीप र सांस्कृतिक अनुभवहरू युवा पुस्तासँग साझा गर्न सक्छन् । यसले हाम्रो सांस्कृतिक सम्पदाको संरक्षण गर्न र ज्येष्ठ नागरिकहरूलाई अर्थपूर्ण भूमिकामा संलग्न गराउन मद्दत गर्नेछ । वृद्धवृद्धा, नर्स, डाक्टर, अर्थशास्त्री, नागरिक समाजका प्रतिनिधि समावेश गर्ने वृद्धावस्थासम्बन्धी राष्ट्रिय आयोग स्थापना गर्दै अगाडि बढ्ने कार्यक्रम जेनजी पुस्ताले पस्किन जरुरी छ । दुर्भाग्यवश वृद्धवृद्धालाई मुलुकमा छोडेर भौतिक सुख-सुविधाको निम्ति पलायन रोज्ने जेनजी पुस्ताले मुलुकमै बस्ने, उनीहरूको अनुभव सदुपयोग गर्ने र आत्मनिर्भर नेपाल बनाउने कार्यक्रम पस्किन सकेका छैनन् ।

परम्परागत र थकित राजनीतिक भाषाले विचारलाई भ्रष्ट बनाएको छ । मुलुकले नयाँ दिशा खोज्दैछ । टालटुल गर्ने शब्दहरू ढिलाइ र अस्वीकारका हतियार हुन् । यसले मुलुकलाई खोक्रो बनाएको छ । जेनजी पुस्तालाई शिखण्डी बनाएर भूराजनीतिको रणमैदान बनाइएको मुलुक गम्भीर सङ्कटमा परिसकेको छ । निष्ठा सकिएको नेतृत्वले ‘निन्दा’को राजनीतिलाई हुर्काएर बिदा लिएको छ । एउटा गम्भीर प्रश्नले जन्म लिएको छ, वैदेशिक शक्तिले विकृत पारेको मुलुक र भूराजनीति जेनजी पुस्ताले कसरी मर्मत र सम्भार गर्छ भन्ने मुलुकले कुरिरहेको छ ।

ओली/देउवाको बाध्यात्मक पतनपश्चात् जेनजी पुस्ताले नेतृत्व लिँदै हातमा सुशासन र समृद्धिको यात्रामा निस्कनुको सट्टा दक्षिण-पश्चिमका रणनीतिक खेतालाहरूलाई विश्वास गरेर ब्लण्डर गरेको छ । जसलाई सच्याउन जेनजी पुस्ताले कठोर निर्णय लिन ढिला भइसकेको छ । नेपालको भू-अवस्थिति र भूराजनीतिलाई बुझ्दै बोर्डर बन्द गर्ने, भिसा सिस्टम लागु गर्ने, महाकाली सन्धि र एमसिसी पुरस्कार खारेज गर्ने, हरेक वर्ष एक लाख नेपाली सेनाको सङ्ख्या थप्दै पाँच लाख पुऱ्याउने, आइएनजिओ र मानवअधिकारवादी संस्थामाथि तत्काल प्रतिबन्ध लगाउने, पूर्व प्रधानमन्त्री जन्माएका दलहरूको मूल नेतृत्वलाई सक्रिय राजनीतिमा प्रतिबन्ध लगाउने उचित समय आएको छ ।

अन्तमा, सम्पूर्ण देशभक्त, परम्परागत दलहरू र विदेशी षडयन्त्रद्वारा विस्थापित गरिएको राजसंस्थाबीच सहकार्य गर्ने, नेपालीभूमि भारत-चीनविरुद्ध प्रयोग हुन नदिने, पुर्खा परम्परा, संस्कृति र सनातन धर्मको जगमा मुलुकको संरक्षण गर्ने, राष्ट्रिय परिचयपत्र तत्काल खारेज गर्ने, सम्पूर्ण डाटा मुलुकभित्र सुरक्षित हुने नेपालनिर्मित सोसल मिडिया विकास गर्ने, सर्तसहितको वैदेशिक सहयोग र अनुदान नलिने, स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापना गर्ने, वैदेशिक ऋण र जनश्रमदानमार्फत राष्ट्रिय अर्थतन्त्र विकास गर्ने, खाद्यान्नमा आत्मनिर्भर उत्पादननीति लिन सुशीला सरकारलाई बाध्य पार्न सक्नु पर्नेछ । उल्लेखित कार्य गर्न नमाने आफैं नेतृत्व लिन जेनजी पुस्ता अग्रसर हुनु पर्नेछ । अन्यथा सुशीला सरकार बोक्दै राष्ट्रिय अपराध गरेको दोष जेनजी पुस्ताको थाप्लोमा जानेछ ।