जेनजी पुस्ताले बुझ्नैपर्ने भूराजनीति


१० आश्विन २०८२, शुक्रबार

यतिबेला विश्वमा असन्तुष्टिको लहर चलेको छ । बेलायती र अमेरिकी लोकतन्त्रमा गम्भीर सङ्कट रहेको विश्वले महसूस गरिरहेको छ । कथित मानव अधिकार, मौलिक हक, राजनीतिक स्वतन्त्रता, पार्टी स्वतन्त्रता, स्वतन्त्र व्यापार, आर्थिक उदारीकरण, नव उदारवाद, विकास, समृद्धि, लोकतन्त्र जस्ता पश्चिमी मूल्य र मान्यताले आफ्नो औचित्य गुमाएको छ । अमेरिकी सत्ताको असफलताको सजाय नागरिकको थाप्लोमा हालिएको छ । राष्ट्रपति ट्रम्पलाई सत्तामा पुऱ्याउने चार्ली कर्क असुरक्षित हुने अमेरिकी लोकतन्त्रले नेपाली जेनजी पुस्तालाई बली चढाउनु स्वाभाविक छ ।

पछिल्लो पुस्ता कुनै पनि बन्धनमा बस्न रुचाउँदैन् । उनीहरू कर्तव्यबिनाको असीमित स्वतन्त्रता उपभोग गर्न मरिहत्ते गरिरहेका छन् । इन्टरनेटबिना बाँच्न नसक्ने यो पुस्ता विचार, सिद्धान्तको परम्परागत सीमारेखाभित्र बाँधिन इच्छुक छैन । सीमित व्यक्ति र वर्गले लुटेको टुलुटुलु हेरेर बस्न नरुचाउने यो पुस्ताभित्र असन्तुष्टिको ऊर्जा भरिएको छ । जेनजी पुस्ताको असन्तुष्टिलाई सम्बोधन गर्ने ल्याकत गुमाएको विश्व पुँजीवादले शासक र सत्ता बदलेर आफ्नो कमजोरी लुकाउँदै आएको छ ।

‘इस्लाम भनेको अमेरिकाको घाँटी काट्न वामपन्थीहरूले प्रयोग गर्ने तरवार हो’ भन्ने चार्ली कर्कलाई Tyler Robinsonले । गत सेप्टेम्बर १० मा गोली हानेर मारे । राष्ट्रपति ट्रम्पको कट्टर समर्थक कर्क सुरक्षित नरहने अमेरिकी लोकतन्त्रमा गम्भीर सङ्कट उत्पन्न भएको छ । उसले अपनाएको आर्थिक, सामाजिक र पारस्परिक नीति, अन्तरविरोधको सम्बोधन, न्याय प्रणाली र स्वतन्त्रताको औचित्यपूर्ण प्रयोग गर्न नपाउने अमेरिकी लोकतन्त्रमा गम्भीर खराबी रहेको छ, जसले विश्व-राजनीति अस्थिर र असुरक्षित बनाएको छ । अमेरिकी लोकतन्त्रमा रहेको गम्भीर कमजोरीलाई सुधार गर्नुको सट्टा डिपस्टेट, सिआइए र ट्रम्प प्रशासनले लादेको रङ्गीन विद्रोह र ट्यारिफ युद्धमार्फत अमेरिकी वैभव कायम राख्ने कथित रणनीतिले विश्वलाई रुवाउँदै छ ।

हत्याद्वारा चाहेको परिवर्तन ल्याउन सकिँदैन । कर्कको हत्यापश्चात् राष्ट्रपति ट्रम्पको विश्वास खल्बलिएको छ । डिपस्टेटको हातबाट शक्ति खोस्न सम्पूर्ण तागत लगाइरहेका राष्ट्रपति ट्रम्पलाई आतङ्कित गर्ने काम गरिएको छ । ट्यारिफ र प्रतिबन्धको हतियार लिएर आर्थिक र राजनीतिक युद्ध चलाएका ट्रम्पको असफलतामा डिपस्टेटले भविष्य सुनिश्चित देखेको छ । यद्यपि ट्रम्प प्रशासनको रणनीतिक लक्ष्यहरू रुस, चीन र भारत हुन् भन्ने डिपस्टेटले स्वीकार गरेको छ । भ्लादिमिर पुटिन, सी जिनपिङ र नरेन्द्र मोदीलाई घुँडा टेकाउँदै अमेरिकाको सर्वशक्तिमान् छवि यथावत् राख्ने राष्ट्रपति ट्रम्पको खेलमा डिपस्टेटले औपचारिक स्थान नपाएको सजाय विश्वका कमजोर मुलुकले भोग्दैछ ।

लोकतान्त्रिक मान्यतामा गिरावट आएको दक्षिण एसियाली मुलुकभित्र निरङ्कुश शासकले महत्त्वपूर्ण जानकारी र विचारलाई निरुत्साहित गर्दै आएका थिए । कथित नेतृत्व लोकतान्त्रिक सिँढीमा जति तल झर्दै गयो, सत्ता राजनीतिमा उनीहरूको पकड त्यति नै कडा हुँदै गयो । वास्तवमा ओली-देउवा सहकार्यपश्चात् मौलाएको निरङ्कुश र अधिनायकवादी कार्यशैलीले लोकतान्त्रिक मूल्य मान्यताको हत्या सहज बनायो । जसले गर्दा ‘निर्वाचन निरङ्कुशता’मार्फत मुलुक लुट्ने ओली-देउवा अङ्कगणितको शक्ति समाप्त भएको छ ।

देशभक्तहरू चिन्तित छन् । मौलिक रूपमा मुलुक असुरक्षित देखिन्छ । राजनीतिको अस्थिरतालाई ध्यानमा राख्दा मुलुकमा हत्याको राजनीति संस्थागत गर्ने कोशिस गरिएको छ । सेप्टेम्बर सङ्कटमा विजयको प्रतिस्पर्धात्मक कथाले असुरक्षा बढाएको छ । नागरिकको निर्णायक विजय खल्लो बनाउने खेल सुरु भएको छ । मिडियाले प्रायोजित कथा बेचिरहेको छ । आलोचनात्मक कथाको अभावमा धारणाहरू निर्माण भइरहेका छन् । सम्प्रभुता र सार्वभौम सत्ताको प्रयोग दिल्ली र अमेरिकी दूतावासले गरेको देख्दा देशभक्तहरूको मन निचोरिएको छ ।

अधिकांश मिडिया हाउस र सोसल मिडिया च्यानलले रिपोर्टिङमा पक्षपातपूर्ण र प्रतिक्रियावादी दृष्टिकोण अपनाएका छन् । युट्युब च्यानलहरू, २४/७ मिडिया कभरेज, ज्वलन्त टिभी बहस र सोसल मिडिया अभियानले नागरिकलाई उत्तेजित गर्ने काम गरिरहेको छ । मुलुकमा वैदेशिक शक्तिले निश्चित रूपमा आकार लिइरहेको छ । अमेरिका प्रमुख खेलाडी बन्न सम्पूर्ण तागत लगाउँदै छ । भारत चीन बीचको राजनीतिक सम्बन्धमा आएको सुधारको फाइदा मुलुकले लिन नदिने अवस्था सिर्जना गरिएको छ । जमिन जोडिएका छिमेकीको सुरक्षा चासोलाई प्राथमिकता दिन नसक्दा/नपाउँदा मुलुक खरानी पारिएको छ ।

जनतासँग सम्बन्ध टुटेको सत्तासीनहरूलाई सधैँ सुरक्षा चाहिन्छ । जेनजी पुस्ताको आन्दोलन पछि मुलुकको सुरक्षा स्थिति उदाङ्गो भएको छ । सुरक्षा प्रदान गर्न देशभक्ति र साधन चाहिन्छ । सुशासन रित्तिएको शासनमा शासकहरूको सुरक्षा जटिल हुने कुरा भर्खरै सुरक्षा निकायले महसूस गरेको छ । उपलब्ध सुरक्षाको उत्तम रेस्क्यु देख्न पाएको कथित शक्तिले मुलुकको हैसियत र ल्याकत यस्तो अवस्थामा पुऱ्याएकोमा अझै पछुतो मानेको देखिँदैन । दुर्भाग्यवश उनीहरूको कारणले निम्तिएको ध्वंशपश्चात् सुरक्षा क्षेत्रमा पर्याप्त लगानी गर्ने सामर्थ्य समेत रहेन । वैदेशिक शक्तिको आशीर्वादमा राजनीतिक भविष्य सुरक्षित ठान्नेहरू यतिबेला जोखिममा परेका छन् । प्रस्टसँग भन्नपर्दा कमजोर सत्ता र अमेरिकाको भर पर्दा उनीहरू डुबेका छन् ।

हामी इतिहासको कठिन मोडमा छौं । अमेरिकाको संस्थागत राजनीतिक चासोले मुलुकको विश्वसनीयता, राजनीतिक स्थिरता र दीर्घकालीन अस्तित्व धर्मराएको छ । उत्तर-दक्षिणको बाध्यात्मक सहकार्यपश्चात् पश्चिमको एकल मैदान खोसिएको छ । केवल पश्चिमको साथ, सहयोग र समर्थनमा मात्र सुरक्षित हुन नसक्ने महसुस गरेको ओली/देउवा सहकार्य र सम्भ्रान्त वर्गको जग हल्लिएको छ । बाह्य सुरक्षाको बाबजुद नेपाल र लोकतन्त्र सुरक्षित छैन भन्ने बुझेको शक्तिले लादेको भूराजनीतिक ताण्डवपश्चात् मुलुक डरलाग्दो अराजकतातर्फ फस्दैछ ।

राजनीतिक अस्थिरताको जगमा नकारात्मक मानव गतिविधि र सभ्यताको विनाश रफ्तारमा बढ्ने छ । वैश्य युगमा नोम चोम्स्कीले अवलोकन गरे कि ईश्वरको महान् सिर्जना भनिएको मानव जाति सबैभन्दा मूर्ख र अल्पकालीन पशु प्रजाति हुनेछ । आफ्नै सभ्यता पोलेर क्रान्तिकारी बनेको नेपालीले नोम चोम्स्कीको विश्लेषण सही सावित गर्न सकेकोमा गर्व गर्दैछ । मुलुक त्रासदीको स्वागत गर्न बाध्य हुँदैछ । अमेरिका र युरोपियनद्वारा लादिएको हिंसा, लोभ, अपराध र पाखण्डले भारत-चीनलाई मुलुक प्रवेश गर्न बाध्य बनाउँदै छ । दुर्भाग्यवश यस्तो गम्भीर अवस्थाको निम्ति ओली/देउवा र जेनजी पुस्ताको रणनीतिक दुरुपयोग सफलतापूर्वक गरिएको छ । मुलुक फसिसकेको छ । जनताविरुद्ध शताब्दी लामो नरसंहार जारी राखिएको छ । मानवताविरुद्धको अतुलनीय अपराधमा जताततै अमेरिका भेटिन्छ । मुलुकले नैतिक असफलताको सामना गरिसकेको छ ।

के गर्ने ? के गर्न सकिन्छ ? कसरी गर्न सकिन्छ ? कहाँबाट सुरु गर्ने ? भन्ने प्रश्नको जवाफ मुलुक र जेनजी पुस्ताले खोज्ने महत्त्वपूर्ण समय आएको छ । न्यायपूर्ण समाधान खोज्दै शान्ति र न्यायमा प्रोत्साहित नगरेसम्म मुलुक अगाडि बढ्न सक्दैन । जबसम्म मानवताको भविष्य र चुनौतीलाई सम्बोधन गर्न सकिँदैन, भूराजनीतिक शक्तिले खेलिरहने निश्चित छ । जेनजी पुस्तासँग आफैलाई नष्ट गर्ने क्षमता छ । विश्वव्यापी रूपमा उनीहरू अस्तित्वको लडाइँ लड्दै छन् । ऐतिहासिक रूपमा शक्ति र प्रणालीले युवा पुस्ताको प्रश्नको सम्बोधन गर्न रुचाएको भेटिँदैन । परम्परागत शक्ति र सत्ताले व्यावहारिक विषयको कार्यान्वयनमा ढिलासुस्ती या छलकपटमार्फत टार्दै आएका छन् । क्रान्ति, परिवर्तन, सिद्धान्तको ‘तान र बुनाइ’ फरक पर्दै आएको छ । यस्तो विकृति र षडयन्त्रको निम्ति वैदेशिक शक्ति र राज्यसत्ताले उत्कृष्ट दिमागको प्रयोग गर्दै आएको छ ।

शक्ति प्रणालीले प्रदर्शनलाई आपत्ति जनाउँदैन । अभिव्यक्ति स्वतन्त्रताको सम्मान र स्वागत गर्छन् । विश्वास, डर, पूर्वाग्रह र अज्ञानतामार्फत नागरिक प्रभावित भएको छ । पश्चिमा डिजाइनमा तयार गरिएको प्रणालीले जेनजी पुस्तालाई शान्त बस्न दिएन । उच्च र मध्यम-वर्गीय बुद्धिजीवीलाई सान्त्वना दिन डिजाइन गरिएको प्रणालीलाई धक्का दिन जेनजी पुस्ता असफल भएको छ । राजनीतिक दुष्टताबाट मुक्ति खोजेको जेनजी पुस्तासमेत भूराजनीतिक चेस बोर्डको गोटी बनेको छ । उत्पादन र राजस्व बढाउन, खर्चलाई सुव्यवस्थित गर्न र राष्ट्रिय प्राथमिकता निर्माण गर्न नपाउने पश्चिमी उपलब्धिमा प्रहरी, सेना, अदालत, अख्तियार र कर्मचारीले गरेको भ्रष्टाचारसम्म जेनजी क्रान्तिको दबाब र प्रभाव पर्न नदिने तारतम्य मिलाइएको छ । टेक्नोक्र्याटबाट अकल्पनीय नतिजा नआउने निश्चित छ । अर्थतन्त्रको आधुनिक व्यवस्थापन गर्न नपाउने पछिल्लो क्रान्तिसमेत तुहिएको छ ।

टेक्नोक्र्याट र पेशेवरहरूले राष्ट्रलाई सुशासनतर्फ डोऱ्याउन लोकप्रिय भूमिका कहिल्यै निभाएन । फलस्वरूप कथित नेतृत्वले नगरेको गल्तीको दोष समेत बोक्न बाध्य भयो । अन्ततः सुशासनका भोका क्रान्तिकारी जेनजी पुस्ताले भ्रष्ट नेतृत्व र राजनीतिक व्यवस्था हल्लाए । प्रधानमन्त्री ओलीको दम्भले प्रदर्शनकारीलाई अनियन्त्रित बन्न सहयोग गऱ्यो । उन्मत्त सत्ताले प्रहरीको गम्भीर दुरुपयोग गर्यो । राज्यको जबरजस्तीपछि आक्रोशित युवाहरू हिंसात्मक भए । आयातित लोकतन्त्र र हाइब्रिड प्रणाली घाइते भयो ।

अन्तमा, सार्वभौम नागरिकको मर्यादा, सम्मान र अधिकार लुटिएको छ । जेनजी पुस्ताको खिल्ली उडाउँदा मुलुकमा राजनीतिक विस्फोट भएको छ । कथित अङ्कगणितको दम्भले ‘आक्रोश र असन्तुष्टि’लाई बेवास्ता गरेको सजाय मुलुकले भोगिसकेको छ । पुर्खाको राजनीतिक इतिहास, ७५ वर्षदेखि दक्षिण-पश्चिमद्वारा लादिएको अशान्ति र षड्यन्त्रबाट पाठ सिक्दै मुलुकको नेतृत्व लिन जेनजी पुस्ता चुकेको छ । पश्चिमा उपलब्धि र हाइब्रिड व्यवस्थाको विकल्प खोज्न चुकेको जेनजी पुस्ता परिचालित नायकलाई स्थापित गर्ने कच्चा पदार्थ बन्दैछ ।